७ चैत, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । रोशी खोलामा पानीको बहाव कम भएको र बगाएको स्थानको सडक मर्मत गरेपश्चात सवारी साधन पुन: सञ्चालनमा आएका हुन्न् ।
सवारी साधन सञ्चालन गरिए पनि वर्षा हुने सम्भावना कायमै भएकोले सावधानीपूर्वक यात्रा गर्न र राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको थियो । उक्त स्थानमा सडक विभाग र स्थानीय तहसँगको समन्वयमा सडक खुलाइएको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि काभ्रेखण्डको सवारीसाधनहरुलाई धुलिखेल, भकुण्डे र कटुन्जेमा होल्ड गरिएको थियो भने सिन्धुली खण्ड भएर आउने सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमा होल्ड गरिएको थियो ।
२०८१ र ०८२ मा आएको अविरल वर्षाको कारण रोशी खोलाले बिपी राजमार्ग बगाएपछि अहिले भकुण्डे-नेपालथोक खण्ड निर्माणको अवस्थामा छ । निर्माणको क्रममा रोशी खोलाको बगरमा डाइभर्सन गरेर सवारी सञ्चालनमा ल्याइएको छ ।
प्रतिक्रिया 4