News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पा नगरपालिका–१० धवाङ, धाङ्सी गाउँका १२ वर्षीय सन्देश बुढामगर खुट्टाले लेख्छन् । अहिले उनी कक्षा पाँचको वार्षिक परीक्षा दिइरहेका छन् ।
- सन्देशले जन्मजात दुवै हात नचल्ने समस्या भए पनि आफूलाई कमजोर नठानेको बताए ।
- उनी रोल्पाका मात्र होइनन्, दृढ संकल्प बोकेका हरेक व्यक्तिका लागि प्रेरणाका प्रतीक बनेका छन् ।
रोल्पा । रोल्पाको ओरालो–उकालो गर्दै करिब डेढ घण्टाको पैदल यात्रा गर्दै १२ वर्षीय एक बालक दैनिक परीक्षा केन्द्र पुग्छन् । अनि खुट्टाले नै परीक्षा लेखेर फर्किन्छन् । यी हुन् रोल्पा नगरपालिका–१० धवाङ, धाङ्सी गाउँका सन्देश बुढामगर, जो यतिबेला खुट्टाकै सहाराले आफ्नो भविष्य लेखिरहेका छन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालयका कक्षा–५ का विद्यार्थी उनी परीक्षा दिन अर्को वडाको हिमालय मावि पुग्छन् । जिल्लामा चैत ८ गतेदेखि सुरु भएको पालिकास्तरीय वार्षिक परीक्षामा सहभागी हुन्छन् । परीक्षा दिँदा उनलाई भुइँमा बस्ने व्यवस्था मिलाइएको छ । कलम खुट्टाका औंलाले च्यापेर लेख्न थाल्छन् ।
उनका अक्षरभित्र लुकेको संघर्ष र मेहेनत असाधारण छ । लाग्छ हरेक परीक्षा उनका लागि केवल शैक्षिक मूल्यांकन होइन, आत्मविश्वासको परीक्षण पनि हो । सन्देशको प्रस्तुति देख्नेहरू अचम्मित पर्छन् ।
सन्देशका लागि जीवनको सुरुवात सहज थिएन । खाना खाने, लुगा लगाउनेदेखि दैनिक क्रियाकलापमा हातले साथ दिएनन् । जन्मजात नै दुवै हात नचल्ने समस्या भए पनि सन्देशले कहिल्यै आफूलाई कमजोर ठानेनन् । उनले आफ्नो कमजोरीलाई नै शक्तिमा बदल्ने अठोट गरे ।
नर्सरी कक्षादेखि नै उनले खुट्टाले लेख्ने अभ्यास सुरु गरे । आज उनी भन्छन्, ‘स्कुल जान थालेदेखि नै खुट्टाले लेख्न अभ्यास गरेँ । आजभोलि त जतिसुकै लेख्न परे पनि खुट्टाको सहयोगमा सहजै लेख्न सक्छु ।’
शिक्षक खिम बुढामगरका अनुसार सन्देशले उत्तरपुस्तिकाका सबै प्रश्नको जवाफ स्पष्ट र बुझिने गरी खुट्टाले नै लेख्छन् । दुर्गम गाउँमा सडक पुगे पनि यातायातको पहुँच नहुँदा उनी दैनिक डेढ घण्टा हिँडेरै परीक्षा केन्द्र पुग्ने गरेका छन् ।
प्रेरणाको स्रोत : झमक कुमारी घिमिरे
सन्देशको यो यात्रा केवल अक्षर कोर्नुमा मात्र सीमित छैन । उनलाई साहित्यकार झमक कुमारी घिमिरेको जीवनीले ठूलो ऊर्जा दिएको छ । झमकले खुट्टाले लेखेरै मदन पुरस्कार जितेको र विश्वमै नाम कमाएको कथाले सन्देशलाई डोहोर्याइरहेको छ ।
‘झमक कुमारी घिमिरेले पनि खुट्टाले लेखेर किताबहरू लेखेको थाहा पाएको छु,’ सन्देश आत्मविश्वासका साथ भन्छन्, ‘म पनि धेरै पढ्न–लेख्न चाहन्छु र आफ्नो खुट्टामा आफैं उभिन चाहन्छु ।’
आर्थिक अभाव तर दृढ संकल्प
दुर्गम परिवेश र विपन्नताका कारण सन्देशका अभिभावकले उनको हात नचल्नुको वास्तविक कारण पत्ता लगाउन सकेका छैनन् । उचित स्वास्थ्य जाँचको अभावमा उनको उपचार हुन सकेको छैन ।
तर, हात नचल्दाका बाबजुद उनको पढ्ने भोक र अगाडि बढ्ने इच्छाशक्तिले सबैलाई सन्देश दिएको छ– यदि हिम्मत छ भने कुनै पनि बाधाले सफलताको बाटो रोक्न सक्दैन ।
सन्देश बुढामगर आज रोल्पाका मात्र होइनन्, दृढ संकल्प बोकेका हरेक व्यक्तिका लागि प्रेरणाका प्रतीक बनेका छन् ।
प्रतिक्रिया 4