+
+
Shares

रास्वपा महाधिवेशन आजदेखि, रवि र बालेनले उद्‍घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ ।
  • महाधिवेशनमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने र पदाधिकारीमा महिलाको सहभागिता सुनिश्चित गर्ने विधान संशोधन प्रस्ताव छ ।
  • चितवनमा आयोजना हुने यस महाधिवेशनमा देशभरबाट ३ हजार ९१८ प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

महाधिवेशन उदघाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रुपमा गर्ने छन् ।

भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । उदघाटन समारोह स्थललाई रवि र बालेनको तस्वीरसहित सजाइएको छ ।

प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।

‘रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो । प्रतिनिधि छनोटको काम लगभग सकिएको छ,’ प्रवक्ता झाले भने, ‘राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् ।’

१५१ सदस्यीय केन्द्रीय समिति, पदाधिकारीमा एक महिला अनिवार्य

रास्वपाले महाधिवेशनमा पेस गर्ने विधान संशोधन र पार्टीको संरचनासमेत संशोधन गरिसकेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ ।

बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।

एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, एक महिलासहित पाँच सहमहामन्त्री, एक प्रवक्ता, एक महिलासहित तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा एक महिलासहित दुई सहकोषाध्यक्ष रहनेछन् ।

अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिवार्य उल्लेख गरिएको छैन । विधान संशोधन भएपछि यसपटक उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिवार्य महिला हुनेछन् ।

प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् ।

५१ केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्न पाउने

यस्तै, विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरेको छ ।

बृहत् राजनीतिक समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल जारी छ ।

अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति सदस्य चयन हुनेछन् ।

पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ ।

महाधिवेशनले भावी राजनीतिक रणनीति तय गर्ने

पार्टी नेतृत्वले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रवक्ता झाले बताए ।

महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै सङ्गठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

निर्वाचनमा पाएको मतलाई पार्टीको ‘आम्दानी’का रूपमा लिएको उनको भनाइ छ । ‘हामीले टोलस्तरमा पनि पार्टी संगठन विस्तार गर्ने विधानमा नै उल्लेख गरेका छौँ,’ उनले भने, ‘हाम्रो भ्रातृ संगठन भने हुँदैन ।’

झण्डै चार हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने

महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधि हुनेछन् । त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ ।

रास्वपाले पार्टी सदस्य संख्या पाँच लाख पुर्‍याएको छ । सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ ।

यस्तै, ६ प्रदेशका ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेश प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?