News Summary
Generated by OK AI. Editorially reviewed.- महिला उद्यमी महासंघ नेपालले २० देखि २२ चैतसम्म काठमाडौंमा नवौंं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ।
- मेलामा ७७ जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रका महिला उद्यमीले १ सय ४० स्टलमा जैविक खाद्य पदार्थ, हस्तकला र अन्य उत्पादन प्रदर्शन गर्नेछन्।
- मेलामा ५० हजारले अवलोकन गर्ने र करिब २ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ।
१० चैत, काठमाडौं । महिला उद्यमीहरूको उत्पादन बजारसँग जोड्ने र उनीहरूको व्यावसायिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसाथ काठमाडौंमा ‘नवौंं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६’ आयोजना हुने भएको छ ।
महिला उद्यमी महासंघ नेपालले २० देखि २२ चैतसम्म मेला आयोजना गर्न लागेको हो । ७७ जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रका सफल महिला उद्यमीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको मेलामा नेपाल सहित विभिन्न देशका महिला उद्यमी सहभागी हुनेछन् ।
मेलामा घरेलु, साना तथा मझौला उद्यमी, व्यवसायी र निर्यातकर्ताले आफ्ना मौलिक उत्पादन प्रदर्शन गर्नेछन् ।
१४० स्टल र अन्तर्राष्ट्रिय सहभागिता
महासंघ अध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा कुल १ सय ४० स्टल रहनेछन् । जसमा जैविक खाद्य पदार्थ, रैथाने परिकार, कृषिजन्य उत्पादन, जडीबुटी, हस्तकला सामग्री, मूर्ति, गरगहना र सजावटका सामान मुख्य आकर्षण हुनेछन् । मेलामा ३ सयभन्दा बढी महिला उद्यमीका उत्पादन प्रदर्शनीमा राखिने छ ।
मेलामा नेपालका साथै भारतको फेब्रिक र कस्मेटिक, चीनको इलेक्ट्रोलिटी ड्रिंक्स, कोरियाको कस्मेटिक्स र नुडल्स तथा भुटानको रिसाइकल गरिएका उत्पादन प्रदर्शनी र बिक्री गरिने आयोजकले जनाएको छ । विशेषगरी सातै प्रदेशका महिला उद्यमीले आफ्ना रैथाने उत्पादन मेलामा ल्याउनेछन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा अपाङ्गता भएका महिला उद्यमीका लागि नि:शुल्क स्टलको व्यवस्था गरिएको छ । त्यसैगरी स्टार्टअप उद्यमी, युवा र जिल्लाका उद्यमीलाई सहुलियत दरमा स्टल उपलब्ध गराइने महासंघले जनाएको छ ।
मेला केवल प्रदर्शनीमा मात्र सीमित नभई महिला उद्यमीको क्षमता विकासमा समेत केन्द्रित हुनेछ । मेला अवधिभरि प्यानल डिस्कसन, डिजिटलाइजेशसन तालिम, बजार विस्तार र वित्तीय साक्षरता जस्ता विषयमा विशेषज्ञले प्रशिक्षण दिने कार्यक्रम समेत तय छ ।
२ करोडको कारोबार लक्ष्य
आयोजकले यस पटकको मेलालाई करिब ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरेको छ । मेला अवधिभरि करिब २ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य छ ।
महिला उद्यमीको सिप र सिर्जनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न यो मेलाले महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास अध्यक्ष श्रेष्ठले व्यक्त गरिन् ।
यस प्ल्याटफर्म मार्फत महिला उद्यमीलाई नेटवर्किङ र व्यापारिक सहकार्यको अवसर मिल्ने आयोजकको भनाइ छ ।
प्रतिक्रिया 4