
News Summary
Generated by OK AI. Editorially reviewed.- सुशीलले जीवनको अन्तिम दिन कलात्मक ढंगले जिउन सिकाउने विद्या विपश्यना ध्यान हो भन्ने बुझ्यो।
- महात्माले ‘आनन्दमय जीवन’ प्रवचन दिएर एकाग्रता र ध्यानमार्फत जीवन जिउने कला सिकाउनुभयो।
- सुशीलले विपश्यना ध्यान शिविरमा सहभागी भएर मनको विकारहरू बाहिर निकाल्दै जीवनको अन्तिम दिनको तयारी गरे।
चालीस वर्षअघिको कुरा हो । सुशील त्यतिखेर ३५–३६ वर्षको हुँदो हो । ऊ प्रवचन सुनिरहेको थियो । महात्माले ‘आनन्दमय जीवन’ शीर्षकमा प्रवचन दिएका थिए । उनको प्रवचनले श्रोतामा आशा, उमंगको सञ्चार गर्यो । जसै प्रवचन समाप्त भयो, सुशील आसनबाट उठ्यो र सोध्यो– ‘त्यो कुन विद्या हो जसले जीवनको अन्तिम दिन कलात्मक ढंगले जिउन सिकाउँछ ?’
प्रश्न सुनेर महात्मा मुस्कुराए अनि बोले, ‘जहाँ एकाग्रता, त्यहाँ उत्तर । जहाँ परमशान्ति, त्यहाँ जवाफ । एकाग्रता अर्जुनको लक्ष्यभेदी बाण हो । एकलव्यको अचूक निशाना हो । चित्त जब एकाग्र हुन्छ, मन कठिनभन्दा कठिन प्रश्नहरूको जवाफ खोज्न सक्षम बन्छ । आजको रात तपाइँहरू एकाग्र चित्तका साथ उक्त प्रश्नको जवाफ खोज्नुहुनेछ । तपाईंहरूलाई होमवर्क भयो यो । हामी यस विषयमा भोलि छलफल गर्नेछौं ।’
कार्यक्रमस्थलबाट घर पुग्दासम्म सुशीलभित्र महात्माका भनाइहरू प्रतिध्वनित भइरहे । जसै रात्रिको खाना खाने काम समाप्त भयोे, ऊ आँखा चिम्म गर्दै पलेंटी मारेर बस्यो । रात छिप्पिंदै गयो । रातको सघनतासँगै चकमन्नता बढ्दै थियो । न कोही बोलेको आवाज आउँथ्यो, न कसैको पदचाप सुनिन्थ्यो ।
सुनिन्थ्यो त केवल झ्याउँकिरीको गीत । देखिन्थ्यो त केवल जूनकिरीको शान्ति दीप । लाग्थ्यो सारा संसार निद्रामा छ । तर सुशील भने जागै थियो । ऊ जीवनको अन्तिम दिन सर्वोत्तम ढंगले जिउने उपायको बारेमा सोचमग्न थियो । यस्तैमा उसले मनलाई सम्झियो र सोध्यो– ‘मन ! तँ आफैं भन् । त्यो कुन विद्या हो जसले जीवनको अन्तिम दिन कलात्मक ढंगले जिउन सिकाउँछ ?’
सुशीलले यति के भनेको थियो, मनको विराट प्रदेशमा तीव्र प्रतिक्रिया शुरू भयो । ‘मनुवा ! तँ कुन मनसँग राय लिन खोज्दैछस् ? मनका सात पत्र छन् । हरेक पत्रमा अलग–अलग मन रहन्छन् !’ यो मनको ध्वनि थियो । तब ऊ सातै पत्रका मनहरूसँग पालै पालो राय लिने टुङ्गोमा पुग्यो । त्यसलगत्तै प्रथम पत्रको मनसँग सुझाव माग्यो ।
सुझाव दिने अनुमति पाएसँगै प्रथम पत्रभित्रको मन बोल्न थाल्यो– ‘मेरो प्रिय मित्र ! ध्यान एकाग्रताको संवाहक हो । परमशान्तिको ब्रान्ड एम्बेसडर हो । विश्वमा विभिन्न प्रकारका ध्यानपद्धति चलनचल्तीमा छन् । रोम देशमा साढे अठार सय वर्षअघि मार्कस् अउरेलियस नाम गरेका राजा थिए । उनले ‘मेडिटेसन’ नामको पुस्तक समेत लेखेका थिए । तँ एक पटक उक्त पुस्तक पढ् । जवाफ पाउनेछस् ।’
प्रथम पत्रभित्रको मनले यति के भनेको थियो । दोस्रो पत्रभित्रको मन बोल्न हतारियो । ‘यसमा दुईमत छैन कि मार्कस् अउरेलियसको ‘मेडिटेसन’ प्रेरणादायी पुस्तक हो । तर ‘आर्ट अफ लिभिङ्ग’ को उत्कृष्ट पथप्रदर्शक विपश्यनाभन्दा अरू हुन सक्दैन । बुद्ध दर्शन मार्कस् अउरेलिएसको मेडिटेसन भन्दा ७०० वर्ष जेठो हो । ‘मेडिटेसन’मा बुद्ध दर्शनको प्रभाव भेटिन्छ । विपश्यना बुद्धको ज्ञान गंगामा आधारित ध्यान विद्या हो । विपश्यना ध्यानहरूको राजा हो । यो संसारमा सबैभन्दा बढी प्रचलनमा रहेको ध्यान विद्या पनि हो । विपश्यनाले जीवन जिउने कला सिकाउँछ । त्यसैले तँ अन्तिम दिन कलात्मक ढंगले जिउन चाहन्छस् भने विपश्यनालाई जीवनपद्धति बना’ दोस्रो पत्रको मनले भन्यो ।
प्रश्न एक तंरग अनेक । सबाल एक प्रतिक्रिया अनेक । मन तलाऊ हो । किनारामा उभिएर ढुङ्गा फालिदिनु मात्र पर्छ, टाढा–टाढासम्म तरंग फैलिन थाल्छ । मौन अनि मन एकै आमाका दुई छोरा हुन् । यिनीहरूबीच हमेशा बहस भइरहन्छ । एउटा भन्छ मौनतामा तागत छ । अर्को भन्छ शब्दमा शक्ति छ ।
प्रश्नले सुशीलभित्र २४० भोल्टको विद्युत्ले भन्दा सघन तरंग सृजना गरिरहेको थियो । यस्तैमा तेस्रो पत्रभित्रको मनले बोल्न हात उठायो । ऊ दोस्रो पत्रको मनसँग विमति जनाउन चाहिरहेको थियो– ‘प्रिय अन्नदाता ! मेरा कुरा पनि सुन् । जीवनको अन्तिम दिनको अर्थ हो मृत्यु दैलो अगाडि उभिएको दिन । मृत्युको मुखमा परेका बेला केको ध्यान ? केको ज्ञान ? बरु त्यो दिन चिन्तनमुक्त भै खाने हो । पिउने हो । विन्दास जीवन जिउने हो । यसलाई ‘जीवनको अन्तिम दिन उत्कृष्ट ढंगले जिउने तरिका’ भन् जे भन्, तेरो खुसी’, उसले सुनायो ।
तीन मन, तीन सुझाव । पहिलोको सुझाव दोस्रोसँग मेल खाइरहेको थिएन । दोस्रोको परामर्श तेस्रोलाई चित्त बुझेको थिएन ! तर्क–वितर्क सुनेर सुशील दिग्भ्रमित भयो । सोच्यो, मनले दिने उत्तर गणितको जस्तो ठेट हुन किन सक्दैन ? मनले विज्ञानले जसरी ठोस जवाफ किन दिन सक्दैन ?
किन्तु मनसँग केही विशिष्ट क्षमता पक्कै छन् । जुन गणित र विज्ञानसँग छैन । मन जहाँ चाह्यो त्यहाँ निमेषभरमा अवतरण गर्न सक्छ । जनावरलाई पक्रेर थुन्न सकिन्छ । मनलाई थुन्ने झ्यालखाना कसैले बनाउन सकेको छैन । संसारका महान् भन्दा महान् आविष्कारको रचना पहिले मनमा हुन्छ । मन स्रष्टा हो । मन द्रष्टा हो । मन कारीगर हो । कारीगर पहिले मनमा मूर्ति बनाउँछ, त्यसपछि मात्र ढुङ्गामा कुँद्छ ।’ ऊ सोच्दै थियो, चौथो पत्रभित्रको मन बोल्न हतारिएको देख्यो । सुशीलले उसलाई भनाइ राख्ने अनुमति दियो ।
‘जहाँ आदि, त्यहाँ अन्त्य । मृत्यु नमनाइ धर नपाइने एक उत्सव हो । सयौंको ज्यान बचाउने डाक्टर होस् या अरूको मृत्युको तिथि तोक्ने ज्योतिष, मृत्युले कसैलाई छोड्दैन । परन्तु मृत्यु मान्छेको हुन्छ, कर्मको हुँदैन । तँ जीवनको अन्तिम दिन उत्तम कर्ममा मन लगाउनेछस् । कुकर्महरूप्रति प्रायश्चित गर्नेछस्’, उसले सङ्क्षेपमा बतायो ।
सुशील मनको महिमामण्डन गरेर थाकेको थिएन । ‘संसारमा कानून–नियम नलाग्ने । जेल–नेल, हत्कडी, बम, गोला–बारुदले छुन नसक्ने केही छ भने त्यो हो मन । मन आजाद पन्छी हो । मनभन्दा स्वतन्त्र दोस्रो कोही छैन । दूधे–बालकभन्दा आजाद हुन्छ मन ।’ आफैंसँग बोल्यो ऊ । त्यसपछि पाँचौं पत्रभित्रको मनसँग सुझाव माग्यो ।
‘कतिपय मानिस जीवनको अन्तिम दिन उत्तम कर्म गर्नुपर्छ । स्वर्ग जाने बाटो खन्नुपर्छ भन्ने गर्छन् । वास्तविकता यही हो कि, सत्य, त्रेता, द्वापरको समाप्तिसँगै देवताहरू मरिसके । स्वर्ग ब्रह्माण्डबाटै लोप भैसक्यो । यो कली हो । कलीमा सती हैन असतीहरूको पूजा हुन्छ ।’ पाँचौं पत्रको मनले भन्यो । कुरा सुन्दा यस्तो लाग्थ्यो नित्सेसँग उसको गुप्त साइनो छ !
पाँचौं पत्रको मनपछि छैटौं पत्रको मनले पालो पायो । ‘विपश्यना मुक्तिको द्वार’ भन्नेहरूलाई देख्दा दया लाग्छ मलाई ! विपश्यना नास्तिकहरूको विद्या हो । नास्तिकहरूले मुक्तिको साम्राज्यमा प्रवेश पाउँदैनन् । विपश्यना एक प्रकारको यातना हो । दिनमा बाह्र–बाह्र घण्टाको पलेंटीको बन्धन । एघार–बाह्र दिनसम्म मोबाइल छुन निषेध ! न बोल्न पाउनु । न मन लागेको खान पाउनु । रस–रंगको कुरा छोडौं । महिलासँग पूर्ण पृथकीकरण । त्यस्तो पनि ध्यान हुन्छ ! ध्यान रजनिशको जस्तो हुनुपर्छ । यो त सजाय हो । आतंककारीलाई दिनेभन्दा कठोर सजाय ।’ उसले बढी नै नकारात्मक प्रतिक्रिया दियो ।
राति अबेरसम्म्म सुझाव दिने र लिने क्रम चलिरह्यो । सुशील त्यस रात निदाएन । रात अन्तिम प्रहरमा पुग्यो । चराहरूले रात ढलेको, दिन जागेको मंगल गीत गाउन सुरु गरे । दूर क्षितिजमा सूर्यको लालिमा किरण छाउन थाल्यो । यस्तैमा सुशीलले सातौं पत्रको मनलाई राय पेश गर्ने आदेश दियो ।
‘विपश्यना मनलाई विजयी बनाउने विद्या हो । यो परमानन्दको सागर हो । विपश्यना आध्यात्मिक खुराक हो । सञ्जीवनी टनिक हो । विपश्यना धर्मनिरपेक्ष विद्या हो । यसले कुनै धर्मविशेषको वकालत गर्दैन । विपश्यनाले आफूभित्रको अथाह संसार नियालेर हेर्न सिकाउँछ । पानीले शरीरको सफाइ गरे जस्तै विपश्यनाले मनको मैलो पखाल्छ ।’ सत्यनारायण गोयन्का भन्नुहुन्थ्यो, ‘विपश्वी साधक अचेत अवस्थामा कहिल्यै मर्दैन । बुद्ध त्यसको उदाहरण हुनुहुन्छ । उहाँले ज्ञान बाँड्दा–बाँड्दैको अवस्थामा देहत्याग गर्नुभयो ।’
यसर्थ तँ शीघ्रातिशीघ्र विपश्यना ध्यानको मार्गमा लाग् । विपश्यनासँग तेरो प्रश्नको जवाफ छ । ध्यानहरूको बादशाह हो विपश्यना । जीवनको अन्तिम दिन कलात्मक ढंगले जिउन सिकाउने शिक्षक विपश्यना बाहेक अरू हुन सक्दैन । हाल नेपालका १५ भन्दा बढी ठाउँमा विपश्यना ध्यान केन्द्र खुलिसकेका छन्, उसले भन्यो ।
सुशीलले त्यस रात जीवनको अन्तिम दिन कलात्मक ढंगले जिउने तरिका भेट्टायो । ऊभित्र विपश्यना ध्यानमा लाग्ने इच्छाशक्ति प्रबल भएर आयो । दिवा छलफलमा महात्माले सुशीलले भेट्टाएको जीवन जिउने तरिकाको मुक्तकण्ठले प्रशंसा गरे । फलतः ऊ धर्मशृङ्ग बूढानीलकण्ठ गयो अनि दशदिने विपश्यना शिविरमा सहभागी भयो ।
सुशीलको अनुभवमा विपश्यना ध्यान सजिलो चाहिं थिएन । परन्तु प्राप्त आनन्दले सबै प्रकारका कठिनाइ बिर्साइरहेको थियो । ऊ मनका विकारहरू बाहिर निस्कँदै गएको, मन चंगा हुँदै गएको अनुभूति गरिरहेको थियो ।
आज–भोलि गर्दागर्दै विपश्यनासँगको उसको नाता पानीसँग माछाको जस्तै हुन थाल्यो । सुशील कुनै वर्ष दुई ओटा त कुनै वर्ष तीन ओटा विपश्यना ध्यान शिविरमा सहभागी हुन थाल्यो । यसरी वर्षौं बितायो उसले । त्यस बीचमा सुशीलले एकदिने, तीनदिने, दशदिने, बीसदिने, तीसदिने, पैंतालीस र साठी दिने गरी दर्जनौं ध्यान शिविरको अनुभव सँगाल्यो ।
समय एक नदी हो । दिन हप्तामा, हप्ता महिनामा, महिना वर्षमा बदलिंदै जाँदा बालक किशोर हुन्छ । किशोर जवान बन्छ । जवान बूढो हुन्छ । नदी सागरमा बिलाए झैं जीवन अनन्त ब्रह्माण्डमा हराउँछ ।
सुशीलका पनि बुढ्यौलीका दिन शुरू भए । शरीर वृद्ध जरुरै थियो सुशीलको । तर दिमाग युवाकै जस्तो सचेत र तन्दुरुस्त थियो । आजभोलि गर्दागर्दै अन्तिम दिन आइपुग्यो । जीवनको अन्तिम दिन सुशीललाई चार दशकअघि महात्माले दिनुभएको प्रवचन सम्झना भयो । महात्मा तिनै व्यक्ति थिए जसले ऊभित्र जीवनको अन्तिम दिन कलात्मक ढंगले जिउन सिक्ने हुटहुटी जगाएका थिए ।
सुशीलले आकाशतिर नजर दौडायो । घाम डाँडाभन्दा दुई बाँस माथि थियो । तब ऊ पलेंटी मारेर विपश्यना ध्यानमा लीन हुन थाल्यो । सुशीलभित्र आनन्दको अद्भुत समुद्र मडारिन शुरू गर्यो । उसले आफूभित्र अद्वितीय आनन्दको अनुभव गर्न लाग्यो । जसै घाम डुब्ने तरखरमा थियो, चारैतिर ज्योतिपुञ्जहरू देखापरे । सञ्जीवनी ऊर्जाको समुद्र मडारिन थाल्यो । उसले थाहा पायो त्यो महाप्रस्थानको निम्तो हो ।
महाप्रस्थानमा निस्कनुअघि सुशीलले दुई हात आकाशतिर फैलाउँदै उन्मुक्त हाँसो हाँस्यो । त्यसपछि श्रीमतीको निधारमा चुम्बन गर्यो । घरबाहिर सेतो वायुपंखी घोडा तयारी अवस्थामा थियो । टप्, टप्, टप्, टप् आवाजसँगै घोडा धर्ती छोड्ने तयारीमा लाग्यो । पहिले सुस्त, विस्तारै गतिवान । रन वे छोड्ने तयारीमा रहेको जहाज जस्तै गरी घोडा आकाशियो । हाइपरसोनिक यानभन्दा तेज थियो घोडाको गति ।
प्रतिक्रिया 4