
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित अन्य तीनलाई दोषी ठहर गरेको छ।
- सहकारीको रकम हिनामिना गरेको आरोपमा शर्मासहित आठ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
- उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईले भने सफाई पाएका छन्।
१८ जेठ, विराटनगर । सहकारीको बचत अपचलन मुद्दामा तुलसी बहुमुखी सहकारी संस्था विराटनगरका अध्यक्ष केदारनाथ शर्मा दोषी ठहर भएका छन् । आइतबार जिल्ला अदालत मोरङले शर्मासहित तीन जनालाई दोषी ठहर गरेको हो ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष शर्मासहित सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई ठहर गरेको हो । सजाय निर्धारणका लागि भने सोमबार पेशी तोकिनेछ ।
‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसूरमा तुलसी सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईले सफाई पाएका छन् । फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा मुल्तवीमा राखिएको छ । उनीहरु अदालतमा उपस्थित भएपछि मुद्दाको प्रक्रिया अघि बढ्नेछ ।
केन्द्रीय कार्यालय विराटनगर र तीन वटा शाखा (दमक, गाईघाट, र गोलबजार) कार्यालय मार्फत २१ हजार १ सय ५४ जना बचतकर्ताको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन आरोपमा अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध २०७९ साल चैत १२ गते मोरङ अदालतमा ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसूरमा मुद्दा दायर भएको थियो ।
सहकारीका अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रिय प्रबन्धक खवास पूर्पक्षका लागि थुनामा थिए । उपाध्यक्ष गौतम र सञ्चालक भट्टराई धरौटीमा छुटेका थिए । शर्मामाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, भक्तपुरबाट पनि सर्वसाधारणको १२ अर्ब बढी बचत अपचलन गरेको आरोप छ ।
तुलसी सहकारीकी सचिव न्यौपाने अध्यक्ष शर्माको पूर्व श्रीमती हुन् । तुलसी सहकारी संकटमा परेपछि उनीहरुले सम्बन्ध विच्छेद गरेका थिए । सहकारीका ८ जना सञ्चालक देखाइएपनि हर्ताकर्ता भने अध्यक्ष शर्मासँगै सचिव सविना र व्यवस्थापक खवास हुन् ।
२०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको स्वामित्व २०७२ सालमा केदारनाथ शर्माले खरिद गरेका थिए । विराटनगरको विराट नर्सिङहोम चोकमा कार्यालय खोलेर उनले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय खोलेका थिए । मोरङको लेटाङमा शाखा कार्यालय खोल्ने तयारी भइरहेका बेला सहकारी संकटमा परेको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा सहकारीको केन्द्रीय कार्यालय विराटनगरमा १० हजार १ सय ७८ वटा निक्षेप खाता भेटिएको थियो । दमक शाखामा ६ हजार ९६८, गाइघाट शाखामा ३ हजार ३ सय ३४, गोलबजार शाखामा ६७४ सहित २१ हजार १५४ वटा खाता थियो ।
तुलसी सहकारीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख ८ हजार, दमक शाखामा ६० करोड ७२ लाख ९३ हजार, गाइघाट शाखामा २३ करोड ६६ लाख ९६ हजार र गोलबजार शाखाबाट ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन भएको थियो ।
सहकारी संस्थामा सर्र्वसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्माले अनधिकृत रुपमा आफ्नो कम्पनीमा लगानी गर्थे । सहकारीमार्फत सर्वसाधारणको एक अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेका शर्माले ४१ करोड ६३ लाख ९५ हजार ३७८ रुपैयाँ आफ्नै ६ वटा कम्पनीमा लगानी गरेका थिए । ती सबै कम्पनी संकटमा छन् ।
शर्माले तुलसी मोटर पम्प प्रालिमा २४ करोड ५ लाख, ५७ हजार, नटराज एग्रो प्रालिलाई ४ करोड २८ लाख ८० हजार रुपैयाँ, शिखर अर्गनाइजेसन प्रालिलाई ५ करोड ६७ लाख ५० हजार ऋण लगानी गरेका थिए ।
सहकारीको दमक शाखाबाट गोर्खा टी एण्ड कफी उद्योगलाई २ करोड १५ लाख ७८ हजार ७८७ रुपैयाँ, शिवशिखर अर्गनाइजेसन प्रालिलाई १ करोड ४२ लाख ८४ हजार १३८ रुपैयाँ र गाइघाट शाखाबाट तुलसी अनुसन्धान केन्द्रमा ४ करोड ३ लाख ४४ हजार २०२ रुपैयाँ लगानी गरेका थिए ।
एक अर्र्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँ कुलपूजी रहेको सहकारीबाट जम्मा एक अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ ऋण लगानी गरेको देखिएको छ । १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ खर्चको हिसाब अनुसन्धानका क्रममा भेटिएको थिएन ।
प्रतिक्रिया 4