+
+
Shares
कभर स्टोरी/रोशी स्थलगत :

‘दिउँसो डम्म बादल लागे रातभरि आँखा झिमिक्क हुँदैन’

इन्द्रप्रसादको मनमा भय छ– दिउँसो डम्म बादल लाग्यो भने रातभरि आँखा झिमिक्क हुँदैन। पानी पर्न थालेपछि के हुने होला, कहाँ जाने होला, ठूलो दुःख पो छ! सरकारले हेर्दैन।

बिनु सुवेदी दिनेश गौतम बिनु सुवेदी, दिनेश गौतम
२०८२ जेठ १६ गते १९:०५
काभ्रेको नमोबुद्ध नगरपालिका-५ लास्कोटबेसीमा गत असोजको बाढीपहिरोले भत्किएको घरमा चमार तामाङ

१६ जेठ, रोशी/मुलकोट (काभ्रे/सिन्धुली) । बिहान साढे ११ बजे स्कूल छुट्टी भएको घण्टी बज्यो। पशुपति आधारभूत विद्यालय, मुलकोटका विद्यार्थी हुरुरु बाहिर निस्किए। रामेछापपट्टिका विद्यार्थी सुनकोशी पुल तरेर पारिपट्टि गए। सिन्धुलीका विद्यार्थी मुलकोट बजारतिर।

पहिले यो स्कूल र सुनकोशीको बीचमा जग्गा-जमिन थियो, खेतीपाती हुन्थ्यो। १२ असोज २०८१ मा आएको विनाशकारी बाढीले सुनकोशीको धार फेर्‍यो। नदी अहिले स्कूलको आँगन छेउबाटै बग्छ।

रातभर ठूलो पानी परेर सुनकोशी सुसाउँदा बिहान झिसमिसेमै विद्यालय पुग्नुपर्ने विद्यार्थी अहिले पनि पोहोरकै स्मृतिमा हराउँछन्। पुराना दिन सम्झेर डराउँछन्।

सुनकोशी गाउँपालिका र विद्यालय व्यवस्थापन समितिले स्कूल स्थानान्तरण गर्नेबारे नसोचेका पनि होइनन्। तर स्कूल बनाउने जग्गा नै नभएपछि पुरानै ठाउँमा मर्मत गर्ने निधो भयो, जहाँ भत्किएको थियो।

तुरून्तै गाउँलेहरू बालुवा भरिएका कक्षाकोठा सफा गर्न जुटे, भत्किएको पर्खाल उठाउन दाताहरू गुहारियो। करिब एक महिनापछि स्कूल आफ्नै लयमा फर्कियो, विद्यार्थी फेरि कक्षाकोठामै फर्किए। रमाएर पढ्न थाले। तर यसको असर बौद्धिक अपांगता भएका १५ जना विद्यार्थीलाई पर्‍यो।

विद्यालयकै छात्रावासमा बसेर पढ्ने सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीका विद्यार्थीको त्यस दिन त उद्धार भयो, त्यसपछि विद्यालय फर्किएका छैनन्। सम्भावित बाढीको भयले विद्यालयले फेरि उनीहरूलाई स्कूल फर्काउन सकेको छैन। आफ्नै बलबुतामा गाउँलेले जति गर्न सक्थे, त्यति गरे।

‘बस्ती पूरै डुबायो। दशैं सकिने बित्तिकै विद्यालय सफा गर्न थालियो। सरकारको मुख ताकेर मात्रै हुँदैन, हामीले आफैं गरौं भनेर काम थाल्यौं। माटो ६ फिट जति थियो, सबै माटो निकाल्यौं’ विद्यालयकी प्रधानाध्यापक निर्मलाकुमारी श्रेष्ठले भनिन्, ‘हामीले पालिकाभरिबाट श्रमदान जुटायौं र स्कूल बनायौं।’

बाढीले तहसनहस बनाएको मुलकोट

बाढी आउनुभन्दा पहिले मुलकोट पर्यटकीय हब बनिसकेको थियो। यति धेरै जोखिमको आकलन त्यसअघि स्थानीय बासिन्दाले गरेका पनि थिएनन्।

सुनकोशी जति बढे पनि धार नै छोडेर बस्तीतिर पस्ला भन्ने भय नभएरै मुलकोटमा ठूला–ठूला रिसोर्टहरू खुलिरहेका थिए। पसल र व्यापार फस्टाउँदै थियो। तर विपत्तिसामु कसको के लाग्छ ? वर्षौं लगाएर बनाएको सृष्टि एकै रातमा छिन्नभिन्न भयो।

विकल्प भएको भए शायद बस्ती नै सर्थ्यो। मान्छेहरू बाढी-पहिरोको जोखिम नहुने ठाउँतिर सरिसकेका हुन्थे। तर त्यहीं जन्मे-हुर्केर सुनकोशी किनारमै जीवन बाँचिरहेकाहरू सर्ने अर्को ठाउँ थिएन। त्यसैले गाउँले बाढीले बगाएको संरचना समेट्न थाले। बालुवा भरिएको चोटा-कोठा सफा गर्न थाले। त्यही जगबाट घर उठाउन थाले। ध्वस्त रिसोर्ट र होटलहरू पुनर्निर्माण गर्न थाले। उनीहरू अहिले आफ्नै माटोमा सपना बुन्न थालेका छन्।

‘प्रदेश र संघीय सरकारले विपतका बेला हेर्नुपर्ने हो, तर हेरेका छैनन्। दु:ख लागेको छ। बौद्धिक अपाङ्गता भएकाहरूलाई झन् डर छ। प्रदेश र संघीय सरकारलाई निवेदन पनि दिएको हो। तर हाम्रो कुरा सुनेनन्’ प्रधानाध्यापक श्रेष्ठले भनिन्, ‘अहिले गाउँलेहरू भत्किएको आफ्नो संरचना आफैं बनाउन थालेका छन्।’

पशुपति आधारभूत विद्यालय, मुलकोट

विपत्ति आउँछ-जान्छ। तर त्यसको असर दीर्घकालीन हुनेरहेछ। आफ्नै पौरख गरेर जिन्दगी धान्न कस्सिएका स्थानीयलाई बाढीको वितण्डाले निराशाको चरम अवस्थामा पुर्‍यायो। तर जिन्दगी सधैं निराशाले चल्दैन भन्ने बुझेरै हो, उनीहरू फेरि लयमा फर्किंदै छन्।

‘कोही-कोहीलाई त साह्रै नकारात्मक असर परेको थियो’ श्रेष्ठले भनिन्, ‘बल्ल सामान्य अवस्थामा फर्किंदै हुनुहुन्छ। ऋणमा त डुबिसक्नुभयो। त्यसबाट मुक्त हुन निकै समय लाग्छ। जे भए पनि पहिलेकै अवस्थामा फर्किने कोसिसमा हुनुहुन्छ।’

घर अघिल्तिरैको चौतारीमा सुस्ताइरहेका श्यामलाल श्रेष्ठ ठ्याक्कै त्यस्तै रहेछन्, जस्तो व्याख्या प्रधानाध्यापक निर्मलाले गरेकी थिइन्। एकतले घर अघिल्तिर पसल थापेर पछाडि दुईवटा कोठामा श्यामलालको परिवार बस्ने गर्थ्यो।

दशैं आउनै लागेकाले काठमाडौंमा ११ असोज २०८१ मा व्यापारका लागि थुप्रै सामान पसलमा झारेका थिए। तर सामान फुकाउन नपाउँदै बाढी पस्यो। केही पनि बाँकी रहेन। उनीहरू पनि केही समय छिमेकका घरमा बस्न बाध्य भए।

अहिले डुबाएका कोठा र सटरहरू यसै छोडेर श्यामलालले तला उठाएका छन्। त्यहीं फेरि पसल थापेका छन्। ‘ज्यान जोगिएकैमा खुशी छौं’ श्यामलालले भने, ‘तर फेरि यस्तै बाढी आउँछ कि भन्ने चिन्ताले हरेक रात सताउँछ।’

बाढीको त्रास अझै नहटेको श्यामलालकी श्रीमती धनकुमारी बताउँछिन्। भन्छिन्, ‘आकाशमा बादल लाग्दा पनि डर लाग्छ।’

चोकतिर उभिंदा, चौतारामा सुस्ताउँदा, कोही मान्छे आउँदा र जाँदा स्थानीयको चिन्ता र चासोको विषय पोहोरको बाढी नै हुने रहेछ। पोहोरको बाढी दिउँसो नआएर राति आएको भए के हुन्थ्यो, बाँचिन्थ्यो कि मरिन्थ्यो ? यस्तै विषयमा गाउँले गफ गर्दा रहेछन्।

सिन्धुली मुलकोटका श्यामलाल श्रेष्ठ

यसपालि पनि त्यस्तै बाढी आयो भने कहाँ जाने भन्ने चिन्ताले उनीहरूलाई निकै सताउँछ। ‘राति बाढी आएको भए त हामी छतमा उभिएर गुहार माग्थ्यौं होला, हेलिकप्टर उद्धार गर्न आउँथ्यो होला है ठूलोबुवा ?’ स्थानीय उजेली रानामगरले अनुमानमिश्रित प्रश्न सोधिन् श्यामलाल श्रेष्ठलाई।

‘आउँथ्यो होला नि’ स्थानीय युवा इन्द्र बैजुले जवाफ दिए। उमेरले सात दशक पार गरिसकेका श्यामलालले भने सरकारी रबैयाको भुक्तभोगी भएकैले होला, आशामा आशा मिसाउन सकेनन्। भने, ‘खोइ !’

०००

हामी मुलकोटबाट जतिजति पश्चिमतिर आउँदै थियौं, क्षतिको चित्र थप भयावह देखिंदै थियो।

रोशी गाउँपालिका दुम्जाका इन्द्रप्रसाद पोखरेल रोशीको बाढीले खण्डहर बनाएको आफ्नै खेत भएको ठाउँ हेरेर टोलाइरहेका थिए। त्यहाँ खेतको नामोनिशान थिएन। ‘यहाँ खेत थियो, सबै बगायो। मेरो यहीं दुई रोपनी खेत पर्‍यो। तल ९ रोपनी बगायो, माथिल्लो फाँटमा चार रोपनी पर्‍यो। ८०/८५ मुरी धान फल्थ्यो, अब केही बाँकी रहेन’ निराश सुनिएका इन्द्रप्रसादले भने, ‘हामीले यो जीवनमा हराभरा देख्दैनौं अब।’

रोशीले २०११ सालमा त्यस्तै बाढी बोकेर आएको थियो। त्यसबेला इन्द्रप्रसाद ६/७ वर्षका हुँदा हुन्। उनको स्मरण अनुसार त्यसबेला पनि रोशीले यस्तै वितण्डा मच्चाएको थियो। तर खेतबारीलाई यसरी बगर भने बनाएको थिएन। इन्द्रप्रसादले हेर्दाहेर्दै २०२८ सालमा पनि त्यस्तै बाढी आयो। तर यतिविघ्न क्षति भने भएन। २०८१ को बाढीले अचाक्ली गर्‍यो। घरबार बगायो। बीपी राजमार्ग ध्वस्त पार्‍यो।

‘अरू बेला पनि सानातिना आउँथे, आफ्नो बाटो जान्थे। अहिले आएर रूनु न हाँस्नु बनायो’ इन्द्रप्रसादले भने, ‘३०० धुरीको उठिबास नै लायो। रोशी खोला नजिक खेत छैनन्, बाटो छैन।’

सम्भावित बाढी र पहिरोको डरले बीपी राजमार्ग आसपासका अरू जस्तै इन्द्रप्रसादको मन पनि भारी हुन्छ। दिउँसो डम्म बादल लाग्यो भने रातभरि आँखा झिमिक्क हुँदैन।

‘पानी पर्न थालेपछि के हुने हो, कहाँ जाने होला, जाने ठाउँ कहीं छैन, ठूलो दुःख पो छ। सरकारले हेर्दैन’, उनले दु:खेसो पोखे।

दुम्जाका इन्द्रप्रसाद पोखरेल

पानी परोस् वा बाढी आओस् इन्द्रप्रसाद गाउँ छोडेर अन्यत्र जाने आँट गर्न सक्दैनन्। आफूले खाइखेली हुर्केको माटो छोड्न नमानेको होला उनको मनले। तर छोरा-बुहारी भने काठमाडौंतिरै रहेछन्।

‘पानी पर्‍यो भने अर्को उपाय छैन। गाडी चल्दैन। हाम्रा छोरा-बुहारी काठमाडौंमा छन्। दशैंमा जिरी हुँदै मन्थली झरेर आए। ३६ घण्टामा आइपुगेका’ उनले भने, ‘बिग्रेको बाटो बनाउने सरकारले हो। तर हाम्रो सरकार यस्तो छ। मिलीजुली खाने, मोज गर्ने, कुर्सी नछोड्ने भए। जनतालाई हेर्दै हेर्दैनन्।’

०००

बाटोले दिएको सास्ती बीपी राजमार्ग वरिपरि बस्नेले व्यहोरेकै छन्, राजमार्गमा गाडी चलाएर जिन्दगी चलाउनेलाई पनि धौ-धौ भएको छ।

बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौं जोड्ने छिटो-छरितो बाटो थियो। काठमाडौंदेखि सिन्धुलीको बाटोहुँदै सरर्र कुद्न पाउँदा यात्रु र सवारी चालकले सुविस्ताको सास फेरेका थिए। २० वर्ष लगाएर बनेको बाटो बाढीले भत्काउँदा यसले दिएको खुशी दशक पनि टिकेन। प्रभावमा परे दिक्तेल-काठमाडौं गाडी चलाउने रामकुमार राई र उनी जस्तै चालकहरू।

‘बाटो अप्ठ्यारो छ। भल–बाढी आउँछ, एकदमै समस्या छ। पहिरो झरेर आवागमन नै रोकिन्छ’ राईले भने, ‘पहिले ७–८ घण्टा लाग्ने बाटो अहिले १२ घण्टा लाग्छ। बाटो बिग्रेकोले स्पिडमा चलाउन मिल्दैन। यात्रुलाई असहज भएको छ। फेरि बर्खा लाग्न लाग्यो। यो पटक झन् गाह्रो बनाउला जस्तो छ।’

०००

पोहोर एक दिन आएको बाढीले दिएको दु:ख र त्यसले छोडेका असरहरू बहुआयामिक छन् बीपी राजमार्गमा। खेती गर्नेहरूको गरिखाने खेत बगाएको छ, व्यापार गर्नेको होटल-पसल छैन, गाडी कुदाउनेहरूको नाफा घटेको छ, दु:ख बढेको छ।

बाढीले आधा घर बगाएपछि रोशी गाउँपालिका कालढुंगाकी सुनिता श्रेष्ठ छिमेकीको घरमा डेरा लिएर बसेकी छन्। उनले गुजारा गर्न चलाइरहेको सानो पसल पनि त्यही डेरामा छ। छेउमा आधा भत्किएको उनको घर ठिङ्ग उभिएको छ। सरकारले भत्किएको ठाउँबाट अलिकति उकासिदिए त घरले नयाँ जीवन पाउँथ्यो। तर सरकार र संघ-संस्थाका मान्छेहरू आएर एक बोरा चामल दिएर जान्छन्।

‘अस्ति पानी पर्‍यो। रातभरि सुतेनौं। पानी परेपछि बाढी आउँछ भनेर रातभर जागै बस्छौं। असोजसम्म जोखिम हुन्छ। कहाँ सुत्ने ? कहाँ खाने ? ढुंगा पुरिदिनु भनेको, सडक विभाग मान्दैन। माथिबाट पहिरो झर्छ। तलबाट बाढी जान्छ। के गर्ने ?’ उनले हामीलाई नै प्रश्न सोधिन्। जवाफ त हामीसँग पनि छैन।

वायाँबाट– सुनिता श्रेष्ठ र बुद्धिमाया तामाङ

प्रभावितको दु:खलाई राज्यले मजाक बनाएको हो कि सहयोग गर्न खोजेको हो भेउ पाउन नसकिने अवस्था छ, बीपी राजमार्गमा। दिन त राज्यले उनीहरूलाई दिन्छ, जस्ता दिन्छ, बाँस दिन्छ। तर बाँस गाड्ने र जस्ता छाउने जमिन दिंदैन। उनीहरूको जमिन छैन, भएको पनि रोशीले बगाइसकेको छ। राज्यको शैलीले स्थानीयलाई सान्त्वना दिंदैन, आक्रोशित बनाउँछ।

‘जस्ता दिन्छ, बाँस दिन्छ। तर कहाँ गएर बनाउने ? बनाएर देखाउनु भनेको छ। कहाँ बनाएर देखाउने ? जग्गा छैन। कि हामीलाई जग्गा किन्न पैसा दिनुपर्‍यो’ स्थानीय बुद्धिमाया तामाङले भनिन्, ‘अब के गर्ने ? खान त पानी तताएर खाउँला। तर बस्ने ठाउँ नै नभएपछि कसरी बाँच्ने ?’

चमार तामाङ

विकल्प हुनेहरू कोही मंगलटार पुगेका छन्, कोही धुलिखेल पुगेका छन्। विकल्प नहुनेहरूले हो, भासिएकै ठाउँबाट घर उठाउन खोजेको। भत्किएकै ठाउँबाट गाडी चलाउन चाहेको।

यही कारणले हुनुपर्छ, नमोबुद्ध नगरपालिका-५ लास्कोटबेसीमा भत्किएको घर उठाउँदै गरेका चमार तामाङले भने, ‘सबै सकियो भनेर पीर गरेर पनि के गर्नु, सास रहेसम्म आफैंलाई दुःख हो। पीर लागेर कसले के दिन्छ र हामीलाई !

स्थानीय सरकार आफैं पीडित

रोशी खोलाको बाढीबाट तीनवटा पालिका बढी प्रभावित भएका छन्। बाढीबाट काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका प्रभावित छन्। तर प्रदेश र संघीय सरकारबाट पर्याप्त सहयोग नपाएको गुनासो पालिका प्रमुखहरूको छ। गत वर्ष बाढीले भत्काएको भौतिक संरचना बनेको छैन। फेरि वर्षाले बाढीलाई निम्ता दिइसकेको छ।

गत १२ असोजको बाढीले नमोबुद्ध नगरपालिकामा ८२५ घरधुरी प्रभावित भएका छन्। नगर प्रमुख कुन्साङ लामाका अनुसार बाढी-पहरोमा परी ७ जनाले ज्यान गुमाए। मृत्यु भएकाको परिवारलाई संघीय सरकारले २ लाख र प्रदेश सरकारले १ लाख रुपैयाँ दियो। ‘मृतक परिवारलाई काज-किरियाको लागि खर्च दिएको हो’, अध्यक्ष लामाले भने।

तर, आवास निर्माणको काम भने अझै शुरू भएको छैन। ‘पुनर्निर्माणको काम अगाडि बढेको छैन’, उनले भने। संघीय सरकारले अस्थायी आवास निर्माणको लागि प्रतिघर ५० हजार रुपैयाँ उपलब्ध गराउने भनेको छ। तर वास्तविक पीडितको संख्या यकिन गर्ने काम भइरहेकाले रकम वितरण नभएको नगर प्रमुख लामाले बताए।

‘अस्थायी आवास बनाउन दुई किस्ता गरेर ५० हजार रुपैयाँ संघले दिने भनेको छ। पहिलो किस्ता २५ हजार आएको तर वास्तविक पीडितको संख्या यकिन गर्ने काम भइरहेको छ’ उनले भने, ‘वडा-वडामा प्राविधिक टोली खटाइएको छ। टोलीले तथ्यांक यकिन गरेपछि अस्थायी आवासको लागि आएको रकम वितरण गर्छौं।’

वास्तविक पीडितले न्याय पाउन् भन्ने उद्देश्यले वडा-वडामा टोली खटाइएको अध्यक्ष लामाले बताए। ‘त्यो बेला मेरो पनि घर बगाएको हो। तर मेरो बस्ने अर्को घर थियो। एउटा भत्किए पनि अर्को घर हुनेले राहत लिनुहुँदैन भन्ने हो। मैले लिएको छैन। पीडित जनतालाई प्राथमिकता दिएका छौं’, अध्यक्ष लामाले भने।

अस्थायी आवासको काम सकिएपछि मात्र स्थायी आवासको प्रक्रिया अगाडि बढाउने तयारी छ। ‘६० प्रतिशत संघ सरकारले, ३० प्रतिशत प्रदेशले र बाँकी स्थानीय सरकारको सहयोगमा स्थायी आवास बनाउने भनिएको छ। तर स्थानीय सरकारले कहाँबाट पैसा ल्याउने ? स्रोत छैन। स्थायी आवासको जिम्मा संघ सरकारले लिनुपर्छ’, उनले भने।

त्यसैगरी, रोशी गाउँपालिकामा १ हजार २३८ घरधुरी प्रभावित भएका छन्। गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार ५६३ घरधुरीमा पूर्ण क्षति भएको छ।

रोशी गाउँपालिकाले भने पीडित स्थानीयलाई पहिलो किस्ता रकम वितरण गरेको छ। ‘अस्थायी आवासको लागि ५४८ घरधुरीलाई पहिलो किस्ताको २५ हजार रुपैयाँ दिएका छौं। अस्थायीको काम सकिएपछि स्थायी पुनर्निर्माणको काम शुरू गर्छौं’, अध्यक्ष लामाले भने।

विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणले स्थायी आवास बनाउनुपर्ने पीडितको संख्या यकिन गरिरहेको अध्यक्ष लामाले बताए। भौतिक संरचनासँगै रोशी गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो। ‘तत्काल राहत तथा उद्धार गर्‍यौं। मृतकका परिवारलाई संघबाट २ लाख, प्रदेशबाट ९० हजार र स्थानीय सरकारले काजकिरिया गर्न ५० हजार रुपैयाँ दिएको छ’, अध्यक्ष लामाले भने।

सिन्धुलीको सुनकोशी गाउँपालिकामा भने अस्थायी आवासको लागि बजेट नै गएको छैन। गाउँपालिकाले बाढी आएको समयमा ८२० घरधुरी प्रभावित भएको र १ जनाको मृत्यु भएको सिफारिस गरेको थियो। तर दोस्रो चरणको अध्ययनमा गाउँपालिकाले ४०४ घरधुरी पुनर्निर्माणको लागि सिफारिस गरेको छ। तर संघीय सरकारबाट अस्थायी आवासका लागि बजेट नआएको गाउँपालिकाले जनाएको छ।

‘भौतिक संरचनामा क्षति भएको छ। अस्थायी आवासको रकम आएको छैन। पीडित जनताको घर बनाउने प्रक्रिया अगाडि बढेको छैन’ गाउँपालिका अध्यक्ष दीपा बोहोराले भनिन्, ‘किन ढिला भएको हो, थाहा छैन। आउला भन्ने आशा छ।’

राजमार्ग पुनर्निर्माणमा पनि उदासीन राज्य

बीपी राजमार्गको काम शुरू भए पनि द्रुत गतिमा नभएकोमा पालिका प्रमुखहरू सन्तुष्ट छैनन्। बर्खामा फेरि आवतजावत नै रोकिने जोखिम रहेको गुनासो उनीहरूको छ। ‘राजमार्ग बनाउन ठेक्का लागेको भनिएको छ। तर काम धेरै भएको छैन।

बीपी राजमार्गमा सवारी नरोकियोस् भनेर स्थानीय स्रोत-साधनको प्रयोग गर्ने तयारीमा छौं। तर अघिल्लो वर्षको भन्दा धेरै बाढी आयो भने भगवान भरोसा मात्र हो’, नमोबुद्ध नगरपालिकाका अध्यक्ष कुन्साङ लामाले भने। सडक विभागले पानी पर्दा पनि गाडी चल्न सक्ने गरी अस्थायी सडक बनाउने आश्वासन दिएको उनी बताउँछन्।

यसपटक बाढीबाट हुने क्षति कम गर्न सुनकोशी गाउँपालिकाले भने आफैं तटबन्ध बनाउन शुरु गरेको छ। ‘रोशी–सुनकोशीमा एक करोड बजेटमा तटबन्ध बनाउन लागेका छौं। तर प्राविधिकले ४–५ करोड लाग्छ भनेका छन्। थप रकम कहाँबाट ल्याउने ? संघ सरकारलाई भनेका छौं, तर केही प्रतिक्रिया आएको छैन। तटबन्ध बनाउन पाइयो भने क्षति कम हुने थियो’, अध्यक्ष बोहोराले भनिन्।

बीपी राजमार्गको काम द्रुत गतिमा नभएको उनको गुनासो छ। ‘सडकको जोखिम उस्तै छ। काम प्रभावकारी भएको छैन। बिहान-दिउँसो सडक बनायो, बेलुका पानी पर्‍यो भने उस्तै हुन्छ। द्रुत गतिमा काम भएको छैन’, उनले भनिन्।

फोटाहरु : शंकर गिरी अनलाइनखबर

 

कभर स्टोरी
लेखक
बिनु सुवेदी

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?