News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको शिकागो विमानस्थलमा इराकी फुटबल खेलाडी अयमान हुसेनलाई करिब ७ घण्टा रोकेर सोधपुछ गरेपछि मात्र प्रवेश अनुमति दिइएको छ ।
- इराकी टोलीका फोटोग्राफर तलाल सलाहलाई भने १० घण्टाभन्दा बढी सोधपुछ गरी अमेरिका प्रवेशमा रोक लगाइएको छ ।
- ४० वर्षपछि विश्वकपमा फर्किएको इराकले सन् २०२६ को विश्वकपमा फ्रान्स, सेनेगल र नर्वेसँग प्रतिस्पर्धा गर्दैछ ।
२४ जेठ, काठमाडौं । इराकी फुटबलर अयमान हुसेनलाई अमेरिका पुग्दा शिकागोको ओ’हारे विमानस्थलमा करिब ७ घण्टासम्म रोकिएर सोधपुछ गरिएको छ ।
इराकी खेलकुद अधिकारीका अनुसार, हुसेनलाई लामो समय सोधपुछपछि अन्ततः देश प्रवेश गर्न अनुमति दिइयो । तर टोलीसँगै आएका फोटोग्राफरलाई भने अमेरिका प्रवेश गर्न दिइएन ।
अधिकारीका अनुसार, हुसेनको मोबाइल फोन पनि जाँच गरिएको थियो । त्यस्तै, टोलीका फोटोग्राफर तलाल सलाहलाई १० घण्टाभन्दा बढी समय रोकिएर सोधपुछ गरिएको र अन्ततः उनलाई प्रवेश अस्वीकृत गरिएको बताइएको छ ।
इराक फुटबल संघ वा खेलाडी हुसेनले यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । अमेरिकी आप्रवासन तथा सुरक्षा निकायले पनि यसबारे आधिकारिक टिप्पणी गरेको छैन ।
अयमान हुसेन इराकका मुख्य स्ट्राइकर हुन्, जसले टोलीलाई विश्वकपमा छनोट हुन महत्त्वपूर्ण भूमिका खेलेका थिए । इराक ४० वर्षपछि पहिलो पटक विश्वकपमा फर्कँदैछ।
टोलीमा इप्सविच टाउनका अली अल-हमादी लगायतका युवा खेलाडीहरू पनि छन् । इराकले समूह चरणमा फ्रान्स, सेनेगल र नर्वेसँग खेल्नेछ ।
विश्वकप २०२६ क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुँदैछ, जुन प्रतियोगिता केही दिनमै सुरु हुने तयारीमा छ ।
प्रतिक्रिया 4