
News Summary
Generated by OK AI. Editorially reviewed.- आम नागरिकमा गीतमार्फत चर्चामा आएको आँधीखोलाको अतिक्रमण र उत्खननविरुद्ध मेघ आलेले संघर्ष गरेका छन्।
- उनले नदी संरक्षणका लागि आन्दोलन गर्दै, नदीमाथि भएको अवैध उत्खननको विरोध गरेका छन्।
- आलेले नदीप्रति आफ्नो प्रेम र संरक्षणको प्रतिबद्धता व्यक्त गर्दै, दिगो विकास र नदीको संरक्षण आवश्यक रहेको बताएका छन्।
‘आँधीखोला उर्लेर आयो
आउने थिइनँ मायाले बोलायो…’
उर्लेको आँधीखोला जितेर अचेल कति प्रेम वारि–पारि तर्छन्, थाहा भएन । तर, माथि उल्लिखित गीत सार्वजनिक भएयता कैयौं पटक आँधीखोला उर्लिसक्यो । गीत मार्फत देशव्यापी चर्चामा आएको आँधीखोलालाई भने त्यसपछि कसैले ध्यान दिएन ।
आमनागरिक गीतमा लट्ठ भइरहँदा आँधीखोला अतिक्रमण भइरह्यो । र, यसकै संरक्षणमा लडिरहेका थिए– नदी संरक्षण अभियन्ता मेघ आले ।
नदी संरक्षणकै सिलसिलामा गत असार ३ गते आक्रमणको सिकार पनि भए । स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले आँधीखोला संरक्षण अभियानमा जुटिरहेका आले र उनीसँगै रहेका रास्वपा नेता दिनकर नेपालमाथि कुटपिट गरे । यसबाट सबैभन्दा धेरै घाइते नेपाल नै हुन पुगे ।
जुन खोला जोगाउन खोज्दा आलेले कुटाइ खानुपर्यो, त्यस्ता कैयौं खोलामा उनले जवानी खर्चिएका छन् । नदीहरूप्रति अगाध प्रेम छ उनलाई । त्यसैले होला नदी बहँदा सभ्यताको गीत सुन्छन् । नदीभित्रै मान्छेको जीवन देख्छन् ।
उनी भन्छन्– स्याङ्जाको वालिङ, भिरकोट, गल्याङ, कालीगण्डकी र आँधीखोला गाउँपालिकालाई जोड्ने आँधीखोला केवल नदी हैन, यहाँको पहिचान हो ।
जब नदीभित्र डोजर चलिरहेको देखे, मुटु चिथोरिएको जस्तो लाग्यो । त्यसपछि नदी उत्खनन गर्नुका कानूनी आधार माग गरे । सम्बन्धित पक्षले उक्त कागजात दिन नमानेपछि विरोध गरे । स्थानीय भेला पारे ।
‘यो नदी हाम्रो सभ्यता हो, तर यसलाई मास्ने काम भइरहेछ’, स्थानीयलाई बुझाए । फलस्वरूप राज्यको प्रतिनिधि भनिएका वडाध्यक्षबाटै आक्रमण बेहोर्नुपर्यो । त्यसैले
पछिल्लो समय निराश छन्, उनी । झन् नेपाल प्रहरीले पनि अनुसन्धानमा नसघाएको भन्दै असन्तुष्ट छन् ।
आफूहरूमाथि भएको सोही आक्रमणको दोषीलाई ‘आवश्यक कारबाही गरिपाऊँ…’ भन्दै विभिन्न निकाय धाइरहेका छन् । त्यही सिलसिलामा काठमाडौंमा भेटिएका उनलाई हामीले सोध्यौं– नदीप्रति यस्तो प्रेम कसरी जाग्यो ?
भावुक ‘मेघ दाइ’ आफ्नो बाल्यकालमा फर्किए । सानैदेखि नदीप्रति लगाव रहेको सुनाए । स्याङ्जाको खहरे खोलामा बाल्यकाल बिताएका उनलाई नदीले स्वतन्त्रता र आनन्द दियो । जब स्कूलमा ‘कैद’ उनलाई शिक्षकले कुट्थे, त्यसबाट जोगिन खोलातिर हान्निन्थे । ‘नदीले मलाई लुकाउँथ्यो, म नदीमा हराउँथें’, उनले अतीत सम्झिए ।
आँधीखोला गाउँको गौरव हो, जसले बाहुन, मगर, क्षेत्री र माझी बस्तीलाई जोड्छ । तर, यो नदी वर्षौंदेखि अनियन्त्रित उत्खननको सिकार बन्दैछ । त्यसैले आठ–नौ वर्षदेखि उनी आँधीखोलाको संरक्षण अभियानमा छन् । करोडौंको लगानीमा बनेको वालिङको पक्की पुलको जग भेट्न आँटिसक्यो, उत्खनन रोकिएको छैन । उनका अनुसार पुलको ३५०–४०० मिटर माथि र तल डोजर चलाइएको छ । त्यहीं रहेको झोलुङ्गे पुलमुनि पनि उत्खनन जारी छ ।
यसरी अनधिकृत रूपमा नदी उत्खनन हुँदा गाउँलेका खेतबारी जोखिममा छन् । बस्ती धरापमा छन्, त्यो पनि गाउँतिरको । कस्तो विभेद – पारिको बजार क्षेत्र तटबन्ध गरेर सुरक्षित बनाइँदा वारिका गाउँले किसानका बस्ती जोखिममा छन् ।
‘त्यही खोला खोतलेर बजार बनाए । पक्की संरचना बन्यो । अनि उनीहरूकै कारण निम्तिएको जोखिम चाहिं गाउँलेले मात्र बेहोर्नुपरेको छ । यो कस्तो विकास हो ? जसले गाउँलाई निरन्तर हेप्छ’, आलेले स्थलगत अवस्था सुनाए ।
यसबारे आले लगायतका टोलीले पटक–पटक स्थानीय सरकारको ध्यानाकर्षण नगराएका पनि हैनन् । उत्खननको टेन्डर आह्वान नगर्न धेरै पटक अनुरोध गरे । तर, भनिन्छ – शक्तिले सधैं नागरिक आवाज दबाउँछ । उनीहरूको हकमा त्यस्तै भयो ।
भौतिक आक्रमण गरेरै दबाउन खोजे । तर, ज्याद्रा आले किन दबिन्थे ! बरु झन् उत्साही भएर नदी संरक्षण गरिछाड्ने भन्दै सक्रिय राजनीतिमा आएका छन् । हाल उनी देशको चौथो ठूलो दल रास्वपाका केन्द्रीय सदस्य हुन् ।
६४ वर्षीय आलेले ३० वर्षभन्दा धेरै त नदीसँग बिताइसकेका छन् । अधिकांशले उनलाई ‘मेघ दाइ’ भन्दै सम्बोधन गर्छन् । स्याङ्जाको वालिङ, आलेगाउँमा जन्मिएका उनको जीवन–कथा नदीसँगै बुनिएको छ । पानीको प्रवाह जस्तै— अविरल, गहिरो र मिठासपूर्ण । कर्णालीको नीलो पानी, बागमतीको सभ्यता, त्रिशूलीको साहसिकता र भोटेकोशीको रोमाञ्चकता उनको जीवनमा मिसिएको छ ।
सानो छँदा नदीमा रमाउने आले आज नदीको संरक्षक बनेका छन्् । सानो छँदा स्कूलभन्दा नदी प्यारो लाग्थ्यो, उनलाई । ‘देब्रे हातले किन लेखिस् ?’ भन्दै ७–८ वर्षकै कलिलो उमेरमा शिक्षकको कुटाइ खान्थे, त्यसबेला छलिने ठाउँ खोला थियो । त्यसैले स्कूलको सट्टा उनी नजिकैको खोला किनारमा पुग्थे । माझी साथीहरूसँग माछा मार्दै, पानीमा पौडिंदै रमाउँथे ।
यसरी स्कूल छोडेर छोरो खोला किनारमा टहलिन थालेपछि अभिभावक चिन्तित भए । त्यसपछि सबैको सल्लाहमा भारतको देहरादून पढ्न पठाइए । ‘शिक्षकहरूको गुनासो घरमा पुग्यो । आमालाई चिन्ता लाग्यो । बुबाले पढ्न देहरादून पठाउनुभयो’, उनले भने ।
केही समयपछि देहरादूनको पढाइ सकेर आले गाउँ फर्किए । खेतीपाती, मकै तार्ने, धान रोप्ने काममा नदी किनार सधैं उनको साक्षी बनिरह्यो । ‘हाम्रो बारी नदीको छेउमै थियो । धान रोप्दा, मकै तार्दा, नदी सधैं साथमा हुन्थ्यो’, उनले अनुभव सुनाए ।
त्यसपछि स्नातकोत्तर गर्न काठमाडौं आए । शंकरदेव क्याम्पसमा पढ्दै फुटबल खेल्ने, पढाउने लगायत काम गरिरहे । नदीसँग उति संगत हुन पाएन । काठमाडौंकै रहनसहनमा भुलिए । तर, एक दिन अचानक काठमाडौंमै चिने–जानेका दाइ मार्फत उनी ‘टाइगर टप्स’मा ठोक्किए । पर्या–पर्यटन क्षेत्रमा काम गर्ने उक्त कम्पनीमा ‘हिमालयन रिभर एक्सप्लोरेशन’मा ट्रेनी रिभर गाइडको रूपमा काम गरे ।
यस क्षेत्रप्रति उत्साह देखाउन काफी थियो– आलेले संगत गरेका ‘दाइहरूका’ रोमाञ्चक फोटो । देशका विभिन्न ठाउँमा गएर रमाइलो गरेको, साहसिक यात्रा गरेको फोटो हेर्दा आफूलाई पनि यस्तै काम गर्ने इच्छा जागेको उनी बताउँछन् ।
र, औपचारिक रूपमा सन् १९८५ मा उनले र्याफ्टिङ गाइडको काम शुरू गर्छन् । नदीसँग झन्डै टुटिसकेको संगतलाई जोड्ने सेतु बन्यो, त्यो काम ।
रिभर गाइड बनेपछि आलेले नेपालका नदीहरूमा साहसिक यात्रा गरे । कर्णाली, भेरी, बबई, भोटेकोशी, मर्स्याङ्दी, अरुण, तमोर, सुनकोशी, आदि नदीले झन् मोहित बनायो । सन् १९९१ मा उनले कर्णालीमा नेपालमै पहिलो पटक र्याफ्टिङ ‘डिसेन्ट’ गरे, जुन नेपालको साहसिक पर्यटनमा ठूलो उपलब्धि थियो । ‘कर्णाली त हाम्रो सभ्यता हो । अब यसलाई जोगाउनुको विकल्प छैन । यो हामीले पाएको प्रकृतिको अमूल्य उपहार हो’, उनले भने ।
तर, अहिले यस्ता नदीहरूमा ड्याम बन्न थालेका छन् । अव्यवस्थित विकासले नदीहरू मासिंदै गएका छन् । चाहे कालीगण्डकीमा ड्याम बनाउने योजना होस् या भोटेकोशीमा बिजुली निकाल्ने प्रस्ताव । त्रिशूलीमा र्याफ्टिङ लगायतका उच्च सम्भावना बोकेको क्षेत्र मास्दा होस् या मर्स्याङ्दीको गति घटाउँदा । आले सधैं असन्तुष्ट रहे ।
यसरी दु्रत गतिमा नदी मास्ने योजना सार्वजनिक हुन थालेपछि संगठित भएर जोगाउन लाग्नुपर्ने योजना उनले बनाए । सन् १९९५ मा ‘नेपाल नदी संरक्षण’ संस्था स्थापना गरे । र, उनकै नेतृत्वमा कालीगण्डकीमा ड्याम बनाउने योजना विरुद्ध क्याम्पेन चलाए । ‘कालीगण्डकी विश्वस्तरीय र्याफ्टिङ गन्तव्य हो । यो सांस्कृतिक र प्राकृतिक सम्पदा हो । ड्याम बनाएर यसलाई छोट्याइयो’, उनले भने ।
भोटेकोशी, त्रिशूलीमा पनि आलेले आन्दोलन गरे, तर कमिसन र स्वार्थका कारण नदीको उत्कृष्ट खण्ड मासियो । ‘नेपालका नेताहरूमा नदीप्रति भिजन छैन । उनीहरू पैसा र कुर्सीको पछाडि दौडिन्छन्’ उनी चिन्तित सुनिए, ‘त्रिशूली, जुन साहसिक पर्यटनको सुरुवात भएको नदी थियो, त्यसलाई पनि ड्यामले सिध्यायो । यस्ता कैयौं सभ्यता सकिंदैछन् । झन् फोहोर पनि नदीमै थुप्रिन थालेको छ ।’
काठमाडौंको राजधानीमा रहेको बागमतीसँग पनि आलेको प्रेम छ । कैयौं नदीमध्ये उनले सबैभन्दा ठूलो योगदान बागमतीसँग जोडिएको छ । यसलाई जोगाउनुपर्ने उद्देश्यले कैयौं अभियान चलाएका छन् । सन् २००१ मै उनले बागमती नदी महोत्सव नै शुरू गरे ।
‘होटलको हलमा कार्यक्रम/छलफल गरेर बागमती बुझिंदैन । नदीको किनारमा गएर संवाद गर्नुपर्छ’ बागमती सफाइ अभियानमा जोडिएका अन्य साथीलाई बागमतीमै ल्याएर महसुस गराउन यसो भनेर मनाएका थिए उनले ।
त्यसपछि तिलगंगादेखि शंखमूलसम्म र्याफ्टिङ, सांगीतिक कार्यक्रम, वृक्षरोपण गर्दै विद्यार्थीको सहभागितामा बागमतीलाई जीवन्त बनाउन भन्दै लागिपरे । पहिलो पटक महोत्सव हुँदा हजारौं मानिस नदी किनारमा जम्मा भए ।
कृष्णाष्टमीको दिन परेकाले पनि शंखमूलको साँघुरो पुलमा भीड थियो । बागमती किनारमै गरिएको उक्त महोत्सवमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नमस्ते ब्याण्डका ईश्वर गुरुङ जस्ता कलाकारहरूले नि:शुल्क प्रस्तुति दिए । जब यी गायकले गीत गाउन र कलाकारले प्रस्तुति दिन थाले, मन्दिर हिंडेको भीड बागमतीमा झर्यो । यसले आलेलाई आनन्दित बनायो । उनको लागि नदी दोहन गर्ने विरुद्ध ‘पोजेटिभ प्रोटेस्ट’ थियो, त्यो ।
उक्त अभियान सन् २०१३ मा आइपुग्दा बागमती सफाइ महाअभियानमै रूपान्तरण भयो । पूर्वमुख्यसचिव (जो पछि राजदूत भएर चीन गए) लगायतका भीआईपीहरू पनि यसमा जोडिए । यसरी शुरू भएको बागमती सफाइ अभियान आजपर्यन्त जारी छ । तर, सम्बन्धित निकायले ध्यान नदिंदा सोचे जस्तो प्र्रगति नभएको आलेले गुनासो गरे ।
नदीका गलत भाष्य चिर्ने काममा पनि उत्तिकै सक्रिय छन्, आले । जस्तो, पछिल्लो पटक आले लगायतको टोलीले कर्णाली राक्षसतालबाट बग्दैन भन्ने कुरा पत्ता लगाउँदा उनी औधी खुशी भएका थिए । हिन्दू किंवदन्ती अनुसार राक्षसताल लङ्काका राजा रावणले बनाएका थिए । त्यसैले तिब्बतको कैलाश मानसरोवर समीपमा रहेको राक्षसताल नै कर्णालीको मुहान हो भन्ने गलत भाष्य बलियोसँग गड्दा कर्णाली भेगका स्थानीय भन्ने गर्थे– राक्षसतालबाट बगेको खोला हाम्रैतिर भएर भाग्य यस्तो भएको हो ।
जसको यथार्थ पत्ता लगाउन उत्सुक थिए, आले । यसको लागि पत्रकार रमेश भुसाल लगायत केही वैज्ञानिकको टोली लिएर कर्णालीको शिर खोज्न निस्किए । रसुवागढी नाकाबाट तिब्बतको केरुङ, सागाहुँदै कैलाश मानसरोवरसम्म पुगेको यो टोलीको रोमाञ्चक कथा ‘छालबाटो’मा उल्लेख छ ।
रमेश भुसाल लिखित उक्त पुस्तकमा उल्लेख भए अनुसार आलेको टोली कर्णालीको धार्मिक उद्गमस्थल (माप्चा चुङ्गो) सम्म पुग्न सफल हुन्छन् ।
४५ दिने कर्णाली (शिरदेखि पुच्छरसम्म) यात्रा वर्णन गरिएको उक्त पुस्तकमा भुसालले लेखेका छन् – नेपालमा धेरैले कर्णाली राक्षसतालबाट बगेर आउँछ भन्ने गरेकाले त्यो सत्य हो कि होइन भनेर पत्तो लगाउने धोको थियो मेघ दाइलाई । त्यो उनको मूल उद्देश्यमध्येको एक थियो ।
जब कैलाश पर्वत वरपर फन्को लगाउँदा कर्णाली त्यहाँ रहेको राक्षसतालबाट नबगेको पाए, आलेको खुशी वर्णन गरेर सकिन्न । यसले पनि उनको नदीप्रतिको लगाव देखाउँछ । ‘यो कैलाश र गंगा जोड्ने नदी हो, राक्षस नदी होइन । यसलाई मास्नुहुँदैन, जोगाउनुपर्छ’, कर्णालीको मुहान हेरेपछि आलेको निष्कर्ष उद्धृत गर्दै भुसालले छालबाटोमा लेखेका छन् ।
यसरी आलेले नेपाल लगायत विभिन्न देशका नदीसँग संगत गरेका छन् । तर, जताततै हाइड्रोले नदीका जैविक विविधता नष्ट गरेको पाएका छन् । हाइड्रो बनाउँदा पनि केही भाग पानी छोड्नुपर्ने, माछा लगायत जलचरको लागि बाटो चाहिन्छ । तर, यी लगायतका मापदण्ड नअपनाई विद्युत्मा मात्र ध्यान दिंदा झन् जोखिम बढ्दै गएको उनले सुनाए ।
‘कर्णालीकै कुरा गर्दा पनि यो कैलाश सभ्यता, खस सभ्यता र गंगा सभ्यता जोड्ने नदी हो । संसारकै अति दुर्लभ नदी हो । यसलाई जोगाउनुपर्छ । यसो भन्दै गर्दा हाइड्रोहरू बनाउनै हुँदैन भनेको हैन । विकास सन्तुलित र दिगो हुनुपर्छ । नदी व्यवस्थापन र विकास सँगसँगै लैजाने भिजन अहिले आवश्यक छ, जसमा हामी निरन्तर चुकिरहेका छौं’, उनले भने ।
आलेका अनुसार कुन नदीखण्ड केका लागि प्रयोग गर्ने जान्नुपर्छ । त्यसको उत्कृष्टताको आधारमा सदुपयोग गर्नुपर्छ । नेपाल यति सुन्दर छ कि, यसलाई नबिगारे पुग्छ । तर, पछिल्लो समय राजनीतिक संरक्षणमा नै दोहन भइरहेका नदी–किनार सम्झँदै आलेले थप भने, ‘पानीको हकमा हाम्रो देश हिमालयन नदीहरूको ‘हेडक्वार्टर’ हो । नदी हाम्रो सभ्यताको पनि मुहान हो । यसको मर्म बुझाएर रक्षा गर्नु नै मेरो एकमात्र उद्देश्य हो । आजसम्म यसकै लागि जीवन बिताएँ । अब पनि नदीसँग बिताउँछु । यसलाई जीवित राख्न अभियान चलाइरहन्छु ।’
प्रतिक्रिया 4