+
+
Shares

नयाँ अनुसन्धानले पत्ता लगायो उमेरसँगै पेटको बोसो बढ्नुको मुख्य कारण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १२:०९
Photo Credit : Pixabay

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैज्ञानिकहरूले उमेर बढ्दै जाँदा कम्मर र पेटको वरिपरि बोसो बढ्ने प्रमुख जैविक कारण पत्ता लगाएका छन्।
  • अनुसन्धानले उमेरसँगै शरीरमा नयाँ फ्याट सेल्स बनाउने विशेष स्टेम सेल्स सक्रिय हुने तथ्य सार्वजनिक गरेको छ।
  • भविष्यमा यी स्टेम सेल्सको गतिविधि रोक्ने नयाँ उपचार पद्धति विकास गरी मोटोपन नियन्त्रण गर्न सघाउ पुग्ने विश्वास गरिएको छ।

१५ असार, काठमाडौं । बढ्दो उमेरसँगै मानिसको तौलमा खासै परिवर्तन नआए पनि कम्मर र पेटको आकार बिस्तारै फैलिनु अर्थात् ‘बेली फ्याट’ बढ्नु एक आम समस्या हो।

यसरी पेटको वरिपरि जम्मा हुने बोसो सुन्दरतासँग मात्र नजोडिएर सुस्त मेटाबोलिजम, मुटु रोग, टाइप-२ मधुमेह र तीव्र बुढ्यौली जस्ता गम्भीर स्वास्थ्य समस्याको कारण बन्ने गर्दछ।

वैज्ञानिकहरूले लामो समयदेखि उमेरसँगै शरीरको बनावट बदलिने कुरा थाहा पाए पनि विशेष गरी पेटकै वरिपरि किन बोसो जम्मा हुन्छ भन्ने सटीक जैविक कारण स्पष्ट हुन सकेको थिएन। हालै ‘सिटी अफ होप’ का अनुसन्धानकर्ताहरूले यो रहस्यको मुख्य जैविक कारण पत्ता लगाएका छन् । जसले भविष्यमा मोटोपन नियन्त्रणका लागि नयाँ उपचार पद्धति विकास गर्न सघाउने विश्वास गरिएको छ।

वैज्ञानिक जर्नल साइन्समा प्रकाशित यस अनुसन्धान अनुसार, उमेर बढ्दै जाँदा शरीरमा एक विशेष प्रकारका ‘स्टेम सेल्स’ को विकास हुन्छ, जसले तीव्र गतिमा नयाँ फ्याट सेल्स निर्माण गर्न शरीरलाई सघाउँछन्।

सिटी अफ होपको आर्थर रिग्स डाइबिटिज एन्ड मेटाबोलिजम रिसर्च इन्स्टिच्युटका मोलिकुलर एन्ड सेलुलर इन्डोक्राइनोलोजीका सह-प्राध्यापक क्युङ (एनाबेल) वाङका अनुसार, उमेर बढेसँगै शरीरमा एक नयाँ प्रकारका वयस्क स्टेम सेल्सहरूको आगमन हुन्छ, जसले विशेष गरी पेटको वरिपरि ठूलो मात्रामा नयाँ बोसो कोषिकाहरू उत्पादन गर्न थाल्छन्।

वैज्ञानिकहरूले यसअघि उमेर बढेसँगै पुराना बोसो कोषिकाहरूको आकार मात्र ठूलो हुने विश्वास गर्थे तर यो नयाँ अनुसन्धानले पुरानो आकार बढ्नुका साथै शरीरले लगातार पूर्ण रूपमा नयाँ बोसो कोषिकाहरू थप्दै जाने प्रक्रियाका कारण कम्मर बढ्ने देखाएको छ।

युसीएलएका वैज्ञानिकहरूसँगको सहकार्यमा मुसा र मानव कोषिकाहरूमा गरिएको यस अध्ययनमा ‘एडिपोसाइट प्रोगेनेटर सेल्स’ भनिने स्टेम सेल्सको अध्ययन गरिएको थियो । जुन पछि विकसित भएर बोसो कोषिकामा परिणत हुन्छन्।

युवा र वृद्ध मुसाहरूको यी कोषिकाहरूलाई साटासाट गरेर ट्रान्सप्लान्ट गर्दा वृद्ध मुसाबाट निकालिएका कोषिकाहरूले युवा मुसामा पनि ठूलो मात्रामा बोसो उत्पादन गरेको पाइयो, जसले यो बोसो बढाउने क्षमता कोषिकामै अन्तर्निहित रहेको पुष्टि गर्‍यो।

‘सिंगल-सेल आरएनए सिक्वेन्सिङ’ प्रविधि मार्फत जीनको सूक्ष्म अध्ययन गर्दा वैज्ञानिकहरूले युवा अवस्थामा निष्क्रिय रहने यी कोषिकाहरू अधबैंसे उमेरमा पुगेपछि अत्यधिक सक्रिय हुने र ‘सीपी-ए’ नाम दिइएको एक नयाँ उमेर-विशिष्ट स्टेम सेल्समा परिणत हुने तथ्य फेला पारेका छन्। यो नयाँ कोषिका विशेष गरी उमेर बढेपछि मात्र देखा पर्छ र यसले बोसो बनाउन मुख्य भूमिका खेल्छ।

शरीरमा यो सम्पूर्ण प्रक्रियालाई ‘ल्युकेमिया इनहिबिटरी फ्याक्टर रिसेप्टर’ भनिने सञ्चार प्रणालीले नियन्त्रण गर्ने र युवा मुसाहरूलाई बोसो बनाउन यो सिग्नल आवश्यक नपर्ने भए पनि वृद्ध मुसाहरूमा भने यही सिग्नलकै कारण पेटको बोसो तीव्र गतिमा बढ्ने गरेको अनुसन्धानमा स्पष्ट भएको छ।

मानव तन्तुहरूको नमूना परीक्षण गर्दा पनि अधबैंसे उमेरका मानिसहरूमा यी ‘सीपी-ए’ सँग मिल्दाजुल्दा कोषिकाहरू ठूलो संख्यामा भेटिएका छन् । जसले मुसामा जस्तै मानिसमा पनि सोही जैविक प्रक्रिया हुने बलियो संकेत गर्दछ।

सिटी अफ होपका मोलिकुलर एन्ड सेलुलर इन्डोक्राइनोलोजी विभागका प्रमुख डा. एडोल्फो गार्सिया-ओकानाका अनुसार धेरैजसो वयस्क स्टेम सेल्सहरूको बढ्ने क्षमता उमेरसँगै कमजोर हुँदै जाने भए पनि यी बोसो बनाउने कोषिकाहरूको हकमा भने उमेर बढेसँगै शक्ति र संख्या झन् फैलने गर्दछ।

वैज्ञानिकहरूले अब आगामी दिनमा यी ‘सीपी-ए’ कोषिकाहरूको गतिविधि रोक्ने वा तिनलाई नष्ट गर्ने औषधीय उपायहरूको खोजी गर्ने योजना बनाएका छन् । जसले गर्दा उमेरसँगै बढ्ने मोटोपन र बेली फ्याटलाई नियन्त्रण गर्न सकियोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?