
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको युवा संघको दशौं महाधिवेशनले प्रतिस्पर्धाबाट नेतृत्व चयन गरियो।
- प्रतिनिधिहरुले मत प्रयोग गरी अध्यक्षमा क्षितिज थेबेलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरे।
- सर्वसम्मत प्रयास असफल भएपछि मतदानबाट नेतृत्व तय भयो, जसमा सुमन पुरी पराजित भए।
१३ जेठ, पोखरा । सर्वसम्मत नेतृत्व चयन गर्ने उद्घोषसहित सुरु भएको नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनले अन्ततः प्रतिस्पर्धाबाट नेतृत्व चुनेको छ । महाधिवेशनको उद्घाटनदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अधिकांश नेताले सर्वसम्मत गराउन गरेको आग्रहका बाबजुद प्रतिनिधिहरुले आफ्नो मत हाल्ने अधिकार प्रयोग गर्दै अध्यक्षमा क्षितिज थेबेलाई नै दोस्रो कार्यकालका लागि अनुमोदन गरेका हुन् ।
देभभरका १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४०४ जना प्रतिनिधिले मतदानमा भाग लिँदै थेबेलाई १८८ मतान्तरसहित जिताए । थेबेले ७९७ ल्याउँदा प्रत्यासी सुमन पुरीले ६०८ मत पाए ।
नेताहरुको सर्वसम्मत गर्ने प्रयास असफल भएपछि थेबे र पुरी प्यानलै बनाएर आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्वमा आउने बाटो रोजेका थिए । प्रतिनिधिहरुले पुरी पक्षका खुला सचिव अरुण कुँवर बाहेक सबै पदाधिकारी थेबे प्यानललाई नै जिताएका छन् ।
महासचिवमा सुमन प्यानलका कुवेर अधिकारीलाई हराउँदै महेश चौलागाईँ विजयी भएका छन् भने अध्यक्षको आकांक्षा राखेर थेबे प्यानलको उपाध्यक्ष बनेका महाराज गुरुङ सर्वाधिक मत ल्याउँदै विजयी भए । अर्का उपाध्यक्षमा विनय शाह विजयी भएका छन् ।
उपमहासचिवमा उपेन्द्र शाही निर्वाचित हुँदा सचिवहरुमा मोवि अख्तर आलम, निशा लिम्बु र मदन भण्डारी निर्वाचित भएका हुन् ।
शुक्रबारदेखि सुरु भएको महाधिवेशनले मंगलबार १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, ४ वटा विभागका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १ सय ६३ जनालाई निर्वाचित गरेका छन् ।
शुक्रबार नै बन्द सत्र सुरु गरेर शनिबारबाट निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यसूची थियो ।
पोखरा अमरसिंह चौरमा उभिएर प्रधानमन्त्री समेत रहेका ओलीले सर्वसम्मत नै लोकतन्त्रको सबैभन्दा सुन्दर कुरा भएको भन्दै सहमति गर्न भनेका थिए भने जनसंगठन संमन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, संघका पूर्व अध्यक्ष महेश बस्नेत, निरुदेवी पाल, युवा संघ ईन्चार्ज राजीव पहारी लगायतले लगातार क्षितिज थेबेकै नाममा सहमति गराउने प्रयास गरेका थिए ।
अघिल्लो महाधिवेशनमै अध्यक्षको दाबी गरेर नेताहरुको दबाबकै कारण थेबेको नेतृत्वमा महासचिव बनेका सुमनले सहमति होइन, प्रतिस्पर्धाबाट नेतृत्व छान्नुपर्ने अडान जारी राखे ।
थेबे अध्यक्ष भइसकेको र युवा संघमा उमेर हदका कारण पनि फेरि नेतृत्वमा आउन असम्भव हुने भएकाले एकपटक आफूलाई अध्यक्ष बनाउन सुमनले आग्रह गरेका थिए । सर्वसम्मतिका लागि भन्दै राखिएको बैठकमा पार्टी अध्यक्ष ओलीले नै थेबेका नाममा सहमति गराउन आग्रह गरेको भन्दै दबाब दिएका थिए ।
युवा संघको नेतृत्व लिनका लागि थेबेबाहेक सुमन, महाराज गुरुङ, प्रकाश गौतम र कृष्णहरि केसी पनि आकांक्षी थिए । यो महाधिवेशनमा नेतृत्वमा नआउने बताएका थेबेलाई नै अध्यक्ष बनाउन नेताहरुले लबिइङ जारी राखेका थिए ।
४ जना आकांक्षीका बीच सहमति नहुँदा वैकल्पका रुपमा थेबेलाई अगाडि सारेर फेरि नेतृत्वमा दोहोर्याउने रणनीति नेताहरुको थियो । महाराजलाई अध्यक्ष बनाउन चाहेका पूर्वअध्यक्ष महेश बस्नेतले नै पछि थेबेका नाममा सहमति गराउन निरन्तर दबाब सिर्जना गरिरहेको बैठकमा सहभागीहरुले बताइरहेका थिए ।
स्थायी कमिटी सदस्य तथा कार्यालय प्रमुख, दुई पटक उपाध्यक्ष हुँदै नेतृत्वमा दाबी गरे पनि नेताहरुकै आग्रहमा महासचिव बनेका सुमनले थेबेको नाममा सहमति गर्न अस्वीकार गरिरहे ।
भानुभक्त, महेशदेखि राजीबसम्मले ओलीले नै थेबेलाई चाहेको भन्दै दिएको दबाब, थेबे समूहले ओलीकै कारण आफू अध्यक्ष बन्न लागेको प्रतिनिधिबीच बताइरहेका थिए । तर नेतृत्व चुन्ने अधिकार प्रतिनिधिलाई नै दिने सुमनको अडानले सहमतिको प्रयास असफल भएपछि अन्नत चुनावी प्रक्रिया अगाडि बढेको थियो ।
थेबे समूहले आफूहरु ‘बालुवाटार’को उम्मेदवार बताइरहँदा सुमनलाई पनि एमालेभित्र आफ्नो प्रभाव बढाउँदै गइरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले साथ दिए । भण्डारीको पक्षमा उभिएका एमालेका केन्द्रीय सदस्यले चुनाव हुँदा आफूहरु सुमनको पक्षमा उभिने स्पष्ट सन्देश दिएपछि प्यानलै मनोनयन दर्ता गर्ने अवस्थामा पुगेको हो ।
शुक्रबार रातिदेखि शनिबार र आइतबारसम्मै नेताहरु सर्वसम्मतिको नाममा होटल–होटलमा बस्दा महाधिवेशनस्थल सभागृहका प्रतिनिधिहरु पनि बिलखबन्दमा थिए । सहमतिको रस्साकस्सी र नेताहरुको निरन्तरको दबाबले पनि सर्वसम्मतिको अवस्था नआएपछि बल्ल आइतबार साँझ दुई प्यानलै मनोनयन दर्ता भएका हुन् ।
मनोनयन दर्ता भइसकेपछि पनि नेताहरुले थेबेको नाममा सहमतिको प्रयास गरेका थिए । तर, सुमनले आफू प्रतिनिधिबाटै चुनिने अडान लिएपछि मतदानको अन्य प्रक्रिया सोमबारमात्र अगाडि बढेको हो । निर्वाचन प्रक्रिया अगाडि नबढ्दा महाधिवेशनस्थलमा नाराबाजी र शक्ति प्रदर्शनको होड नै चलेको थियो । त्यसको सुरुवात थेबेले नै गरे ।
चुनावी प्रक्रिया लम्ब्याएर प्रतिनिधि थकाउने, केन्द्रबाटै नाम पठाएर घोषणा गर्नेजस्ता हल्लाहरु सभागृहमा गुञ्जिरहेका थिए । एमाले नेतृत्वमाथि प्रश्नहरु उठेर दबाब सिर्जना हुन पुग्यो । ओलीले प्रतिस्पर्धामै जान चाहेको र आफ्नो कोही उम्मेदवार नभएको सन्देश पठाएको प्रतिनिधि सभाका सचेतक तथा पूर्वमन्त्री पदम गिरीले ल्याए ।
अनेक दबाब, अड्कलबाजी र हल्लाहरुकाबीच सोमबार ४५ वटा मेसिनबाट विद्युतीय मतदान भएको हो । थेबेका नाममा सहमति गर्न भएको चौतर्फी दबाब, जिताउन पूर्वअध्यक्ष बस्नेत लगातले नै गरेको कसरतका बाबजुद सम्मानजनक मत ल्याउँदै सुमनले पराजय भागेका छन् । तर, सुमनको अडानकै कारण प्रतिनिधिलाई मताधिकार प्रयोग गरेर आफ्नो नेतृत्व आफैं चुन्ने लोकतान्त्रिक अधिकारको सुनिश्चित गराइदिएका छन् ।
‘राजनीति मात्रै यस्तो चिज हो, जहाँ हारे पनि पार्टीमा नम्बर बढ्छ । अंकले जित क्षितिजको भए पनि लोकतान्त्रिक अध्यास र मत प्रयोग गराउने हिसाबले भने सुमनले हारेका होइनन्,’ थेबेलाई जिताउन लागेका गण्डकीका एक नेताले भने, ‘आन्तरिक लोकतन्त्रले जितेको छ ।’
यसअघिजस्तै थेबेलाई नेताको आग्रहमा अध्यक्ष सर्वसम्मत गराइएको भए पनि उनले सधैंभरि नेताले टीका लगाइदिएको भन्ने आरोप खेप्नुपर्ने थियो । तर, सुमनले मतदानबाटै चुनिने अडान राखिदिँदा थेबेले प्रतिनिधिबाट चुनिएर आफूलाई प्रमाणित गर्ने अवसर पाएका छन् ।
केन्द्रदेखि प्रदेश, जिल्लासम्मका नेताहरु महाधिवेशनमा सक्रिय बनेका थिए । नेताहरुले जिल्ला जिल्लाका अध्यक्षहरुलाई नै भेटेर आफ्ना उम्मेदवारलाई जिताउन आग्रह मात्रै दबाब नै दिएको एकाथरिको भनाइ थियो । पूर्वअध्यक्ष बस्नेतले नै जिल्ला–जिल्लाका नेताहरुलाई थेबेका पक्षमा लाग्न आग्रह गरेको एक जिल्ला अध्यक्षले बताए । गण्डकीकै नेता पृथ्वीसुब्बा गुरुङ समूह थेबेका पक्षमा र खगराज अधिकारीको समूह पुरीको पक्षमा लागेका थिए ।
सुमनले सुदूरपश्चि, कर्णाली, लुम्बिनी, मधेष र विशेष प्रदेशमा अग्रता कायम गरेका थिए । गण्डकी, बागमती, कोशी र आयोजक कमिटीले थेबेको पक्षमा ठूलो मतान्तरका साथ मत खसाउँदा विजयी भए ।
प्रतिनिधिले आफ्नो नेतृत्व चुनिसकेर घोषणा पनि भइसकेको छ र दुबै पक्षले यसलाई लोकतन्त्रको सुन्दर प्रयोग भनेका छन् । पराजय भोगेपछि सुमनले आन्तरिक लोकतन्त्रको अध्यास मजबुत बनेको प्रतिक्रिया दिएका छन् ।
‘युवा संघको पाँचौं महाधिवेशनमा निर्वाचन पक्रियामार्फत साथीहरूले निर्वाचित हुनुभएको छ । उहाँहरूलाई धेरै धेरै बधाई दिन चाहन्छु,’ सुमनले भने, ‘राजनीतिमा धेरै कुराहरू हुन्छन् तर पार्टीभित्र भने हाम्रो आन्तरिक लोकतन्त्र मजबुत बनेको छ ।’
निर्वाचित भएपछि क्षितिज थेबेले चुनावको हारजित प्राविधिक विषय भएको बताए । ‘आन्तरिक प्रतिस्पर्धामा थियौं । जितलाई उत्सव र हारलाई निराशाका रुपमा नलिइदिन कार्यकर्तामाझ हार्दिक अनुरोध गर्न चाहन्छु,’ थेबेको भनाइ छ ।
यसअघि नेपालगञ्जमा भएको नबौं महाधिवेशन ८ दिनसम्म लम्बिएर नेताहरुकै दबाबपछि सर्वसम्मत भएको थियो । अहिले भने आन्तरिक प्रतिस्पर्धामा जाँदा आफैंले नेतृत्व चुनेर ५/६ दिनमै घर फर्किन पाएका छन् । नेकपा एमालेका केन्द्रीय पदाधिकारीले भने, ‘सुमनले लडेको यो चुनाव अर्थपूर्ण छ । संगठनलाई आन्तरिक लोकतन्त्रको अध्यास गर्ने अवसर दिएका छन् । उनले मतले हार बेहोरे पनि धेरै मानिससामु चिनिएका पनि छन् ।’
यो चुनाव सुमनकै जीवनका निम्ति पनि ऐतिहासिक क्षणका रुपमा रहिरहने छ भने क्षितिजका निम्ति जितको इतिहास त छँदै छ, आफ्नै अघिल्लो कार्यकालभन्दा राम्रो काम गर्ने चुनौति पनि छ ।
प्रतिक्रिया 4