+
+
Shares

गगन थापाको निर्णायक परीक्षा

ज्ञानेन्द्र शाहको शासनकालमा गणतन्त्रको माग उठाउँदा राजकाज मुद्दा खेप्दै अघि बढेका गगन थापालाई कांग्रेसभित्र सुधारका एजेन्डा राख्दा विद्रोह हुँदै विभाजनसम्म खेप्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

बिनु सुवेदी बिनु सुवेदी
२०८२ पुष ३० गते २२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस महामन्त्री गगन थापाले दोस्रो विशेष महाधिवेशनको समापन समारोहमा प्रश्न गर्नु आफैंमा विद्रोह भएको बताएका छन्।
  • केन्द्रीय कार्यसमितिले गगन थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।
  • गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पनि दलसँग तालमेल नगर्ने प्रस्ताव पारित भएको बताएका छन्।

३० पुस, काठमाडौं ।  दोस्रो विशेष महाधिवेशनको समापन समारोहलाई सम्बोधनमा कांग्रेस महामन्त्री गगन थापाले मंगलबार भनेका थिए- प्रश्न गर्नु आफैँमा एक विद्रोह हो ।

‘यो विद्रोह हो । प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो । प्रश्न छोडेर मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो,’ थापाले भनेका थिए।

२०७८ मा पार्टी महामन्त्री निर्वाचित भएपछि थापा अब प्रश्न सोध्ने ठाउँबाट जवाफ दिनुपर्ने ठाउँमा पुगेको प्रक्षेपण गरिएको थियो । विगतमा पार्टी, नेतृत्व, विधि र पद्दतिबारे आफैले उठाएका तमाम प्रश्नहरूबाट अब गगन थापा भाग्ने ठाउँ छैन भन्ने धेरैलाई लागेको थियो ।

उनी स्वयम् पनि पार्टीलाई गतिशील बनाउन भन्दै विभिन्न अभियानमा लागेकै थिए, कार्यतालिका बनाएरै कांग्रेसलाई डोहोर्‍याउने प्रयत्नमा थिए । पार्टीमा चरम गुटबन्दी भयो भन्दै गुटबन्दी चिर्नुपर्ने थापाको सुरूवाती जोड थियो । उसो त १४ औं महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गर्दा थापा पक्षधरहरूले चुनावी गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । तर परिस्थिति उनले भनेको जस्तो रहेन ।

कांग्रेस चुनावमा माओवादी र नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेर चुनावमा गयो । त्यसपछिको सरकारमा थापाले कहिले प्रधानमन्त्री प्रचण्डलाई सफल बनाउन सक्रिय भएर लागे त कहिले प्रधानमन्त्री ओलीलाई सफल बनाउने उच्चस्तरीय कार्यदलमा बसे । दुवै सरकारहरू कामयावी भएनन् ।

ओली सरकारका बेला भूमिसम्बन्धी ‍ऐन जस्ताको त्यस्तै अघि बढाउन नदिएर थापा सत्तापक्ष हुँदा हुँदै पनि प्रतिपक्षको कित्तामा पुगेका थिए । बीचमा केही समय सभापति देउवासँग सम्बन्ध सुधारेका थापा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको गठबन्धनपछि सभापतिसँग पनि विस्तारै टाढिन पुगे ।

थापाको जोड दुईवटा कुरामा थियो । पहिलो संसदीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग तालमेल नगर्ने, दोस्रो कांग्रेसलाई चलायमान र युवाहरूको पार्टी बनाउने ।

यसका लागि उनले पार्टीको नियमित महाधिवेशन नै पर्खिएका थिए । तर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक स्थिति बदलियो । ०८४ को निर्वाचन र पार्टीको नियमित महाधिवेशनको समय पर्खिएर बसेका गगन थापाको पनि कार्यतालिका अघि सर्‍यो ।

पुराना नेताहरूबाट देश अघि बढ्न सक्नैन भन्ने जेनजीको भावनालाई सम्मान गर्नुपर्छ र पार्टीलाई पुनर्ताजगी गर्नुपर्छ भनेर थापाले विशेष महाधिवेशनको आह्वान गरे । उनलाई पार्टीका बहुमत सदस्यहरूले समर्थन गरे ।

‘यो देश र समाजले पर्खन सकेन। कांग्रेसका आम शुभेच्छुकहरू पर्खन सक्ने अवस्थामा थिएनन्। नभए त नेपालमा भदौ २३ र २४ गतेका यी घटनाक्रमहरू हुनै हुँदैनथे,’ थापाले देउवा पक्षको कारबाही भोगेलगत्तै अनलाइनखबरसँग भने, ‘समाजले संसदको ५ वर्षको अवधि पर्खन सकेन । कांग्रेस-एमाले गठबन्धन पर्खन सकेन ।’

बारम्बारको गठबन्धन र तालमेलबाट पार्टी कार्यकर्तामा निराशा बढेको निष्कर्षसहित उनले आफ्नो समसामयिक प्रतिबेदनमा प्रस्ताव ल्याए- आगामी चुनावहरूमा कांग्रेसले कसैसँग चुनावी तालमेल गर्नेछैन ।

‘पार्टीका आदर्श र सिद्धान्तलाई तिलाञ्जली दिएर राजनीतिलाई केवल सत्ता प्राप्ति र शक्तिको स्वार्थमा केन्द्रित गर्ने, सत्तालाई नै एकमात्र लक्ष्य ठान्ने र चुनाव जित्नुलाई नै अन्तिम विजय मान्ने चरम सत्तालिप्सा र सिद्धान्तहीन प्रवृत्तिलाई हामी पूर्णतः अस्वीकार गर्दछौं,’ थापाले आफ्नो राजनीतिक प्रतिवेदनमा लेखेका छन् ।

उनको यो प्रस्ताव पारित पनि भइसेको छ । विशेष महाधिवेशनले थापालाई पार्टीको सभापति चयन गर्ने प्रक्रियामा छ । सभापति पदमा उनको एकल उम्मेदवारी छ ।। यता देउवा पक्षीय कांग्रेसले भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको उनीहरूलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । कारबाहीको निर्णय सुनाउँदै गर्दा केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिए ।

‘यतिधेरै गर्दा नि नमान्दा पूर्वनिर्धारित योजना रहेछ, पार्टी सकिन बचाउन सकिनँ,’ खड्काले बैठकमा भनेका थिए, ‘सबै यत्न प्रयत्न गर्दा पनि साथीहरूलाई मनाउन सकिनँ ।’

देउवा पक्षको निष्कासन र विशेष महाधिवेशन पक्षधरको नेतृत्व चयनका बीचमा कांग्रेस ‌औपचारिक रूपमा विभाजन भएको छ । थापाले भने कांग्रेसको चुनाव चिन्ह र चार तारा आफूहरूसँगै रहेको बताएका छन् ।

विद्रोहको पृष्ठभूमि

बहुदल प्राप्तिका लागि ०४६ सालमा आन्दोलन उत्कर्षमा पुगिरहेका बेला गगन थापा १४ वर्षका थिए । कक्षा नौ मा पढ्दै गर्दा उनी त्यस आन्दोलनमा बाल कांग्रेसका रुपमा सहभागी भए ।

०४६ को चैत २६ गते बहुदल आयो, त्यही बहुदलले गगन थापाहरूका निमित्त राजनीतिक यात्राको बाटो तय गरिदियो । त्यसयता कहिले विद्यार्थी, कहिले संसद र कहिले सरकारको मोर्चामा खरो उत्रिएका थापा विद्रोह गरेरै पार्टी सभापति निर्वाचित भएसँगै परीक्षाको अर्को चरणमा प्रवेश गरेका छन् । तर उनको राजनीति भने कहिल्यै सिधा बाटोबाट अघि बढ्न सकेन । पार्टी बाहिरबाट अनेक अड्चन त हुन्छन् नै भित्र पनि अप्ठ्याराहरू छिचोल्नु पर्‍यो ।

२०५७ सालमा नेपाल विद्यार्थी संघको उपसभापति चुनिएका गगन थापा ०५९ मा महामन्त्री भए । उनी नेविसंघमा महामन्त्री हुँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिए । त्यसबेला राजाको उक्त कदमको विरोध गर्न राजनीतिक दलहरू भन्दा पहिले विद्यार्थी संगठनहरू सडकमा ओर्लिए र त्यो आन्दोलनको नेतृत्वकर्तामध्येका एक थिए यिनै थापा ।

नेपाली कांग्रेसले गणतन्त्र र संविधानसभाका विषयमा निर्णय नगर्दै त्यो मुद्धालाई स्थापित गराउन थापाले महत्वपूर्ण भूमिका खेले । पार्टीभन्दा अघि बढेर गणतन्त्रको आन्दोलनको अग्रमोर्चामा रहँदा थापाविरुद्ध पटक-पटक राजद्रोहको मुद्दा लाग्यो ।

त्यसबेला तत्कालीन सत्ताले अत्यधिक दुख दिँदा पनि परिवर्तनका लागि उनले लिएको अडानले जितेपछि उनलाई राजनीतिमा अघि बढ्न सजिलो भयो । प्रश्न र विद्रोहको पृष्ठभूमिले उनीमाथि नागरिकको अपेक्षा पनि बढ्ने नै भयो ।

सडक आन्दोलन गर्दा र संसदबाट प्रश्न उठाउँदा थापालाई जति सहज थियो, सरकारमा गएपछि उनी काम गरेरै देखाउनुपर्ने अवस्थामा पुगे । २०७३ मा स्वास्थ्यमन्त्री नियुक्त भएपछिको नौ महिना स्वास्थ्य क्षेत्रको कायापलट नै हुनेगरी त उनले काम गर्न सकेनन्, तर सुधारका थुप्रै कदम चाले ।

उनले संघीय नेपालको स्वास्थ्य संरचनाको खाका नै तयार पारेका थिए । गठबन्धन सरकारमा स्वास्थ्यमन्त्री थापाको भूमिका धेरै उपलब्धिपूर्ण नभए पनि आशा जगाउने खालको थियो ।

२०६७ सालमा भएको पार्टीको १२ औं महाधिवेशनमा गगन थापा अत्यधिक मतसहित केन्द्रीय सदस्य निर्वाचितका थापाले ‘ पछिल्लो बेन्चमा बसेर पार्टीमा परिवर्तन ल्याउन सकिदो रैन’छ,’ १३ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिंदै गर्दा थापाले भनेका थिए । तर, उनी पराजित भए ।

पराजित भए पनि पार्टी नेतृत्वले गरेका गलत निर्णयका प्रति प्रश्न उठाए, सरकारका कामकारबाहीबारे सदनमा खबरदारी गरे । चाहे कांग्रेससहितको प्रचण्ड नेतृत्वको सरकार होस् या ओली नेतृत्वको सरकार होस् उनले गलत निर्णयहरूलाई गलत भनिरहे । प्रश्नहरू उठाइरहे ।

नरहरि आचार्यसहितका कांग्रेस नेताहरूले थालेको पार्टी सुधारको अभियानमा ०५८/०५९ बाटै संलग्न रहेका थापाले यसपालि त्यही सुधारकै लागि भनेर विशेष महाधिवेशनको नेतृत्व गरेका थिए ।

थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माका दस्ताबेजहरूमा पार्टी सुधारका लागि नै प्रस्ताव गरिएका थिए । उनीहरूको एजेण्डालाई विशेष महाधिवेशनले अनुमोदन पनि गरेको छ ।

पार्टीको मूल नेतृत्व परिवर्तन थापासहितको समूहको मूल एजेण्डा नै थियो । पार्टीको चौधौं महाधिवेशनमा उनको एजेण्डा अनुमोदन भएन । त्यसैले महामन्त्री निर्वाचन भए पनि उनले अधिक समय आन्तरिक शक्ति संघर्षसम्मै बिताउनुपर्‍यो । प्रश्नहरूको सही जवाफ नपाएपछि विद्रोहको बाटो रोजेका थापाले उनैले भनेझै ‘विष पिएर’ भए पनि पुरानै पार्टीलाई जोगाउन भने सकेनन् ।

ज्ञानेन्द्र शाहको शासनकालमा गणतन्त्रको माग उठाउँदा राजकाज मुद्दा खेप्दै अघि बढेका गगन थापालाई कांग्रेसभित्र सुधारका एजेन्डा राख्दा विद्रोह हुँदै विभाजनसम्म खेप्नुपर्ने अवस्था उत्पन्न भएको छ । यसअघिका परीक्षाहरुमा अब्बल उतिर्ण हुँदै आएका उनलाई यसपल्ट हात लागेको पुरक परीक्षा कसरी पास गर्ने हाेलान् भन्ने स्वाभाविक जिज्ञासा उठेको छ ।

बहुमत पक्षधरको साथ लिएर पार्टीको सभापति हुँदै गर्दा विभाजनको दोष कुनै न कुनै हकसम्म थापाले पनि बोक्नुपर्ने छ ।

कांग्रेस महाधिवेशन विवाद
लेखक
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?