News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीमा नाम, चुनाव चिह्न र नेतृत्व परिवर्तनको एजेन्डा उठेको छ भने महामन्त्री शरदराज पाठकले व्यापक पुनर्संरचनाको आवश्यकता औँल्याएका छन्।
- पाठकले पार्टीलाई विश्वासिलो र सशक्त बनाउन केन्द्रदेखि तल्लो तहसम्म नेतृत्वको पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
- प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट ज्ञानेन्द्र शाही मात्र निर्वाचित भएका छन् भने अध्यक्ष लिङ्देनसहित अधिकांश पदाधिकारी पराजित भएका छन्।
४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व परिवर्तनको एजेन्डा उठेको छ ।
महामन्त्री शरदराज पाठकले उक्त विषयको उठान गरेका हुन् । राप्रपालाई टुप्लुक्क राष्ट्रिय पार्टी बन्नबाट माथि उठाउन व्यापक पुनर्संरचना जरुरी रहेको बताएका छन् ।
विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउनका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन हुनुपर्ने उनले बताए । राप्रपाको चुनाव चिन्ह हलो छ भने पार्टी अध्यक्षमा राजेन्द्र लिङ्देन छन् ।
पार्टीको पुनर्संरचना केन्द्रदेखि तल्लो तहसम्म हुनुपर्ने पाठकको टिप्पणी छ । राप्रपाको एजेन्डामा साख ठूलो समस्या नरहेको उल्लेख गर्दै समस्या चिन्तन र कार्यशैली रहेको बताए ।
‘समस्या पार्टीभित्रका बलशाली प्रवृतिहरूमा छ । समस्या समयको प्रवाह र आवश्यकतालाई नचिन्नु/ नबुझ्नुमा छ,’ पार्टीको आन्तरिक समस्याबारे उनी टिप्पणी गर्दै सामाजिक सञ्जालमा लेख्छन्, ‘समस्या आधुनिक युगको राजनीतिक आयामहरूलाई अधिकांशरूपमा बेवास्ता गरेर उल्टै हियाउनुमा छ ।’
पार्टीले हाल अवलम्बन गरिरहेको शैली र सोचबाट अघि बढ्ने हो भने स्थानीय तह र प्रदेश तहको निर्वाचनमा योग्य र आम मतदातामा प्रभाव पार्न सक्ने उम्मेदवार भेट्न पनि मुस्किल हुने चिन्ता व्यक्त गरे ।
प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाबाट प्रत्यक्षमा ज्ञानेन्द्र शाहीले मात्रै निर्वाचित भएका छन् ।
प्रत्यक्षमा प्रतिस्पर्धा गरेका अध्यक्ष लिङ्देन सहित सबैजसो पदाधिकारी पराजित भएका छन् । राप्रपाको समानुपातिक मत समेत अघिल्लोपटक भन्दा घटेको छ । समानुपातिकतर्फ चार जना राप्रपाबाट सांसद बनेका छन् ।
प्रतिक्रिया 4