३ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका सीमित देशका लागि पुन: श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकलाई पुन: श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो ।
मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्व र सुरक्षाजन्य जोखिमका कारण देखाउँदै सरकारले फागुन १७ गते मन्त्रीस्तरीय निर्णय गर्दै श्रम स्वीकृति र नवीकरण स्थगन गरेको थियो । नवीकरण बन्द हुँदा सो गन्तव्यमा जाने श्रमिक मर्कामा परेपछि श्रम मन्त्रालयले ती देशहरूमा पुन: श्रम स्वीकृति मात्रै खुला गर्ने निर्णय गरेको हो ।
स्थिति विश्लेषणका आधारमा जोखिम कम भएका गन्तव्यहरूलाई प्राथमिकतामा राख्दै पुन: श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
यसअघि यीलगायतका इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा समेत श्रम स्वीकृति र नविकरण स्थगन गरिएको थियो । ती देशहरूमा काम गरिरहेका तथा बिदामा नेपाल आएका श्रमिकहरूलाई पुन: श्रम स्वीकृति दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।
सम्बन्धित देशका नेपाली नियोग तथा सरोकारवाला निकायबाट श्रम स्वीकृति खुलाउन माग आएपछि परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागको सिफारिसका आधारमा यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । श्रमिकको सुरक्षा अवस्थालाई प्राथमिकता दिँदै सरकारले चरणबद्ध रूपमा निर्णय परिमार्जन गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया 4