News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतमा रहेर नेपाली साहित्यको प्रवर्धनमा सक्रिय डा. सङ्गीता श्रेष्ठ 'स्वेच्छा'को अङ्ग्रेजी कथा सङ्ग्रह 'रोज ओडेसी' प्रकाशित भई चर्चामा रहेको छ ।
- नेपाली साहित्यलाई विश्व साहित्यमा चिनाउन र जोड्न आजको पुस्ताले ठोस आधार तयार गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
- विगत १० वर्षदेखिको नियमित ध्यान र पौडीको अभ्यासले आफूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न सहयोग पुगेको उहाँले खुलाउनुभयो ।
बेलायतमा बस्दै आएकी डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ कवयत्री, उपन्यासकार, अुनवादक र सम्पादक हुन् । परदेशमा रहेर नेपाली साहित्यको प्रवर्धनमा काम गरिरहेकी उनले १८ वर्षको उमेरमा नै आफ्नो पहिलो उपन्यास लेखेकी थिइन् । केही समयअगाडि प्रकाशित उनको अंग्रेजी कथा संग्रह रोज ओडेसी निकै चर्चामा रहेको थियो ।
यस पटक उनै संगीता स्वेच्छासँग अनलाइनखबरले दिलै खोलेर कुराकानी गरेको छ ।
१. हिजोआज
पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
मेरा आगामी साहित्यिक परियोजनाहरू नै हुन् खुसी दिएको कुरा त । यस वर्ष प्रकाशनको तयारीमा रहेका केही पुस्तकहरू छन् । तिनलाई पाठकमाँझ ल्याउने प्रक्रियाप्रति म निकै उत्साहित छु । नयाँ पुस्तकहरू र साहित्यिक योजनाहरूले सधैं ऊर्जा र प्रेरणा दिन्छन् । अहिलेको उत्साह पनि त्यहीसँग जोडिएको छ ।
दिक्क बनाएको कुरा ?
सोसल मिडियामा देखिएको विकृति अनि सोसल मिडियाप्रतिको आशक्ति देखेर दिक्क लाग्छ, बेलाबेला । त्यहाँ आफ्ना नितान्त: व्यक्तिगत कुराहरू झन् बढी पोखिइन थालिएको हो कि र यो कुरा झन्–झन् सामान्य हुँदै गएको हो कि !
अचेल सबैभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
अहिले मलाई सबैभन्दा रोचक लागिरहेको विषय भनेको प्रविधि र मानवीय सिर्जनशीलताको सम्बन्ध हो । एआईको विकासले हाम्रो काम गर्ने तरिका, सोच्ने शैली र भविष्यका सम्भावनाबारे नयाँ बहसहरू सिर्जना गरिरहेको छ ।
व्यक्ति विशेषको कुरा गर्दा आफ्नै ठाउँबाट अर्थपूर्ण योगदान गरिरहेका साधारण मानिसहरूको कथा मलाई बढी रोचक लाग्छ।
नेपाली समाजको सबैभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
नेपाली समाजको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो विविधता र एकअर्काप्रतिको आत्मीयता हो । फरक भाषा, संस्कृति र समुदाय हुँदाहुँदै पनि सामाजिक सम्बन्धलाई महत्व दिने हाम्रो संस्कार ठूलो शक्ति हो । नराम्रो पक्ष भन्नुपर्दा, अझै पनि कतिपय अवस्थामा व्यक्तिको क्षमता र मेहेनतभन्दा उसको पृष्ठभूमि, लिंग वा चिनजानका आधारमा मूल्यांकन गर्ने प्रवृत्ति देखिन्छ । समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि यो सोचमा परिवर्तन आवश्यक छ ।
पत्रपत्रिका र अनलाइन कतिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
म नियमित रूपमा पत्रपत्रिका र अनलाइन समाचार माध्यमहरू हेर्ने गर्छु । पत्रकारिताप्रतिको रुचि र सञ्चार तथा मिडिया विमर्शसम्बन्धी मेरो अनुसन्धानका कारण पनि म समाचारको विषयवस्तु मात्र होइन, मिडियाले कुनै घटना वा मुद्दालाई कसरी प्रस्तुत गर्छ, कुन दृष्टिकोणलाई प्राथमिकता दिन्छ र कुन आवाजहरूलाई समेट्छ वा छुटाउँछ भन्ने पक्षलाई पनि चासोका साथ हेर्ने गर्छु ।

पत्रकारिता केवल समाचार दिने माध्यम मात्र होइन, समाजका विविध अनुभव र आवाजलाई अभिलेख गर्ने जिम्मेवारी पनि हो । विशेषगरी मुख्यधारमा कम सुनिएका कथा र समुदायलाई स्थान दिन सक्ने पत्रकारिता अझ प्रभावकारी लाग्छ । त्यसैले तथ्यपरक, संवेदनशील र जनपक्षीय पत्रकारिताको भूमिका आज झन् महत्वपूर्ण भएको महसुस गर्छु ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
१८ वर्षको उमेरमा मेरो उपन्यास पखालिएको सिउँदो हाल सेतो सिउँदोको नाममा पुनः प्रकाशित भएको थियो । त्यसबेला लेखन मेरो जीवनको महत्वपूर्ण हिस्सा थियो । तर बीसको दशकको मध्यतिर पुगेपछि जीवनका अन्य प्राथमिकताहरू अगाडि आए र लेखन बिस्तारै टाढिँदै गयो । त्यो कुनै योजनाबद्ध निर्णय थिएन । व्यस्तता र जिम्मेवारीका बीच लेख्ने बानी हराउँदै गयो । र, त्यसै क्रममा धेरै वर्ष बिते । पछि फेरि लेखनमा फर्किँदा शून्यबाट सुरु गरेजस्तो अनुभव भयो । त्यसैले इतिहासमा फर्किन पाएँ भने, लेखनसँगको सम्बन्ध जोगाइराख्नु मेरो जीवनका महत्वपूर्ण निर्णयहरूमध्ये एक हुन सक्थ्यो ।
२.बाल्यकाल र किशोरावस्था
सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
सानोमा मसँग कुनै विशेष रूपमा एउटै खेलप्रति प्राथमिकता थिएन । विद्यालय वा कलेजले जुन खेल खेल्न लगाउँथ्यो, म त्यही टोलीमा सहभागी हुन्थें । भलिबल, बास्केटबल, पीटी, टेबल टेनिस आदि खेलहरूमा कहिलेकाहीँ भाग लिन्थेँ । कलेजको समयतिर प्रतियोगिताका लागि टेबल टेनिस सिक्न पनि गएँ ।
तर मलाई सानैदेखि पौडी सिक्ने इच्छा थियो, जुन बाल्यकालमा सिक्न सकिनँ । अहिले भने पौडी मेरो जीवनको महत्वपूर्ण हिस्सा बनेको छ । हप्तामा २–३ पटक म पौडी खेल्ने गर्छु र विगत करिब १० वर्षदेखि निरन्तर अभ्यास गर्दै आएकी छु । यसले मलाई शारीरिक र मानसिक दुवै रूपमा सन्तुलित र स्वस्थ राख्न मद्दत गरेको छ ।
साथीहरूले तपाईंका निकनेमहरू के–के राखिदिएका थिए ?
धेरैजसो निकनेमहरू त मेरा स्कुलका मिल्ने साथीहरूले राखिदिएका हुन् । परिस्थितिअनुसार नयाँ–नयाँ नाम नै बनाइदिन्थे। तीमध्ये केही निकनेमहरू यति रमाइला छन् कि यहाँ नखोलौँ जस्तो लाग्छ ।
तपाईंको कोहीसँग झगडा परेको थियो ?
ठूलो झगडा त खासै परेन । तर म सानोतिनो कुरामा पनि चाँडै चित्त दुखाउने खालकी थिएँ, विशेष गरी मेरा मिल्ने साथीहरूसँग । अहिले सोच्दा त्यो उमेरको स्वाभाविक कुरा जस्तो लाग्छ । त्यतिबेला मेरो समाधान भनेको झगडा गर्नु होइन, चुप लागेर बस्नु थियो । केही समय नबोली बसेपछि फेरि सबै कुरा आफैं सामान्य हुन्थ्यो ।
तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
याद छैन।
३.सिनेमा
पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?
पहिलोचोटी कुन फिल्म हेरेँ भन्ने त मलाई याद छैन । सायद म ८–१० वर्षको हुँदाको कुरा होला । तर परिवारसँग गएर पाटन हलमा फिल्म हेरेको सम्झना भने छ । फिल्मको कथा बिर्सिसकेँ, तर हलबाहिर बसेर खाएको आइसक्रिम र परिवारसँग बिताएको त्यो दिनको रमाइलो भने सम्झनामा छ ।
कस्ता फिल्म हेर्न मन पर्छ ?
विशेष गरी समाज, मान्छेको जीवन, सम्बन्ध, असमानता वा सामाजिक परिवर्तनका विषय उठान गर्ने फिल्महरूले बढी आकर्षित गर्छन् । मनोरञ्जन मात्र होइन, नयाँ दृष्टिकोण दिन सक्ने र केही सोच्न बाध्य बनाउने फिल्महरू हेर्न मन लाग्छ ।
साह्रै मन परेका फिल्म ?
मन परेका फिल्महरू धेरै छन्, त्यसैले एउटा मात्रै नाम लिन अलि गाह्रो हुन्छ । फरक–फरक समयमा फरक फिल्महरूले प्रभाव पारेका छन् ।
चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
निकै छन्, र पछिल्ला वर्षहरूमा त झन् बढिरहेको जस्तो लाग्छ । धेरै चर्चा सुनेर ठूलो अपेक्षासहित हेर्न थालेका केही फिल्महरू मलाई त्यति आकर्षक लागेनन्, कतिपय त बीचैमा छोडेको पनि छु ।
हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
पहिला–पहिला त मन परेका कलाकारहरू छन् भने त्यो फिल्म हेर्ने सूचीमा पर्थ्यो । तर अहिले भने समीक्षा नहेरी वा अरूको प्रतिक्रिया नबुझी फिल्म हेर्ने सम्भावना निकै कम हुन्छ । तर पछिल्लो समय फिल्मप्रति मेरो रुचि अलि घटेको जस्तो लाग्छ, त्यसैले पहिलेभन्दा कम फिल्म हेर्छु र हेर्दा पनि धेरै छनोट गरेर मात्र हेर्ने गर्छु ।
नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?
नेपालमा अब अझ धेरै कथा–केन्द्रित र विषय–केन्द्रित फिल्महरू बन्नुपर्छ जस्तो लाग्छ । पछिल्लो समय राम्रा कथाहरू आइरहेका छन् र नेपाली फिल्महरूले अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पनि आफ्नो उपस्थिति जनाउन थालेका छन्, जुन निकै उत्साहजनक कुरा हो ।

मैले पछिल्लो समय धेरै फिल्महरू हेरेको छैन, तर अञ्जिला भने मलाई निकै मन परेको थियो । त्यसले खेलसँगै एउटा जीवनको संघर्षलाई सरल तर प्रभावकारी रूपमा देखाएको थियो । यस्ता फिल्महरूले मनोरञ्जन मात्र होइन, प्रेरणा र सोच्ने दृष्टिकोण पनि दिन्छन् । त्यसैले वास्तविक, अर्थपूर्ण र राम्रो कथा भएका फिल्महरू अझ धेरै बन्नुपर्छ जस्तो लाग्छ ।
४.पुस्तक
पुस्तकहरू कतिको पढ्नुहुन्छ ? पढ्का कस्तो खालका पढ्नुहुन्छ ?
म नियमित रूपमा पुस्तक पढ्छु । फिक्सन, नन-फिक्सन, आध्यात्मिक, जीवनी, आत्मविकासलगायत विभिन्न विधाका पुस्तकहरू पढ्न रुचाउँछु । पुस्तकहरू केवल छापिएको स्वरूपमा मात्र होइन, ई-बुक र अडियोबुकमार्फत पनि पढ्छु वा सुन्छु । यद्यपि, पुस्तकसँग प्रत्यक्ष सम्बन्ध महसुस हुने भएकाले छापिएका प्रिन्टेड पुस्तकहरू नै मेरो सबैभन्दा मनपर्ने माध्यम हुन् ।
मन परेका कुनै पुस्तक ?
एउटा मात्र पुस्तकको नाम लिन मलाई अलि गाह्रो लाग्छ, किनकि विभिन्न समयमा विभिन्न पुस्तकहरूले फरक–फरक प्रभाव पारेका छन् । मन परेका पुस्तकहरूको सूची लामो छ ।
तपाईंका प्रिय लेखकहरू ?
म नेपाली र विदेशी दुवै लेखकका कृतिहरू पढ्छु, र विभिन्न लेखकहरूले फरक–फरक तरिकाले प्रभाव पारेका छन् । त्यसैले मेरा प्रिय लेखकहरू धेरै छन् । पढ्दै जाँदा नयाँ लेखकहरू पनि भेटिन्छन् र मनपर्ने सूचीमा थपिँदै जान्छन्, त्यसैले यो सूची निरन्तर विस्तार भइरहेको छ ।
एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
यदि एउटा नाम लिनुपर्यो भने, म अजान ब्रह्मसँग समय बिताउन चाहन्थें । उहाँका द आर्ट अफ डिसापियरिङ पुस्तकले मलाई धेरै प्रभावित गरेको छ । म उहाँका युट्युब प्रवचनहरू नियमित रूपमा सुन्छु, र मेरो आध्यात्मिक यात्रामा उहाँका विचारहरूको महत्वपूर्ण प्रभाव छ । अवसर मिलेमा उहाँलाई प्रत्यक्ष सुन्न चाहन्छु ।
नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
मलाई लाग्छ, नेपालमा विभिन्न विषयमा राम्रा पुस्तकहरू लेखिने क्रम बढिरहेको छ र नयाँ लेखकहरू पनि आइरहनुभएको छ । पुस्तक लेखिनु मात्र होइन, चुनौती पढ्ने संस्कृतिको विकास पनि हो । पुस्तकहरू जति लेखिए पनि पाठक संख्या बढेन भने त्यसको प्रभाव सीमित रहन्छ ।
५. घुमफिर र सोख
घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
घुमफिर गर्न मलाई निकै रुचि छ । यात्रा गर्दा नयाँ ठाउँ, संस्कृति, मानिस र जीवनशैलीबारे जान्न पाइने भएकाले यसले मेरो ज्ञान र अनुभवको दायरा फराकिलो बनाएको छ ।
सबैभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
मेरा लागि त्यो ठाउँ हो– बर्दिया राष्ट्रिय निकुञ्ज ।
सबैभन्दा मन परेको ठाउँ वा यात्रा ?
सबैभन्दा मन परेको ठाउँ वा यात्रा भन्नुपर्दा पनि बर्दिया राष्ट्रिय निकुञ्ज विशेष हो । कामको सिलसिलामा त्यहाँ धेरै पटक जाने अवसर मिलेको छ, र प्रत्येक पटक त्यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र वन्यजन्तुहरूको नजिकबाट अनुभवले मलाई फेरि फेरि जान मन लाग्छ ।
गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
आजभोलि म धेरै नियमित रूपमा एउटै शैलीका गीत मात्र सुन्दिनँ, तर टिभी र रेडियोमा आउने नयाँ–नयाँ गीतहरू भने सुन्छु । तर कुनै एक जना मात्र मनपर्ने गायक भनेर छुट्याउन चाहिँ गाह्रो छ, किनभने मन पर्ने गीतहरू धेरै छन् र समयअनुसार बदलिरहन्छन् ।
आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?
विशेषगरी नेपाली आधुनिक पप, हल्का फ्युजन र केही पुराना क्लासिक गीतहरू मन पर्छन् । धेरै गीतहरू मन पर्छन्, त्यसैले कुनै एक जना गायक वा एउटा मात्र गीतलाई मनपर्ने भनेर छुट्याउन गाह्रो लाग्छ ।
के कुराको विशेष सोख छ ?
मलाई किताब पढ्न मन पर्छ । त्यसबाहेक पौडी खेल्नु हप्तामा २–३ पटक र दैनिक करिब एक घण्टा हिँड्नु मेरो जीवनको नियमित हिस्सा बनेको छ । म यी कुराहरूलाई सोख र जीवनशैली दुवैको मिश्रण जस्तै मान्छु ।
खानाको कत्तिको सोखिन हुनुहुन्छ रु मन पर्ने परिकार ?
खानाको सोखिन भन्दा पनि म स्वस्थ जीवनशैलीतर्फ बढी ध्यान दिने गर्छु । मलाई स्वस्थ खाना खान मन पर्छ र म खाना आफैं पकाउने गर्छु । नयाँ–नयाँ परिकार ट्राइ गर्न पनि रमाइलो लाग्छ, तर खासगरी विभिन्न प्रकारका सलादहरू मेरो धेरै मन पर्ने परिकार हुन् ।
किनमेल गर्न कति रुचाउनुहुन्छ ?
किनमेल रमाइलो लाग्छ, तर म प्रायः अनलाइन नै गर्छु ।
के-कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
पसल–पसल घुमेर किनमेल गर्न मलाई खासै धैर्य हुँदैन, त्यसैले समय बचत र सजिलो हुने भएकाले अनलाइन सपिङ नै बढी रोज्छु ।
आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
म आफ्नो लुगाफाटो आफैं पनि किन्छु र कहिलेकाहीँ परिवारका सदस्यहरूले पनि मेरो लागि किनिदिन्छन् ।
अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
सायद अहिलेसम्म मैले खर्च गरेको सबैभन्दा महँगो कुरा भनेको गाडी नै होला ।
६. राजनीति
नेपालको राजनीति कस्तो लाग्छ ?
नेपालको राजनीति अहिले पनि केही जटिल र उतारचढावपूर्ण लाग्छ । सबै कुरा एकैचोटि परिवर्तन हुने होइन, तर क्रमशः सुधार हुँदै जाने अपेक्षा राख्न सकिन्छ ।
हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
मुख्य समस्या भनेको स्थायित्व र दीर्घकालीन सोचको कमी हो जस्तो लाग्छ । बारम्बार सरकार परिवर्तन हुनु र नीति निरन्तरता नहुनुले विकासमा असर पारेको छ।
नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
यदि नेताहरूको एउटा पक्ष सुधार्नुपर्ने भए, म जवाफदेहितामा सुधार चाहन्थें । आफ्ना निर्णयप्रति अझ बढी उत्तरदायी हुने अभ्यास भए, नीति निर्माण र कार्यान्वयन दुवैमा सकारात्मक प्रभाव पर्न सक्छ भन्ने लाग्छ ।
मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
मलाई कुनै एक जना मात्र छुट्याएर भन्न गाह्रो लाग्छ । तर केही नेताहरूले आफ्नो सोच, ऊर्जा र नयाँ दृष्टिकोणका कारण सकारात्मक प्रभाव पारेका छन् जस्तो लाग्छ । विशेषगरी सुरुवाती चरणमा बालेन शाहको काम गर्ने शैली र दृष्टिकोणले धेरैमा आशा जगाएको थियो, र त्यो भावना अहिले पनि कतै न कतै कायम छ ।
मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबैभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
सबैभन्दा पहिला म सुशासन र पारदर्शिता बलियो बनाउनेतर्फ ध्यान दिन्थें।

७. सामाजिक सञ्जाल र डिजिटल डिभाइस
कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
म आईफोन प्रयोग गर्छु।
दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
समयको हिसाबले भन्नुपर्दा खासै निश्चित घन्टा हुँदैन । कहिलेकाहीँ अडियो किताब सुन्ने, समाचार वा विभिन्न कार्यक्रमहरू हेर्ने भएकाले अलि बढी समय पनि जान्छ । म सामाजिक सञ्जाल नियमित रूपमा चलाउँछु तर त्यसमा धेरै नै झुकेको छैन । आवश्यक परे केही दिन पूरै नचलाउने वा पहिले त ६ महिनासम्म डिएक्टिभेट गरेर पनि बसेको अनुभव छ । त्यसैले यो सबै मेरो समय र आवश्यकतामा निर्भर गर्छ ।
बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
बानीभन्दा पनि अहिलेको समयमा यो एक प्रकारको आवश्यकता जस्तै भएको छ । बिहान उठ्नेबित्तिकै अलार्म बन्द गर्न, समय हेर्न वा समाचार तथा आवश्यक अपडेटहरू हेर्न फोन प्रयोग भइहाल्छ । राति सुत्नुअघि पनि दिनभरका समाचार, केही अपडेटहरू वा सन्देशहरू एकपटक हेर्ने गर्छु ।
सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
सामाजिक सञ्जालको राम्रो पक्ष भनेको साथी–परिवारसँग अपडेटमा रहन सकिन्छ, साथै स्थानीयदेखि विश्वव्यापी जानकारी छिटो र सजिलै पाउन सकिन्छ । तर नराम्रो पक्ष भने कहिलेकाहीँ मानिसहरू अनावश्यक कुरामा अड्किने वा आफूलाई नचाहिने सामग्रीतर्फ धेरै समय खर्चिने हुन्छ । साथै आजकल धेरैले अत्यधिक व्यक्तिगत जानकारी पनि सार्वजनिक गर्ने भएकाले गोपनीयताको जोखिम पनि बढेको जस्तो लाग्छ ।
फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ ?
फलोअर्स, लाइक, कमेन्ट र भ्युजले केही हदसम्म प्रतिक्रिया र पहुँचको संकेत त दिन्छ, तर त्यसले मलाई धेरै प्रभावित पार्दैन । यी सबै राम्रो र उपयोगी कुरा हुन्, तर यही मात्र सबैथोक होइन भन्ने लाग्छ । म मुख्य रूपमा काम र त्यसको गुणस्तरमा विश्वास गर्छु, त्यसैले ध्यान पनि त्यतै केन्द्रित हुन्छ ।
एआई टुलहरू कतिको चलाइरहनु भएको छरु बढी कुन चलाउनुहुन्छ ?
धेरै त होइन, तर कहिलेकाहीँ एआई टुलहरू प्रयोग गर्छु, जस्तै च्याटजीपीटी । कहिलेकाहीँ जानकारी लिन, बुझ्न उपयोगी लाग्छ । समग्रमा भने नियमित रूपमा धेरै निर्भर हुने भन्दा पनि आवश्यक पर्दा मात्र प्रयोग गर्ने गर्छु ।
सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना संजालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?
दुवै पक्ष देखिन्छन् । सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना प्रवाहलाई धेरै बलियो बनाएको छ, जसले धेरै आवाजहरू बाहिर आउन सहज बनाएको छ । तर अर्कोतर्फ, गलत सूचना छिटो फैलिने जोखिम पनि उत्तिकै बढेको छ ।
अन्ततः यो हामीले कसरी प्रयोग गर्छौं भन्ने कुरामा निर्भर हुन्छ, र अहिलेको अवस्थामा यसको जिम्मेवारी पनि धेरै हदसम्म प्रयोगकर्तामै आएको जस्तो लाग्छ ।
सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
हाम्रो पुस्तामा किताब, पत्रपत्रिका पढ्ने बानी अझै कायम छ, तर नयाँ पुस्तामा सामाजिक सञ्जाल बढी प्राथमिकतामा परेको छ । त्यसैले विस्थापनभन्दा पनि अहिले दुवै माध्यम सँगसँगै चलिरहेका छन्, तर सन्तुलन भने परिवर्तन हुँदै गएको छ जस्तो लाग्छ।
८. रोचक तथ्य
पुन: जन्म हुने भए अब के बन्न मन छ ?
म आज जस्तो छु, त्यही भएर आउन चाहन्छु ।
तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
विगत १० वर्षदेखि नियमित रूपमा ध्यान अभ्यास गर्दै आएको छु, त्यसैले तनाव वा दबाब धेरै लिने बानी छैन । जे जस्तो कुरा आए पनि ध्यानको अभ्यासले त्यसलाई सम्हाल्न र सहज रूपमा जान दिन मद्दत गर्छ । त्यसैले तनावलाई धेरै लामो समयसम्म बोकेर राख्नु पर्ने अवस्था हुँदैन ।
तपाईलाई के को सुगन्ध सबैभन्दा मन पर्छ ?
बिहानको ताजा वातावरण र प्रकृतिको सुगन्ध मन पर्छ । दैनिक हिँड्दा त्यस्तो वातावरणले दिनको राम्रो सुरुआत भएको महसुस गराउँछ ।
अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?
अहिलेसम्म मैले पाएको सबैभन्दा राम्रो कुरा कुनै एउटा सुझावभन्दा पनि आध्यात्मिक अभ्यासबाट प्राप्त भएको बुझाइ हो । विशेषगरी, जीवनमा जे आउँछ त्यसलाई अनावश्यक प्रतिरोध नगरी स्वीकार गर्न सिक्नु र वर्तमानमा रहनु मेरो लागि महत्वपूर्ण सिकाइ बनेको छ ।
आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
साहित्यको क्षेत्रमा काम गर्ने व्यक्तिको हैसियतले मलाई लाग्छ हामी विश्व साहित्यको नक्सामा देखिन र चिनिन निकै ढिला गरिरहेका छौं । नेपाली साहित्यमा संसारसँग बाँड्न सकिने असंख्य कथा, अनुभव र दृष्टिकोणहरू छन् । त्यसैले आजको पुस्ताले कम्तीमा पनि नेपाली साहित्यलाई विश्वसँग जोड्ने बाटो बनाइदिनुपर्छ। हामीले त्यो आधार तयार गर्न सक्यौं भने, आउँदो पुस्ताले अझ धेरै राम्रो गर्नेछ र नेपाली साहित्यलाई अझ फराकिलो अन्तर्राष्ट्रिय पहुँच दिलाउनेछ ।
दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृंखला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं ।
प्रतिक्रिया 4