८ चैत, रोल्पा । समानुपातिकतर्फका ११० सांसद रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको भागमा परे । यी ६ दलले मात्रै थ्रेसहोल्ड पुर्याएकोले ११० सिट उनीहरुको भाग परेको हो । तर, यी दलहरुले भूगोलको प्रतिनिधित्व गराउन सकेनन् । समानुपातिकतर्फ यसपटक ३७ जिल्लाले सांसद पाएनन् ।
समानुपातिक सांसद नपाउने जिल्लामध्ये रोल्पा पनि एक हो । रोल्पासहित लुम्बिनी प्रदेशका छ जिल्लामा समानुपातिक सांसद शून्य रहेका छन् । रोल्पाकै प्रतिनिधित्व हुने गरी दलहरुले समानुपातिक सांसद नबनाए पनि यहाँका छोरी-बुहारीले भने सांसद बन्ने अवसर पाएका छन् ।
रास्वपाले सबैभन्दा धेरै ५७ समानुपातिक सांसद पायो । ती ५७ जनामध्ये खस आर्यबाट रोल्पामा जन्मिएकी क्रान्ति शिखा धिताल परिन् । रोल्पामा जन्मिएको भए पनि उनी दाङबाट समानुपातिकको सूचीमा थिइन् ।
क्रान्ति शिखा रोल्पाको नाउलीमा जन्मिएकी हुन् । तत्कालीन जिनाबाङ गाविसमा पर्ने नाउली हाल गंगादेव गाउँपालिका-५ मा पर्छ ।
२० समानुपातिक सांसद पाएको कांग्रेसबाट आदिवासी जनजाति कलस्टरबाट रेनुका काउचा मगर सांसद बनिन् । काउचा रोल्पाकी बुहारी हुन् । उनी बागलुङबाट समानुपातिकको बन्द सूचीमा परेकी थिइन् ।
बागलुङको रिघामा जन्मिएकी काउचाले २०७७ सालमा रोल्पा नगरपालिका-८ जङ्कोटमा बिहे गरिन् । उनी उपप्रमुख हुँदै अहिले समानुपातिक सांसद बनेकी हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा गल्कोट नगरपालिकाको उपप्रमुख निर्वाचित भएकी थिइन् ।
९ जना समानुपातिक सांसद पाएको नेकपाले आदिवासी जनजाति कलस्टरबाट भीमकुमारी बुढामगरलाई अवसर दियो । बुढामगर पनि रोल्पाकी छोरी हुन् तर उनी दाङबाट समानुपातिक सूचीमा परेकी थिइन् ।
माओवादी जनयुद्धमा सामेल भएकी बुढामगर लाप्चन गाउँमा जन्मिएकी हुन् । यो माडी गाउँपालिका-६ कोर्चाङमा पर्छ । रोल्पाको जेलबाङमै बिहे गरेकी उनी २०६२/०६३ को शान्ति प्रक्रियापछि भने दाङ झरिन् । र, दाङकै प्रतिनिधित्व गरेर सांसद बनिन् ।
प्रतिक्रिया 4