+

एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै नेपाल समूहविजेता

२०८३ जेठ  २१ गते १५:३६ २०८३ जेठ २१ गते १५:३६
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै नेपाल समूहविजेता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले मलेसियालाई १६७ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ ।
  • नेपाली ओपनर कुशल भुर्तेल लगातार दुई टी-२०आई शतक बनाउने पहिलो नेपाली र विश्वकै १०औं खेलाडी बनेका छन् ।
  • नेपालले प्रस्तुत गरेको २७६ रनको लक्ष्य पछ्याएको मलेसियालाई १०८ रनमा रोक्दै नेपाल समूह 'ए' को विजेता बनेको छ ।

२१ जेठ, काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

बिहीबार भएको खेलमा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै समूह ‘ए’ को विजेता बनेको छ । नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनायो ।

कप्तान सायद अजिजले सर्वाधिक ५४ रन बनाउनुबाहेक अन्य ब्याटरबाट उल्लेख्य प्रदर्शन हुन सकेन । शर्विन मुनियान्डीले १८ तथा मुहम्मद हाजिकले १३ रन बनाए ।

नेपालका लागि शेर मल्लले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १-१ विकेट लिए ।

त्यसअघि ओपनिङ ब्याटर कुशल भुर्तेलको कीर्तिमानी शतक मद्दतमा नेपालले विशाल योगफल खडा गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो । भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रन बनाए । अर्का ओपनर आसिफ शेखले २४ बलमा ६८ रन बनाए ।

टी-२०आईमा भुर्तेलले लगातार दोस्रो तथा करियरको तेस्रो शतक प्रहार गरेका हुन् । भुर्तेलले यही प्रतियोगिताको पहिलो खेलमा चीनविरुद्ध ३५ बलमा शतक प्रहार गरेर ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए ।

मलेसियासँग उनले ४४ बलमा शतक प्रहार गरे । भुर्तेल लगातार दुई टी-२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् । यस्तै समग्रमा विश्वको १०औं खेलाडी हुन् । कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाए ।

मलेसियाका लागि विरानदीप सिंहले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । विजय उन्नी र सायद अजिजले २-२ विकेट लिए ।

नेपालले चीनविरुद्ध २२१ रनको अर्को विशाल जित निकालेको थियो ।

समूह ए मा नेपालसँगै मलेसिया र चीन थिए । चीनलाई नेपाल र मलेसिया दुवैले हराएका थिए । नेपाल र मलेसिया दुवै‌ सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

एसियन गेम्स क्रिकेट छनोट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय