
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाउँ आसपास लेदोसहितको ठूलो पहिरो गएको छ।
- सशस्त्र प्रहरी र प्रहरी टोलीले राहत कार्य सञ्चालन गरिरहेको छ।
- पहिरोका कारण घर, पुल र जलविद्युत् भवनमा क्षति पुगेको छ।
४ जेठ, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ आसपास लेदोसहितको ठूलो पहिरो आएको छ । १ जेठको राति ११ बजेदेखि आएको पहिरोले केही बस्ती समेत उच्च जोखिममा परेको छ ।
उच्च जोखिममा परेपछि ३२ जनालाई खुला चौरमा सारेर त्रिपाल टाँगेर राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् । यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए ।
घटनास्थलमा अहिले सशस्त्रको बीओपी हिल्साबाट वरिष्ठ हवल्दार लोकबहादुर बुढाको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमाण्डमा ६ जना गरी १३ जनाको टोली खटिएको छ ।
नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले पनि के कति कारणले लेदोसहितको पहिरो आयो भन्ने यकिन नभएको बताएका छन् । लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ ।
सोनाम साङमु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ ।
१५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । करिब ४ सय रोपनीमा सिचाँई गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।
गत बिहीबार रातिको बाढीको कारण खोज्दै माथिल्लो तटीय क्षेत्रमा पुगेका सुरक्षाकर्मी सहितको स्थानीयको टोलीले सिरानमा रहेका दुई हिम पोखरी फुटेको आशंका गरेका हुन् ।
४ दिनसम्म केन्द्र र स्थानीय सरकारले बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्चोर तामाङ केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा थाक्रा पुगेका हुन् ।
अध्यक्षसहितको टोली पहिरोको कारण खोज्दै ८ घण्टा पैदल दूरी पार गर्दे ५ हजार ३ सय मिटरको उचाईमा रहेको थाक्रा पुगेको हो । लिमीमा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन । उनीहरू दक्ष प्राविधिक टोली र उपकरण बिना नै उच्च स्थानमा पुगेका हुन् ।
प्रतिक्रिया 4