News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले पार्टी फुट्ने कुनै सम्भावना नरहेको बताएका छन्।
- पौडेलले महाधिवेशन प्रतिनिधि आफैं जिम्मेवार र पार्टी एकता चाहने नेता भएको उल्लेख गर्नुभयो।
- उनले विशेष महाधिवेशनलाई नेतृत्व र नीति परिवर्तनका लागि आवश्यक र वैधानिक प्रक्रिया भएको बताउनुभयो।
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले पार्टीलाई फुटमा लैजाने कुनै सम्भावना नरहेको बताएका छन् ।
विशेष महाधिवेशनले पार्टी फुटतर्फ जाने चौतर्फी संशयकाबीच उनले कांग्रेस विभाजन नहुने प्रतिक्रिया दिएका हुन् ।
‘महाधिवेशन प्रतिनिधि साथीहरू आफैं नेपाली कांग्रेसको नेता हुनुहुन्छ । उहाँहरू आफैं जिम्मेवार हुनुहुन्छ । उहाँहरू पार्टी एकता चाहनुहुन्छ,’ नेता पौडेलले अनलाइनखबरसँग भने, ‘पार्टीलाई मजबुत र बलियो बनाउन चाहनुहुन्छ । पार्टीको भविष्य सुदृढ गराउन हुनुहुन्छ । जिम्मेवार व्यक्तिहरूको अधिवेशनले पार्टीलाई फुटमा लैजाने कुनै सम्भावना छैन ।’
विशेष महाधिवेशनलाई पार्टीको हितसँगै नेतृत्व र नीति परिवर्तनका निम्ति व्यवस्थित ढंगबाट अगाडि लैजान जरूरी रहेको आवश्यकता औैंल्याए ।
‘पार्टीभित्र बृहत एकता कायम गर्ने, नीतिगत र नेतृत्वगत पक्षबाट पार्टीलाई परिवर्तनको अनुभूति गराएर आगामी निर्वाचनमा पार्टीले आम नागरिकको विश्वास प्राप्त गर्ने सन्देश दिने गरी विशेष महाधिवेशन सम्पन्न हुने पूर्वमन्त्री पौडेलको विश्वास छ ।
विशेष महाधिवेशन वैधानिक व्यवस्था भएको जिकिर गर्दै पौडेलले विधानको व्यवस्थालाई कांग्रेसको कुनै पनि तहले अवज्ञा गर्न नसक्ने बताए ।
‘केन्द्रीय कार्यसमितिलाई विधानले निर्देशित गर्ने हो । केन्द्रीय कार्यसमितिले विधानलाई निर्देशित गर्ने होइन,’ उनले भने ।
वैधानिक ढंगबाट आयोजना भएको विशेष महाधिवेशनमा देशभरिबाट प्रतिनिधिहरूको उत्साहजनक सहभागिता हुने संकेत देखिएको उनको भनाइ छ ।
‘हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गर्नु भएका साथीहरू र त्यतिबेला हस्ताक्षर नगरेका तर विशेष महाधिवेशनको आवश्यकता देख्ने साथीहरू सबै विशेष महाधिवेशनमा सहभागी हुने गरी आउनु भएको स्थिति छ,’ पौडेलले भने ।
प्रतिक्रिया 4