News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ जसमा नयाँ नेतृत्व चयन गर्ने विषयमा प्रतिनिधिहरू एकमत छन्।
- प्रतिनिधिहरूले भ्रष्टाचार अन्त्य र सुशासनका लागि युवा नेतृत्व आवश्यक रहेको बताएका छन् र गगन थापामुख्य विकल्प मानिएको छ।
- नेविसंघ केन्द्रीय सदस्य मनोज पुरीले नेतृत्व परिवर्तन नगरे विद्रोह हुने चेतावनी दिएका छन् र हस्ताक्षर संकलन अनुसार काम पूरा गर्नुपर्ने बताए।
२७ पुस, काठमाडौ । चोक चोकबाट निस्केको र्यालीमा नारा लागिरहेको छ, ‘नेपाली कांग्रेस के भन्छ ? गगन-विश्व’ ले भन्छ ।’ झाँक्री बाजागाजासहितको र्याली भृकुटीमण्डपमा आएर मिसिएको छ ।
तामझामका साथ उद्घाटन सत्र चलिरहेको छ । प्रतिनिधि कति हुन्छन् त्यसको आधारमा कांग्रेसको नेतृत्व परिवर्तन हुने नहुने निर्धारण हुने छ । तर देशभरबाट आएका प्रतिनिधिहरू पनि यहि चाहन्छन् ।
भृकुटीमण्डपमा आइपुगेका प्रतिनिधिहरूको एकै स्वर छ, नेतृत्व हस्तान्तरण र पुस्तान्तरण ।
विशेष महाधिवेशनमा प्रतिनिधि बनेर आएका सिराहाका हुन्, मुस्तक अन्सारी । उनी नयाँ नेतृत्व चयन गर्न प्रतिनिधि बनेर आएको बताउँछन् । ‘एउटै एजेन्डा हो नयाँ नेतृत्व चयन गर्ने । देशको अहिलेको स्थिति र युवाको चाहनाले युवाको नेतृत्व चाहेको छ । जनताको माझमा पुग्न र कांग्रेसलाई चलायमान बनाउन गगन-विश्वको विकल्प छैन,’ उनले भने ।
देशको नेतृत्व गर्न युवा नेतृत्व नै आवश्यक रहेको निचोड यहाँ उपस्थित प्रतिनिधिको छ । ‘काठमाडौंमा बस्नेमात्र होइन । जोश भएको देशको नेतृत्व गर्नसक्ने युवा पार्टीलाई चाहिएको छ । भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा काम गर्ने नेतृत्व विशेष महाधिवेशनबाट चयन हुनुपर्छ,’ उनले भने ।

गुल्मीबाट आएकी पार्वती कुँवर पनि नयाँ नेतृत्व चयनको पक्षमा छिन् । ‘नियमित महाधिवेशन हुनुपर्थ्यो, भएन । विधानले नै विशेष महाधिवेशन भनेको छ । नियमित नभएपछि विशेष महाधिवेशन हुन लागेको हो । महाधिवेशन गर्नु हाम्रो दायित्व र कर्तव्य हो । त्यही पूरा गर्न गुल्मिबाट आएको हुँ,’ उनले भनिन् ।
बन्दसत्रको हलले नयाँ नेतृत्व चयन गर्ने विश्वास उनको छ । ‘जेनजी आन्दोलनपछि झन् युवाको नेतृत्व चाहिएको छ । हलले नेतृत्व चयन गर्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।

गोरखाबाट आएका प्रेम कुमार खत्री नीति र नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा छन् । ‘पार्टीमा रुपान्तरण हुनुपर्यो । पार्टी पछिलो समय क्लबजस्तो भयो । यो विशेष महाधिवेशनले नीति नेतृत्व र विधि परिवर्तन गर्छ,’ उनले भने, ‘नीति नेतृत्व र विधि परिवर्तन हुन्छ । गगन-विश्व नै आउनुपर्छ ।’
नयाँ नेतृत्व चयन गर्न जर्मनीबाट आएकी छिन प्रतिमा भट्ट । नयाँ नेतृत्व चयन गरेर मात्र जर्मन फर्किने संकल्प उनको छ ।
‘तीन दिनको बिदा लिएर आएको हुँ । नेतृत्व चयन गरेर फर्किने हो,’ उनले भनिन्, ‘म २०५२ सालमा जन्मिएको, त्यतिबेला गृहमन्त्री हुनुभएको अहिले सभापति पनि शेरबहादुर देउवा हुनुहुन्छ । उहाहरूले व्यवस्था परिवर्तन गर्नुभयो । अब विश्राम लिनुपर्छ । ५ पटक प्रधानमन्त्री भएकोमान्छेले छैटौ पटक प्रधानमन्त्री भएर के गर्न सक्नुहुन्छ ?’

अब नयाँ नेतृत्व चयनको विकल्प नभएको प्रतिनिधिहरूको ठहर छ । ‘फ्रेस नेतृत्व आउँछ । पार्टी र देशको नेतृत्व लिन्छ,’ उनले भनिन् ।
नेविसंघ केन्द्रीय सदस्य मनोज पुरी विशेष महाधिवेशनलाई अब नेतृत्व परिवर्तन नगरी भाग्ने छुट नरहेको बताउँछन् ।
उनका अनुसार विशेष महाधिवेशनको लागि हस्ताक्षर सङ्कलन गर्दै नीति र नेतृत्व परिवर्तन गर्ने उल्लेख गरिएको थियो । त्यस्तै जेनजी आन्दोलनलाई काङ्रेसले कसरी हेर्छ भन्ने धारण निर्माण गर्ने बताइएको थियो ।
त्यसैले जुन कामको लागि भनेर हस्ताक्षर सङ्कल गरियो त्यो जसरी पनि पूरा गर्नुपर्ने पुरीले बताए । ‘यदि जे भनिएको थियो, त्यो नै गर्न सकिएन भने यत्रो काम गरेको के मतलब ? जिल्लाजिल्लाबाट यत्रा प्रतिनिधि आउनुभएको छ । उहाँहरू टाइमपासको लागि आउनुभएको हो र?,’ पुरीले भने ।
यदि हस्ताक्षर सङ्कलन गर्दा गरिएको वाचा अनुसार नीति र नेतृत्व बदल्ने काम भएन भने त्यसको जिम्मा हस्ताक्षर आह्वान गर्नेहरुले लिनुपर्ने पुरीको भनाइ छ ।

‘यदि अब गगन-विश्व ब्याक हुनुभयो भने, यहाँ आएका कार्यकर्ताले उहाँहरुविरुद्द बिद्रोह गर्छ । त्यो विद्रोह उहाँले थेग्न सक्नुहोला,’ पुरीले अनलाइनखबरसग भने ।
आइतबार बिहानबाटै भृकुटीमण्डपमा सकृय पुरीको विश्वास छ, यो विशेष महाधिवेशनको बन्दशत्रले नीति र नेतृत्व दुवै फेर्छ । जेनजी आन्दोलनलाई पार्टीले हेर्ने दृस्ठिकोण पनि निर्माण गर्छ ।
नेपाली काङ्रेसका युवा मोहन कालाथोकी पनि विशेष महाधिवेशन अब नेतृत्व नबदली फर्कन नहुने बताउँछन । यत्रो माहोल बनिसकेको र जिल्लाजिल्लाबाट प्रतिनिधि आइसकेको अवस्थामा नेतृत्व पछि हट्न नहुने उनले बताए ।

‘यो ख्यालख्याल हैन । अब यसले नीति मात्र हैन नेतृत्व फेर्नैपर्छ । नेतृत्व नै परिवर्तन गरि नेपाली काङ्ग्रेसलाई एकताबद्द गरि चुनावमा जानुपर्छ,’ कालाथोकीले दाबी गरे, ‘५४ प्रतिशतले हस्ताक्षर गरेपछी अब नेतृत्व फेर्न सकिन्न भन्ने सम्भावना सकियो ।’
यहाँ संस्थापन पक्षका नेता त आएका छैनन् नि भन्ने प्रश्नमा कालाथोकीले थपे, ‘अहिलेको सस्थापन नै अब हामी हौं । बहुमत प्रतिनिधि भृकुटीमण्डपमा हुनुहुन्छ । बरु इतरपक्षका नेता शेरबहादुर देउवालाई पनि निमन्त्रणा गरेका छौँ ।’

महाधिवेशन प्रतिनिधि नरहे पनि नेपाली काङ्रेसको कार्यकर्ताको हिसाबले महाधिवेशनस्थल आइपुगेकी विदिशा मिश्र पनि यो विशेष महाधिवेशनले नेतृत्व फेर्ने विश्वास गर्छिन ।
जेनजी आन्दोलनको भावना बुझ्दै यो महाधिवेशनले नयाँ नेतृत्व दिनुपर्नेमा उनको जोड छ । यदि हस्ताक्षर सङ्कलन गर्दा गरिएको वाचा पूरा गरिएन भने आह्वानकर्ता असफल हुने बताइन ।
‘अब काङ्रेसले हामीजस्ता युवाको भावना बुझ्नेगरी नीति र नेतृत्व फेर्नुपर्छ । त्यो फेरेर एकताबद्द भएर चुनावमा जानुपर्छ,’ उनले भनिन् ।आज उद्घाटन सत्र र भोलि बन्दसत्र चल्ने छ ।

प्रतिक्रिया 4