News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटन विभागले वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई चुस्त र व्यवस्थित बनाउन ट्रेकिङ कम्पनीहरूलाई लक्षित गर्दै ९ बुँदै परिपत्र जारी गरेको छ।
- आरोहण अनुमति माग्दा २ दिनअघि नियमावली अनुसार विस्तृत विवरण र सहयोगी कर्मचारीको विवरण अनिवार्य पेश गर्नुपर्ने विभागले भनेको छ।
- हिमाल आरोहणको क्रममा उद्धार विवरण अनिवार्य बुझाउनुपर्ने र फोहोरमैला धरौटी रकम फिर्ता प्रक्रिया विभागले स्पष्ट पारेको छ।
५ चैत, काठमाडौं । वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई चुस्त र व्यवस्थित बनाउन पर्यटन विभागले ट्रेकिङ कम्पनीहरूलाई लक्षित गर्दै ९ बुँदै परिपत्र गरेको छ ।
विभागले हिमाल आरोहण अनुमति लिनुपर्ने समयभन्दा कम्तीमा २ दिन अघि पर्वतारोहण सम्बन्धी नियमावली, २०८२ (छैटौं संशोधन) को अनुसूची–१ बमोजिमको विस्तृत विवरण भरेको निवेदन पेश गर्न भनेको छ ।
आरोहण अनुमति माग गर्ने निवेदनमा सहयोगी कर्मचारीको विवरण समेत अनिवार्य उल्लेख हुनुपर्ने र आरोहण अनुमतिको निवेदन पेश गर्दा सरदार अनिवार्य तोक्नुपर्ने छ । आकस्मिक सहयोगी कर्मचारी थप गर्नुपर्ने भएमा स्पष्ट कारण, संख्या, मितिसहित विस्तृत विवरण उल्लेख गरी विभागबाट पूर्वस्वीकृति लिएर मात्र थप गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम २१ मा अन्तिम शिविरमा पुगेका सरदार, पर्वतीय पथ प्रदर्शक वा उचाइमा जाने कामदारलाई पर्वतारोही दलले हिमालचुली आरोहण गर्न अवसर दिनुपर्ने व्यवस्था बमोजिम त्यस्ता सहयोगीले आरोहण दलको सदस्य अन्तिम शिविरमा पुगेको अवस्थामा मात्र आरोहण गर्नुपर्ने गरी तोकिएको छ ।
हिमाल आरोहण अनुमति माग गर्दा आरोहण दलका सदस्य र सहयोगी कर्मचारीको हालसालै खिचेको फोटो अनिवार्य प्रणालीमा अपलोड गर्न भनिएको छ । सोही फोटो प्रमाणपत्रमा प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।
सहयोगी कामदारको इच्छापत्र र करारमा नियमावलीको ढाँचा बमोजिमको विस्तृत विवरण कम्पनी र कामदार दुवैले अनिवार्य भर्नुपर्ने भएको छ । सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिनको ३ः०० बजे (शुक्रबार २ः०० बजे) टोली नेता, एजेन्सीको प्रतिनिधि र सम्पर्क अधिकृतको उपस्थितिमा संयुक्त रुपमा विभागको सभाकक्षमा ब्रिफिङ हुने समेत सूचनामा उल्लेख छ ।
हाल निवेदन पेश गर्दा हार्ड र सफ्टकपी दुवैमा कागजात संलग्न गर्नुपर्ने व्यवस्था रहेको छ । अब भने सक्कल निवेदनका साथ सलामी दस्तुर र गार्बेज तिरेको सक्कल भौचर, इन्स्योरेन्सको सक्कल र सदस्यको पासपोर्टको प्रतिलिपि, नेपाली नागरिकको हकमा नागरिकताको प्रतिलिपि मात्रै फाइलमा संलग्न गरी विभागमा पेश गरे पुग्ने भएको छ । साथै अन्य आवश्यक कागजात एजेन्सीले प्रमाणित गरी हिमाल आरोहण अनुमति प्रणालीमा अपलोड गर्नुपर्ने छ ।
हिमाल आरोहणको क्रममा भएको उद्धार सम्बन्धी विवरण पर्यटन विभाग र पर्यटक प्रहरीको कार्यालय, भृकुटीमण्डपमा अनिवार्य बुझाउनुपर्ने गरी तोकिएको छ । सन् २०२५ को हिमाल आरोहण गर्दा/गराउँदा राखिएको फोहोरमैला धरौटी बापतको रकम फिर्ता नभएको भए आवश्यक कागजात सहित शीघ्र विभागमा निवेदन पेश गर्न र निवेदन पेश भएको बढीमा ७ दिनभित्र धरौटी रकम फिर्ता हुने समेत विभागले स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4