+
+
Shares
पौरखी प्रवासी :

कतारमा जमेका नेपाली व्यवसायी

२८ वर्षअघि सामान्य कामदारको रूपमा कतार प्रवेश गरेका महेन्द्रले विगत १४ वर्षदेखि उडल्यान्ड कन्ट्र्याक्टिङ एन्ड जेनेरल सर्भिस सञ्चालन गरिरहेका छन् । ५ लाखरियाल पूँजी रहेको उक्त कम्पनीमा २ हजार जनाले रोजगारी पाएका छन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ कात्तिक १३ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा बाह्रदशीका महेन्द्रप्रसाद चम्लागाईंले २८ वर्षअघि कतारमा सामान्य कामदारबाट सुरु गरी १५०० भन्दा बढी नेपालीलाई रोजगारी दिने व्यवसायी बनेका छन्।
  • उनले कतारमा पहिलो नेपाली पुस्तक पसल खोलेर व्यवसाय विस्तार गर्दै उडल्यान्ड कम्पनीमा पूर्ण स्वामित्व प्राप्त गरेका छन्।
  • महेन्द्रप्रसादले नेपालमा लगानी बढाउने र रोजगारी दिने उद्देश्यले समाजसेवा र राष्ट्र निर्माणमा सक्रियता देखाएका छन्।

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

निरन्तर संघर्ष र अथक मिहिनेतले असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने बलियो उदाहरण हुन्, झापा बाह्रदशीका महेन्द्रप्रसाद चम्लागाईं। २८ वर्षअघि सामान्य कामदारको रूपमा कतार प्रवेश गरेका महेन्द्र आज हजारौं मानिसलाई रोजगारी दिने सफल व्यवसायी, सामाजिक अभियन्ता र नेपाली पहिचान बोक्ने सशक्त प्रतिनिधिका रूपमा चिनिन्छन् ।

बाह्रदशी गाउँपालिका-७ (पूर्व डाँगीबारी-३) मा साधारण परिवारमा जन्मेका थिए महेन्द्र । परिवारको नाजुक आर्थिक अवस्थाका कारण उनले सन् १९९६ मा कतार जाने जाने निर्णय गरे ।

‘हामी तीन दाजुभाइ थियौं । आर्थिक अवस्था नाजुक थियो । दाजु पहिले नै कतार गइसकेका थिए । आर्थिक भरथेग हुन्छ भनेर म पनि कतार गएँ । हामी दुईजनाले कमाएपछि घरपरिवार चलाउन सकिन्छ भनेर दाजुलाई साथ दिन म कतार छिरेको थिएँ,’ उनले भने ।

२८ वर्षअघि कतारमा नेपाली भेट्न मुस्किल पर्थ्यो । नेपाली कोही भेट्यो भने नेपाल नै पुगेजस्तो लाग्थ्यो । विस्तारै नेपालीहरू कतारमा थपिन थालेको महेन्द्र सुनाउँछन् ।
झन्डै ७ वर्ष उनले श्रमिकका रूपमा काम गरे । त्यसपछि उनलाई लाग्यो- अब आफ्नै केही गर्नुपर्छ ।

कतार पुगेपछि सुरुमा महेन्द्रले अफिस ब्वायको रूपमा काम गरेका थिए । पछि सेल्सम्यान भए ।सन् २००३ मा उनले दोहामा पहिलो नेपाली पुस्तक पसल खोले । जसको नाम राखे, एभरेस्ट बुक सप ।

त्यो पुस्तक पसल नेपालीहरू भेटघाट गर्ने थलो बन्न पुग्यो । पत्रपत्रिका, उपन्यास, साहित्यिक पुस्तक खोज्नेहरू त्यहीँ पुग्थे ।‘नेपाली पत्रपत्रिका, उपन्यास बेच्ने गरी नेसनलमा पहिलो नेपालीको पुस्तक पसल खोलें । दोहामा यस्तो प्रकारको पसल नभएकाले धेरैको भेट्ने चौतारो बन्यो । नेपालबाट पत्रिका, पुस्तक मगाएर बेच्थें,’ उनले भने ।

पुस्तक पसल चलाउँदा चलाउँदै उनले व्यापारको थप सम्भावना देखे । र, सन् २००५ मा उडल्यान्ड इम्पोर्ट-एक्सपोर्ट कम्पनी स्थापना गरे । त्यही कम्पनीमार्फत कपडाको व्यवसाय सुरु गरे । नेपाल, चीन र दुबईबाट कपडा ल्याएर कतारमा बेच्न थाले ।

त्यसपछि सन् २०१० मा कम्पनीको नाम परिवर्तन गर्दै उडल्यान्ड कन्ट्र्याक्टिङ एन्ड जेनेरल सर्भिस खोले र निर्माण क्षेत्रमा प्रवेश गरे । त्यो बेला उनले २८ जना कामदार थप गरेर रोजगारी दिए । आज त्यो कम्पनीमा १ हजार ५०० देखि २ हजार जनासम्मले रोजगारी पाएका छन् । त्यसमध्ये ७० प्रतिशतभन्दा बढी नेपाली श्रमिक नै कार्यरत छन् ।

एकपछि अर्को सफलता हात पर्दै गएपछि उनी व्यवसाय विस्तारतिर लागे । कतारमा विदेशीले आफ्नै कम्पनीमा पूर्ण स्वामित्व पाउनु सजिलो थिएन । तर उनले हालै मात्र उक्त कम्पनीमा पूर्ण रूपमा आफ्नो स्वामित्व पाएका छन् । कतारको लगानीकर्ताबाट सतप्रतिशत आफ्नो स्वामित्वमा ल्याउन सफल भएका हुन् ।

‘मैले केही महिना अगाडि मात्र आफ्नो कम्पनीको पूर्ण स्वामित्व (सेयर) प्राप्त गरेर आफ्नै कम्पनी बनाउन सफल भएको छु । यसरी आफ्नै सतप्रतिशत सेयर प्राप्त गरेर कम्पनी बनाउने म नै सम्भवतः पहिलो नेपाली व्यवसायी हुँ,’ महेन्द्रले भने ।

विगत १४ वर्षदेखि सञ्चालन गरिरहेको उडल्यान्ड कन्ट्र्याक्टिङ एन्ड जेनेरल सर्भिस अहिले पूर्ण रूपमा उनको भएको छ । ५ लाख रियाल पूँजी रहेको उक्त कम्पनीमा ९० प्रतिशत उनको र १० प्रतिशत श्रीमती कञ्चन चम्लागार्इंको नाममा सेयर छ ।

संघर्ष, इमान र अनुशासन

उनी आफ्नो सफलताको पछाडि संघर्ष, इमान र अनुशासनलाई प्रमुख विषय मान्छन् । ‘लक होइन, मिहिनेत हो । ‘६०० रुपैयाँ लिएर गएको मान्छे आज २ लाख रियाल भाडा तिर्छु भन्ने कुरा सोच्दा पनि अचम्म लाग्छ,’ उनी भन्छन् ।

कर्मचारीसँग कहिल्यै कठोर व्यवहार नगर्ने उनी आफू पनि कहिले एक समय तीमध्ये एक भएको सम्झन्छन् । ‘वर्करहरूलाई परिवारझैँ हेर्छु । म पनि त्यही बाटो भएर आएको मान्छे हुँ,’ उनी भन्छन् ।

कतारको कानुनी कडाइ र प्रतिस्पर्धाबीच पनि उनले इमानदारी र लगनशिलताले सरकारको विश्वास जितेका छन् । ‘घरको अभाव र गरिबीले थिचेरै म कतार भासिएथें । अनि केही वर्ष जागिर खाएपछि फर्कन्छु भन्ने थियो तर आफ्नै कम्पनी खोलेर यसरी अगाडि बढ्छु भन्ने लागेको थिएन,’ उनले भने ।

त्यसकै कारण होला, कतार सरकारले कुनै कम्पनीको १०० प्रतिशत स्वामित्व उनकै नाममा दिएको छ । सामान्यतया कतारमा नयाँ कम्पनीको हकमा १०० प्रतिशत आफ्नै स्वामित्वमा लिन सकिन्छ । तर पुराना कम्पनी जो कतारी नागरिकको सेयर हुन्छ, ती कम्पनीलाई १०० प्रतिशत आफ्नो नाममा गराउनु निकै मुस्किल हुन्छ ।

कम्पनी पूर्ण रूपमा आफ्नो नाममा आएपछि उनी कतार सरकारले आफूलाई इमान्दार र लगनशील देखेको सम्झन्छन् । ‘कतारले म सक्षम छु भनेर देखेपछि विश्वास गर्‍यो । र, कम्पनीको पूर्ण स्वामित्व दियो,’ उनी भन्छन् ।

व्यवसायसँगै समाजसेवामा सक्रिय

व्यवसायमा सफल भएपछि महेन्द्रप्रसाद चम्लागाईंले आफूलाई समाजसेवामा समर्पित गर्दै आएका छन् । कतारस्थित नेपाली व्यवसायीहरूलाई एकीकृत गर्दै उनी नेपाल व्यवसायी संघ, कतार स्थापना गरे र संस्थापक अध्यक्ष बने । यो संघ कतार सरकारमा दर्ता भएको पहिलो नेपाली संस्था भएको उनको दाबी छ ।

उनकै नेतृत्वमा संघले नेपालमा भूकम्प, बाढी र कोभिड महामारीका बेला ठूलो सहयोग पठाएको थियो । कोरोना महामारीका बेला मात्र एक करोड रुपैयाँभन्दा बढी मूल्यका अक्सिजन सिलिन्डर नेपाल पठाइएको थियो ।

त्यसैगरी उनी हालै अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा समेत चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष रहेका उनी हालै मात्रै अध्यक्षमा चयन भएका हुन् ।
‘झापालीहरूलाई विश्वभर एकजुट गरेर जिल्लाको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेका छौं,’ उनी भन्छन् । त्यसअघि उनी एनआरएनए कतारका सल्लाहकार र एनआरएनए आईसीसी मानार्थ सदस्यसमेत रहिसकेका छन् ।

अब उनलाई जन्मभूमि नेपालप्रतिको माया र मोहले स्वदेश फर्कौं-फर्कौं लाग्न थालेको छ । नेपालमा लगानी अझै बढाउने, धेरैभन्दा धेरैलाई रोजगारी दिने र राष्ट्रका निम्ति ठोस योगदान पुर्‍याउने इच्छा छ ।

कतार दोस्रो घर

धेरै नेपालीको कर्मभूमि हो कतार । कतारमा न्यूनतम तलब सरकारले तोकिदिएको छ । कतारले नेपालीका निम्ति ठूलो रोजगारीको अवसर दिएको छ ।

महेन्द्रको धेरै समय कतारका सडक, गल्ली र समुद्रका किनारमा बित्यो । कतारमा नै छोराछोरी हुर्किए । पढाइलेखाइ पूरा गर्ने चरणमा छन् ।

अब उनलाई जन्मभूमि नेपालप्रतिको माया र मोहले स्वदेश फर्कौं-फर्कौं लाग्न थालेको छ । नेपालमा लगानी अझै बढाउने, धेरैभन्दा धेरैलाई रोजगारी दिने र राष्ट्रका निम्ति ठोस योगदान पुर्‍याउने इच्छा छ ।

‘मैले जीवनमा कहिल्यै पछाडि फर्कनु परेन । समयले सफलताको बाटोमा पुर्‍यायो । म यो ठाउँमा आइपुग्छु भनेर कल्पना पनि गरेको थिइनँ,’ उनले भने, ‘मेरो मिहिनेतले पाएको सफलता हो। आजसम्म जे-जस्तो उपलब्धि हासिल गर्न सकें त्यसमा सन्तुष्ट छु । मेरो आमाबुवाको आर्शिवादले नै यो अवस्थामा आइपुगें।’

नेपालप्रति लगाव

कतार बनाउन धेरै नेपालीको रगत-पसिना बगेको छ । अझै पनि लाखौं नेपाली युवा कतारमा श्रम गरिरहेका छन् ।

कतारमा सिकेको सिप, बगाएको पसिना र कमाएको पूँजी अब नेपालको विकासका लागि लगाउनुपर्ने महेन्द्रको विचार छ ।

‘कतार हामी नेपालीले पसिना बगाएर बनाएको देश हो,’ उनी भन्छन्, ‘अब नेपालले पनि त्यो पसिनाको मूल्य बुझ्नुपर्छ ।’

उनको नेतृत्वमा नेपाल व्यवसायी संघ, कतारले नेपाल निर्यात व्यवसायी संघसँग सहकार्य गर्दै दुई देशबीच व्यापार-व्यवसाय प्रबर्द्धनका लागि पहल गरेको छ । तर उनी नेपालका ढिलो र जटिल प्रशासनिक प्रक्रियाबाट असन्तुष्ट छन् ।

‘कतारमा ‘एक ढोका’ प्रणाली छ । नेपालमा भने १० वटा कार्यालय धाउनुपर्छ,’ उनी भन्छन्, ‘विदेशी लगानी भित्र्याउन सरकार स्थिर र लगानीमैत्री हुनैपर्छ ।’

दोस्रो जीवन

केही वर्षअघि महेन्द्रप्रसाद चम्लागाईंलाई गम्भीर स्वास्थ्य समस्या आयो । लामो समय अस्पतालमा रहँदा जीवन-मृत्युबीच संघर्ष चलेको थियो ।

‘मेरो जीवनमा धेरै आरोह-अवरोह आए । अहिले मेरो दोस्रो जन्म हो । पछिल्लो समय स्वास्थ्यमा ठूलै समस्या आयो ।

लामो समय अचेत अवस्थामा अस्पताल बस्नुपर्‍यो,’ उनले भने, ‘भगवानको कृपा र आफ्नो सत्कर्मले फेरि थप ऊर्जासहित समाजमा ल्याएको छ । कर्कलाको पातको पानीजस्तो त हो जीवन । भगवानको कृपा र परिवारको मायाले म बाँचें ।’

त्यसपछि उनले बाँकी जीवन समाजसेवा र राष्ट्र निर्माणमा समर्पण गर्ने निर्णय गरेका छन् ।

नेपालको सुस्त प्रणालीप्रति असन्तुष्टि

नेपालको प्रशासनिक ढिलासुस्तीप्रति महेन्द्र असन्तुष्ट छन् । ‘कतारमा कम्पनी खोल्न एक घण्टा लाग्छ, नेपालमा वडा कार्यालयदेखि मन्त्रालय धाउँदा ६ महिना लाग्छ,’ उनले भने ।

नेपालमा लगानी गर्न आउने लगानीकर्ताहरू एयरपोर्टमै निराश हुने गरेको उनको भनाइ छ । नेपालमा विदेशी लगानी आकर्षित गर्न उनी टलगेट प्रणाली र सरकारी-सरकारी सहकार्यलाई जोड दिन्छन् ।

‘कतारका सडक, टावर सब टलगेट प्रणालीमै बनेका हुन्,’ उनी भन्छन्, ‘नेपालले पनि २०-३० वर्षको लिजमा बाटो बनाउन दिए घाटा हुँदैन ।’

कतारस्थित नेपाली दूतावासमा बारम्बार राजदूत परिवर्तनले नीतिगत काम अघि बढ्न नसकेको उनी बताउँछन् ।

सन् १९९९ देखि अहिलेसम्म १० भन्दा बढी राजदूत फेरिएको बताउँदै उनले कम्तीमा चार वर्ष एउटै राजदूत रहनुपर्ने बताए ।

कतारमा रहेका नेपालीहरू अहिले रेस्टुरेन्ट, सैलुन, बिल्डिङ मटेरियल र म्यानपावर सप्लाइ जस्ता क्षेत्रमा सक्रिय छन् । पहिला नेपाली भनेको केवल लेबर भनेर चिनिन्थ्यो तर, अहिले हजारौँ नेपाली व्यवसायी रहेको उनको भनाइ छ ।

मिडिल इस्टका श्रमिकहरूले कमाएको पैसाले नेपालमा केही गर्नसक्ने वातावरण नेपाल सरकारले बनाउनुपर्नेमा उनको जोड छ । ‘हामी सहयोग गर्न तयार छौँ,’ उनले भने, ‘तर सरकारसँग स्पष्ट भिजन चाहिन्छ ।’

भविष्य र पारिवारिक साथ

श्रीमती कञ्चन चम्लागाईं कम्पनीकी सह-सेयर होल्डर हुन् । छोरा दुर्गा र छोरी कामक्षा कतारमै शिक्षाको अन्तिम चरणमा छन् । छोराछोरीले पढाइ सकेपछि नेपाल फर्किने योजना महेन्द्रको छ ।

हाल उनको लगानीमा नेपालमा होटल, विद्यालय, राइस मिल सञ्चालनमा छन् । त्यसलाई अझ विस्तार गर्ने उनको चाहना छ ।

समयले सफलताको बाटोमा पुर्‍याउँछ । उनी आज जुन ठाउँमा पुगेका छन्, उनले कल्पनासमेत गरेका थिएनन् ।

उनको आफ्नो मिहिनेतले नै यो तहको सफलता पाएका हुन् । र, आजसम्म जेजस्तो उपलब्धि हासिल गर्न सकेका छन्, त्यसमा खुसी र सन्तुष्ट छन् ।

‘जसको सपना ठूलो छ, उसले कठिनाइलाई पनि अवसर बनाउँछ,’ महेन्द्र भन्छन्, ‘विदेशमा श्रम गरेर पनि नेतृत्व गर्न सकिन्छ भन्ने प्रमाण म स्वयं हुँ।’

उनका अनुसार सफलताको मूल मन्त्र छ- इमान, अनुशासन र निरन्तर मिहिनेत ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?