
News Summary
Generated by OK AI. Editorially reviewed.- सानु लामा २८ असार २०८२ मा निधन भएका सिक्किमेली कथाकार, गीतकार र साहित्यकार थिए।
- उनी नेपाली साहित्यमा कथा विधामा शिखर व्यक्तित्व थिए र सन् १९९३ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए।
- सानु लामाले नेपाली भाषा आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए र सन् २००५ मा पद्मश्री पुरस्कारबाट सम्मानित भएका थिए।
सानु लामाको निधनको समाचार अप्रत्यासित थियो । २८ असार २०८२ का दिन उनी वितेको खबरले मलाई हठात् स्तब्ध र शोकमय बनाइदियो । उनी सिक्किमेली साहित्यमा कथा विधामा शिखर व्यक्तित्व थिए । यद्यपि अरू विधामा पनि उनको कलम चलेको थियो र पुस्तकहरू प्रकाशित छन् ।
०००
सानु लामासँग मेरो भेट २०३९ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको रजतजयन्तीका अवसरमा प्रतिष्ठानले आयोजना गरेको समारोहका अवसरमा भएको थियो ।
विभिन्न साहित्यकारका रचनाहरूको पठन गर्ने, सकेसम्म आफू पनि लेख्दै गर्ने, साहित्यिक पुस्तक तथा पत्रिका पठन तथा सङ्कलन गर्ने उत्साहित युवा थिएँ म त्यतिबेला । धेरै भन्दा धेरै साहित्यकारहरूसँग परिचय गर्ने, सम्बन्ध राख्ने, बस उठ गर्न रुचाउने मेरो स्वभावको विकास हुँदै गरेको बेला थियो ।
यही मेसोमा सिक्किमबाट आएका सानु लामासँग मेरो परिचय एकेडेमीमा भयो । उनले खल्तीबाट आफ्नो भिजिटिङ कार्ड दिंदै भनेका थिए— “सिक्किम घुम्न आउनुहोस् है ! तर आउनुअघि फोन गर्नुहोला !”
उनको भिजिटिङ कार्ड सम्हालेर जोगाएर राखें र सोचिरहें, यो कुनै दिन अवश्य काम लाग्नेछ ।
त्यतिबेला उनले मलाई आफ्नो कथाको पुस्तक ‘कथा सम्पद’ पनि उपहारस्वरुप दिएका थिए । मैले कथाहरू त्यतिबेलै पढेको थिएँ र मेरो निजी पुस्तकालयमा त्यो जतनका साथ राखेको थिएँ मात्र होइन, आजपर्यन्त त्यो सुरक्षित छ । बरु त्यस किताबसँगै उनका पछिल्ला पुस्तकहरू पनि थपिएका छन् ।
०००
समय आफ्नो गतिमा गतिमान भइरह्यो । सानु लामाजीसँग त्यसपछि कुनै पनि प्रकारको सम्पर्क भएन । न चिठीपत्र, न फोन । आजको जस्तो इन्टरनेटको जालो त्यतिबेला थिएन ।
हो, बीचमा धुलावारीमा भएको नेपाली कथा र लघुकथा सम्मेलनमा फेरि भेट भयो । त्यो बेला पनि उनले दोहोर्याए, “सिक्किम आउनुहोला है !” तर सिक्किम घुम्न जाने कुनै योजना कहिल्यै बनेन ।
हो, कहिलेकाहीं उनको भिजिटिङ कार्ड सुम्सुम्याउँदा वा दराजमा किताब व्यवस्थित गर्ने क्रममा ‘कथा सम्पद’ हात पर्दा उनीसँग भेट भएको सम्झना हुन्थ्यो । तर सिक्किम जाने न सपना थियो, न कुनै योजना नै । पूर्वको सीमा पारि जाने साइत कहिल्यै जुरेन । भनौं जानुपर्ने कुनै कारण वा कार्यक्रम थिएन ।
तर कहिलेकाहीं साइत आउन ढिलो भए पनि मनको आकाङ्क्षा पुग्ने रहेछ । अन्ततः सन् १९९९ मा सिक्किम जाने साइत जुर्यो । साहित्यकार नकुल सिलवाल र म केही अर्थोपार्जन पनि हुने, साहित्यिक कर्महरू पनि हुँदै योजना बुन्थ्यौं, लगभग हरेक साँझ हल्का मदिरामय तरानामा ।
अचानक हामीलाई लाग्यो, नेपाली भाषी भारतीय क्षेत्रमा साहित्यिक भ्रमणको योजना किन नबनाउने ? त्यसपछि बन्यो, ‘नेपाल भारत साहित्य संस्कृति अध्ययन भ्रमण’ को योजना । यही योजनाले सानु लामासँग सिक्किमको राजधानी गान्तोकमा भेट गरायो । सानु लामासँग गान्तोकमा ७ फागुन २०५४ सालमा तेस्रोपल्ट भेट भयो ।
गान्तोक पुगेका थियौं, नकुल सिलवाल र म । गान्तोक पुर्याउने बसले पोस्ट अफिस छेउमा ओरालेपछि हामीसँग एउटा साधारण तर विकराल लाग्ने प्रश्न तेर्सिएको थियो, अब कता जाने ?
किनभने हामीले सिक्किमका कसैसँग सम्पर्क गर्न सकेका थिएनौं । न होटल बुक गरिएको थियो । कहाँ बस्ने र के गरी हाम्रो साहित्य संस्कृति भ्रमणलाई गान्तोकमा सार्थक तुल्याउने, त्यसको कुनै मार्गचित्र थिएन हामीसँग । थियो त केवल, मेरो खल्तीमा सानु लामाको भिजिटिङ कार्ड ।
त्यहाँ पोस्ट अफिसमा गएर मैले सानु लामालाई फोन गरें, सुखद संयोग मान्नुपर्छ, फोनमा उनी ठ्याक्कै भेटिए । उनले नै सिक्किम साहित्य परिषदको अतिथि गृहमा बस्ने प्रबन्ध मिलाइदिए । आफ्नो घरमा खानाको निम्तो दिएर आतिथ्यता प्रदान गरे । सिक्किम साहित्य परिषदकै सभा हलमा हाम्रो कार्यक्रम राख्न सहजीकरण गरिदिए । मैले पनि उनीसँग उनकै निवासमा एक अन्तर्वार्ता लिएँ ।
खासमा हाम्रो सिक्किम भ्रमण सानु लामाकै कारण सार्थक भयो । पछि नकुल सिलवालले आफ्नो बगर पत्रिकाको सिक्किम विशेषाङ्क प्रकाशित गरे । मैले चाहिं ‘टिष्टाको किनारै किनार’ यात्रा पुस्तक लेखें र प्रकाशित पनि गरें । सानु लामासँग मैले लिएको अन्तर्वार्ता बगरको त्यही सिक्किम विशेषाङ्कमा प्रकाशित छ ।
०००
सानु लामाजीसँग अन्तर्वार्ताको क्रममा थाहा भयो, उनी त्यसै वर्ष आफ्नो पुर्ख्यौली थलो दोलखा पुगेका रहेछन् । तर त्यहाँ आफन्तहरूले आफ्नो पुर्ख्यौलीको सम्पत्ति हक दावी गर्न आएको हो कि भनेर नचिनेको जस्तो व्यवहार गरेको अनुभव भएको बताएका थिए र आफ्नो पुर्खाको चिनो भनेर एक मुट्ठी माटो बोकेर फर्केका रहेछन् ।
वास्तवमा सारा संसारभर डाँडाकाँडा फैलिएका सारा नेपालीको नियति र भोगाइ यस्तै यस्तै नै हो, जुन सानु लामाले नेपाल जाँदा भोगे र छातीमा राख्न पुर्ख्यौली मुलुकको माटो बोकेर आए ।
०००
सानु लामा सिक्किमका अग्रणी कथाकार थिए । उनका ‘कथा सम्पद’, ‘मृगतृष्णा’, ‘सूर्यको तेस्रो किरण’, ‘दुख्नु उत्तिकै छ’ प्रकाशित छन् ।उनको कथाकारिताको विषयमा इन्द्रबहादुर राईले भनेका छन्, “सानु लामा कथामा सिक्किमको भौगोलिकता र ऐतिहासिकता पनि बुनेर लेख्नुहुन्छ, आनन्दिलो राम्रो लाग्छ ।
उहाँका कथाहरूको अडेसो सिक्किमको भूमि छ । उहाँका कथाहरूमा बोल्न पाएका छन् पश्चिम सिक्किमको तिमितार्कु गाउँले, नाम्चीको बुमटार गाउँ र त्यहाँको मानेडाँडा, बिरिङ खोला र बजार त्यसपछिको जोरगाउँ, रम्फूदेखि उत्ताको खानीटार र मालीभञ्जाङ र सिङतामको कच्चा लाइनले-जसहरूसँग लेखकको भावनीय मानसिक युक्तता स्पष्ट छ” (लामा, १९७४, क) ।
यिनका प्रायःजसो कथाका कार्यपीठिका सिक्किमकै गाउँ-घर रहेका छन् । नारीका मर्यादा, निम्नवर्गका मानिसको श्रम र यिनीहरूको सपना, सामाजिक रुढी जस्ता विषयमा संरचित सानु लामाका कथाहरू ग्राम्य परिवेशप्रधान सिक्किमका पूर्वप्रजातन्त्रकालीन परिस्थितिको चित्रण गर्न धेरै सफल भएका देखिन्छन् । (“जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास” तेस्रो ठेली पेज-१०१)
इन्द्रबहादुर राई जस्ता विद्वानले यस्तो मूल्याङ्कन गर्नु महत्त्वपूर्ण छ ।
०००
मूल रूपमा सानु लामा कथाकार भए पनि उनले गीत लेखे र गीत लोकप्रिय बन्यो । दुश्यन्त लामाको सङ्गीतमा अरुणा लामाले गाएको यो गीत कर्णप्रिय र लोकप्रिय भएको थियो।
“बालापनको आँगन त्यागेर खोला-नाला काटेर
आउनुपर्यो नौलो घरको सँघार ।
झलझली देख्छु अझै म, बाबु-माइती रोएर
हाँसीहाँसी बिदावारी गरेका ।
साथीसङ्गी पँधेरामा अझै पनि आउँदा हुन्
मेरो गाग्रो भर्ने पानी त्यसै खेरो जाँदा हुन् ।
भुल्नैपर्ने आफ्नै बालापन, कस्तो जन्म दियौ भगवान् ?
आजभोलि भन्दाभन्दै धेरै दिन बितेछ,
चालै नपाई डोली भर्ने उमेर आइपुगेछ ।
छातीभित्रै भनें मैले,
बस-बस माइती राजा ।
जुन आँगनमा नाचें, खेले त्यसलाई बिर्सुं कसरी,
कुन डाँडाले छेल्यो होला मेरो माइती घरबारी ।
कुन देउताको पूजा गरूँ म
घर गरी खानलाई?”
सानु लामाका गीत र कविताहरूको सङ्ग्रह ‘जहाँ बग्छ टिष्टा रङ्गीत’ प्रकाशित छ ।
०००
सानु लामाको “हिमचुली मन्तिर” आत्मपरक वृत्तान्त हो, जसको बारेमा उनको कथन छ, “…. आफू उनन्तीस वर्ष सेवारत रहेको अवधिको तीता–मीठा सम्झनाहरूको बयान हो, यो पुस्तक ।”
कमल दीक्षितले लेखे, “… भेटेको सानु लामा भन्दा पढेको सानु लामा कताकता सजीव, कताकता रोचक र अन्तरङ्ग लाग्दो रहेछ । साह्रै चाख मानेर पढें ‘हिमचुली मन्तिर’ …।”
मनप्रसाद सुब्बाले लेखे, “…यति मीठो संस्मरण-कृति हाम्रो भारतेली नेपाली साहित्यमा मैले पढेको यो शायद प्रथम चोटि हो ।”
कमला सांकृत्यायनले लेखिन्, “…भाषाका ठेट शब्दहरूको प्रयोग पनि सुहाउँदिलो लाग्यो । यति मात्र होइन, रचनाकारको विनोदी स्वभावको परिचय पुस्तकका स्थल–स्थलमा पाइन्छ र पाठक पनि आफूलाई आनन्दित भएको अनुभव गर्दछन् … ।”
सन् १९८८ मा पहिलो संस्करण प्रकाशित यो पुस्तक सन् २०२० मा यसको दोस्रो संस्करण प्रकाशित भयो । सन् २०२२ मा अमेरिकाको पेन्सिलभेनियामा सम्पन्न ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्सको अन्तर्राष्ट्रिय सम्मेलनमा सिक्किमबाट सहभागी हुन आएकी डा. कविता लामाको हात यो पुस्तक उपहार पठाइदिएका थिए ।
उनी सामाजिक सञ्जालमा उतिसारो सक्रिय थिएनन् त्यसैले प्रत्यक्ष भेट बाहेक अरू माध्यमबाट खासै कहिल्यै सम्पर्क भएन ।
०००
सानु लामाको देहान्तपछि धेरै साहित्यकार र विद्वत्जनले उनलाई श्रद्धाका शब्दहरू व्यक्त गरे । कवि तथा सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङले भने, “पद्मश्री सानु लामा अब हामीमाझ भौतिक शरीरमा रहनुभएन । उहाँको निधनसँगै नेपाली साहित्य, सिक्किमे समाज, राजनीति र इतिहासको एउटा गर्विलो अध्याय समाप्त भएको छ ।”
जन्मले गरूड सिंह लामा आफ्ना कर्म र कीर्तिहरूमा ‘सानु लामा’ नामले जगतप्रसिद्ध हुनुहुन्थ्यो । कवि, कथाकार, गीतकार, अनुवादक सानु लामाका कृतिहरू अङ्ग्रेजी, हिन्दी लगायत अन्य धेरै भारतीय भाषाहरूमा अनुवाद भएका छन् । छोग्यालकालीन सिक्किमको राष्ट्रिय गीत ‘जहाँ बग्छ टिष्टा-रङ्गीत…’ का रचयिता लामाले थुप्रै मार्मिक नेपाली गीतहरूको पनि रचना गर्नुभएको छ ।
पेशाले इञ्जिनियर सानु लामाले साहित्य र समाजको विकास अनि रूपान्तरणमा दिनुभएका अतुलनीय योगदानको निम्ति सन् १९९३ मा ‘मृगतृष्णा’ का निम्ति साहित्य अकादमी पुरस्कार प्राप्त गर्नुभयो भने सिक्किम भानु पुरस्कार, डा. शोभाकान्ति थेगिम स्मृति पुरस्कार, मदन व्याख्यानमाला पुरस्कार आदि प्रमुख पुरस्कारहरू प्राप्त गर्नुभयो । सन् २००५ मा भारत सरकारले उहाँलाई देशको चौथो सर्वोच्च नागरिक पुरस्कार ‘पद्मश्री’ ले विभूषित गऱ्यो ।
साहित्यकर्मसँगै भाषा आन्दोलनमा पनि उहाँको महत्वपूर्ण योगदान रह्यो । नेपाली भाषा मान्यताको आन्दोलन शिखरमा पुगेका बेला गठित भारतीय नेपाली राष्ट्रिय परिषद् (भानेराप) का उहाँ संस्थापक सचिव हुनुहुन्थ्यो । उहाँ नेशनल बुक ट्रस्ट, साहित्य अकादमी, दिल्ली नेपाली साहित्य परिषद, सिक्किम अनि हिमालयन राइटर्स फोरमसँग पनि जोडिनुभएको थियो । सिक्किम अकादमीका उहाँ प्रथम अध्यक्ष हुनुहुन्थ्यो।
स्व. लामाले नेपाली साहित्य अनि जनजीवनमा आफ्ना कृति र कर्महरूले एउटा कहिल्यै नमेटिने गहिरो छाप छोडेर जानुभएको छ । उहाँ आफ्ना कृति र कर्महरूमा सदैव बाँचिरहनुहुनेछ ।
प्रा.डा. गोविन्दराज भट्टराइले भने, “सबैले एक दृढ साहित्यिक अभिभावक मान्नुभएका हाम्रा अति आदरणीय स्रष्टा पद्मश्री सानु लामाको निधनले हामी सारालाई दु:खको गहिरो चोट लागेको छ । तीन वर्षअघि उहाँको व्यक्तित्व र कृतित्वको बारेमा लेखरचना संकलन गरी मुक्ति बरालले सम्पादन गरेको कृति लोकार्पणको अवसरमा हामी १० जना सिक्किम पुगेका थियौं । भव्य कार्यक्रम भयो ।
सन्ध्या भोजन उहाँकै निवासमा आयोजित थियो । पछि दमकमा निम्ता गरी प्रतिभा निकेतनका अध्यक्ष मेरा दाजु कमलराज भट्टराई एवं विद्य शिल्प एकेडेमीका प्रिन्सिपल एवं स्रष्टा भाइ खगेन्द्र भट्टराईले भाङ्बारीको विद्या शिल्प एकेडेमीमा उक्त कृतिको विमर्श कार्यक्रम गराउनुभयो । त्यसमा दमकको साहित्य कला संगम तथा परिवेशका डेढ सय स्रष्टाको उपस्थिति थियो ।
उहाँको अर्को प्रोजेक्टमा म संलग्न थिएँ । पाँच दिन पहिले यसो–यसो गर्ने भनी उहाँसित अन्तिम सल्लाह गरी उनै मुक्ति सरले पक्का गर्नुभएको थियो । हाम्रो सल्लह अनुसार दशैंतिहार बीचमा उहाँलाई काठमाडौं निमन्त्रणा गरी यतै कृति लोकार्पण गराउनेथियो । नियतिले त्यसलाई सदाको निम्ति अन्तिम गराएको थाहा पाउँदा यो मनको अपार दु:ख भरिएको छ ।
यो अनिवार्य भए पनि अप्रत्यासित वियोगले हामी दु:खी छौं । यस शोकको घरीमा लामा परिवार विशेष, सिक्किमेली स्रष्टा एवं स्वजनहरूमा हार्दिक समवेदना प्रकट गर्दछु ।”
सिक्किमका पूर्व मुख्यमन्त्रीकी पत्नी तथा पूर्व विधायक दिलकुमारी भण्डारीले भनिन्, “पद्मश्री सानु लामा अब हामीमाझ भौतिक शरीरमा रहनुभएन । उहाँको निधनसँगै नेपाली साहित्य, सिक्किमे समाज, राजनीति र इतिहासको एउटा गर्विलो अध्याय समाप्त भएको छ ।”
साहित्यकर्मसँगै भाषा आन्दोलनमा पनि उहाँको महत्वपूर्ण योगदान रह्यो । नेपाली भाषा मान्यताको आन्दोलन शिखरमा पुगेका बेला गठित भारतीय नेपाली राष्ट्रिय परिषद् (भानेराप) का उहाँ संस्थापक सचिव हुनुहुन्थ्यो । उहाँ नेशनल बुक ट्रस्ट, साहित्य अकादमी, दिल्ली, नेपाली साहित्य परिषद, सिक्किम अनि हिमालयन राइटर्स फोरमसँग पनि जोडिनुभएको थियो । सिक्किम अकादमीका उहाँ प्रथम अध्यक्ष हुनुहुन्थ्यो ।
स्व. लामाले नेपाली साहित्य अनि जनजीवनमा आफ्ना कृति र कर्महरूले एउटा कहिल्यै नमेटिने गहिरो छाप छोड़ेर जानुभएको छ । उहाँ आफ्ना कृति र कर्महरूमा सदैव बाँचिरहनुहुनेछ ।
प्रा. दिवाकर प्रधानले भने, “सिक्किमको राष्ट्रगीत ‘जहाँ बग्छ टिष्टा रङ्गीत’ का रचयिता, कथाकार, संस्मरणकार सानु लामा आफ्ना गुणकृतिमा बाँचिरहनुहुनेछ ।”
०००
सानु लामाको विषयमा मुक्तिप्रसाद उपाध्याय सम्पादित ग्रन्थ ‘नेपाली साहित्यका एक शिखर पुरुष पद्मश्री सानु लामा’ ले उनको योगदानको कथा भन्छ । यो ग्रन्थ उनको जीवनकालमै भव्य समारोहका बीच गान्तोकमा विमोचन भएको थियो, जसका लागि प्रमुख अतिथिका रूपमा प्रा.डा. गोविन्दराज भट्टराई काठमाडौंबाट निम्त्याइएका थिए ।
कार्यक्रम निकै भव्य रूपमा सम्पन्न भएको थियो । यो ग्रन्थ र ग्रन्थ विमोचन कार्यक्रमले उनको योगदानको मूल्याङ्कन भएको थियो । यो कार्यक्रम ४ डिसेम्बर २०२५ का दिन जनता भवन गान्तोकमा भएको थियो ।
४ जुलाई २०२५ का दिन गान्तोकको चिन्तन भवनमा आयोजित डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार अलङ्करण समारोहमा उनी सहभागी भएका थिए । सार्वजनिक रूपमा यो नै उनको अन्तिम उपस्थिति थियो ।
जीवनभर नेपाली वाङ्मयको आँगनमा आफ्नो साहित्यिक योगदान विछ्याउने कलमकार सानु लामा उनका तिनै शब्द, अक्षर अङ्कित पुस्तकका पानाहरूमा, जनजनका मनमनमा बाँचिरहनेछन् ।
भर्जिनिया, अमेरिका ।
प्रतिक्रिया 4