+
+
Shares

सल्यानमा ग्यास पाउँदैनन् उपभोक्ता, व्यवसायी भन्छन्- माग बढ्दा समस्या

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८२ चैत ४ गते ८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानमा पछिल्लो एक सातादेखि खाना पकाउने ग्यास अभाव भएको छ।
  • ग्यास बिक्रेताहरूले आपूर्ति कम भएको र अभाव हुने हल्लाका कारण माग अस्वाभाविक बढेको बताएका छन् ।
  • प्रमुख जिल्ला अधिकारीले कृत्रिम अभाव वा कालोबजारी पाए कडा कारबाही हुने चेतावनी दिएका छन् ।

४ चैत, सल्यान । सल्यानमा खाना पकाउने ग्यास अभाव भएको छ । पछिल्लो एक सातादेखि जिल्ला सदरमुकाम खलंगा, श्रीनगर लगायतका बजार क्षेत्रमा सहज रुपमा ग्यास पाउन छाडेको छ ।

बजारमा ग्यास आएको खबर फैलिनासाथ पसलमा भीड लाग्ने गरेको छ । तर सीमित आपूर्तिका कारण धेरैजसो उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था छ । कतिपयले बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हो कि भन्ने आशंका समेत व्यक्त गर्न थालेका छन् ।

स्थानीय उपभोक्ता टिका बुढाथोकीले केही दिनयता ग्यासको खोजीमा बजार धाउँदा पनि सहज रूपमा नपाइने अवस्था बनेको बताइन् । बजारमा ग्यास आएको खबर सुन्नासाथ पसलमा पुग्दा समेत ‘सकिइसक्यो’ भन्ने जवाफ सुन्नुपरेको उनी बताउँछिन् ।

‘केही दिनदेखि ग्याँसको खोजीमा बजार धाइरहेकी छु, तर जहाँ पुग्दा पनि ‘सकियो’ भन्ने जवाफ पाइन्छ । घरको सिलिन्डर सकिन लाग्दा भान्सामा के गर्ने भन्ने चिन्ता थपिएको छ,’ उनले भनिन् ।

ग्यासमा खाना पकाउने बानी परेकाहरुले ग्यास अभावले दैनिकी कष्टकर बनेको गुनासो गरेका छन् । अर्की उपभोक्ता दीपा थापाका अनुसार उनको टोलका अधिकांशलाई ग्यास अभावले मर्कामा पारेको छ । ‘ग्यासको अभाव हुँदा हामी ठूलो मारमा परेका छौं, दैनिक जीवन नै अस्तव्यस्त बनेको छ,’ उनी भन्छिन् । ग्यास नपाउँदा दाउरा लगायत अन्य वैकल्पिक इन्धन प्रयोग गर्न बाध्य भएको उनी बताउँछिन् ।

आपूर्ति कमी र हल्लाले माग अस्वभाविक बढ्यो

ग्यास बिक्रेताहरू भने आपूर्ति कम भएकाले समस्या देखिएको दाबी गर्छन् । बिक्रेता धर्मराज योगीले पहिलेको तुलनामा हाल कम्पनीबाटै थोरै ग्यास आउने गरेकाले मागअनुसार वितरण गर्न नसकिएको बताए । ‘हामीसँग भएको सबै सकियो, कम्पनीले पर्याप्त उपलब्ध गराएको छैन । माग गरेको पनि पाउन सकिएको छैन, त्यसैले सबैलाई वितरण गर्न समस्या भएको छ,’ उनले भने।

अर्का बिक्रेता अम्बिका श्रेष्ठले पहिलेको तुलनामा अस्वाभाविक रूपमा ग्यासको माग बढेको बताइन् । ‘अभाव हुन्छ भन्ने हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास जोहो गर्न खोजेपछि माग अस्वाभाविक रूपमा बढेको छ, त्यसैले अभाव देखिएको हो,’ उनले भनिन् ।

उपभोक्ता अधिकारकर्मी रामचन्द्र रेग्मीले यस्तो अवस्थामा कालोबजारी हुन सक्ने जोखिम औंल्याउँदै बजार अनुगमन कडाइ गर्नुपर्ने बताए । ‘अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने प्रवृत्ति रोक्न प्रशासन सक्रिय हुनुपर्छ,’ उनले भने ।

कालोबजारी गरेको पाइए कारबाही हुन्छ : प्रशासन

सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले ग्यास अभावबारे जानकारी आएको र बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनमा समन्वय भइरहेको बताए । कालोबजारी गरेको पाइए कडा कारबाही हुने उनले चेतावनी दिए ।

‘ग्यास अभावको गुनासो आइरहेको छ । बजार अनुगमन तथा आपूर्ति व्यवस्थापनमा समन्वय भइरहेको छ’ उनले भने, ‘कृत्रिम अभाव वा कालोबजारी गरेको पाइए कडा कारबाही हुन्छ ।’

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?