News Summary
Generated by OK AI. Editorially reviewed.- टेकु अस्पतालमा रेबिजका कारण एक ४८ वर्षीय व्यक्तिको मृत्यु भएपछि काठमाडौँमा रेबिज रोगको सन्त्रास बढेको छ।
काठमाडौं महानगरपालिकाले टेकु अस्पताललाई सहयोग स्वरुप रेबिज विरुद्धको खोप दिएको समारोह एकातिर चलिरहेको थियो । म भने ओपिडी कक्षमा एक रेबिज रोगको सन्त्रास मनमा लिएर आहेका एक व्यक्तिसँग कुराकानी गर्दै थिए।
बिहान उठेर मोबाइल हेर्नेबित्तिकै एक व्यक्तिको मृत्यु रेबिजबाट भएको खबर व्यापक भएको देखेँ । अनि, आफूलाई पनि कुनै समयमा कुकुरले टोकेको तर खोप नलगाएकोले रेबिजको डरले मन थाम्नै नसकेर अस्पताल आइपुगेको भन्दै थिए
यस अघि पनि भारतमा रेबिजबाट एकको मृत्यु भएको समाचार भाइरल हुँदा काठमाडौं रेबिज फोबियाबाट तरंगित भएको थियो । सरकारले रेबिजविरुद्धको खोप सरकारी स्वास्थ संस्थाहरूमा उपलब्ध गराउँदै आइरहेको छ । तर जनवारले टोके खासगरी सानो घाउ/चोट हुँदा खोप नलाउनेको संख्या उल्लेखनीय नै देखिन्छ ।
रेबिज नेपालमा दशकौंदेखि जनस्वास्थ समस्याको रूपमा देखिँदै आएको जुनोटिक रोग हो । यसले बर्षेनी दर्जनौँ मानिसको ज्यान लिने गरेको छ । एकपटक लक्षण देखिए मृत्यु निश्चित हुने गरेको नेपालको अनुभव छ । टेकु अस्पतालमा मात्र पनि वर्षेनी दर्जनौँ मानिसको मृत्यु रेबिजबाट हुने गरेको छ ।
नेपालभरि कति मानिसको मृत्यु रेबिजबाट हुन्छ भन्ने यकीन तथ्यांक छैन । वर्षमा १०० को हाराहारीमा मृत्यु हुने अनुमानित विविरण छ । रेबिज रोगसँग सम्बन्धित अध्यनकर्ताहरूले भने वर्षेनी १०० भन्दा धेरै जनाको ज्यान गइरहेको अनुमान गरेका छन् ।
समयमै खोप लगाउन सके रेबिजबाट बच्न सकिन्छ । यो खोप सरकारले सरकारी स्वास्थ केन्द्रहरूमा उपलब्ध गराउँदै आइरहेको पनि छ । तर कहिलेकाहीं खोपको अभाव हुने गरेको विगतको अनुभव देखिन्छ ।
विभिन्न कारणले गर्दा अहिले पनि धेरै ठाउँमा खोपको अभाव देखिएको छ । यसो हुँदा जनवारको टोकाइबाट घाइते भएकाहरू काठमाडौं टेकु अस्पतालसम्म आउनु परेको देखिन्छ ।
स्थानीय क्षेत्रमा खोप अभाव हुँदा खोप लगाउनकै लागि भनेर काठमाडौँसम्म आइपुग्ने व्यक्तिहरूको संख्या न्यून नै हुन्छ । दैनिक कामकाजमा व्यस्त हुने हुँदा भोलि जान्छु, पर्सि जान्छु भन्दाभन्दै समय घर्किन्छ । टोकेको घाउ निको भइसकेको हुन्छ अब रेबिज लाग्दैन होला भन्ने ठानेर खोप लगाउन नआउनेको संख्या ठूलो हुन्छ ।
केही हप्ता मात्र पनि खोपको उपलब्धता नियमित नहुँदा रेबिज रोगको जोखिम ह्वात्तै बढेर जाने हुन्छ । यसर्थ खोप नै छैन भनेर हामीले एक्सक्युज पाउनु भने हुँदैन ।
सन् २०१९ मा प्रकाशित राष्ट्रिय रेबिज निर्देशिकामा उल्लेख भए अनुसार मेडिकल रेकर्ड, अस्पताल अनि निजी क्लिनिकलाई आधार मान्दा अनुमानित कम्तीमा ५० हजार जतिले खोप लगाएको भन्नेछ ।
तर हाल सन् २०२६ अर्थात् सात वर्षपछि त्यो पनि टेकु अस्पतालको दैनिक रेकर्डको औसतलाई मात्र पनि आधार मान्ने हो भने कम्तीमा नयाँ घाइतेका लागि वार्षिक अनुमानित डेढ लाख डोज चाहिने देखिन्छ । तत्पश्चात पनि थप डोजको आवश्यकता पर्ने गर्छ ।
केही वर्षको अन्तरालमा नै यति ठूलो संख्यामा रेबिज खोपको थप आवश्यकताले समुदायमा जनावरको नियन्त्रण गर्न सम्बन्धित निकायको उदासीनता
धेरै देखिन्छ । समुदायमा देखिने यस्ता जनवारको नियन्त्रण कुन निकायले गर्ने भन्नेमा नै अन्योल रहेको देखिन्छ। लेखकलाई जनवारको टोकाईबाट घाइते भएकाहरूले बारम्बार सोध्ने केही प्रश्नमध्ये ‘जनवार नियन्त्रण कसको जिम्मेदारीमा पर्छ ?’ भन्ने पनि हो।
सन् २०१९ पछि खोप दिने तरिका र अवधिमा पनि केही हेरफेर गरिएको छ । खोप छालामुनि र मासु भित्र दिने गरी दुई प्रकारले लगाउने गरिन्छ। मासु भित्र दिने तरिका पहिले देखि नै थियो । छालामुनि दिने तरिका सन् २०१९ पछि मात्र प्रारम्भ गरिएको हो ।
छालामुनि दिने तरिका मासु भित्र दिने भन्दा लागतको तुलनामा प्रभावकारी हुन्छ । यसको दिने अवधि पनि मासु भित्र दिने खोप भन्दा छोटो हुन्छ । छाला मुनि दिने तरिका आज, ३ दिनपछि र ७ दिनमा गरेर ती पटक दिनुपर्छ । एक हप्तामै यसको डोज सकिन्छ ।
मासु भित्र दिने खोप आज, ३ दिन, ७ दिन अनि १४ दिनमा गरेर चार पटक दिइन्छ । दुईसातामा यसको डोज सकिन्छ । निजि फार्मेसी वा कतिपय अस्पतालहरूमा भने मासु भित्र पाच पटक गरी २८ दिनसम्म दिने पनि गरेको पाइन्छ ।
यसै कारणले धेरैजसो घाइतेहरू दोश्रो खोप लगाउन अस्पताल आउँदा खोपको मात्रालाई लिएर सशंकित हुने, कित अनि जिज्ञासा/चासो धेरै बोकेर आउने गरेको पाइन्छ । नेपाल सरकारले अनुसरण गर्दै आइरहेको खोपको मात्रा/अवधिको बारेमा निजी अस्पताल/फार्मेसी अनविज्ञ देखिन्छन् ।
रेबिज खोपको बारेमा अर्को धेरै सोधिने प्रश्न भनेको २४ घण्टा भित्रै खोप लगाउनुपर्ने हो वा होइन भन्ने हो । धेरैले जनवारले टोकेको २४ घण्टा पुग्न लाग्यो भनेर आत्तिँदै आएको देखिन्छ । वास्तवमा, जनवारले टोकेको २४ घण्टाभित्रै खोप लगाउनैपर्छ भन्ने होइन । खासगरी कुकुर वा कुनै जनवारले टोकेमा जतिसक्दो चाँडो खोप लगाउनु चाहिँ पर्छ ।
कुकुर वा जनवारको टोकाइबाट घाइते भएका व्यक्ति कुनै कारणले केही दिन ढिलो भएको अवस्थामा पनि खोप लगाउनुपर्छ । यो किन भनिएको भने रेबिज रोगको इन्कुभेसन अवधि अर्थात् संक्रमण भएदेखि लक्षण देखिने अवधि लामो हुनु हो ।
केही वर्ष अगाडि एक रेबिज बिरामीलाई स्थानीय औषधि पसल पुग्दा टोकेको तीन दिन भइसकेछ खोप लगाउन पर्दैन भनेकोले खोप नलगाई फर्कँदा केही महिनापछि सो व्यक्तिले रेबिजबाट मृत्युवरण गर्नुपरेको थियो । तर उसले त्यो बेला खोप लिएको भए उसको ज्यान बच्न सक्दथ्यो । किनभने उसको लक्षण देखिन केही महिना लागेको थियो भने खोपले लगभग एक हप्तापछि नै काम गर्न सुरु गरिसकेको हुन्छ ।
अन्तमा, हालै टेकु अस्पतालमा एक ४८ वर्षीय व्यक्तिको मृत्यु रेबिजको कारणले भएको घटना सार्वजनिक भए लगतै काठमाडौँ फेरि एक पटक रेबिज फोबियाबाट तरंगित भएको छ । विगतमा कुकुर वा जनवारले टोकेको तर विभिन्न कारणले गर्दा खोप लगाउन नआएकाहरू हाल रेबिज लाग्ने डरले अस्पताल आउने क्रम बढेको छ ।
रेबिज लागे मृत्यु निश्चित नै हुने गरेको नेपालको अनुभव हुँदाहुँदै पनि जनावरको टोकाइबाट घाइते स्वयमले खोपको बेवास्ता गर्नु बिडम्बना हो ।
अझ खोप लगाउन खोज्नेले खोप अभावले गर्दा लगाउन नपाउनु झनै ठूलो बिडम्बना हो । रेबिज हाल पनि एक प्रमुख जनस्वास्थ समस्याको रुपमा देखिँदै आइरहेको छ । तसर्थ कुकुर वा जनवारले टोके रेबिज बिरुद्धको खोप जतिसक्दो छिटो लगाउनुपर्छ । खोपको अभाव हुन नदिन सम्बन्धित निकायले बिशेष ध्यान दिन अति जरुरी देखिन्छ।
प्रतिक्रिया 4