+
+
Shares

जेनजी आन्दोलनलाई लिएर गगनका ४ संकल्प

नले पेस गरेको प्रतिवेदनमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई लिएर पार्टीको संकल्प केके हुने भन्ने उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनमा भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी चार बुँदे राजनीतिक प्रतिवेदन पेस गर्नुभयो।
  • प्रतिवेदनमा आन्दोलनका न्यायोचित मागहरू आत्मसात गर्दै स्वतन्त्र छानबिन, दोषीमाथि कानुनी कारवाही र युवा सहभागिताको सुनिश्चितता गर्ने संकल्प गरिएको छ।
  • नेपाली कांग्रेसले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन र बहुपक्षीय राष्ट्रिय संवादमार्फत साझा राष्ट्रिय समझदारी निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको जारी विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उनले पेस गरेको प्रतिवेदनमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई लिएर पार्टीको संकल्प केके हुने भन्ने उल्लेख छ ।

उनले ४ बुँदामा संकल्प पेस गरेका छन् । ‘भदौ २३ र २४ गते नवयुवा पुस्ता (जेन- जी) को आह्वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गरेको छ । भाद्र २३ र २४ गते घटेका अकल्पनीय र दुःखद घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ,’ उनले भनेका छन्, ‘ उनले भनेका छन्, ‘उक्त आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवर्द्धन, सेवा प्रवाह र युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात गरी संकल्प गर्दछ ।’

यस्ता छन् उनले पेस गरेका संकल्प

क. भाद्र २३ को दमन र २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्दछ, घटनामा संलग्न दोषीमाथि कानूनी कारवाही गर्नु पर्दछ भन्ने बारेमा नेपाली कांग्रेस प्रष्ट र कटिबद्ध रहनेछ ।

ख. युवा पुस्तामा देखिएको अभूतपूर्व जागरण हाम्रो समाजको जीवन्त राजनीतिक पुँजी र युगीन चेतनापुञ्ज हो । युवा पुस्ताले आन्दोलनमार्फत व्यक्त गरेको आमूल परिवर्तनको चाहनालाई उच्च सम्मान गर्दै युवा पुस्तालाई पार्टीको हरेक तहमा आन्तरिक साङ्गठनिक संरचनादेखि राज्य सञ्चालनका राजकीय तथा सार्वजनिक निकायहरूमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र निर्णायक प्रतिनिधित्वको सुनिश्चितताको लागि नीतिगत र संरचनागत प्रबन्धसहितको व्यवस्था गर्न यो विशेष महाधिवेशनमार्फत दृढ प्रतिबद्धता व्यक्त गर्दछ ।

ग. भाद्र २३ र २४ को विद्रोहको मूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको छ । “भ्रष्ट्राचारको अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता” को त्यो आवाज तथा अभियान आम नागरिककै स्वाभाविक आवाज हो भन्ने नेपाली कांग्रेसको दृष्टिकोण छ । जेन-जी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजको सम्बोधन र संस्थागत रूप दिन आज बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने नेपाली कांग्रेसको ठहर छ । सुशासन लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै संविधानको मर्म र मूल्य-मान्यताविपरीत नगई रूपान्तरणसहित देशलाई शान्ति, स्थिरता तथा समुन्नतिको दिशातर्फ अघि बढाउन आसन्न निर्वाचन भन्दा अगाडि नै साझा राष्ट्रिय समझदारी आवश्यक छ । नेपाली कांग्रेस बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आव्हान गर्दछ । त्यसलाई परिणाममुखी बनाउन नेपाली कांग्रेस नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।

घ. नेपाली कांग्रेस विगतमा सरकार र संसदमा रहँदा सुशासन र सेवा प्रवाहका सन्दर्भमा गरेको पहलकदमी अपूर्ण भएको र प्रभावकारी ढङ्गले अगाडि वढाउन नसेकेको तथ्यप्रति आत्मआलोचित हुँदै त्यस्ता कमी-कमजोरीलाई अब नदोहो-याउने प्रतिवद्धता व्यक्त गर्दछ । सुशासनको प्रत्याभूति र विधिको शासनलाई मजबुत बनाउन राज्यका संवैधानिक निकाय, नियामक अंग र विशिष्टीकृत अनुगमनकारी संस्थाहरूको स्वायत्तता सुनिश्चित गर्दै तिनलाई दलीय राजनीतिक प्रभावबाट पूर्णतः मुक् राख्ने संकल्प गर्दछ । संवैधानिक निकाय, विश्वविद्यालय, सार्वजनिक संस्थान र सेवा प्रदायक निकायहरूमा व्याप्त राजनीतिक भागबण्डाको अन्त्य गरी ती संस्थाहरूलाई पूर्णतः व्यावसायिक, गैरदलीय र योग्यताका आधारमा सञ्चालन हुने र समावेशी प्रतिनिधित्व हुने गरी व्यापक संरचनात्मक सुधार गरिने छ ।
भ्रष्टाचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभावकारी कानून निर्माण र कानुनको कार्यान्वयन, संस्था र निकायहरूको कार्यक्षमता अभिवृद्धि, कार्यविधि सरलीकरण र सुदृढीकरण गर्दै समग्र प्रशासनिक प्रणालीलाई पारदर्शी, चुस्त र जनउत्तरदायी बनाउन नेपाली कांग्रेस दृढ संकल्प गर्दछ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?