News Summary
Generated by OK AI. Editorially reviewed.- तेस्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा १ हजार ३६ अंक प्राप्त गरी नेपाल प्रहरी टिम च्याम्पियन बनेको छ ।
- प्रतियोगितामा ७ सय ७८ अंक जोडेको निसर्ग वाटिका स्कुल दोस्रो र ५ सय ७६ अंकसहित एपीएफ क्लब तेस्रो स्थानमा रहे ।
- दुई दिनसम्म सञ्चालित उक्त पौडी प्रतियोगिताका विभिन्न स्पर्धाहरूमा कुल ९ वटा नयाँ राष्ट्रिय कीर्तिमानहरू बनेका छन् ।
२४ जेठ, काठमाडौं । नेपाल प्रहरी तेस्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । प्रहरी १ हजार ३६ अंक जोड्दै टिम च्याम्पियन बनेको हो ।
काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगितामा ७ सय ७८ अंकसहित निसर्ग वाटिका स्कुल दोश्रो भयो । तेश्रो स्थानको एपिएफ क्लबले ५ सय ७६ अंक जोड्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
सातदोबाटोस्थित आउडडोर पौडी पोखरीमा भएको प्रतियोगिताको पुरुषमा एपीएफका जोडेन श्रेष्ठ र प्रहरीका इर्भिन श्रेष्ठ तथा महिलामा प्रहरीकी देभान्सी जोशी उत्कृष्ट खेलाडी घोषित भए । जाडेन र इर्भिनले समान ३–३ स्वर्ण तथा देभान्सीले ९ स्वर्ण र २ कांस्य जिते । उत्कृष्ट खेलाडीले जनही १५ हजार नगद पुरस्कार पाए ।
दुईदिने प्रतियोगितामा जम्मा ९ राष्ट्रिय कीर्तिमान बने । जाडेन श्रेष्ठले ३ तथा देभान्सी जोशी, सिशम्भुन राई, इरा अमात्य, सौरेनबहादुर सिंह, अभिभ प्रधान र डुवाना लामाले १–१ राष्ट्रिय कीर्तिमान बनाए । प्रत्येक कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो ।
विजेतालाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, प्रतियोगिता संयोजक उमेश प्रधानलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ९४ पुरुष तथा ७८ महिला गरी १ सय ७२ खेलाडीले प्रतिस्पर्धा गरेको पौडी संघका सचिव गंगालाल गोलेले जनाएका छन् ।
प्रतिक्रिया 4