+
+
Shares
अबिच्युरी :

‘सी इज बेटर द्‌यान मेन !’

मीना दिदी, तपाईंले कोरिदिनुभएको सुविधायुक्त गोरेटोमा तपाईँपछिका पुस्ताले पिच गर्ने कोसिस गरे; अब आउने पुस्ताले पक्कै पक्की र ठूलो बाटो बनाउनेछ भन्ने आशा गरौँ।

अमृता लम्साल अमृता लम्साल
२०८२ माघ २३ गते १९:५८

झिसमिसेमै आँखा उघारेपछि सररर सामाजिक सञ्जालमा आँखा दौडाउने बानीलाई निरन्तरता दिँदै बिहान ५ बजेतिर ‘एक्स’ खोलेँ। राजनीतिज्ञ तथा भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यको पोस्ट थियो:

‘निद्रा आएन। मीना आचार्यको सम्झना आइरह्यो। कोही बित्दा मन किन यसरी रुन्छ? मीना आचार्यसँग मेरो लामो मित्रता थियो, विद्यार्थीकालदेखिको। हामीले देशबारे निकै बहस गर्‍यौँ। देशको माया भरिएको जीवन थियो उनको। एउटा सार्थक, जुझारु, विदुषी जीवनको अन्त्य भयो। मन दुखेको छ। हार्दिक श्रद्धाञ्जली!’

डा. मीना आचार्य र नीलाम्बर आचार्य सन् १९६० सेप्टेम्बर ३ तारिखका दिन एकैपटक संसारका तत्कालीन दुई महाशक्तिमध्येको एउटा देश सोभियत सङ्घको राजधानी मस्को पुग्नुभएको कुरा उहाँले मीना आचार्यको जीवनीमा ‘मीनाको अविरल यात्रा’ शीर्षकमा लेख्नुभएको छ।

डा. मीना आचार्य, जसलाई हाम्रो पुस्ताका महिलाहरूले सम्मान र प्रेमपूर्वक ‘मीना दिदी’ को नामले सम्बोधन गर्थ्यौँ, उहाँ यो संसारमा नरहनुभएको खबर त बिहीबार राति नै पढेर र श्रद्धाञ्जलीका दुई शब्द लेखेर सुतेकी थिएँ; तर नीलाम्बर आचार्यको पोस्टले झनै भावविह्वल बनाइदियो। मीना दिदीका बारेमा उहाँले सोही पुस्तकको माथि उल्लेखित शीर्षकमा लेखेका शब्दहरू यस्ता छन्:

‘नेपालीमा प्रतिभा, क्षमता, बौद्धिकता र कर्मशीलताका सम्भावना प्रशस्त छन्। नेपालीमा देशप्रतिको माया पनि कम छैन। नेपालीले विश्वको कुनै पनि मानिससित दाँजिन सक्ने क्षमताको सम्भावना राख्छ। मीना आचार्यको जीवनले पनि यसको पुष्टि गरेको छ।’

संयोगको कुरा प्रजापरिषद् र मीना सँगसँगैजसो जन्मेका हुन्। संवत् १९९३ जेठमा प्रजापरिषद्को स्थापना भयो, १९९४ वैशाखमा मीनाको जन्म भयो। विश्वमा परिवर्तनको हावा बग्न थालिसकेको थियो। भारत आन्दोलित भइरहेको थियो। नेपालमा परिवर्तनको सूत्रपात १९९७ सालमा टङ्कप्रसाद आचार्यको पर्चाले गरेको थियो। एउटा राजनीतिक पार्टीले जनतालाई आफ्नो अधिकार लिन सीधै आह्वान गरेको थियो, राणाशाही उन्मूलन गरिने घोषणा गरेको थियो। राणा शासन तिल्मिलायो। चार जना— दशरथ चन्द, गङ्गालाल, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइयो। त्यो शहादतले २००७ सालको क्रान्तिलाई तयार पायो।

प्रजातान्त्रिक क्रान्तिपछि नेपाल विश्वका लागि खुल्न सुरु भयो। टङ्कप्रसाद आचार्यको प्रधानमन्त्रीत्वमा राजा महेन्द्रको शासनकालमा हाम्रा बाह्य सम्बन्ध गुणात्मक रूपले फराकिलो बनाइए। यो प्रक्रिया बढ्दै गयो। संसदीय निर्वाचित सरकार आयो। हामी सोभियत सङ्घ पढ्न गएको त्यही सरकारको पालामा हो। २०१७ सालको ‘कू’ ले प्रजातन्त्र मासे पनि बाह्य सम्बन्धको विस्तार बढ्दै गयो। विकासका साझेदार देशहरूको सङ्ख्या पनि बढ्दै गयो।

यति हुँदाहुँदै पनि हाम्रा सम्भावना धेरैजसो खेर गइरहेका छन्। विश्वमा हामी किन यति पछि परेका छौँ? किन यतिविधि अन्याय र असमानता छ? हाम्रा युवाहरू रोजगारीको खोजीमा किन विदेशिनु परिरहेको छ? देशभित्रका सम्भावनाहरू किन उपेक्षित भइरहेका छन्? शिक्षा, स्वास्थ्य र रोजगारी किन सबैका लागि सहज र सुलभ गराउन सकेका छैनौँ? हामी हाम्रो देश सधैँ स्वतन्त्र रह्यो भनी गर्व गर्दछौँ तर हाम्रो देश र हामी नै कति स्वतन्त्र छौँ? हाम्रा निर्णयहरू कति स्वतन्त्र हुन्छन्, सोचनीय कुरा छ। यस्ता विषयमा पनि पुस्तकमा मीना घोत्लिएको देखिन्छ।

एउटा जीवनीले अर्को जीवनीलाई अझ सुन्दर, सुखी, सार्थक, स्वतन्त्र र न्यायपूर्ण बनाउन प्रेरित गर्नुपर्छ। त्यो यो पुस्तकले गर्छ नै। त्यसबाहेक हरेक पुस्ताले र हरेक मानिसले सुख, शान्ति र समृद्धिको परिभाषा आफैँ खोज्नुपर्छ र आफैँले लागू गर्नुपर्छ भन्नेबारे मीना आफैँ एक उदाहरण हुन् भन्ने कुरा यो पुस्तक पढ्ने जो-कोहीले पनि बुझ्न सक्छ।

आत्मकथा कथा हुँदैन, लेखकको जीवनको गीत हुन्छ, समाजको जीवनको झलक हुन्छ, लेखकले भोगेअनुसारको बदलिँदो समयको परिचय हुन्छ। चिन्ता हुन्छ, आशा हुन्छ, खुसी हुन्छ, सङ्घर्ष हुन्छ, सफलता हुन्छ, असफलता हुन्छ। सबैभन्दा ठूलो कुरा सन्देश हुन्छ।

उहाँहरू सोभियत सङ्घ पुग्दाको समयलाई नेपालसित तुलना गर्दै मीना दिदीले लेख्नुभएको छ:

‘सोभियत युनियन हाम्रा लागि एकदमै फरक अनुभव थियो। त्यहाँको भौतिक पूर्वाधारको विकास, आर्थिक विकास, जीवन जिउने तरिका लगायतका कुराले हामीलाई अचम्मित पार्थ्यो। नेपालमा सार्वजनिक धारा, पँधेरो, ढुङ्गेधाराबाट पानी ल्याएर खानुपर्थ्यो। हाम्रो जस्तो परिवारमा गुइँठा/दाउरा र भुस बालेर चुलोमा खाना पकाउनुपर्थ्यो। बिजुली बत्ती नाम मात्रैको थियो। बिजुली बत्तीसँगै लालटिन पनि बाल्नुपर्थ्यो। यातायात र सडकको त कुरै नगरौँ। त्यस्तो वातावरण र परिस्थितिमा हुर्किएका हामी सोभियत युनियनको विकास देखेर एक किसिमले छक्क परेका थियौँ। त्यसो त म सोभियत युनियन जानुभन्दा केही वर्षअघि दिल्लीमा बसेर पढेकी पनि हुँ। त्यहाँको विकास र महिलाको अवस्थालाई सूक्ष्म रूपमा केलाउन सक्ने भइसकेकी थिइनँ। विकास र समृद्धिको दृष्टिले त्यस समय नेपाल र भारतको तुलनामा सोभियत युनियन त कति अगाडि हो कति! कुरा गरी साध्य छैन।’

मीना दिदीको कथा आफूपछिका पुस्ताहरूका लागि अथाह सन्देश हो; जसबारेमा सिक्न र उहाँको काम बुझ्न जीवनको कैयौँ वर्ष खर्चिनुपर्छ। डा. मीना आचार्यको यही माघ २२ गते बिहीबार निधन भएको थियो। उहाँ भौतिक रूपमा हामीबिच नरहेको खबरले धेरैलाई स्तब्ध तुल्यायो; तर उहाँको हालैको स्थितिबारे को-कति जानकार थिए, थाहा भएन। समाचारहरूमा उहाँबारे त्यति चर्चा र चासो भएको जस्तो पनि लाग्दैन। उहाँ आफैँले आफ्नो स्थिति थाहा पाउन नसक्ने अवस्थामा चुपचाप बिछौनामा ढलिरहनुभएको थियो।

हाम्रो बानी नै छ- बाँचुन्जेल व्यक्तिलाई परित्यक्त जसरी छाडिदियो, मरेपछि गुणगान गायो। आफैँलाई पनि यी हरफहरू लेखिरहँदा त्यस्तै गरियो कि जस्तो आत्मग्लानि भइरहेछ। हुन त यो समाज र राष्ट्रले उहाँले पाउनुपर्ने जति मान-सम्मान कति दियो वा दिएन, त्यसको मूल्याङ्कन हुँदै गर्ला! तर उहाँ यो देशको अमूल्य प्राज्ञिक धरोहर हुनुहुन्थ्यो।

उहाँले आफ्नो जीवनको २५ वर्ष (सन् १९६६ देखि १९९० सम्म) नेपाल राष्ट्र बैंकको अनुसन्धान अधिकृत, प्रमुख आर्थिक सल्लाहकार र विकास वित्त विभागको प्रमुख भएर बिताउनुभयो; तर अन्त्यमा उहाँलाई डेपुटी गभर्नर हुन दिइएन। त्यसबारे उहाँले आफ्नो आत्मकथा ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’ मा लेख्नुभएको छ:

‘३० वर्ष लामो निरङ्कुश पञ्चायती व्यवस्था खेपेका नेपाली जनता प्रजातन्त्रको पुनर्बहालीले आल्हादित भएका थिए। दुःखको कुरा, राजनीतिक निरङ्कुश व्यवस्थाको अन्त्य त भयो तर मान्छेभित्रको निरङ्कुशता र सामन्तीपन जस्ताको तस्तै रह्यो। नेपाल राष्ट्र बैंकमा म डेपुटी गभर्नर पदका लागि योग्य थिएँ। तर मलाई बन्न दिइएन। ‘तपाईँलाई किन गभर्नर बन्नुपर्‍यो? अनुसन्धान विभागको हाकिम भएर बसे भइहाल्यो नि’ भन्दै अवकाश भइसकेका मान्छेलाई गभर्नर बनाइयो। मलाई उनीहरूको तरिका ठीक लागेन। मलाई डेपुटी गभर्नर नबनाउनुको मुख्य कारण त्यस समय समावेशीकरणको सवाल बलियोसँग उठिसकेको थिएन।

त्यसबखत तराईका मानिसहरू विभेदित गनिएका थिए। क्षमता र योग्यताको कदर गर्ने हो भने म प्रतिस्पर्धी पुरुषहरूभन्दा कुनै कुरामा कम थिइनँ। तर पनि मलाई डेपुटी गभर्नर बन्न दिइएन। लैङ्गिक समानताको विषयले प्रवेश पाएन। विभेद सहेर मलाई जागिर खाइरहन मन लागेन। त्यसैले राजनीतितर्फ लाग्ने मनसायले २०४० को दशकको अन्त्यमा मैले राष्ट्र बैंकबाट राजीनामा दिएँ।’ (पृष्ठ १६८)

त्यही राष्ट्र बैंकका पूर्वगभर्नर कुलशेखर शर्माले मीना दिदीका बारेमा कुनै बेला ‘सी इज बेटर द्‌यान मेन’ भनेर रेफरेन्स लेटर लेख्नुभएको थियो। यसको प्रसङ्ग मीना दिदीको आत्मकथामा यसरी लेखिएको छ:

‘प्रत्येक वर्ष पालैपालो विभिन्न सदस्य राष्ट्रहरूमा आयोग बैठकमा म आक्कलझुक्कल सहभागी हुन थालेँ। यी सहभागिताले मेरो ज्ञानको क्षेत्रलाई फराकिलो बनाइदियो। इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण कोरियामा आयोजना गरिएका बैठकहरूमा सहभागी भएँ। मलेसियामा सञ्चालन गर्न लागेको कोर्समा निमन्त्रणा आएको रहेछ। उक्त कार्यक्रममा डेपुटी चिफका लागि निम्तो थियो। कुलशेखर शर्माजी नेपाल राष्ट्र बैंकको गभर्नर हुनुहुन्थ्यो। ‘सी इज बेटर द्यान मेन’ (उनी पुरुषभन्दा अब्बल छिन्) भनेर लेखेर पठाइदिनुभयो। उनीहरूले राष्ट्र बैंकको निर्णय स्वीकार गरे। म डेढ महिनाका लागि मलेसिया गएँ र सदस्य राष्ट्रहरूबाट आएका सहभागीहरूका लागि सञ्चालित डेपुटी प्रिन्सिपलको सफलतापूर्वक काम गरेँ।’ (पृष्ठ १२६-१२७)

उहाँले सन् १९८० को दशकमा विश्व बैंक, वासिङ्टनमा समेत काम गर्नुभएको थियो; जुन बेला नेपालका प्राज्ञिक पुरुष वा अर्थशास्त्रीहरूले पनि त्यहाँ गएर काम गर्ने क्षमता कमै राख्दथे। उहाँ नारीवादी अर्थशास्त्रीहरूको अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेसनल एसोसिएसन फर फेमिनिस्ट इकोनोमिक्स’ को बोर्ड सदस्य हुनुहुन्थ्यो भने १९९० को सुरुतिर नीति अध्ययन गर्ने संस्था ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) को कार्यकारी निर्देशकसमेत हुनुहुन्थ्यो।

आईआईडीएसकै सन्दर्भमा कुरा गर्दा, त्यहाँ पनि उहाँलाई सम्मान दिन झन्डै कन्जुस्याइँ नभएको होइन। यसबारेमा हाल त्रिविकी भिजिटिङ प्रोफेसर डा. सुचेता प्याकुरेलको सम्झना यस्तो छ:

‘मैले डा. मीना आचार्यको परिचय पाएको झन्डै ४० वर्षअगाडि हो। उहाँ ‘विमेन इन डेभलपमेन्ट’, ‘विमेन एन्ड डेभलपमेन्ट’ का किताबका सिरिज निकाल्ने क्रममा हुनुहुन्थ्यो। त्यतिबेला म केटाकेटी नै थिएँ; तर उहाँको नाम बारम्बार सुनिरहन्थेँ। पछि म २०/२२ वर्षको हुँदा जेन्डर स्टडिजको डिप्लोमा पढ्दाखेरि उहाँका कृति पढ्ने मौका पाएँ। नेपालको जेन्डरसम्बन्धी अध्ययनको सिलसिलामा डा. आचार्यका किताबहरू ज्यादै महत्त्वपूर्ण हुन्थे।’

डा. सुचेता प्याकुरेल डा. मीना आचार्यजस्तो व्यक्ति आईआईडीएसमा कुनै समय निर्देशक हुनुहुन्थ्यो भन्ने प्रेरणाले नै आफू आईआईडीएसमा काम गर्न पुगेको बताउनुहुन्छ। उहाँका अनुसार आईआईडीएसमा नयाँ संरचनाहरू बनिसकेपछि कोठाहरू क-कसको नाममा समर्पित गर्ने भन्ने कुरा आयो; त्यसमा डा. मीना आचार्यलाई बोलाएर उद्घाटन गर्ने भन्नेचाहिँ भयो, तर उहाँको नाममा कुनै संरचना पनि समर्पित गरिएन।

उहाँ भन्नुहुन्छ, ‘पछि यसबारे डा. विश्वास गौचन, भारती सिलवाल गिरी र म बसेर कुराकानी गर्दा भारतीजी र मैले जोड गरेर आईआईडीएसमा एउटा लाइब्रेरी खोल्ने र त्यो मीना आचार्यको नाममा समर्पित गर्ने निर्णय गर्‍यौँ। जुन दिन ‘डा. मीना आचार्य लाइब्रेरी फर इन्टरसेक्सनल स्टडिज’ खुल्यो, त्यो दिन मनभित्रबाट एउटा गर्वबोध र सन्तोषको अनुभूति भयो। उहाँले लाइब्रेरीलाई दिनुभएको किताबहरू ल्याएर त्यहाँ राख्न पाउनु पनि ठूलो खुसीको कुरा थियो। कमसेकम हामीले उहाँको योगदानलाई पहिचान गर्न सक्यौँ जस्तो लाग्यो।’

आर्थिक पत्रकारिताको एउटा खम्बाका रूपमा परिचित पत्रकार गजेन्द्र बुढाथोकी मीना दिदीका बारेमा भन्नुहुन्छ:

‘नेपालको विकास अर्थतन्त्रमा डा. मीना आचार्य अत्यन्तै सम्मानित नाम हो। हामी अर्थतन्त्रका सिकारु अनुसन्धानकर्ताहरूका लागि उहाँ आफैँमा एउटा संस्था (इन्स्टिच्युसन) नै हुनुहुन्थ्यो। नेपालको पहिलो महिला अर्थशास्त्री डा. आचार्यलाई प्रायले मीना दिदी भन्ने गरे पनि म भने गुरुमा भन्ने गर्थेँ। उहाँ नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुखदेखि विश्व बैंकमा आर्थिक सल्लाहकारसमेत रहनुभयो। सन् १९७० को दशकको मध्यदेखि सन् १९८० को दशकमा राष्ट्र बैंकको उच्च तहमा पुग्ने उहाँ पहिलो महिला हुनुहुन्थ्यो। उहाँका शोधपत्रहरू अहिलेका विश्वका गिनेचुनेका अर्थशास्त्रीहरूका शोधकै हाराहारीमा छन्।’

मीना दिदीलाई सम्झँदै अर्की महिलावादी अभियन्ता भारती सिलवाल गिरी लेख्नुहुन्छ:

‘मीना दिदी अन्तर्राष्ट्रिय रूपमा प्रशंसित नारीवादी अर्थशास्त्री, शिक्षाविद् र अग्रणी हुनुहुन्थ्यो। उहाँको देहावसानले एक युगको अन्त्य भएको सङ्केत गर्दछ। उहाँ जति स्पष्ट हुनुहुन्थ्यो, उति नै निडर पनि। अरूले उहाँका बारेमा के भन्छन् भन्ने कुरामा उहाँ वास्ता गर्नुहुन्नथ्यो। उहाँ कुनै डर वा पक्षपात सहने व्यक्ति हुनुहुन्नथ्यो।’

मीना दिदी सुरुमा लैङ्गिक दृष्टिकोणबिनाको अर्थशास्त्री हुनुहुँदो रहेछ। उहाँले सन् १९७५ मा नेपालको महिला आन्दोलनलाई केन्द्रमा राखेर लेखेको कार्यपत्र नै महिलासम्बन्धी पहिलो कार्यपत्र रहेछ। उहाँकै शब्दमा: ‘कार्यपत्र तयार पार्न मैले इस्टर बोसरपको ‘विमिन्स रोल इन इकोनोमिक डेभलपमेन्ट’ पुस्तक पढेँ। तथ्याङ्क केलाएँ। यसले मेरो व्यावसायिक कार्यदिशामा एउटा मोड ल्यायो। महिला मुक्तिको आन्दोलनमा मेरो यो पहिलो पाइला थियो। सेडाबाट सन् १९७७ मा प्रकाशित ‘विमेन एन्ड डेभलपमेन्ट’ पुस्तकमा मेरो कार्यपत्र ‘आर्थिक विकासमा महिलाको भूमिका’ समावेश छ।’

महिलाले घरमा गर्ने कामको आर्थिक मूल्याङ्कन गर्ने समाज अहिले त छैन भने ऊबेलामा कहाँ हुनु! त्यसै सन्दर्भमा उहाँलाई तत्कालीन अर्थसचिवले भन्नुभएछ, ‘देशको अर्थतन्त्र हाँकेर बसेको मान्छे महिलाले घरमा भात पकाउन कति समय लगाउँछन् भनेर किन हेर्नुपर्‍यो!’

उहाँ लेख्नुहुन्छ, ‘यस घटनाले स्पष्ट पार्दछ, त्यस समयका नेपालका कहलिएका अर्थशास्त्रीहरू पनि देशको अर्थतन्त्रमा नेपाली महिलाको योगदानबारे कति अनभिज्ञ रहेछन् भनेर। मैले र विना प्रधानले गरेको अध्ययनअन्तर्गत हामीले १४ वटा पुस्तक निकाल्यौँ। हाम्रो यो कामले निकै प्रशंसा पायो।’

आदरणीय मीना दिदी, तपाईंले कोरिदिनुभएको सुविधायुक्त गोरेटोमा तपाईँपछिका पुस्ताले पिच गर्ने कोसिस गरे; अब आउने पुस्ताले पक्कै पक्की र ठूलो बाटो बनाउनेछ भन्ने आशा गरौँ। त्यही बाटो नै यहाँप्रति हार्दिक श्रद्धाञ्जली हुनेछ।

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?