
News Summary
Generated by OK AI. Editorially reviewed.- सामुदायिक विद्यालयबाट विद्यार्थीको संख्या घट्दै गएको र निजी विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको देखिन्छ।
- तीन आर्थिक वर्षको तथ्यांक हेर्दा सामुदायिक विद्यालयमा भने विद्यार्थीको संख्या घट्दै गएको देखिन्छ ।
- अभिभावक र विद्यार्थीको आकर्षण सामुदायिक विद्यालयमा हुनुपर्ने हो । तर सामुदायिकमा शैक्षिक गुणस्तर खस्कँदा विद्यार्थी निजीतिर मोडिएको प्राज्ञहरूको तर्क छ ।
२ जेठ, काठमाडौं । सामुदायिक विद्यालय छोडेर निजी विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी उकालो लाग्दै गएको छ । ३ वटा आर्थिक वर्षको तथ्यांक हेर्दा निजी विद्यालयमा विद्यार्थीको संख्या बढेको देखिन्छ ।
महालेखाको प्रतिवेदनमा आर्थिक वर्ष २०८०/०८१ मा निजी विद्यालयमा पढ्ने विद्यार्थीको संख्या ३२.५४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा निजीमा पढ्ने विद्यार्थी ३१.८५ प्रतिशत थिए । त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा २७.३९ प्रतिशत विद्यार्थी निजीमा अध्ययनरत थिए ।
यही तीन आर्थिक वर्षको तथ्यांक हेर्दा सामुदायिक विद्यालयमा भने विद्यार्थीको संख्या घट्दै गएको देखिन्छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ६५.६२ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्यनरत छन् । जबकि, अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ६६.२६ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा थिए । आर्थिक वर्ष २०७८/०७९ मा सामुदायिकमा ७०.९४ प्रतिशत विद्यार्थी थिए । ३ वर्षको अवधिमा मात्र ५.३२ प्रतिशतले सामुदायिक विद्यालयमा विद्यार्थी घटेको देखिन्छ ।
शिक्षकले पढाएनन् अनि…
अभिभावक र विद्यार्थीको आकर्षण सामुदायिक विद्यालयमा हुनुपर्ने हो । तर सामुदायिकमा शैक्षिक गुणस्तर खस्कँदा विद्यार्थी निजीतिर मोडिएको प्राज्ञहरूको तर्क छ । सामुदायिक छोडेर निजीमा विद्यार्थी जानुको मुख्य जिम्मेवार शिक्षक रहेको प्राज्ञहरूको मत छ ।
‘शिक्षकले राम्रोसँग नपढाउँदाको परिणाम हो । यसमा सरकारलाई दोष दिएर मात्र हुँदैन,’ प्राडा विद्यानाथ कोइराला भन्छन्, ‘निजी विद्यालयले अभिभावक र विद्यार्थीलाई स्वागत गरेर भर्ना गरिरहेका छन् ।’
सामुदायिक छोडेर निजीमा जाने विद्यार्थीको संख्या अझै बढ्ने दाबी गर्छन् प्राडा कोइराला । ‘सामुदायिकमा डरलाग्दो ढंगले विद्यार्थीको संख्या घटिरहेको छ । सरकारी विद्यालय जति खत्तम हुँदै गयो त्यति नै विद्यार्थी निजीतिर जान्छन्,’ उनी भन्छन्, ‘यो वर्ष भएको शिक्षक आन्दोलनले झन् विद्यार्थीको संख्या सामुदायिकमा घट्छ ।’
तर, शिक्षकहरू भने यो कुरालाई स्वीकार गर्दैनन् । ‘शिक्षक एक्लोलाई आलोचना गर्नु बेठिक हो । शिक्षकको कमी-कमजोरी भए सुधार गर्न तयार छौँ । तर राज्यको सबै परिस्थितिको जिम्मा शिक्षकले लिनुपर्ने हो ?,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी प्रश्न गर्छन्, ‘पहाडी क्षेत्रबाट बसाइँसराइ भएको छ । रोजगारको लागि शहर आएका छन्, त्यो शिक्षकको कारण हो ?’
गाउँगाउँमा निजी विद्यालय
निजीमा विद्यार्थी बढ्नु र सामुदायिकमा विद्यार्थी घट्नुमा सरकारी अधिकारीहरूको मत भने फरक छ । पहिले शहरी क्षेत्रमा मात्र निजी विद्यालय थिए । अहिले गाउँ-गाउँमा निजी विद्यालय खुलेका छन् । गाउँ-गाउँमा सिंहदरबार भनेझैं गाउँगाउँमा निजी विद्यालय खुलेको तर्क सरकारी अधिकारीको छ ।
‘निजी विद्यालय ग्रामीण क्षेत्रमा पनि पुगेको छ । पालिकाको केन्द्रमा बजार विस्तार भयो । पालिका पनि शहर जस्तै बन्यो । त्यहाँ प्राइभेट स्कुलको मार्केट भयो । बजारको विस्तारसँगै निजी विद्यालयको विस्तार भएको देखिन्छ,’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।
गाउँ-गाउँमा निजी विद्यालय खुलेपछि विद्यार्थी बाँडिएको बुझाइ सरकारको छ । ‘गाउँ-गाउँमा पनि विद्यार्थी निजी र सामुदायिकमा बाँडिएका कारण पनि हो,’ प्रवक्ता सापकोटा भन्छन् ।
शिक्षक महासंघका अध्यक्ष सुवेदी पनि निजी विद्यालयको संख्या बढेको कारण सामुदायिकमा कम र निजीमा विद्यार्थी बढ्दै गएको दाबी गर्छन् । तथ्यांकले पनि निजी विद्यालयको संख्या बढेको देखिन्छ ।
आर्थिक वर्ष २०८०/०८१ मा निजी विद्यालयको तहगत संख्या १५ हजार ५०९ थियो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा तहगत नै १२ हजार ५६९ थियो । आर्थिक वर्ष २०७८/०७९ मा तहगत निजी विद्यालयको संख्या १२ हजार ९७४ थियो ।
सामुदायिक विद्यालयको संख्या घट्यो
शिक्षकहरू सामुदायिक विद्यालयको संख्या घटेका कारण पनि विद्यार्थीको संख्या कम भएको दाबी गर्छन् । ‘सामुदायिक विद्यालयको संख्या घटेको छ । मर्ज भएको छ । बन्द भएको छ । यो पनि हेर्नुपर्यो नि,’ शिक्षक महासंघका अध्यक्ष सुवेदी भन्छन् ।
३ आर्थिक वर्षको तथ्यांकले सामुदायिक विद्यालयको संख्या घटबढ भएको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा तहगत विद्यालयको संख्या ६० हजार ४८५ छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ४४ हजार ३५१ र आर्थिक वर्ष २०७८/०७९ मा तह गत विद्यालयको संख्या ५८ हजार ३४० देखिन्छ ।
सामुदायिकमा गुणस्तर खस्कँदो
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमाथि पनि प्रश्न उठेको छ । सामुदायिकमा गुणस्तर खस्कँदा विद्यार्थी घटेको कुरालाई नकार्न नसकिने निष्कर्ष शिक्षा मन्त्रालयको छ । ‘तथ्यांकले विद्यार्थी घटेको देखाउँछ । सामुदायिकमा गुणस्तर कमी भएको कुरालाई नकार्न सकिँदैन । सरकारले विशेष ध्यान दिनुपर्छ,’ प्रवक्ता सापकोटा भन्छन् । प्राज्ञहरू पनि सामुदायिकको गुणस्तर खस्किएको कारण विद्यार्थी घटेकोमा सहमत छन् ।
‘शिक्षकले आफ्नो दोष देखेनन्,’ प्राडा कोइराला भन्छन् । तर शिक्षकहरू फरकमत राख्छन् । जनसंख्या पनि घटेका कारण विद्यार्थीको संख्या कम भएको निचोड उनीहरूको छ ।
‘जनसंख्या घट्दो क्रममा छ । शहरी क्षेत्रमा विद्यार्थी बढेको छ । ग्रामीणमा घटेको छ । यसको अध्ययन अनुसन्धान हुनुपर्छ,’ अध्यक्ष सुवेदी भन्छन् ।
प्रतिक्रिया 4