२३ असार, काठमाडौं । विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग लिइएको तथ्यांकलाई आधार मानिएको छ ।
तथ्यांक अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ रहेको थियो । मध्यिका आम्दानी भने ४४ हजार ५ सय रहेको देखिन्छ । यसको मतलव उच्च आम्दानी भएका श्रमिकको संख्या कम छ । तर, उनीहरूको आम्दानी बढी हुँदा औसत आम्दानी मध्यिका आम्दानीको तुलनामा माथि देखिएको छ ।
कार्यालयका अनुसार यो सर्वेक्षण नमुना छनोट विधिमा आधारित घरपरिवार सर्वेक्षण हो । सर्वेक्षणका लागि देशभरबाट प्रतिनिधित्व हुनेगरी ३ हजार ७४२ घर परिवार समेटी राष्ट्रिय स्तरमा विश्वसनीय अनुमान प्राप्त गरिएको थियो ।
सर्वेक्षणको नतिजाले सन् २०२३ मा नेपालको कुल जनसंख्या २ करोड ९६ लाखमध्ये २४ लाख ५० हजार (८.३ प्रतिशत) जनसंख्या फर्किएका आप्रवासी रहेको देखिएको छ । यसमध्ये १६ लाख १० हजार (५.४ प्रतिशत) जनसंख्या विदेशमा काम गरी नेपाल फर्किएको पाइएको छ । विदेशमा काम गरी फर्किएका नेपाली आप्रवासीमध्ये २ लाख ८३ हनार ६८६ (१५.७ प्रतिशत) श्रमिक विगत ५ वर्षको अवधिभित्र वैतनिक रोजगारीमा विदेश गएको समेत देखिएको छ ।
सर्वेक्षण अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकमध्ये पुरुषको आम्दानी महिला श्रमिकको तुलनामा बढी देखिएको छ । पुरुषको औसत आम्दानी ६४ हजार ७२१, मध्यिका ४४ हजार ५०५ रुपैयाँ रहेको सर्वेक्षणको निष्कर्ष छ । महिलाको मासिक औसत आम्दानी ४८ हजार ६४७ रुपैयाँ र मध्यिका ३० हजार ९२० रुपैयाँ रहेको छ । यसले विदेशमा आप्रवासी श्रमिको मासिक आय असमान रहेको संकेत गरेको छ ।
औसत आम्दानी मलेसियाको उच्च
यस सर्वेक्षणबाट प्रथम औसत आम्दानीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ । मलेसियाको औसत आम्दानी ५७ हजार ६९६ रहेको देखिएको छ । त्यसपछि कतार र संयुक्त अरब इमिरेट्सको ५५ हजार रुपैयाँ रहेको छ ।
सबैभन्दा कम भने भारतमा औसत मासिक २६ हजार ८३ रुपैयाँ र मध्यिका आम्दानी २४ हजार रहेको सर्वेक्षणको नतिजा छ । क्षेत्रगत रुपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढी मासिक आम्दानी औसत ६५ हजार ३४५ रुपैयाँ र सबैभन्दा कम कृषिमा ३४ हजार ५२८ रहेको छ ।
उद्योगमा औसत ४६ हजार १८२ रुपैयाँ आम्दानी गर्ने गरेको तथ्यांकले देखाएको छ । आप्रवासी श्रमिकको आम्दानी उच्च सिपयुक्त पेशामा सबैभन्दा धेरै रहेको छ । उच्च सिपयुक्त पेशमा मासिक औसत आम्दानी ६९ हजार ८९१ र मध्यिका ५१ हजार ६०६ रुपैयाँ रहेको छ ।
३४.७ प्रतिशत श्रमिकले मात्र पाए शून्य भर्ना लागत
सर्वेक्षण अनुसार समग्रमा ३४.७ प्रतिशत नेपाल फर्किएका अन्तर्राष्ट्रिय आप्रवासी श्रमिकले वैदेशिक रोजगारी प्राप्त गर्न कुनै पनि किसिमको शूल्क वा अन्य लागत तिर्नु नपरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक महिलामध्ये ५४.२ प्रतिशत महिला श्रमिकले कुनै लागत तिर्नु नपरेको बताएका थिए । पुरुषमा भने यो अनुपात ३३.२ प्रतिशत मात्र रहेको छ । क्षेत्रगत रुपमा हेर्दा सेवा क्षेत्रमा कार्यरत श्रमिकमा शून्य लागतको अनुपात सबैभन्दा उच्च ३७.२ प्रतिशत, उद्योगमा ३२.८ प्रतिशत र कृषिमा २९.५ प्रतिशत रहेको छ ।
अन्य कामदारले भने उच्च लागत तिरेर विदेश जानु परेको अवस्था देखिएको छ । सर्वेक्षण अनुसार पुरुषले औसत १ लाख ७६ हजार ६८६ रुपैयाँ र मध्यिका खर्च १ लाख ७० हजार रुपैयाँसम्म गर्नुपरेको देखिएको छ । महिलाको लागत हेर्दा औसत भर्ना लागत २ लाख १९ हजार ३६२ र मध्यिका १ लाख २० हजार सम्म लागत लागेको छ ।
क्षेत्र र सिप अनुसार भर्ना लागत हेर्दा सेवा क्षेत्र र उच्च सिपयुक्त पेशामा भर्ना लागत उच्च रहेको छ । कृषिमा भने सबैभन्दा कम लागत रहेको सर्वेक्षणबाट देखिएको छ ।
लागत परिपूर्ति गर्न ३.३ महिनाको आम्दानी आवश्यक
लागत र आम्दानीको हिसाव गर्दा नेपाल फर्किएका आप्रवासी श्रमिकलाई आफ्नो भर्ना लागत बराबर गर्न ३.३ महिनाको मासिक आम्दानी पर्ने देखिएको छ ।
महिलालाई यस्तो भर्ना लागत बराबर गर्न पुरुषको तुलनामा बढी अर्थातः ४.५ महिनाको आम्दानी पर्ने देखिएको छ । मध्यिका आधारमा श्रमिकको लागत सूचक ३.७ महिना रहेको छ । यस आधारमा हेर्दा भर्ना लागतमा लैङ्गिक अन्तर केही घटे पनि बहन क्षमता सम्बन्धी चुनौती कायम रहेको छ ।
दर्ता नभएका एजेन्टबाट जाँदा बढी लागत
विदेश जाँदा दर्ता नभएका एजेन्टमार्फत जाँदा उच्च लागत पर्ने गरेको देखिएको छ । यस्ता एजेन्टबाट विदेश जाँदा औसत ४.८ महिनाको आम्दानी लागतका रुपमा लाग्ने गरेको छ ।
मध्यिका हिसावमा यो लागत ४.७ महिना रहेको छ । दर्ता भएका भर्ना एजेन्सी/कम्पनीबाट जाँदा औसतः ३.६ महिना र मध्यिका ४.४ महिना लाग्ने गरेको तथ्यांकले देखाएको छ । सबैभन्दा न्यून भर्ना लागत भने परिवार र साथीहरूमार्फत गएका कामदारको हकमा लागेको छ ।
प्रतिक्रिया 4