+
+
Shares

राजनीति बिग्रियो ? बल जनताको कोर्टमा छ

संसद्मा किन आन्दोलनरत छ रास्वपा ?

माननीय केही जान्दैनन्, पढ्दैनन् भन्ने विगतको बुझाइ रास्वपाले भत्काएको छ । यतिसम्म कि मूलधारका राजनीतिक दलहरूले पनि बोलाएर रास्वपाका सांसदहरूको जस्तो संसद्मा प्रस्तुति दिनुस् भनेको सुनिन्छ ।

सोबिता गौतम सोबिता गौतम
२०८२ असार १९ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा संसद्मा भ्रष्टाचार र मानव तस्करीको निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनरत छ।
  • संसद्मा रास्वपाले जनताको आवाज र रचनात्मक विरोधमार्फत सुधार र सुशासनको प्रयास गरेको छ।
  • रास्वपा युवा र नयाँ विचारलाई मुख्यधारामा ल्याउँदै नेपाली राजनीतिमा नयाँ आशा र चेतना जागृत गरिरहेको छ।

संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले ठूलो संख्यामा नेपाली ठगिएको भिजिट भिसा दुरुपयोग र मानव तस्करीको उच्चस्तरीय निष्पक्ष छानबिनको माग राखेर संसद्मा आन्दोलनरत छ । आम नागरिकको भावनाको प्रतिनिधित्व गर्दै रास्वपाका हामी युवा सांसदहरू झन्डै चार हप्तादेखि लगातार संघर्षको मैदानमा छौं । तीन वर्षअघि हाम्रो सभापति रवि लामिछानेको नेतृत्वमा हामीले जे सपना देखेर पार्टी स्थापना गर्‍यौं, आजपर्यन्त निरन्तर हामी त्यही पथमा छौं ।

सुसंस्कृत राजनीति, शासकीय सुधार, सुशासन र सेवाप्रवाहलाई केन्द्रमा राखेर अगाडि बढेका छौं । यही भिजिट भिसाकै आन्दोलनमा हामीले रचनात्मक विरोधको शैली अवलम्बन गर्‍यौं । कुर्सी टेबल तोडफोड गरेनौं । मानव तस्करी विरुद्ध नीलो रिबन बाँधेर प्रतीकात्मक विरोध गर्‍यौं । जनताको आवाज पनि बोक्यौं, रचनात्मक विरोधबाट नेतृत्वलाई खबरदारी पनि गरिरहेका छौं । रास्वपाले संसद्मा के गरिरहेको छ भन्ने यो पछिल्लो उदाहरण हो ।

७ असार २०७९ मा जब रवि लामिछानेको नेतृत्वमा गोलबद्ध हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवात गर्‍यौं, भ्रष्टाचार र कुशासनबाट आजित नागरिकहरूले विश्वास गर्नुभयो । ४ मंसिरको निर्वाचनमा रास्वपालाई १२ लाख बढी मत दिंदै संसद्को चौथो शक्ति बनाउनुभयो । ७ पुसमा रास्वपाका २० सांसदले सदनभित्र जनताको मुद्दा सशक्त रूपमा उठाउने शपथ लियौं ।

हामी प्राय: राजनीतिक पृष्ठभूमि बाहिरका थियौं । संसदीय अभ्यासको पनि अनुभव थिएन । तैपनि युवा सोच र हुटहुटीले यी तीन वर्षमा संसद्मा देखिने र सुनिने गरी काम गर्‍यौं । राजनीतिक पृष्ठभूमिको अभावको बाबजुद पनि जति राजनीतिक अभ्यास गर्‍यौं, त्यो इमानको आधारमै गर्‍यौं ।

तीन वर्षलाई फर्केर हेर्दा हामी बलियो संगठनात्मक शक्तिमा बदलिने प्रक्रियामै छौं । राज्यको निर्णय प्रक्रियामा हाम्रो उपस्थिति छैन । जनताले हामीलाई सदनमै सशक्त आवाज राख्ने म्यान्डेट दिएको छ । त्यसैले रास्वपाको तीन वर्षको मूल्याङ्कन गर्दा हामीले गरेको संसदीय अभ्यास र भूमिका नै प्रधान रूपमा आउँछ ।

यदि जनताले अन्य दलसँगै तराजुमा राखेर हेर्ने हो भने संसदीय भूमिकामा रास्वपा नै अब्बल स्थानमा आउँछ । कानून निर्माण गर्ने, सरकारलाई खबरदारी गर्ने, जनजीविकाका सवाल उठाउने लगायत संसदीय भूमिकामा रास्वपाको सक्रिय उपस्थिति र प्रभावकारी भूमिका छ ।

मेरो आफ्नै तथ्य हेर्दा तीन वर्षको अवधिमा आएका ३०/३२ वटा मध्ये २५ वटा विधेयकमा जनतामैत्री कानून बनाउन संशोधन राख्ने, दफावार छलफलमा सक्रिय सहभागिता जनाउने काम गरेको छु । हाम्रो विधायिकी अभ्यास वैज्ञानिक नहुँदा नहुँदै पनि आफ्नो भूमिकाले भ्याएसम्म सक्दो भूमिका निर्वाह गरेका छौं । सुधारका लागि आवाज उठाइरहेका छौं । समसामयिक मुद्दामा सरकारको ध्यानाकर्षण गराउन संकल्प प्रस्तावहरू दर्ता गराइरहेका छौं । जलन सम्बन्धी गैरसरकारी विधेयक दर्ता गरेका छौं । नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा छुट्याउने ऐन ल्याउन काम गर्‍यौं । अन्तत: सरकारले छुट्याउने विधेयक ल्याउनैपर्‍यो ।

संख्याको हिसाबले सुधारका पाटोमा हाम्रो सुझाव कार्यान्वयन हुने अथवा पारित हुने स्थिति छैन । तर, आम नागरिकले थाहा पाउने गरी त्यसलाई उजागर गरेका छौं । कतिपय अवस्थामा नागरिक तहबाट दबाब सिर्जना गरेर सुधार्न बाध्य पारेका छौं । उदाहरणको लागि, भ्रष्टाचार विधेयकमा हदम्याद राख्ने प्रस्तावबाट जनदबाबपछि सरकार पछि हट्यो । त्यसैले रास्वपाको तीन वर्षको संसदीय अभ्यासको समीक्षा गर्दा हामीले आफ्नो भूमिका राम्रैसँग निर्वाह गरेका छौं ।

हामीले के बदल्यौं ?

रास्वपा संसद्मा आउनु अगाडि नेपालमा स्थापित दलहरूले जनतालाई निराशा र नैराश्यताको अवस्थामा राखेका थिए, हामीले केही आशा र विश्वास जगाउने कामको सुरुवात गरेका छौं । अहिलेको अवस्थामा राजनीतिमा युवाको उपस्थिति पनि आफैंमा एउटा शक्तिशाली सन्देश हो । आफ्नो ठाउँ आफैं बनाउनुपर्छ, समस्या उल्लेख गरिरहनेभन्दा समाधान दिन सक्नुपर्छ भन्ने आत्मबल विकास भएको छ ।

यसको एउटा उदाहरण डा. स्वर्णिम वाग्ले हुनुहुन्छ । युवा र योग्य भए पनि आफ्नो पूर्व दलमा उहाँले टिकट पाउनुभएन । उहाँले युवाहरूलाई स्थान दिने रास्वपा रोज्नुभयो । आज सदनमा र पार्टीको उच्च नेतृत्वमा हुनुहुन्छ । रास्वपा मूलधारको राजनीतिमा युवा प्रवेश गर्नुपर्छ भनेर आयो र फरक पनि देखियो । विगतमा युवालाई स्थान नदिएका दल पनि अहिले युवालाई प्राथमिकता दिनुपर्ने अवस्थामा पुगेका छन् । अरू दलले समाधानमुखी राजनीतिको लागि स्पेस नदिएका कारणले रास्वपा आफ्नो स्थान आफैं निर्माण गरेर मूलधारको राजनीतिमा उदाएको पार्टी हो ।

संसद्मा पनि हाम्रो उपस्थितिले संसद्प्रति युवा, अझ जेनजी पुस्ताको आकर्षण बढेको छ । राजनीतिप्रति मतलब नै नगर्ने यो पुस्ता मत हाल्नुपर्छ र राम्रो काम गर्न सक्नेलाई जिताउनुपर्छ भन्ने ठाउँमा पुगेको छ । संसदीय प्रक्रियाभित्र विरोधको सूचनादेखि सरकारलाई प्रश्न गर्ने, विषय र तथ्यमा रहेर बोल्ने, स्वार्थ बाझिने कुराहरूमा खबरदारी गर्ने जस्ता कामहरू पनि गरिरहेका छौं । यसले विधेयक मस्यौदा गर्ने कर्मचारीतन्त्रलाई पनि सचेत बनाएको छ ।

माननीय केही जान्दैनन्, पढ्दैनन् भन्ने विगतको बुझाइ रास्वपाले भत्काएको छ । यतिसम्म कि मूलधारका राजनीतिक दलहरूले पनि बोलाएर रास्वपाका सांसदहरूको जस्तो संसद्मा प्रस्तुति दिनुस् भनेको सुनिन्छ । यो सकारात्मक पक्ष हो ।

अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति

रास्वपा मार्फत राजनीतिमा युवाहरूको सशक्त उपस्थितिले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ । हामीले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएका छौं । धेरै मञ्चमा नेपाल देखिएको छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा ‘यङ डाइनामिक राइजिङ लिडर्स’ बोलाइएको छ । विगतमा पनि यस्तो थियो होला । तर अहिले नयाँ पार्टीको उदयले उपस्थिति बढेको छ ।

रोजगार र राजनीति सँगसँगै

रास्वपाले रोजगार र राजनीति सँगसँगै लैजाने अभ्यास शुरू गरेको छ । जस्तो सांसद डा. चन्दा कार्की भण्डारी अहिले पनि चिकित्सक पेशा अभ्यास गरिरहनुभएको छ । संसद्को समयबाहेक उहाँ बिरामीको सेवामा जुट्नुहुन्छ । सदनमा अन्य दलका पनि डाक्टर छन् तर उनीहरूले यस्तो अभ्यास गरेका छैनन् ।

रास्वपा राजनीतिमा आइसकेपछि र संसदीय भूमिकामा मुखरित हुँदै गर्दा फेरिएको मुख्य कुरा हो– जनताको चेतना । देश बनाउन जनता चेतनशील हुनुपर्छ । अरू दलहरूले जनतालाई भोट र पार्टीको दासमा सीमित गरे । नागरिकले सही मूल्यांकन गर्न सक्नुपर्छ भनेर रास्वपाले जनतालाई चेतना दिने काम गरिरहेको छ

रास्वपामा सहभागी सबै जनाको एउटा व्यावसायिक पृष्ठभूमि छ । आजको दिनमा राजनीतिमा मात्रै निर्भर हुने, राजनीतिलाई कमाइखाने भाँडो बनाउने स्थिति छैन । राजनीति पेशा हो कि सेवा ? राजनीतिलाई राज्यको स्रोतसाधन दोहन गर्ने हतियार कहिलेसम्म बनाइरहने ? हामीले यस्तै प्रश्न गर्दै उक्त अवस्था चिर्न प्रयास गरिरहेको छ । रास्वपा राजनीतिमा मात्रै निर्भर हुनुहुँदैन भन्ने विश्वास गर्छ ।

भ्रष्टाचार विरुद्ध सशक्त स्वर

हामीले सदनमा विभिन्न मुद्दा उठान गरेर स्थापित गरेका छौं । जस्तो, भुटानी शरणार्थीका नाममा मानव बेचबिखनको मुद्दा हामीले व्यापक उठान गर्‍यौं । अहिले भिजिट भिसाको मुद्दा उठाइरहेका छौं । सामाजिक न्यायका मुद्दाहरू पनि उठाएका छौं । चाहे त्यो नवराज विक प्रकरण होस् वा पूर्वको लालबहादुर विकको कुरा नै किन नहोस् !

न्याय प्रणाली सुधारका विषयमा पनि हामीले आवाज उठाइरहेका छौं । खर्चिलो र सुस्त न्याय प्रक्रियाले नागरिकले समयमै न्याय पाउन सकिरहेका छैनन् । वातावरण र जलवायु परिवर्तनका मुद्दाहरूलाई पनि हामीले केन्द्रमा राखेर उठान गरिराखेका छौं ।

सरकारमा रास्वपाका ४ महिना

सदनमा भूमिका निर्वाह गर्दागर्दै हामीलाई सरकारमा सहभागी हुनुपर्ने परिस्थिति बन्यो । सरकारमा जानुहुन्थ्यो वा हुँदैनथ्यो भन्ने बहसकै विषय छ । यसलाई हेर्ने दृष्टि अलग–अलग छ । तर, नेपाली जनताले सरकारमा जाऊ भनेर रास्वपालाई म्यान्डेट दिएको होइन । रास्वपा विना सरकारै नबन्ने स्थिति भएपछि सहजीकरण गरेको हो । यसलाई रास्वपाले राज्य सञ्चालनको सिकाइको रूपमा हेरेको छ ।

यो अनुभव भविष्यमा राज्य सञ्चालनका लागि उपयोगी हुनेछ । सरकारमा रहँदा रास्वपाले राज्य संरचना कायम सिन्डिकेट तोड्ने प्रयास गर्‍यो । जनताका गुनासो सुनुवाइ, वर्षांैदेखि दबाएर राखिएका भ्रष्टाचार र अनियमितता काण्डहरूको उत्खनन, उजागरको काम गृह प्रशासनमा रहेर भयो ।

शिक्षामा नीतिगत र संरचनागत सुधारको सुरुवात भयो । खेलकुदमा विद्यमान राजनीतीकरण तोड्ने प्रयास भयो । श्रम प्रणालीलाई सुधार गर्ने प्रयत्न भए । छोटो अवधि काम देखाउन पर्याप्त नभए पनि चाह्यो भने काम गर्न सकिंदो रहेछ भन्ने आशा र विश्वास नागरिकमा सञ्चार गर्न सक्यौं । सीमित समयमा पनि हामीले गरेका कामहरू एकदम सही नियतले गरेका कारणले केही न केही परिणाममुखी नै देखिन्छन् ।

‘सुवास’ विनाको संसद्

संसदीय अभ्यासमा नौलो रास्वपाका लागि संविधासभा अध्यक्ष सुवास नेम्वाङ मार्गदर्शकका रूपमा हुनुहुन्थ्यो । यस अर्थमा कि संसदभित्रका अभ्यास र प्रक्रिया बुझाउनुहुन्थ्यो । संसदीय अभ्यासलाई सही ट्रयाकमा डोर्‍याउनुहुन्थ्यो । केही विषय आउँदा अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्थ्यो ।

तर, पछिल्लो समय यसमा ह्रास आइरहेको छ । संसदीय अभ्यास बुझेका शीर्ष नेताहरूको उपस्थिति र सक्रियता छैन । दोस्रो तहबाट अभ्यास र प्रक्रियाभन्दा बढी राजनीति भइरहेको छ । त्यसैले, सदन मुद्दा केन्द्रित हुनसकेको छैन । सदन आरोप–प्रत्यारोपको थलो बनिरहनु चिन्ताको विषय हो । स्थापित दलहरू निषेधको राजनीति गर्ने अभ्यासमा हुनुहुन्छ ।

रविमाथि प्रतिशोध

सदनमा रास्वपा सभापति रवि लामिछाने युवाहरूको आइकन हुनुहुन्थ्यो । सुशासनका मुद्दामा सशक्त भूमिका निर्वाह गरिरहनुभएको थियो । तर, राज्य नै उहाँ विरुद्ध राजनीति नै सिध्याउने गरी लागिरहेको छ । जिल्ला–जिल्लामा जसरी मुद्दामाथि मुद्दा गरियो, यसको साक्षी संसद् बनेको देख्दा दु:ख लागेको छ ।

सांसद पदलाई नै केन्द्रित गरेर राजनीति सक्न पनि सकिन्छ भन्ने किसिमको नजिर स्थापित भयो । हिजो सदन अवरोध मार्फत उहाँको राजीनामा र छानबिन समिति माग्नेहरू आज आफ्नो अनुकूलतामा भिजिट भिसामा राजीनामा पनि नदिने, छानबिन समिति नबनाउने कुराबाट ठूलो प्रश्न उठेको छ । त्यतिबेला राज्यका संयन्त्रलाई विश्वास नगर्ने, अहिले सत्तामा पुगेपछि विश्वास गर्ने द्वैध व्यवहार नागरिकले स्पष्ट देखिरहेका छन् ।

रवि लामिछानेमाथि भएको प्रतिशोधको राजनीतिक प्रयोगका चक्रबाट अहिले संसद् गुज्रिइरहेको छ । त्यो कुनै न कुनै बिन्दुमा सबैमाथि हुन्छ । कानूनको दुरुपयोग गरेर आफ्नो स्वार्थको लागि सत्ताको प्रयोग गर्न कदाचित मिल्दैन । यो गणतान्त्रिक लोकतन्त्रमा त्यसको सिकार रवि लामिछाने हुनुभयो, उहाँले त्यो नियति भोग्नु पर्‍यो ।

निकास खोजिरहेछन् नागरिक

रास्वपा नेपाली राजनीतिमा आइसकेपछि अस्थिर सरकार, गरिबी, कुशासन, विकासको कछुवा गतिबाट आजित जनताले एउटा आशा र भरोसा महसुस गरेका छन् । आशा सहित उनीहरूले देशलाई माया गर्न, नेपाली जनताको अवस्थालाई ध्यानमा राखेर काम गर्न, केही न केही निकास दिन सुझाव दिने गरेका छन् । जो हाम्रा लागि मार्गदर्शन हो । किनकि जनताको अवस्था सुधार्न रास्वपा आएको हो ।

साँच्चिकै समाजले परिवर्तन खोजेको हो भने यथास्थितिबाट माथि उठ्नै पर्छ । यथास्थितिको संयन्त्रहरूलाई भत्काउनुपर्छ । अनि बल्ल हामीले खोजे जस्तो, चाहे जस्तो हुन सक्ला

रास्वपा राजनीतिमा आइसकेपछि र संसदीय भूमिकामा मुखरित हुँदै गर्दा फेरिएको मुख्य कुरा हो– जनताको चेतना । देश बनाउन जनता चेतनशील हुनुपर्छ । अरू दलहरूले जनतालाई भोट र पार्टीको दासमा सीमित गरे । नागरिकले सही मूल्यांकन गर्न सक्नुपर्छ भनेर रास्वपाले जनतालाई चेतना दिने काम गरिरहेको छ ।

रूपचन्द्र विष्टको थाहा अभियान जस्तै सबैमा थाहा चेतना सञ्चार भएपछि चेतनशील र सचेत नागरिकको निर्णयले अवश्य पनि फरक नतिजा दिनेछ । आजको दिनमा नेपाली जनताको निर्णय चेतनशील हुनसकेको छैन । किनकि नेपाली जनतालाई स्थापित दलहरूले चेतना दिने काम गरेनन् । यहाँ यस्तो भएको छ, यहाँ यो भयो भनेर खबरदारी गर्ने काम गरेका छौं ।

हाम्रो आकार र जनताले दिएको म्यान्डेट चेतना विस्तार र खबरदारीका लागि मात्रै हो । निर्णय गर्ने संख्यात्मक क्षमता अहिले हामीसँग छैन । हामी दूरदराजसम्म पुगेर नागरिकसँग अन्तरक्रिया गर्दा उहाँहरूले भोट हाल्न पाएनौं, निष्पक्ष मतदान हुँदैन भनेर गुनासो गरेका छन् । नागरिक चेतनशील हुँदैछन् ।

००० ०००

रास्वपालाई संसद्मा खेलेको भूमिकाको आधारमा नेपाली जनताले मूल्यांकन गर्नेछन् । भर्खर बनिरहेको पार्टी भएकोले यो अझै निराकार छ । महाधिवेशन भइसकेको छैन । पार्टीले एउटा आकार लिन्छ नै । तर नयाँ पुस्ताको आवाज बन्ने, नयाँ पुस्तालाई राजनीतिमा चासो राख्ने बनाउने, आफ्नै देशभित्र केही गर्नुपर्छ भन्ने वातावरण सिर्जना गर्नको लागि एउटा आशा दिने काम रास्वपाले गरेको छ ।

अब पनि जनताका मुद्दालाई लिएर हामी अगाडि जान्छौं । हिजोको दिनमा डेलिभरी हाम्रो ‘कोर आइडिया’ थियो भने आजको दिनमा सुशासन र पारदर्शिता प्रमुख बनेको छ । सुशासन र पारदर्शिताबाट बल्ल हामीले डेलिभरी दिने हो ।

हामीलाई सुशासन र पारदर्शिता हाम्रो प्रश्नबाट जन्मिन्छ जस्तो लाग्थ्यो । तर आज प्रश्नबाट उम्किने सरकारले सुशासन र पारदर्शिता कायम गर्छ भन्ने कुरामा विश्वासै रहेन । त्यसैले पनि निर्वाचनमा नेपाली जनताको चेतनशील मतले राजनीतिमा एउटा नयाँ फड्को मार्ने खालको वातावरण सिर्जना हुनुपर्छ । त्यसले मात्रै देशलाई एउटा निकास दिन सक्छ । रास्वपा एउटाले गरेर केही पनि हुँदैन । पार्टी भनेको जनताको आवाज बोक्ने एउटा प्लेटफर्म मात्रै हो । त्यो प्लेटफर्मलाई मूलधारमा ल्याउने कि नल्याउने भन्ने कुरा नेपाली जनताको हातमा छ ।

बल जनताको कोर्टमा

जनताको चेतनशील निर्णय र निर्वाचनको शक्ति मार्फत मात्र वास्तविक परिवर्तन सम्भव छ । रास्वपाले संसदीय अभ्यासमा पारदर्शिता र जवाफदेहिता ल्याएको छ । विशेषगरी युवा पुस्ता र नयाँ विचारलाई राजनीतिको मूलधारमा ल्याउन पार्टीले महत्वपूर्ण भूमिका खेलेको छ । जनतामा चेतना जगाउने र देशलाई सुशासन र पारदर्शिताको दिशामा अगाडि बढाउने रास्वपाको अभियान हो ।

मूलधारको राजनीतिक नेतृत्वमा अब को आउँछ ? अब कसरी बन्छ भन्ने चिन्ता छ । भइराखेको यथास्थितिसँग कसैलाई पनि चित्त बुझिरहेको छैन । तर फेरि को आउँछ र, बरू अरूभन्दा त यिनै पुराना ठिक छन् कि भन्ने भाष्य पनि बनाउन खोजिएको देखिन्छ । नयाँहरू त्यति परिपक्व छैनन् भनेर एकखालको अन्योलको अवस्था बनाइएको छ ।

यदि साँच्चिकै समाजले परिवर्तन खोजेको हो भने यथास्थितिबाट माथि उठ्नै पर्छ । यथास्थितिको संयन्त्रहरूलाई भत्काउनुपर्छ । अनि बल्ल हामीले खोजे जस्तो, चाहे जस्तो हुन सक्ला ।

यसलाई तोड्न सामान्य परिस्थितिबाट नेपाली जनता माथि उठ्नुपर्छ । आजको दिनमा राजनीतिक दलले होइन, नेपाली जनताले परिवर्तन गर्ने हो, त्यो पनि आफ्नो मतको शक्तिबाट । त्यसैले मतदाताले आउने निर्वाचनमा योग्य मान्छेलाई जिताउनुपर्छ । उपलब्धमध्ये राम्रो चुन्नुपर्छ । कोही राम्रा छैनन् भने आफैं उठ्नुपर्छ । नेपाली जनता पनि प्रश्नबाट भाग्न पाउँदैनन् ।

लेखक
सोबिता गौतम

गौतम प्रतिनिधिसभा सदस्य र राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?