+

डीएभी र सैनिक आवासीय यू-१६ क्रिकेटको सेमिफाइनलमा

२०८३ जेठ  २३ गते १९:२३ २०८३ जेठ २३ गते १९:२३
डीएभी र सैनिक आवासीय यू-१६ क्रिकेटको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जयकुमारनाथ शाह स्मृति यू–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगितामा डीएभी र सैनिक आवासीय महाविद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।
  • पहिलो क्वाटरफाइनल खेलमा डीएभीले केएमसी स्कुललाई ९४ रनले पराजित गर्दा कुञ्जन आचार्यले ६ विकेट लिए ।
  • अर्को खेलमा सैनिक आवासीयले अपी स्कुललाई १ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

२३ जेठ, काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगितामा डीएभी सुशील केडिया विश्व भारती स्कुल र सैनिक आवासीय महाविद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डीएभीले केएमसी स्कुललाई ९४ रनले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । टोलीका लागि आरुष झाले ४६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।

कमल शाहीले ४१ तथा प्रसिद्ध जैशीले १८ बलमा २६ रनको योगदान दिए । केएमसीका श्रीजल भट्टले २ तथा अमितकुमार दासले १ विकेट लिए।

१५८ रनको लक्ष्य पछ्याएको केएमसी १३.२ ओभरमा ६३ रनमा समेटियो । अमितकुमार दासले १५ तथा विधान सापकोटाले ११ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्‍याउन सकेनन् ।

डीएभीका कुञ्जन आचार्यले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ६ विकेट लिए । केशव अग्रवाल, तनिष शाह, प्रसिद्ध जैशी र कमल शाहीले समान १–१ विकेट हात पारे । कुञ्जन आचार्य ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

यस्तै शनिबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा सैनिक आवासीय महाविद्यालयले अपी स्कुललाई १ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको अपी स्कुल १९.२ ओभरमा ८३ रनमा अलआउट भयो । अपीका युगान्त कार्कीले सर्वाधिक ३४ रन बनाए भने कुसुम प्रसालले १२ रन जोडे । सैनिक आवासीयका आभाष केसीले ३ तथा सफल पौडेलले २ विकेट लिए ।

८४ रनको लक्ष्य पछ्याएको सैनिक आवासीयले निकै रोमाञ्चक खेलमा १९.५ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । सुशान्त नेपालले २४ तथा आभाष केसीले अविजित २० रन बनाए ।

अन्तिम समयमा शुभव बिष्टले ३ बलमा अविजित ९ रन जोड्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

अपीका एकेन्द्र बुढाले ३ तथा सृजल कार्कीले २ विकेट लिए । आभाष केसी ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए ।

डीएभीले अब सेमिफाइनलमा मोक्षदा स्कुल र जेम्स स्कुलबीचकाे विजेतासँग साेमबार खेल्नेछ । यस्तै, सैनिकले नेपाल पुलिस स्कुल र रत्नराज्य माध्यमिक विद्यालयबीचकाे विजेतासँग खेल्नेछ ।

आगामी जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

जयकुमारनाथ शाह मेमोरियल यू–१६ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय