+

यस्तो छ फिफा विश्वकप २०२६ खेल्ने ४८ राष्ट्रको अन्तिम स्क्वाड

२०८३ जेठ  १९ गते २२:४२ २०८३ जेठ १९ गते २२:४२
यस्तो छ फिफा विश्वकप २०२६ खेल्ने ४८ राष्ट्रको अन्तिम स्क्वाड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफाले सन् २०२६ को विश्वकपका लागि सहभागी ४८ राष्ट्रका १ हजार २४८ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ ।
  • यस पटकको विश्वकपमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानले ऐतिहासिक डेब्यु गर्दै छन् ।
  • अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो कीर्तिमानी छैटौँ पटक विश्वकप खेल्ने अभियानमा छन् ।

१९ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ नजिकँदै गर्दा कुन कुन राष्ट्रबाट कुन खेलाडीले खेल्दैछन् भन्ने चासो र कौतुहलता थियो ।

तर अब फिफाले विश्वकप खेल्ने ४८ वटै राष्ठ्रको अन्तिम टोली (स्क्वाड) को सूची सार्वजनिक गरिपछि त्यो कौतुहलता मेटिएको छ ।

२३औं संस्करणको फिफा विश्वकप जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा हुँदैछ । विश्वकप सुरु हुन ९ दिन मात्र बाँकी रहँदा सबै ४८ राष्ट्रको अन्तिम टोलीमा रहेका खेलाडीको सूची सार्वजनिक भएको छ ।

यो सूचीले प्रतियोगिताकै सबैभन्दा रोमान्चक माइलस्टोनमध्ये एकलाई प्रतिनिधित्व गर्ने फिफाले जनाएको छ ।

पहिलो पटक तीन राष्ट्रमा आयोजना हुन लागेको फिफा विश्वकपमा अहिलेसम्मकै धेरै १०४ खेल हुनेछ । त्यसमा पहिलो पटक ४८ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दैछन् भने कूल १ हजार २४८ खेलाडी यस विश्वकपका लागि घोषित टोलीमा छन् ।

विश्वकपको यो संस्करण विश्वव्यापी फुटबलका लागि एक ऐतिहासिक मोड बनेको र यसले पहिलेभन्दा धेरै राष्ट्र, खेलाडी र तिनका प्रशंसकहरूका लागि ढोका खोलेको फिफाको उल्लेख गरेको छ ।

४८ राष्ट्रको अन्तिम टोलीको सूचीले प्रतियोगिताको विशालता र स्थायी आकर्षणलाई जोड दिने फिफाले जनाएको छ ।

फिफाका अनुसार यसअघि कम्तीमा पनि एक पटक फिफा विश्वकप खेलेका ३५७ खेलाडी यस पटक पनि विश्वकप खेल्ने टिममा छन् । यस्तै ८९१ खेलाडीहरु पहिलो पटक विश्व फुटबलको महाकुम्भको अनुभव लिनका लागि तयारी अवस्थामा रहेका छन् ।

यसले विश्वव्यापी खेलमा निरन्तरता र नवीकरण दुवैलाई उजागर गरेको फिफाको दावी छ ।

यस विश्वकपमा सहभागि हुने खेलाडीहरूको उमेरको भिन्नता पनि रोचक छ ।

विश्वकपमा घोषित टोलीमा रहेका मध्ये सबैभन्दा जेठा खेलाडी (स्कटल्याण्डका क्रेग गोर्डन – ४३ वर्ष १६२ दिन) र सबैभन्दा कान्छा खेलाडी (मेक्सिकोका गिल्बर्टो मोरा – १७ वर्ष २४० दिन) बीच २५ वर्षभन्दा बढीको अन्तर छ ।

प्रतियोगिताको सुरुमा २० वर्षभन्दा कम उमेरका कुल २२ खेलाडी र ४० वर्ष वा सोभन्दा बढी उमेरका ७ खेलाडीहरूले मैदानमा उत्रन सक्छन । यस्तै फिफा विश्वकप जितेका २२ खेलाडीहरु पनि यस पटक विश्वकप खेल्ने टिममा छन् ।

फुटबलको यो प्रतिष्ठित प्रतियोगितामा स्थापित स्टारहरूको पुनरागमनसँगै चार नयाँ राष्ट्र पनि विश्वकपमा डेब्यु गर्ने तयारीमा छन् ।

केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानले पहिलो पटक फिफा विश्वकपको अनुभव लिँदैछन् ।

यस पटकको एउटा मुख्य आकर्षण उज्वेकिस्तानको विश्वमञ्चमा ऐतिहासिक पहिलो उपस्थिति हो । जहाँ म्यानचेस्टर सिटीका अब्दुकुदिर खुसानोभ जस्ता उदीयमान ताराहरूले आफ्नो देशको सपना साकार पारिरहेका छन् ।

नयाँ पुस्ताका खेलाडीहरूका अन्य आकर्षणहरूमा फ्रान्सका वारेन जेयर-एम्री, न्युजिल्याण्डका फिन सुरम्यान र मोरक्कोका बिलाल एल खानौस लगायत धेरै छन् ।

यस्तै अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआ कीर्तिमानी छैटौँ फिफा विश्वकप खेल्ने टिममा छन् । मेसी र रोनाल्डोले यस विश्वकप खेल्दै छैटौं पटक विश्वकप खेल्ने कीर्तिमान बनाउने अभियानका छन् ।

यस पटक फिफा विश्वकपमा सहभागि खेलाडीको सूची हेर्दा यसले आधुनिक फुटबलको विश्वव्यापी स्वरूपलाई पनि प्रष्ट झल्काएको छ ।

फिफा विश्वकप २०२६ मा ७१ देशका ४४९ विभिन्न क्लबहरू प्रतिनिधित्व गरिरहेका छन् । जसमा एसियाबाट १४, अफ्रिकाबाट ६, कन्काकाफबाट ७, कोन्मेबोलबाट ८, ओसियानाबाट १  र युरोपबाट ३५ क्लबका खेलाडीहरु छन् ।

यसैगरी कतार र साउदी अरेबियाका टोलीहरू पूर्ण रूपमा घरेलु लिगका खेलाडीहरूबाट बनेका छन् । दुवै टिममा २६ मध्ये २५ खेलाडी घरेलु लिगबाट छन् भने अर्कोतर्फ केप भर्डे, कंगो डीआर,  आइभरीकोस्ट, कुराकाओ, सेनेगल र उरुग्वे जस्ता राष्ट्रको अन्तिम टोलीमा विदेशी लिगमा खेलेका खेलाडीहरु मात्र समावेश छन् ।

यस्तै प्रशिक्षकतर्फ घानाका पोर्चुगिज प्रशिक्षक कार्लोस क्विरोजले लगातार पाँचौँ फिफा विश्वकपमा प्रशिक्षण दिँदैछन् । उनले यसअघि २०१० मा पोर्चुगल र २०१४, २०१८ तथा २०२२ मा इरानको नेतृत्व गरिसकेका छन् । उनी बोरा मिलुटिनोभिच (१९८६-२००२) पछि लगातार पाँचवटा विश्वकपमा देखिने दोस्रो प्रशिक्षक हुनेछन् ।

फिफा विश्वकप २०२६ खेल्ने ४८ वटै राष्ट्रले जुन १ सम्म आफ्नो अन्तिम टोली फिफामा बुझाएपछि फिफाले मंगलबार सम्पूर्ण टोलीको सूची सार्वजनिक गरेको हो ।

फिफा विश्वकप २०२६ को नियमावली अनुसार, कुनै पनि टोलीको पहिलो खेल सुरु हुनभन्दा २४ घण्टा अघिसम्म गम्भीर घाइते वा बिरामी भएको खण्डमा मात्र खेलाडी परिवर्तन गर्न पाइनेछ भने अन्य अवस्थामा फिफाद्वारा स्वीकृत हुनुपर्नेछ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय