
बार्सिलोना। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा दिएको एउटा नारा थियो-‘हावाबाट बिजुली ।’ कसैले यसलाई दूरदृष्टि माने, कसैले ठट्टा । धेरैका लागि त्यो वाक्य हावादारी, अवास्तविक, गफकै कुरा जस्तो लाग्यो । सामाजिक सञ्जालदेखि संसदसम्म, व्यङ्ग्य र ट्रोलको विषय बन्यो । तर समय फेरियो । आज ओली आफैं वायु ऊर्जामा अगाडि रहेको देश स्पेनको भ्रमणमा छन्- जहाँ झन्डै २५ प्रतिशत विद्युत् आपूर्ति हावाबाटै हुन्छ ।
म्याड्रिड अवतरण गरेपछि ओली तीव्र गतिको रेल चढेर सेभिया जाँदै गर्दा रेलको झ्यालबाट देखिन्थे- जमिनको बीचमा उभिएका सयौं टर्बाइनहरू, शान्त तर घुमिरहेका । ती दृश्यहरूले ओलीको पुरानो भनाइलाई केवल शब्द होइन, जीवन्त प्रमाण बनाइदिएका थिए।
अब प्रश्न उठ्छ- त्यो स्पेनमा सम्भव भयो, नेपालमा किन भएन ? सपना देखिएको थियो, तर प्रगति किन निदायो ?
स्पेनले सपना मात्र देखेन, रणनीति बनायो र कार्यान्वयनमा उत्रियो । ऊर्जा आत्मनिर्भरताको लक्ष्य राख्यो, जलवायु संकटलाई गम्भीरतापूर्वक लियो, प्रविधिमा भरोसा गर्यो । लगानी आकर्षणका नीति बनायो, सार्वजनिक-निजी साझेदारीमार्फत पूर्वाधार खडा गर्यो । त्यसैले आज स्पेन हरित ऊर्जा उत्पादनमा युरोपको अग्रपंक्तिमा छ ।
नेपालमा पनि हावा छ, भूगोल अनुकूल छ, हावाको गति नापिएको छ, सम्भाव्यता अध्ययनहरू छन् । तर नीतिगत इच्छाशक्ति छैन । लगानीमैत्री वातावरण छैन । सपना देखियो, तर त्यो सपना बिउँझिनुअघि नै निदाइयो ।

वायु ऊर्जामा स्पेनको छलाङ्ग
अन्तर्राष्ट्रिय ऊर्जा संघ (IEA) अनुसार हाल स्पेनभर ८०० भन्दा बढी नगरपालिका क्षेत्रमा १,३४५ वटा पवन फार्महरूमा २२,०४२ वटा वायु टर्बाइन सञ्चालनमा छन् । ती टर्बाइनहरूले देशको जम्मा भू-भागको मात्र ०.०१७ प्रतिशत ओगटेका छन् ।
स्पेनमा वायु ऊर्जा सौर्य र आणविक स्रोतभन्दा ठूलो, सबैभन्दा प्रमुख नवीकरणीय ऊर्जा बनिसकेको छ । सन् २०२३ मा वायु ऊर्जाबाट स्पेनले आफ्नो कुल विद्युत् मागको २४ प्रतिशतभन्दा बढी आपूर्ति गर्यो । ३० हजार मेगावाटभन्दा बढी संचित क्षमतासहित स्पेन अहिले वायु ऊर्जा उत्पादनमा विश्वमा पाँचौं र युरोपमा दोस्रो स्थानमा छ।
‘रेल’का कुरा
‘हावाबाट बिजुली’जस्तै ‘रेल’ पनि ओलीको चर्चित सपना थियो । नेपालमा यो भनाइले धेरै आलोचना र ठट्टा पायो । तर योपटक ओलीले त्यो रेल स्पेनमा चढे- म्याड्रिडदेखि सेभिया करिब ५३० किलोमिटर दूरी २ घण्टा ३० मिनेटमै पार गरिने उच्चगतिको रेल । न्यून ध्वनि, उच्च सुरक्षा र आधुनिक प्रविधिसहितको रेल । नेपाली जनतालाई उनले देखाएको सपना वास्तवमा विश्व कति अघि बढिसकेको छ भन्ने महसुस गराउने दृश्य थियो त्यो ।
शायद त्यही रेल चढ्दा ओलीको मनमा एउटा प्रश्न गुञ्जिएको थियो- ‘मैले देखेको सपना किन पुरा भएन ?’ सपना देख्नु गफ होइन, तर त्यसलाई बिर्सनु दुर्भाग्य हो । हावाबाट बिजुली वा रेल- यी दुवै प्रविधिसँग जोडिएका छन्, जसका लागि योजना, लगानी र लगन आवश्यक हुन्छ । तर नेपालमा समस्या केवल नेतृत्वमा होइन, प्रणालीमा पनि छ । थालिएका योजनाहरू निरन्तरता पाएनन्, स्रोत र साधन परिचालन हुन सकेन ।
कूटनीतिक घडी
स्पेनको भ्रमण प्रधानमन्त्री ओलीका लागि केवल सम्मेलन सहभागिता होइन, आत्मसमीक्षा गर्ने अवसर पनि हो । झ्यालबाहिर घुमिरहेका टर्बाइनहरूले उनलाई सम्झाइरहेका थिए- गफले होइन, कार्यले देश बदलिन्छ । त्यो सपना आज पनि ‘कार्य’मा बदल्न सकिने सम्भावना बोकेको छ।
स्पेनसँग पर्यटन, जलवायु, व्यापार र पूर्वाधारमा सहकार्यको ढोका खुलेको छ । प्रविधि स्थानान्तरणदेखि हरित ऊर्जा लगानीसम्मका विषय अब गम्भीरतापूर्वक अघि बढ्नुपर्छ । तर त्यसका लागि घुम्ने टर्बाइन हेरेर फर्किने नेताहरू होइन, रणनीति घुमाउन सक्ने नेतृत्व चाहिन्छ ।
टर्बाइनले ऊर्जा दिन्छ, तर देश बनाउने ऊर्जा सोचबाट आउँछ । ‘हावाबाट बिजुली’ भन्ने वाक्य आज पनि ताजै छ-चाहे आलोचनाको विषय बनोस् वा प्रेरणाको । अब त्यो सपना पुनः ब्यूँझाउने बेला हो- योजना, लगानी, नीतिगत इच्छाशक्ति र अन्तर्राष्ट्रिय सहकार्यमार्फत ।
प्रतिक्रिया 4