News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पा नगरपालिका-१० धवाङ-धाङ्सीका जन्मिएका सन्देश बुढामगरका दुवै हात जन्मजात रूपमा नचल्ने समस्या छ।
- २०८२ चैत ८ गते रोल्पा पालिकास्तरीय वार्षिक परीक्षा दिँदै गर्दा शिक्षक खिम बुढामगरले सन्देशको खुट्टाले लेखेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरे।
- शिवम सिमेन्ट लिमिटेडको सहयोगमा सन्देशलाई काठमाडौंको खगेन्द्र नवजीवन केन्द्रमा १२ कक्षासम्म पढ्न अवसर मिलेको छ।
१५ वैशाख, रोल्पा । २०७० वैशाख १९ गते रोल्पा नगरपालिका-१० धवाङ-धाङ्सी जन्मिएका सन्देश बुढामगरका दुवै हात चल्दैनन् । यो उनको जन्मजात समस्या हो ।
साधारण किसान परिवारका आमा-बुबा खेतीकिसानी र ज्यालामजदुरी गरेर घरखर्च चलाउँदै आएका छन् । त्यसैले सन्देशले आर्थिक अभावका कारण समयमै राम्रो उपचार पाएनन् ।
सन्देश नेपाल राष्ट्रिय आधारभूत विद्यालयका कक्षा-५ का विद्यार्थी हुन् । एक महिनाअघि उनी परीक्षा दिन अर्को वडाको हिमालय मावि पुगेका थिए ।
२०८२ चैत ८ गतेदेखि सुरु भएको पालिकास्तरीय वार्षिक परीक्षामा सहभागी भए । त्यही परीक्षाबाट उनको जीवनले नयाँ मोड लियो । रोल्पाबाट ५ कक्षाको परीक्षा दिएका दुवै हात नचल्ने सन्देश अहिले पढाइका लागि काठमाडौं आएका छन् ।
जब शिक्षकको नजरमा परे

सन्देशले परीक्षा दिइरहेको शिक्षक खिम बुढामगरले नियालिरहेका थिए । खिम बुढामगर परीक्षा सञ्चालनका लागि खटिएका निरीक्षक हुन् ।
उनै शिक्षकले २०८२ चैत १० गते आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिएको भिडियो सार्वजनिक गरे ।
शिक्षकले सार्वजनिक गरेको उक्त भिडियोले धेरैको ध्यान खिच्यो । उनलाई सहयोग गर्न धेरै व्यक्ति तयार देखिए । अब उनी खगेन्द्र नवजीवन केन्द्रमा अध्ययन गर्ने भएका छन् । शिवम सिमेन्ट लिमिटेडको सहयोगमा १२ कक्षासम्म सन्देशले नवजीवन केन्द्रमा पढ्न पाउने भएका हुन् ।
शिवम सिमेन्ट लिमिटेडका प्रमुख केशव अर्याल सन्देशलाई लिन आइतबार रोल्पा घरमै पुगेका थिए । उनीहरुको टोलीले रोल्पाबाट सन्देशलाई सोमबार काठमाडौं लिएको शिक्षक खिम बुढामगरले जानकारी दिए । ‘मैले जुन उद्देश्यले भिडिओ सार्वजनिक गरेको थिएँ त्यो सपना पूरा भएको छ’, उनले भने ।
सन्देशका बुबा रामु बुढामगरले पनि खुसी व्यक्त गरेका छन् । ‘मेरो छोराको अध्ययन र भविष्यका लागि शिवम सिमेन्टस लिमिटेड र खगेन्द्र नवजीवन केन्द्रले सबै व्यवस्थापन गरिदिएको छ’, उनले भने, ‘अध्ययन र उपचारका लागि म पनि सन्देशसँगै काठमाडौं गएको छु ।’
सन्देशले अध्ययन गरेको विद्यालयका शिक्षकहरुले उनीमा असाधारण क्षमता रहेको बताउँ छन् । उनले खुट्टाले लेखेका अक्षरहरु सुन्दर छन् । उनको अन्य प्रस्तुति पनि राम्रो रहेको विद्यालयको भनाइ छ ।
सन्देशले कठिन परिस्थितिमा पनि आफूले अध्ययन गरिरहेको र काठमाडौंसम्म गएर राम्रो स्कुलमा पढ्न पाउँछु भन्ने कहिल्यै नसोधेको बताएका छन् ।
‘मेरो जन्मजात नै दुवै हात नचल्ने समस्या भएपनि कहिल्यै मैले कमजोर ठानिनँ’, सन्देशले भने, ‘ काठमाडौं जस्तो ठाउँमा गएर पढ्न पाउछु भनेर कल्पना गरेको थिइनँ ।’
उनले काठमाडौमा पढ्न पाउँदा आफू हर्षित भएको सुनाए । आफ्नो कमजोरीलाई नै शक्तिमा बदल्ने अठोट गरे ।
सन्देशको घरमा बुवा रामु र आमा तीर्थमायाका साथ दुई दिदी र एक भाइ छन् ।
प्रतिक्रिया 4