News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने र मापदण्ड विपरीत सञ्चालन भएका दुई व्यावसायिक फर्मलाई ४ लाख ६ हजार रुपैयाँ जरिबाना गरेको छ ।
- विभागले ‘दि बेकर ब्रदर्स’ लाई लेबल नलगाएको र ‘न्यु झिंगु काठमाडौं फुड्स क्याफे’ लाई म्याद नाघेका खाद्यवस्तु प्रयोग गरेकाले कारबाही गरेको हो ।
४ असार, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने र मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई व्यावसायिक फर्मलाई ४ लाख ६ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले बिहीबार गरेको अनुगमन क्रममा कैफियत भेटिएका ती फर्मलाई तत्कालै जरिबाना गरिएको हो ।
विभागका अनुसार काठमाडौं महानगरपालिका-२९ गोंगबुमा रहेको ‘दि बेकर ब्रदर्स’ लाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । उक्त बेकरीले उत्पादन गरेका सामानमा उचित लेबल (लेबलिङ) नगरी बजार पठाउने गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिएको हो ।
त्यस्तै काठमाडौं-१७ नयाँ बजारमा सञ्चालित ‘न्यु झिंगु काठमाडौं फुड्स क्याफे’ लाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको छ । उक्त क्याफेले म्याद नाघेका खाद्यवस्तुहरू प्रयोग गरेको र कतिपय सामानमा लेबल समेत नभएको पाइएकाले विभागले जरिबाना तिराएको हो ।
बिहीबारै विभागले अन्य ११ फर्म पनि अनुगमन गरेको थियो । ती फर्मलाई सामान्य निर्देशन दिइएको छ ।
यस्तै सांग्रिला स्प्रिङ ड्रिंकको जारको पानी परीक्षणका लागि नमुना संकलन गरिएको र पानी परिक्षण रिपोर्ट पाएपछि व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
प्रतिक्रिया 4