News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेश सभाका ३ जना दलित महिला सांसदले इनिशा बिकको बलात्कारपछि हत्या घटनामा कडा कारबाहीको माग गरेका छन्।
- सांसदहरूले बलात्कारपछि हत्या गर्ने अपराधीलाई हदैसम्मको कारबाही र छिटो, निश्पक्ष न्यायको आवश्यकता औँल्याएका छन्।
- उनीहरूले जातीय विभेद, महिला हिंसा र बलात्कारजस्ता जघन्य अपराधमा कडा कानुनको माग गर्दै संसदमा आवाज उठाउँदै आएका छन्।
८ चैत, पोखरा । गण्डकी प्रदेश सभाका ३ जना दलित महिला सांसदले सुर्खेतमा १६ वर्षीय बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको भन्दै कडा कारबाहीको माग गरेका छन् ।
इनिशा घटनामा ३ जना दलित महिला सांसदले मात्र आवाज उठाए भने अरु सांसदले भने नागरिकका अन्य समस्याको विषयमा भनाइ राखे ।
शून्य समयमा बोलेका सांसदले इनिशा घटनाको दोषीलाई कडा कारबाहीको माग राखे भने समाजमा छोरीहरूमात्र होइन, आफूहरू पनि सुरक्षित नरहेको बताएका छन् ।
आइतबारबाट सुरु भएको नबौं अधिवेशनको पहिलो बैठकमा सांसद दमयन्ती रुचालले गत फागुन २३ गते मृत्यु भएकी १६ वर्षीया इनिशा हत्याको अनुसन्धान अझै नटुंगिएको भन्दै संसदको ध्यानाकर्षण गराइन् ।
रुचालले निर्मला विकदेखि इनिशा विकसम्मको बलात्कारपछि हत्या भएको विषयलाई जोड दिइन् । यो बीचमा थुप्रै छोरीहरूको बलात्कारपछि हत्या भएका घटनाले यो देशमा छोरीहरू सुरक्षित छैनन् भन्ने प्रमाणित भएको उनको भनाइ थियो । उनले बलात्कारपछि हत्या गर्नेलाई हदैसम्मको कारबाहीको माग गरिन् ।
अर्की सांसद दिलमाया पौवीले इनिशाको बलात्कारपछि हत्या भएको भन्दै संसदको ध्यानाकर्षण गराइन् । यो एउटा अपराधमात्र होइन समाजमाथिकै प्रहार भएको उनको भनाइ थियो ।
‘पितृसत्तात्मक सोचका कारण अझै पनि हाम्रा छोरीहरूमात्रै होइन, हामी पनि सुरक्षित छैनौं । किन अपराधीलाई कानुनको डर छैन,’ पौवीले संसदमा भनिन्, ‘यो केबल परिवारको पीडा होइन, सिंगो समाजको असफलता हो ।’
जबसम्म अपराधीलाई कडा सजाय पाउँदैन, न्याय छिटो र निश्पक्ष हुँदैन, तबसम्म यस्ता घटनाहरू दोहोरिइरहने बताउँदै उनले अपराध गर्नुपूर्व दश पटक सोच्नुपर्ने कानुन जरुरी रहेको जोड दिइन् ।
सांसद नन्दकला नेपाली दमैले अन्तर्राष्ट्रिय महिला दिवस चलिरहेकै बेला इनिशा विकको बलात्कारपछि हत्या भएको बताइन् । यसले छोरी चेलीहरूमाथिको चुनौति रहेको बुझिने उनको भनाइ थियो ।
‘यस्तै घटनाहरू घटिरह्यो भने आखिर समाजलाई कतातिर डोर्याउँछ भन्ने कुराको प्रश्न तपाईँहामी छोरी हुने सम्पूूर्ण नेपालीलाई खडा गरेको छ,’ उनले भनिन्, ‘बलात्कारपछि हत्या गर्नेलाई कुनै कसुर बाँकी नराखी छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याइयोस् ।’
इनिशा विक हत्याको छिटो अनुसन्धान गरी कारबाहीको दायरमा ल्याउन माग गर्ने दमयन्ती नेपाली कम्युनिष्ट पार्टी, दिलमाया नेपाली कांग्रेस र नन्दकला नेकपा एमालेकी सांसद हुन् ।
संसदमा उनीहरूले यसअघिका बैठकमा पनि जातीय विभेद, महिला हिंसा र बलात्कारजस्तो जघन्य अपराधका विषयलाई प्राथमिकताका साथ उठाउँदै कडा कानुनको माग गर्दै आइरहेका छन् ।
प्रतिक्रिया 4