+
+
Shares

कमरेड चिर्को

रोल्पा रुकुमका माओवादी नाममा गरेको मेरो खोजमा जात, वर्ग वा लिंगका कारण पिंधमा पारिएका नै कमरेड गर्जन बनेका थिए । कमरेड हुरी, कमरेड झरी, कमरेड असिना र कमरेड चिर्को भएका थिए ।

नवीन विभास नवीन विभास
२०८२ वैशाख २७ गते १९:१४

बादल लागेपछि सर्ग (आकाश) गर्जन्छ । बादल लागेकै बेला चिर्को पर्छ । हुरी चल्छ । आँधी आउँछ । असिना पर्छ । बादल विना न चिर्को (चट्याङ) पर्छ न असिना झर्छ ।

बादल विना न सर्ग गर्जन्छ न त आँधी आउँछ न असिना झर्छ, न हिउँ पर्छ । बादल दौडेकै बेला गड्याङगुडुङ गर्जन गति पछ्याउँदै चिर्को पर्छ । असिना झर्छ । हुरी चल्छ । बादलसँगै लर्को लाग्छ– हिउँ, हुरी, झरी, आँधी, असिना, चिर्को ।

धर्तीभन्दा कति माथि र सर्गभन्दा कति तल बादल बस्छ ? जवाफको जिम्मा जानभानलाई । सर्वसाधारणलाई यति थाहा छ कि, बादल बास सर्ग हो ।

पचास दशक थालनीको कुनै दिन बादल धर्तीमा झरेको छ भन्ने रोल्पा रुकुमतिर खासखुस चल्यो । संयुक्त जनमोर्चा, नेपाल खलकमा चलेको खासखुस खल्लीबल्ली दिन दुई गुना त रात चौगुना बढ्यो ।

जनमोर्चा भनेको संयुक्त जनमोर्चा नेपाल थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकताकेन्द्र)को चुनावी मोर्चा । जसको मूली शुरूमा पम्फा भुसाल थिइन्, पछि डा. बाबुराम भट्टराई ।

आफ्नै गाउँमा बादल आउला भनेर कल्पेकै थिएनन् । देख्नु त पल्नुढिक थियो । तिनले देखेको र थाहा पाएको बादल सर्गमा बस्थ्यो । जो कहिले पूर्व त कहिले पश्चिम दौडन्थ्यो । कहिले उत्तर त कहिले दक्षिण फर्केर गर्जन्थ्यो । जसको अनुहार कहिले निक्खर कालो हुन्थ्यो कहिले खैरो कहिले राँघेमाघे त कहिले सेतो भेडाको ऊन जस्तो । सर्गवासी बादल अन्यत्र पनि देखिएला भन्नु सर्वसाधारणका लागि कल्पना बाहिरको कुरा थियो ।

बादल लाग्दा कहिले पानी पर्थ्यो कहिले असिना झर्थ्यो, कहिले चिर्को पर्थ्यो, कहिले हुरी चल्थ्यो त कहिले आँधी आउँथ्यो ।

हो, बादल आफ्नै गाउँ टोलमा आएको ‘सनिस’ एक कान दुई कानहुँदै रोल्पा रुकुममा बादल मैदान भयो ।

गाउँ पुगेका बादल त खुलमखुल्ला सर्गमा बेतालले दगुर्ने बादल थिएनन् । गोप्य ठाउँमा बस्ने भूमिगत । भन्थे, बादल त ‘सेल्टर’मा बस्छन् । जनमोर्चा खलकका पनि जानभानले मात्र बादल देख्न, भेट्न र कुरा गर्छन् भने । बादललाई देख्ने, भेट्ने साइत जुरेकाले सोध्थे, ‘बादल भनेको मानिस पो हो !’

‘हो ।’

‘मानिस मात्र होइन नि !’

‘हो र !’

‘कमरेड बादल ।’

‘कमरेड बादल !’

‘बड्डा त जातिबित्ती सप्र्‍या रैछन्’ पहिलो पालि देख्ने आश्चर्यचकित हुन्थे, ‘कस्तो ज्यान परेको है !’

सप्र्‍याको भन्नुको मतलब सप्रेको, हेन्डसम हो ।

यसो भन्नुको कारण थिए ।

एक, उनी सेते थिए । गोरे थिए ।

नेपालको मूलधारे सौन्दर्यशास्त्र अनुसार सुन्दर, हेन्डसम र सप्रेको हुनुको एउटा तत्व अनुहारको रंग सेतो, गोरो रङ पनि थियो । शासक सौन्दर्यशास्त्रीय भाष्य आँखाले बादललाई सुन्दर देखे ।

दोस्रो, उनको अनुहार सफासट थियो । गोलोगोलो थियो ।

मगर बहुल रोल्पा रुकुममा मूलधारे सौन्दर्यशास्त्रले त्यसबेलासम्म पूर्णरूपले कब्जा जमाइसकेको थिएन । अनुहार र छाती रौंले भरिएको मर्द, हेन्डसम, हिरो, सुन्दर भन्ने मूलधारे सौन्दर्यशास्त्रले पूरापूर पुरेको थिएन ।

माथि उल्लिखित दुई कारणले रोल्पा, रुकुमका तन्नेरीले कमरेड बादललाई भव्य देखे । सुन्दर देखे । हेन्डसम देखे । हिरो देखे ।

त्यो त बादलको बाहिरी आवरण थियो । आवरणमा नदेखिएका गुणबारे कमरेड बादलको बखान गरिसाध्य थिएन । जस्तोः रसियामा पढ्दापढ्दै गरिब, दलित, आदिवासी र कुनाका मानिसका सुनौलो दिन ल्याउन नेपाल फर्केका पढालेखा कमरेड । नेपाली जनताको मुहार फेर्न आएका कमरेड बादल । लाहुरेपुत्र बादल नपुगी नसरी रोल्पा रुकुममा दुःख काट्न आएका होइनन्, जनसेवा गर्न आएका हुन् । गरिब जनताको दिन फिराउन आएका हुन्, आदि आदि ।

बादल बखान यति व्यापकता भयो कि, बादल देखेर भेटेर सुनेर रोल्पा रुकुमका तन्नेरी माओवादीको ‘क्रान्तिकारी’ रङले रंगिए । रूसको त्यत्रो पढाइ र घरको सुखसयल त्यागी नेपाली जनक्रान्तिमा होमिन बादल नै आएपछि हामी नलागी भयो त ? त्यसपछि तिनका सपनामा पनि विपनामा क्रान्ति नै क्रान्ति देखे । परिवर्तनको पारिलो घाम आफ्नै पालामा आफ्नै आङमा लाग्ने आश पलायो । आफैंले आफ्नै जिन्दगीमा देख्ने र भोग्ने गरी आमूल परिवर्तनको सपना सजाए ।

अनि त्यसपछि के भयो ?

२०१३ मा कम्युनिष्ट पार्टी जन्मेको थबाङ (माओवादी मक्का मानिने रोल्पाको थबाङ) छिमेकी गाउँ र रुकुम (पूर्व) सदरमुकाम रुकुमकोटबाट करिब २५ किलोमिटर उत्तरपूर्व गुनामका काइँला जिते कामी (६४) (नाउँ त उनको जितेन्द्र शिर्पाली हो) कमरेड चिर्को भए । उनका भाइ, भतिजा जति थिए, ती पनि कमरेड भए । तीमध्ये कति युद्धमा मारिए त कति घाइते भए । दलित, मगर र नेवार समुदाय बस्ने गुनाममा कमरेड चिर्कोलाई माओवादीले भन्यो, ‘भोलि त बम पड्कनेवाला छ, पुलिसले नचिन्ने नाम राख्नुपर्छ ।’

‘मैले नाम चिर्को राखें । चिर्को भएपछि पुलिसले सितिमिति पत्ता लगाउन नसक्ने भयो नि’ उनले पार्टी नाम चिर्को राखेको समय सम्झिएका थिए, ‘गुनाममा एकान्त घरमा बैठक थियो । त्यसैबेला राखेको नाउँ हो, चिर्को ।’

युद्ध सुरु नहुँदै जिते कामी कमरेड चिर्को भएका थिए । युद्धकालमा महत गाजस(गाउँ जनसरकार) प्रमुख भए । युद्धकालमा रोल्पा रुकुमका वनपाखाले पनि कमरेड चिर्को भनेर चिन्यो ।

‘पार्टीले जहाँ खटाए पनि ज्यान फालेर पुग्थें । कामकाजमा असाध्यै खट्ने नि म त । जसरी सर्ग गर्जियो कि चिर्को पर्छ त्यसरी नै फलानो ठाउँमा चिर्कोलाई पठाएपछि चिर्को पारेरै छाड्छ भनेर कमरेडहरूले भन्थे’, उनले सम्झिए ।

लेखपढ पनि नभएका, आर्थिक अवस्था पनि कमजोर रहेका र जातीय विभेदको खाडलमा भासिएर उकुसमुुकुसिएका जिते जनयुद्ध जितेर ‘मानिस’ भएर मानिस जिन्दगी जिउन चाहन्थे । त्यसैले त कमरेड चिर्को भएका थिए ।

रोल्पा रुकुममा चिर्को पर्छ । चट्याङ पर्दैन । रोल्पा रुकुमको चिर्को नै खस नेपाली मानक भएर चट्याङ कहलिएको थियो । रोल्पा रुकुमतिर त गाली गर्दा पनि चिर्को नै पर्छ । गाली नै छ, ‘तेरो घरमा चिर्को बजाङ्ङो परोस् ।’

कमरेड चिर्कोको छिमेकी जिल्ला रोल्पा सदरमुकाम लिबाङसँग जोडिएको धबाङका दुर्गालाल बिक (४३) कमरेड चट्याङ भए । कमरेड चट्याङ सुन्नेबित्तिकै गाउँका जानभान, मुक्खे, कांग्रेस–एमालेका बलियाबांगा थरर्र थर्कन्थे ।

‘चट्याङलाई जिम्मा दिए ठीक पार्छ भन्थे कमरेडहरूले’, कमरेड चट्याङले आफू चट्याङहुँदाखेरिका चट्याङकालीन दिन सम्झिएका थिए, ‘त्यतिबेला दलितको हैसियतले म त शोषितपीडितको पार्टी भनेर माओवादीमा लागें ।’

उनले माओवादीलाई आफ्नो जे जति खुशी, पसिना र समय जे थियो, सबथोक बुझाए ।

२०६२ को एक रात । जुनबेला माओवादी युद्ध उत्कर्षमा थियो । जनयुद्धसँगै कमरेड चट्याङ पनि ।

त्यस रात लिबाङछेवैको धबाङको सर्गमा जूनतारा थिए । त्यसै बेला एउटी महिलालाई व्यथाले च्याप्यो । बच्ची पाइन् । उनै जूनतारा आँखामा लिएर एउटा युवा सुत्केरीछेउ पुगे । सुत्केरी सिहार्न भेला भएकाले भने, ‘छोरीको बाउ भइस् ।’

एकदिन दुई दिन गर्दै न्वारानको दिन आयो ।

‘के नाउँ राख्ने ?’

जूनतारा झलल लागेको बेला जन्मेकी बच्चीको नाउँ के राख्ने ?

जूनतारा आँखामै लिएर गएका ती युवाले भने, ‘जूनतारा ।’ जूनतारा राखिदिने कमरेड चट्याङ थिए । जूनतारा चट्याङपुत्री ।

स्मरणीय त के भने, कमरेड चट्याङले आफ्नो कान्छो छोराले लामो जिन्दगी जिओस् भनेर नाउँ राखिदिए, जीवन ।

चट्याङले दिल दिएर घरजम बसालेका थिए । जन्मेको उनको जेठो छोरालाई चट्याङमाताले नाम राखिदिएकी थिइन्, दिलकुमार ।

कमरेड चिर्को र चट्याङका दिलमा कमरेडहरू बसेका थिए । तिनीहरूले रुकुम चुनबाङ लाखरखोलाका कमरेड चट्याङ (दयालसिंह पुन) सम्झिए । चुनबाङसँगै जोडिएको रोल्पा जुमाराङ्सी र मिरुलका कमरेड चट्याङ पनि । दक्षिण रोल्पा बुढागाउँका कमरेड चट्याङ (रेशम पुन) सम्झिए । रोल्पा थबाङकी कमरेड असिना (सम्झना घर्तीमगर)लाई पनि सम्झिए । तिनीहरूले सम्झेका रुकुम (पूर्व)का कमरेड आगो र रोल्पा ढाङढुङ मिरुलका कमरेड झिल्को पनि थिए ।

चिर्को र चट्याङ क्रमशः जिते कामी र दुर्गालाल बिकका पार्टी नाम थिए । माओवादीले भन्थ्यो– टेकनाम, उपनाम, पार्टी नाम, कमरेड नाम । माओवादी नेता व्याख्या गर्थे, ‘टेकनाम, पार्टी नाम राख्नु, नयाँ मानिस बन्नु हो । आफू बदलिनु हो, दुनियाँ बदल्नु हो ।’ अध्यात्मवादी रुझानवालाका वाक्य सापटी लिएर भन्ने हो भने माओवादी नाम राख्नु त नयाँ जुनी फेर्नु थियो ।

माओवादी भाषामा भन्दाखेरि दुश्मनको दुनियाँमा चिर्को पारी नयाँ जुनी फेर्न जिते र दुर्गालालहरूले चिर्को, चट्याङ, आगो, असिना, आँधी, हुरी, झिल्को जस्ता विस्फोटक नाम राखेका थिए । राजनीतिक व्यवस्था बदल्न त्यति भयानक नाउँ राखेका थिए । दुवैका लागि यो राजनीतिक व्यवस्था यति प्रतिकूल र यति उकुसमुकुस थियो कि, चिर्को नपारी तिनले सास फेर्ने कल्पना पनि गर्न सक्तैनथे । नेपालको जात व्यवस्थाले पिंधमा पेलेको समुदाय र वर्गका ती दुवैलाई आजको आज नै जनवाद चाहिएको थियो । चिर्को नपारी तिनका जीवन फेरिनेवाला थिएन/छैन । ठाउँको ठाउँ नफेरी भएको थिएन । तिनलाई आफ्नै जीवनमा परिवर्तन चाहिएको थियो । त्यसैले ठाउँको ठाउँ परिवर्तन चाहिएको थियो । आजको आजै परिवर्तन खाँचो थियो । तिनका आँखामा र तिनकै जीवनमा परिवर्तन नभई भएको थिएन । त्यसैले न कमरेड चिर्को र कमरेड चट्याङ भएका थिए ।

माओवादी आधार इलाका रोल्पा रुकुमका करिब सय जना कमरेडका कमरेड नाम खोजेको थिएँ । तिनका नाउँबारे संवाद गरेको थिएँ । चिर्को जस्ता नाम राख्ने प्रायः नेपालको जात व्यवस्था र जात व्यवस्थामा उभिएको राज्यसत्ताले सबभन्दा पिंधमा पारिएका थिए । वर्गको हिसाबले गरिब थिए । विस्तृत हेर्न मन लागे मार्टिन चौतारीको ‘माओवादी गुप्त (टेकनाम) मा के छ’ जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.थलकीप्द्दशिmदक क्लिक गर्नुहोला ।

जिते र दुर्गालालहरूले आफ्नो वरपरका तर भयानक चिज पार्टी नाम रोजेका थिए । प्रकृतिसँगको सामीप्यमा रहेका चिज नै नाम छानेका थिए । भन्नुहोला, किन विस्फोटक, भयानक, भयंकर, भय र भत्काउने चिज नाम रोजे ? त्यसको पछाडि तिनका पृष्ठभूमिवाल समाजशास्त्र थियो । नेपाली समाज उभिएको जात र वर्ग संरचनाले तिनका घाँटी अठ्याएर सास न बास भएका थिए ।

भन्छन्, नाममा के छ र ? नाममा केही छैन । हुन पनि नाममा के छ र ? केही छैन । चिन्ने संकेत न नाम हो । यति भनेर सुख भने कसरी पाइनु र ? जे छ नाममै त छ । नामले नै मानिसको मनोविज्ञान, आनीबानी, चिन्तन, वर्ग, जात र चरित्र चियाउँथ्यो ।

रोल्पा रुकुमका माओवादी नाममा गरेको मेरो खोजमा जात वा वर्ग वा लिंगका कारण पिंधमा पारिएका नै कमरेड गर्जन भएका थिए । कमरेड हुरी भएका थिए । कमरेड झरी भएका थिए । कमरेड असिना भएका थिए । कमरेड आँधी भएका थिए । कमरेड आगो भएका थिए । कमरेड झिल्को भएका थिए । कमरेड सनासो भएका थिए । कमरेड चिर्को भएका थिए । कमरेड चट्याङ भएका थिए । ती ‘बहिष्करण’मा परेका समुदाय, वर्ग र लिंगबाट आएका माओवादी कमरेड थिए । नेपालको राज्य व्यवस्थाले व्यावहारिक रूपमा मानिस पनि नमानिएका मानिस थिए । राज्य संरचना र व्यवस्थाले मान्छे नै नगनेका मान्छे थिए । कति त अर्धमानिस पनि नमानिएका मानिस थिए ।

तिनलाई आफ्नै जीवनमा आजको आजै परिवर्तनको खाँचो थियो । त्यसैले तिनले कमरेड चिर्को आफ्नो नाम राखेका थिए । त्यसैले तिनका माओवादी नामसँग तिनका हेडसर अर्थात् सुप्रिमो पुष्पकमल दाहालको कमरेड नाम प्रचण्डसँग पायक पर्दैनथ्यो । किरण, लालध्वज, गौरव, दिवाकर, पार्थ, पार्वती, अमरसिंह, प्रभाकर, सुदर्शन, बलदेवसँग नजिक लाग्दैनथे । धार्मिक ग्रन्थ (महाभारत, रामायण), संस्कृत र मानक खस नेपालीका ‘उच्च’ अर्थ बोकेका कमरेड नामसँग कमरेड चिर्कोको साइनो देखिन्नथ्यो ।

बदलाव ल्याउन लडिरहेको जनयुद्ध सम्झौतामा सकियो । तिनका जिन्दगीमा उलटपुलट लेला भन्ने सोचेर जिन्दगीका सिरिखुरी नै धरेको जनयुद्ध सकियो । मानिस भएर बाँच्न, नाच्न र साँच्न पाउने कल्पना, सपना र जपना पालेर चिर्को र चट्याङले जनयुद्धलाई जिन्दगीको सिरिखुरी नै सुम्पेका थिए ।

युद्ध सकिएपछि कमरेड चिर्को उही जिते कामी भए । गुनाम गाउँका जिते गुमनाम भए । रोजीरोटी खोज्दै गुनामबाट गुमनाम घोराही झरे । भरिया भए । सुरक्षागार्ड भए । चल्तापुर्जा कमरेड चिर्को जिते कामी भएर फेरि गुमनाम भए ।

कमरेड चट्याङ दुर्गालाल बिक भए । अरब उडे । अहिले घरमै बाख्रा चराउँछन् । चारभाइमा माइलो थिए । उनका जेठा दाजु, साइँला, जेठा छोरा, छोरीज्वाइँ भागिमन बिक खाडीवासी भएका थिए ।

शुक्रबार फोनमा चट्याङपुत्री जूनतारा सुनाउँदै थिइन्, ‘जरूरी परेपछि यही फोन हो । बाबाको फोन पनि छैन । नेटवर्क पनि लाग्दैन ।’

जूनतारा धबाङबाट ६ वर्षअघि काठमाडौं खाल्डोमा पसिन्, इँट्टाभट्टामा इँट्टा बोक्न ।

चन्द्रशमशेरले खानी बन्द गरेपछि रोल्पा रुकुमबाट कालापार शृंखला चुलिएको थियो । नेपालको पूर्वी भेगमा मुगलको मुग्लान जान्थे । मुगलको देश मुगलान जाने भएकाले मुगलानिया भएका थिए, पश्चिमतिर कालापार जाने कालापारे । पूर्र्वतिरका नेपाली भुटान, बर्मा, आसाम (वस्तुभाउ पाल्न) र मेघालय (कोइला निकाल्न) पुगे ।

कालापार भनेका भारतका हिमाचल प्रदेशका शिमला, रोडु, कोटखाई, बागी, नार्कान्डा, भगाल, खडापत्थर, जुब्बल जस्ता कति शहर त कति गाउँ थिए । उत्तराखण्डका पौडी, तिहरी गढवालका गाउँ र शहर थिए । कालापारमा कालापारेले धेरीमजुरी गरे । कम्द खने, स्याउको तौले खने, स्याउ टिपे र बोके । भत्केका कम्दमा गारो लगाए ।

२०३२ मा अमेरिकी दबाबमा तत्कालीन श्री ५ सरकारले गाँजा नाउँ दिएर भाङ्ङु खेतीमा प्रतिबन्ध लगायो । रोल्पा रुकुमका मानिसका जीउभरि भाङ्ङु नै भाङ्ङु थियो ।

लगाउने, खाने, औषधीमूलो, बाल्ने सबथोक भाङ्ङु थियो । रोल्पा रुकुमका सर्वसाधारण भाङ्ङु गोडाले हिंड्थे । भाङ्ङु आँखाले हेर्थे । भाङ्ङु कानले सुन्थे । कुल मिलाएर भाङ्ङुले नै सास फेर्थे ।

खानी बन्द, भाङ्ङु खेती पनि प्रतिबन्ध लागेपछि कालापार जाने गति तीव्र भयो । भारतका गल्ली पानीपँधेरा थिए । रोल्पा रुकुमका सर्वसाधारणलाई राजधानी काठमाडौं बिरानो थियो । अहिले पनि बिरानो नै छ । केही टाठाबाठा मात्र (मुद्दा लड्न र सिंहदरबार पसेका नगन्य संख्याका मानिस) काठमाडौं खाल्डो पस्थे ।

पचास दशककै वरपरबाट रोल्पाका गाउँमा नाइके पुगे । नाइके भनेको गाउँघरका महिला, पुरुष र केटाकेटी बटुलेर इँट्टाभट्टा लैजाने मानिस । मजदुरलाई लगेर साहुलाई बुझाउँथे र त्यसबापत नाइकेले साहुबाट कमिसन पाउँथे । तिनै नाइकेमध्ये एक जनाले जूनतारालाई काठमाडौं लगे । दक्षिण र मध्य रोल्पाका मगर, दलित र क्षेत्री काठमाडौं पसे । इँट्टा बोक्न र इँट्टा बनाउन झरे ।

जूनतारा पति भागिमन बिक खाडीमै थिए ।

जूनताराले फोनमा भनिन्, ‘कोहिनूरको बा (उनको श्रीमान्) दुबई जाँदा कोहिनूर तीन महिनाकी थिई । अहिले तीन वर्षकी भई । विदेश गएको एक महिनामै सासूआमा बितिन् । किरिया गर्न पनि आउन पाउनुभएन ।’

कालापार तनक्क तन्केर इँट्टाभट्टा, खाडी, तल्लो बाटो अमेरिका र रसियन सेनासम्म पुगेको थियो ।

जनयुद्ध सम्झौतामा सकिएपछि जनयुद्धलाई सिरिखुरी धरेका रोल्पा रुकुमका चिर्कोहरू फेरि जिते कामी भए । दिलकुमार, जीवन र जूनताराका के कुरा । जनयुद्धलाई जिन्दगीको सिरिखुरी बुझाएका कमरेड चिर्कोहरूले अचेल कुन आशाडोरीमा पइय खेल्दै सास फेरिरहेका होलान् हँ ?

फेरिने कमरेड चिर्कोका ‘सर’हरू र ‘हेडसर’ले नसुने जस्तो नदेखे जस्तो गरे पनि इतिहासले सोधिरहनेछ ।

लेखक
नवीन विभास

नवीन विभास लेखक तथा पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?