
भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।
अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’
प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।
सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।
जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।
‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।
आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः
काठमाडौं । इलामको इभाङ गाउँ । चिया बगानले हरियाली ओढेको बस्तीमा जन्मिएकी थिइन् उनी । आमाको काँधमा परिवारको भार, अनि सानै उमेरदेखि जिम्मेवारीको थुप्रो ।
उनले साथीहरू जस्तै बाल्यकालमा रमाइलो गर्न पाइनन् । बहिनीको पढाइ, घर खर्च र आफ्नो भविष्यबारे सोच्दै उनले जीवन बुझेकी थिइन् ।
‘सानैदेखि महसुस गर्थें, घरमै बस्दा जीवन बदलिँदैन, ठूलो सपना देख्नुपर्छ,’ ४२ वर्षीया आयुषा श्रेष्ठ अहिले सम्झिन्छिन् ।
कमजोर आर्थिक अवस्थाले सानैमा जिम्मेवारीको भारी बोकायो । त्यो भारी थेग्ने अवस्था थिएन । तर, बाध्यताका अगाडि उनको अबोधपनले काम गरेन । र, बाध्यताको खाडलतिर डोहोर्यायो ।
पहिलो वैदेशिक रोजगार यात्रा : लेबनानको कठोरता
१९ वर्षमै आयुषा वैदेशिक रोजगारीमा निस्किइन् । म्यानपावरले डाक्टरको सहयोगीका रूपमा लेबनानको सपना देखाए । र, वैदेशिक रोजगारीको ‘ब’ समेत थाहा नभएकी उनी सन् २००६ मा लेबनानतिर लागिन् ।
लेबनान पुग्दा अवस्था विल्कुल फरक थियो । भाषा थाहा थिएन, संस्कृति पूरै फरक । न कामबारे विज्ञता । जसले गर्दा सुरुका तीन वर्ष उनले अपमान, असमान व्यवहार र मानसिक पीडा सहिन् ।
‘पर्सनल सेक्रेटरीका लागि लेबनान गएकी थिएँ । त्यहा गएर भनेको जस्तो काम भएन । मलाई पनि म्यानपावरबाट फसाइएको थियो । धेरै दु:ख पाएँ । भाषा पनि जान्दिन थिएँ,’ आयुषा विगत सुनाउँछिन्, ‘सानो उमेरमा, परिपक्व सोच थिएन । धेरै ठक्कर खाएर सन् २००९ मा नेपाल फर्किएँ ।’
तर, त्यही पीडाले उनलाई सबल बनायो । ‘त्यो समयमा मैले बुझेँ–शिक्षा र सिपविना विदेशमा कस्तो अपमान सहनुपर्छ भन्ने,’ उनी भन्छिन् ।
कतार : अवसर र आत्मविश्वास
नेपाल फर्केर इलामकै गाउँ गएर केही समय बसिन् । नेपाल बस्दा उनलाई जिम्मेवारी बोझ झन् भारी हुन थाल्यो । किनकि, उनको काँधमा परिवारको सबै जिम्मेवारी थियो ।
‘सिंगो घरपरिवारको जिम्मेवारी मैमाथि भएकाले नेपाल बस्न पनि सकिनँ,’ उनी भन्छिन्, ‘त्यसमाथि नेपालको परिस्थिति पनि राम्रो थिएन । नेपालको परिस्थितिले गर्दा फेरि वैदेशिक रोजगारीलाई स्वीकारेर म कतार गएँ ।’
सन् २०१० मा उनी कतार गइन् । त्यो पनि ‘सेल्स एक्जिक्युटिभ’ का रूपमा । कतार पुगेर उनी ‘अपेरल कतार’ कम्पनीमा सेल्स एक्जिक्युटिभ बनेर काम थालिन् । त्यसका लागि डेढ–दुई सय प्रतिस्पर्धीबीच उनी छानिएकी थिइन् । नेपाली युवतीमध्येकै थोरैमा परेकी उनले ‘नाइन वेस्ट’ ब्रान्डमा काम सुरु गरिन् ।
सुरुवात सजिलो थिएन । अंग्रेजी कमजोर, नयाँ वातावरण अपरिचित ठाउँ । तर, निरन्तर मिहिनेतले उनलाई अघि बढायो । छिट्टै उनले कम्पनीभित्र ‘टप पर्फमर’ उपाधि पाइन् । त्यसपछि स्केचर्स, इंगलुड जस्ता ब्रान्डमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो नाम स्थापित गरिन् ।
काम गर्दैगर्दा उनको काम १२/१५ वर्षदेखि काम गर्दै आएकाहरूको भन्दा उत्कृष्ट हुन्थ्यो । जसले गर्दा उनले एक वर्षमै ‘प्रमोट’ भएर अर्को कम्पनीमा काम गर्ने मौका पाइन ।
नयाँ बाटो : मेकअप आर्टिस्टको संघर्ष
कम्पनीले उनलाई मेकअप आर्टिस्ट बन्ने जिम्मेवारी दियो । अनुभव शून्य । तर, उनले हार मानिनन् । तीन महिनाभित्रै आफ्नै अभ्यास र सिकाइबाट आत्मविश्वास बनाइन् ।
६ महिनामै उनी मेकअप आर्टिस्ट भइन् । सात वर्षमै स्टोर म्यानेजर र ट्रेनरको जिम्मेवारी सम्हालिन् । उनका ग्राहक कतारका शेखदेखि अन्तर्राष्ट्रिय सेलिब्रिटीसम्म भए ।
‘ग्राहकहरूले ह्वेयर इज आयुषा भनेर सोध्दा गर्व लाग्थ्यो,’ उनी भन्छिन् ।
काम गर्दै जाँदा एकदिन कम्पनीको कन्ट्री म्यानेजरले ‘आयुषा तिमी इंगलुड ब्रान्ड’ मा जान्छौ ? भनेर सोधे । इंगलुड ब्रान्ड प्रोफेसनल मेकअप आर्टिस्ट र प्रोफेसनल मेकअप आर्टिस्ट बनाउने पोल्यान्डको ब्रान्ड थियो ।
त्यसपछि उनले ‘अहिले काम गरिरहेको कम्पनीमा अलरेडी सिनियर पोजिसनमा छु, अब अर्को कम्पनीमा जाँदा पोजिसन के हुन्छ ?’ भनेर सोधिन् ।
आयुषाको पढाइ राम्रो थियो न अनुभव । पोल्यान्डको त्यो ब्रान्डमा अवसर आएपछि उनले जाने निधो गरिन् । र, त्यहाँ उनले तालिम लिने मौका पाइन् ।
कतारमा त्यसरी तालिम लिने नेपाली महिला कोही पनि थिएनन् । उनीहरूले नेपालीलाई सिकाउन समेत नचाहने ।
‘मैले तीन महिनामा त्यहाँ आफूले आफैंलाई मेकअप गर्न सक्ने भएँ । सेलिङ प्रडक्ट त सिकेँ सिकेँ । त्यहाँबाट मैले आफूले आफैंलाई मेकपअप गर्न सिकेँ । ६ महिनाभित्र मेकअप आर्टिस्ट भएँ,’ आयुषा भन्छिन्, ‘अनि, बिस्तारै–बिस्तारै त्यहाँ मैले सात वर्ष काम गर्दा मेकअप ट्रेनर, मेकअप स्टोर म्यानेजर पनि भएँ ।’
लक्जरी संसारमा प्रवेश
लक्जरी ब्रान्ड सलुप ग्रुपमा मासिक १२ हजार रियाल (४ लाख ६८ हजार रुपैयाँ बराबर) तलब सहित प्रवेश गर्दा उनी अझै आत्मविश्वासी भइन् । भीआइपी इभेन्टदेखि अन्तर्राष्ट्रिय मास्टर क्लाससम्म उनी अग्रपंक्तिमा देखिन थालिन् । तर मनमा प्रश्न घुम्थ्यो– ‘कहिलेसम्म अरूका लागि मात्र काम गर्ने ?’
२०१८ मा उनले सुरक्षित जागिर छाडेर फ्रिलान्सर बन्ने निर्णय गरिन् । सुरुमा घरघर, होटल, विवाहमा मेकअप गर्दै जीवन अघि बढाइन् । तर, कानुनी समस्या आएपछि २०२० मा मैदारस्थित ‘दाना सैलुन’ खरिद गरिन् ।
सुरुमा १ हजार ६ सय कतारी रियालबाट जागिर थालेकी उनले कतारी लक्जरियसमा १२ हजार रियालसम्म तलब खाने गरेकी थिइन् । राम्रो आम्दानी हुन थालेपछि उनमा थप हिम्मत आउन थाल्यो । र, अब आफ्नै केही गर्नुपर्छ भन्ने लागेर सन् २०१८ मा फ्रिलान्सरका रूपमा काम थालेकी थिइन् ।
फ्रिलान्सरका रूपमा काम गर्दै गर्दा झोलामा मेकअपका सामान बोकेर घरघर पुगेर सेवा दिन्थिन् ।
दुई वर्षजति यसरी काम गर्दै गएपछि उनलाई थप आत्मबल बढ्यो । र सन् २०२० मा मैदारस्थित दाना सैलुन किनेकी थिइन् । त्यो बेला ४ लाख रियाल (१ करोड ५६ लाख रुपैयाँ) मा किनेकी उनले डेकोरेसन गर्दासम्म ७ लाख रियाल (२ करोड ७३ लाख रुपैयाँ) सम्म खर्च भइसकेको थियो ।
उनले आफ्नै सैलुन सुरु गर्दा उनी भर्खरकी सुत्केरी थिइन् । सुत्केरी ज्यान भए पनि उनी काममा दैनिक १८ घण्टासम्म खटिन्थिन् ।
‘सन् २०२० मा दाना सैलनु मैदारमा खोलेँ । कोभिडको समय थियो, गोजीमा पैसा थिएन, काखमा छोरा सानो थियो,’ आयुषा भन्छिन्, ‘सुत्केरी ज्यान, च्यालेन्ज धेरै थियो, पैसा नभई–नभई सैलुन किनेँ, स्टाफ थिएनन ।’
ऋण गरेर सैलुन व्यवसायमा हात हालेपछि उनलाई थप जिम्मेवार बनाएको थियो । अरूको काम गर्दासमेत निकै लगाव लगाएर काम गर्ने उनी आफ्नै भएपछि अहोरात्र नखटिने कुरै भएन ।
‘मैले सुत्केरी भन्ने मौका नै पाइनँ, म गर्भवती छु, ऐया, आत्था भन्ने मौका नै पाइनँ, गाडी हाँकेको छु, झोला बोकेको छु, कुदेको छु, काम गरेको छु,’ आयुषा त्यो बेलाको संघर्ष सुनाउँछिन्, ‘कमाएको ल्याएर सैलुनमा लगानी गरेको छु, त्यसरी गर्दागर्दै ६ महिनापछि मैले स्टाफहरू हायर गरेर सैलुनलाई पूर्णता दिएँ ।’
आयुषाको मिहिनेत, लगनशीलता र सक्रियताले उनलाई सफल बनाउँदै लग्यो । काठमाडौंमा घर किनिन् । झापाको दमकमा समेत राम्रै घर बनाइन् । राम्रो गाडी किनेर आफूलाई थप बलियो बनाउँदै लगिन् ।
यो कामका लागि उनका श्रीमानको समेत साथ र सहयोग मिलिरह्यो । उनी दिनभरि बाहिर काममा खटिन्थिन् भने घरमा श्रीमान दूधे बच्चाको स्याहारसुसार गरेर बस्थे । श्रीमानले समेत बच्चाको स्याहारसुसार गर्नेदेखि लिएर आफ्नो काम पनि गर्थे ।
सन् २०२१ मा उनले आफ्नै नामबाट ‘आयुषा मेकअप सैलुन’ पनि खोलिन् । कतारको चर्चित नेपाली चोक भनेर चिनिने मण्डला रोयल गोरखामा दोस्रो शाखा खोलिन् ।
दुई शाखामार्फत सैलुनको काम गर्दै आएकी उनीसँग यतिबेला नेपाली, फिलिपिनी, भारतीय गरेर ३२ कर्मचारी काम गर्छन् ।
उनले आफ्नै छोरीलाई समेत जिम्मेवारी दिएकी छन् । सैलुनको व्यवस्थापनमा समेत नेपालीहरूलाई नै प्राथमिकतामा राखेकी छिन् ।
उनले दुबईमा समेत प्रपर्टी खरिद गरेकी छिन् भने संसारभरि नै आफ्नो व्यापार–व्यवसाय अघि बढाउने योजनामा छिन् । ‘दुबई सपनाको सहर हो, म सपनालाई बिपना बनाउन चाहन्छु,’ उनी दृढ सुनिन्छिन् ।
जीवन दर्शन र प्रेरणा
आयुषा आफ्नो संघर्ष सम्झिँदा लेबनानकै पीडालाई आधार मान्छिन् । ‘शिक्षा र सिप नहुँदा विदेशमा अपमान सहनुपर्छ भन्ने मैले अनुभव गरेकी छु,’ उनी भन्छिन्, ‘त्यसैले नयाँ पुस्तालाई सधैं पढ्न, सिक्न र तयार हुन सल्लाह दिन्छु ।’
आयुषाको काम गर्ने शैली फरक छ । उनी मालिक भएर कुर्सीमा बस्दिनन् । ‘म कामकै लागि भोको छु, हरेक काममा म आफैं अघि लाग्छु,’ उनी भन्छिन् ।
आज आयुषा केवल सफल व्यवसायी मात्र होइनन्, प्रेरणाको स्रोत पनि बनेकी छिन् । इलामको सानो गाउँबाट सुरु भएको यात्रा कतार हुँदै अन्तर्राष्ट्रिय स्तरमा फैलिएको छ ।
आफ्नो वैदेशिक यात्राको दुई दशकमा उनले संघर्षलाई अवसरमा बदल्ने हिम्मत गरेर त्यो प्रमाणित गरिदिएकी छिन् । सानो गाउँकी सामान्य केटी पनि विश्वव्यापी पहिचान बनाउन सक्छन् भन्ने प्रमाण आयुषा हुन् ।
उनले अन्य नेपालीलाई समेत सकेसम्म आफ्नै व्यवसाय गर्न सुझाव दिँदै आएकी छिन् । त्यसका लागि पैसा, ज्ञान र सामूहिक कार्यलाई जोड दिन्छिन् ।
‘यदि केही वर्ष संघर्ष गरेर, बजार बुझेर ज्ञान अनि तपाईंसँग पैसा छ भने आफ्नै व्यवसाय गर्नु राम्रो हुन्छ,’ आयुषा थप्छिन्, ‘पैसाले मात्र हुँदैन तर तपाईंसँग टिमवर्क हुनुपर्छ, अनि ज्ञान हुनुपर्छ, दक्षता हुनुपर्छ ।’
पैसा कमाउनेका लागि कतार लगायत खाडी मुलुक एकदमै सहज रहेको उनको भनाइ छ । युरोप, अमेरिकातिर कर नै धेरै लाग्ने गरेकाले खाडी मुलुक यसका लागि एकदमै सुरक्षित रहेको बताउँछिन् । आयुषा नेपाल आएर नेपाली दिदीबहिनीहरूलाई समेत रोजगारी दिने योजनामा छिन् ।
प्रतिक्रिया 4