+
+
Shares

प्रलोपा : वैकल्पिक राजनीतिमा बाबुरामको अर्को प्रयोग

विगतमा पार्टीको उपल्लो तहको भूमिकामा रहेका नेताहरू कार्यकारी भूमिकामा नरहने गरी आइतबारदेखि नयाँ दलको जन्म भएको छ । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरू अभिभावकीय भूमिकामा रहेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरिएको हो ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ मंसिर ७ गते २२:१६

७ मंसिर, काठमाडौं । तत्कालीन माओवादी केन्द्रसँग वैचारिक विमति राख्दै डा. बाबुराम भट्टराईले २०७३ साल जेठमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै नयाँ शक्ति पार्टी गठन गरेका थिए ।

सुरुमा निकै तामझामसाथ खोलिएको पार्टी तीन वर्षसम्म पनि गति लिन नसकेपछि २०७६ सालमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरे । त्यहाँ पनि तीन वर्ष भन्दा बढी सहकार्य हुन सकेन ।

२०७९ सालमा उक्त पार्टी छोडेर बाबुराम माओवादीसँग चुनावी कार्यगत एकतामा जोडिए । २०७९ को चुनावमा गोरखा-२ प्रचण्डलाई छोडिदिए । त्यसबेला माओवादीसँगै दीर्घकालीन एकताका कुरा पनि उठेका थिए ।

तर पछि  प्रचण्डसँग सहकार्य नजुटेपछि उनले नेपाल समाजवादी पार्टी  बनाए । उक्त पार्टी पनि विभाजित भएपछि केही महिना अघि नेपाल समाजवादी पार्टी नयाँ शक्ति  पुनर्गठन गरेका थिए । जेनजी आन्दोलनपछि  भट्टराईले दुर्गा सोबलाई नेतृत्व हस्तान्तरण गरे । आफू पृष्ठभूमिमा बसे ।

यही बीचमा दलहरूबीच चुनावी मोर्चाबन्दी हुन थालेपछि उनले अन्य दलहरूलाई पनि एकता प्रक्रियामा जोड्ने खोजे । यही सिलसिलामा विचारसहितको बलियो वैकल्पिक शक्ति बनाउने दाबीसहित आइतबारदेखि नयाँ दलको जन्म भएको छ-  प्रगतिशील लोकतान्त्रिक पार्टी ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), पूर्वमाओवादी केन्द्रका नेता जनार्दन शर्माले नेतृत्व गरेको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीच एकता गरी  यो पार्टी गठन गरिएको छ ।

यो पार्टी गठनमा माओवादी जनयुद्ध सँगै लडेका बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की  लगायतका नेताहरूको फेरि भेट भएको छ । भट्टराईले माओवादी छोड्दा प्रचण्डसँगै बसेका राम कार्की भूमिगत कालमा उनका निकट राजनीतिक सहयात्री थिए । अहिले प्रचण्ड छोडेर उनी भट्टराईसँग जोडिन आइपुगेका छन् ।

तीन पक्ष एकीकृत गरी घोषणा गरिएको दलमा माओवादी केन्द्रका नेताहरू र नेसपाका पूर्वअध्यक्ष भट्टराई कार्यकारी भूमिका रहने छैनन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता राम कार्कीले कार्यकारी भूमिका नहुने र हस्तक्षेप पनि नगर्ने जानकारी दिए ।

नवगठित पार्टीमा जेनजी पनि सहभागी गराएर पाँच सदस्यीय अन्तरिम ‘अध्यक्ष परिषद्’ बनाइएको छ । परिषद्‌मा प्रगतिशील राष्ट्रिय अभियानबाट सुदन किराती, नेसपा (नयाँ शक्ति) बाट दुर्गा सोब, पूर्वरास्वपा नेता सन्तोष परियार, जेनजी अगुवा ओजस्वी भट्टराई र अशोक जैसवाल छन् ।

अन्तरिम अध्यक्ष परिषद्‌मा रहने दुर्गा सोब विगतमा नेसपा (नयाँ शक्ति) को नेतृत्वमा थिइन् । अर्का अध्यक्ष जेनजी अगुवा ओजस्वी कानुन व्यवसायीसमेत हुन् । उनले संवैधानिक कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनमा अध्ययन, अनुसन्धान र अध्यापन गर्दै आएकी छन् ।

जेनजी विद्रोहपछि ‘हाउ टु देश विकास’मार्फत सक्रिय उनी पछि जेनजी आन्दोलनका एजेन्ड संस्थागत गर्ने कार्यमा सक्रिय छन् । अध्यक्ष परिषद्‌मा रहेका जैसवाल माओवादीका पूर्वनेता हुन् । रौतहटवासी जैसवाल शहीद परिवारका सदस्य हुन् ।

पार्टीले अध्यक्षमण्डलको संयोजन पालैपालो गर्ने विधि बनाएको छ । अध्यक्षमण्डलको संयोजन हाल परियारले गर्नेछन् । आजको घोषणासभाको अध्यक्षता पनि परियारले नै गरेका थिए । सामूहिक र समानुपातिक अध्यक्ष परिषद् रहने व्यवस्था गरिएको दलका नेता जनार्दन शर्माले बताए ।

केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाइएको छ । केन्द्रीय समितिले वृहत् राजनीतिक पुनर्संरचना सम्मेलन गर्ने प्रलोपाले जानकारी गराएको छ । अध्यक्ष परिषद्ले विभिन्न पक्षसँग छलफल गरेर केन्द्रीय समितिका सदस्यहरू टुंगो लगाउने नेता शर्माले जानकारी दिए ।

नवगठित प्रलोपाको विधानअनुसार एक व्यक्ति एक पद हुने र एउटै पदमा दुई कार्यकालभन्दा बढी पदावधि नहुने व्यवस्था गरिएको छ । सामूहिक नेतृत्व प्रणाली अवलम्बन गरेको प्रलोपाले राइट टू रिजेक्ट र रिकलको व्यवस्था पनि गरेको छ ।

हरेक पार्टी संरचनाको नेतृत्व निर्वाचनबाट चुनिने व्यवस्था गरिएको छ । संगठन क्याडर र मासबेस्ड नभई स्वयंसेवी हुने प्रलोपाले दाबी गरेको छ । विचार मिल्ने शक्तिहरूसँग भविष्यमा वृहत् ध्रुवीकरण गर्ने नीति बनाइएको छ ।

प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त रहेको प्रलोपाको चुनाव चिह्न आँखा राखिएको छ । संविधान संशोधन, शासकीय स्वरूप, निर्वाचन प्रणाली, लोकतन्त्रको समृद्धीकरण, राइट टू रिजेक्ट, प्राइमरी इलेक्सन जस्ता मुद्दालाई सम्मेलन गरेर छलफल गरिने प्रलोपाले जनाएको छ । नयाँ दल गठनको औचित्यतामा प्रलोपाले ‘राजनीतिमा पुनःसंरचना’ लाई कारण बनाएको छ ।

पूर्वनिर्धारत समयअनुसार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आइतबार एकीकृत दलको घोषणा गरिएको हो ।

नयाँ दल घोषणा गर्दा डा. बाबुराम भट्टराईले आफ्नो जीवनकालको खुसीको क्षण आज भएको बताए । समयको चेत बुझेर नै नयाँ दल गठन गरिएको उनक भनाइ थियो ।

पार्टीको नाम प्रगतिशील प्रजातान्त्रिक राख्नुको कारण अर्थ्याउँदै भट्टराईले कुनै पनि चिज स्थिर नभएको हुँदा पार्टीको नाम पनि सोही मुताबिक राखिएको बताए ।

उनले भने, ‘व्यक्तिको निजत्व र उसको सामूहिकता दुवैको सन्तुलन मिलाएर अगाडि बढ्ने विचार दर्शन हो ।’ भट्टराईले निर्वाचन आयोगमा दर्ता भएका अन्य दलभन्दा प्रलोपा पृथक रहेको दाबी गरे ।

रास्वपा परित्याग गरेर नयाँ दल गठन गरी अध्यक्ष परिषद्‌मा रहेका सन्तोष परियारले पूर्वआवद्ध पार्टीप्रति कुनै टिप्पणी गरेनन् । परियारले आफूहरू हिँड्न लागेको बाटो भने सहज नभएको स्वीकारे । अग्रज पुस्ताको अनुभव र जेनजी पुस्ताको भावनालाई समेट्दै अघि बढ्ने प्रतिवद्धता उनले गरे ।

‘अग्रज पुस्ता र जेनजीलाई सँगै लिएर हाम्रो पुस्ताले एउटा निकै ठूलो संघर्ष गर्ने बेला आएको छ । यही संघर्ष गर्ने क्रममा आज हामी वृहत् एकता घोषणासभा गर्दैछौं,’ परियारले भने, ‘समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन । बेइमान पुस्ता भन्न छोड्ने छैन । यसर्थ, एउटा संघर्ष गरौं । यो सजिलो बाटो त होइन ।’

नेताहरू प्रचण्डविरुद्ध खनिए

प्रलोपा गठनदेखि नेतृत्वमा पूर्वमाओवादी नेताहरूको संख्या उल्लेख्य छ । आइतबार मञ्चमा विचार राख्नेहरू पनि पूर्वमाओवादी नेताहरू बढी देखिए ।

नेता राम कार्कीले विगतमा माओवादी केन्द्रमा रहेर लड्दा पनि मूल नेतृत्वलाई हटाउन नसकिएकोप्रति आत्मआलोचना गरे । उनले भने, ‘नेतृत्व फेर्न सकेनौं । प्रतिस्थापन पनि गर्न सकेनौं ।’

नयाँ दलमा कार्यकारी भूमिकामा नबस्ने र हस्तक्षेप पनि नगर्ने उनले प्रतिबद्धता व्यक्त गरे । नयाँ दल बनाउन सक्रिय शीर्ष तहका नेताहरू प्रलोपामा अभिभावकीय भूमिकामा बस्ने भएका छन् ।

प्रलोपा घोषणासभामा माओवादी केन्द्रका पूर्वनेताहरूले उक्त दलमा रुपान्तरण गर्न नसकेको दुखेसो पोखे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति रुष्ट नेताहरूले उनलाई मठाधीशको संज्ञा दिए ।

नेता जनार्दन शर्माले माओवादी भित्र धूपबत्ती गर्न छोडेर नयाँ दल गठनको बाटोमा लागेको बताए । ‘सामन्तवादको सिंहासन भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टी भित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भइरहेका छौं,’ शर्माले भने ।

जेनजी विद्राहको बलिदानी खेर जान नदिन राजनीतिक पहल अनिवार्य रहेको सुनाउँदै शर्माले त्यसैका लागि नयाँ पार्टी गठन गरेको जानकारी गराए । उनले घोषणासभामा भने, ‘हाम्रो पार्टी केही दर्जन राजनीतिक दलहरूमाथि एक नयाँ दल थप्ने र केही नेता उत्पादन गर्ने नभई हालको विकृत राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा स्थापना भएको हो ।’

माओवादी केन्द्रका पूर्वनेता एवं नव गठित दलका अध्यक्ष परिषद्‌का सदस्य सुदन किरातीले विगतमा माओवादी केन्द्रमा रुपान्तरण खोजे पनि सम्भव नभएको बताए । प्रलोपा गठन गर्नु केवल एक थान पार्टीको लागि मात्र नभएको उनले दाबी गरे ।

प्रचण्डको अगुवाइमा गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई वृद्धाश्रमको संज्ञा दिँदै किराँतीले भने, ‘पार्टीको मञ्चमा बस्ने एउटा स्वामी र स्वामीका हजारौं भक्तहरू निर्माण गर्नु छैन ।’

कम्युनिस्टको खोल नेकपातिरै छोडेर आफूहरूले गुदी बोकेर नयाँ दल गठन गरेको किरातीको तर्क थियो । ‘हामीलाई त्यो खोल चाहिएन । हामी गुदी बोकेर हिँड्नेछौं,’ उनले भने ।

जेनजीलाई नेतृत्वमा ल्याउने प्रयत्न

प्रगतिशील लोकतान्त्रिक पार्टीको ५ सदस्यीय अध्यक्ष परिषद्‌मा जेनजीलाई समेत ल्याइएको छ । जेनजी अगुवा ओजस्वी भट्टराईलाई मूल नेतृत्वको परिषद्‌मा समेटिएको छ । उनी जेनजी मुभमेन्ट अलायन्समा आबद्ध थिइन् । जेनजी आन्दोलनका मुद्दाहरूलाई संस्थागत गर्ने कार्यमा उनी सक्रिय छिन् ।

जेनजी विद्रोहलाई दस्तावेजीकरण गर्दै मस्यौदा गर्ने र प्रधानमन्त्री सुशीला कार्कीलाई पेस गर्न उनी सक्रिय रहेको प्रलोपाका नेताहरूले जानकारी दिए ।

आइतबार दल घोषणा गर्ने क्रममा वक्ता रहेकी ओजस्वीले जेनजीका एजेन्डा संस्थागत गर्न दलमा आवद्ध भएको बताइन् । राष्ट्र निर्माणमा भूमिका खेल्नको लागि दलमार्फत् अघि बढ्न चाहेको उनले बताइन् ।

प्रलोपा घोषणा सभामा जेनजी अगुवालाई पनि वक्ताका रूपमा आमन्त्रण गरिएको थियो । जेनजी अगुवा रिजन राना मगरले नयाँ दललाई शंकाको सुविधा दिए ।

तीन शक्तिको एकताप्रति खुसी व्यक्त गरेका रिजनले भने, ‘माथि हेरेर तल हेर्ने नगर्नुहोला । तल बसेर माथि हेर्नुहोला ।’

जेनजी आन्दोलनले उठाएका मागहरू नयाँ दलले पनि उठाउने उनले अपेक्षा राखे । जेनजीको रापतापमा दल गठन गर्ने तर भविष्यमा आफ्नो दायित्व बिर्सन सक्नेप्रति सतर्क गराउँदै रिजनले थपे, ‘आन्दोलनको उभारको बेला मात्रै नयाँ पुस्ता खोज्नुभएको हो कि जेनजीका मुद्दालाई निरन्तरता पनि दिनुहुन्छ ?’

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?