News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्यामा पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त विजयी भएको बताए।
- पौडेलले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने र यसलाई संगठन पुनर्गठनको अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
- उनले नेपाली मतदाताले प्रजातान्त्रिक उदारता रोजेको र मुलुक सामाजिक न्याय, कानुनको शासन र उदार अर्थतन्त्रको कांग्रेसी मार्गमा हिँड्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख गरे।
८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनमा सिट संख्याको आधारमा आफ्नो पार्टी दोस्रो भए पनि नीति र सिद्धान्त भने विजयी भएको टिप्पणी गरेका छन् ।
केन्द्रीय कार्यसमितिको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘सिट संख्यामा हामी दोस्रो भयौँ होला, तर हाम्रा नीति र सिद्धान्त विजयी भएका छन्,’ बैठकमा पौडेलले भने, ‘नेपालमा एक प्रकारको ’आयामिक परिवर्तन’ भएको छ, जसले समृद्धिको फराकिलो बाटो खोल्नेछ भन्ने मेरो विश्वास छ ।’
यो निर्वाचनको सबैभन्दा सुखद पक्ष भनेको नेपाली मतदाताले ’प्रजातान्त्रिक उदारता’ लाई रोज्नु रहेको उनको भनाइ थियो ।
‘हाम्रा कम्युनिष्ट मित्रहरूले विगतमा प्रणाली जोगाउन हामीसँग सहकार्य गरे पनि जनमतले अब मुलुक सामाजिक न्याय, कानुनको शासन र उदार अर्थतन्त्रको ’कांग्रेसी मार्ग’ मा हिँड्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ,’ पौडेलले भने ।
साथै, सभापति गगन थापाको राजीनामा उपयुक्त विकल्प नभएको उनको भनाइ थियो । उनले बैठकमा आफ्ना धारणा राख्ने क्रममा सभापतिको राजीनामा अस्वीकृत प्रस्ताव पारित हुनुपर्ने बताए ।
‘यो राजीनामा अस्वीकृत गरिनु केवल एउटा प्राविधिक निर्णय मात्र होइन, बरु ’सामूहिक नेतृत्व’ र ’एकता’ प्रतिको हाम्रो साझा प्रतिबद्धता हो । प्रतिकूलताका बीच पनि नयाँ नेतृत्वकै ऊर्जाका कारण पार्टी यो सम्मानजनक अवस्थामा छ,’ पौडेलले भने, ‘अन्यथा इतिहासको गर्तमा हराउने जोखिम थियो। अत: यसलाई निराशाको रूपमा होइन, संगठन पुनर्गठनको अवसरका रूपमा लिनुपर्दछ ।’
प्रतिक्रिया 4