+
+
Shares

चलचित्र विकास बोर्डले मनायो २६ औं वर्षगाँठ, ‘सिनेपाः’ एप सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवका अवसरमा नेपाली चलचित्र क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित 'सिनेपाः' एप र दुई पुस्तक सार्वजनिक गरेको छ ।
  • सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चलचित्र उद्योगको विकास र समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कानुनमा चलचित्रकर्मीको सुझाव समेट्नुपर्ने बताए ।
  • बोर्डले स्थापनाकालदेखि हालसम्म ७ करोड रुपैयाँभन्दा बढी व्यापार गर्ने ३१ वटा नेपाली कथानक चलचित्रको नामावली सार्वजनिक गर्दै व्यावसायिक विकासको अभिलेखीकरण गरेको छ ।

काठमाडौं । चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव विविध कार्यक्रम, सम्मान, पुस्तक विमोचन तथा नयाँ पहलको घोषणा गर्दै सम्पन्न भएको छ ।

सो अवसरमा बोल्दै सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै यस क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे ।

चलचित्र विकास बोर्डलाई उद्योगको अभिभावकीय संस्थाका रूपमा अझ प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गर्न उनले आग्रह गरे । निर्माणाधीन चलचित्रसम्बन्धी कानुन तथा नीतिमा चलचित्रकर्मीको सुझाव समेटिनुपर्ने उनले बताए ।

सो अवसरमा ‘सिनेपाः’ एप सार्वजनिक गरिएको थियो । उक्त एप नेपाली चलचित्र क्षेत्रलाई सूचना, अभिलेख, प्रवद्र्धन र पहुँचका हिसाबले डिजिटल युगसँग जोड्ने उद्देश्यले तयार गरिएको बताइएको छ ।

सो अवसरमा बोर्डले वार्षिक गतिविधि समेटिएको प्रकाशन ‘शब्दचित्रमा चलचित्र बोर्डको गतिविधि’ तथा ‘सिनेपाः’ पुस्तक विमोचन पनि गरेको छ । नेपाली चलचित्रको दस्तावेजीकरण, संस्थागत स्मृति संरक्षण र अध्ययन–अनुसन्धानका लागि यस्ता प्रकाशनहरू महत्त्वपूर्ण हुने विश्वास बोर्डले व्यक्त गरेको छ ।

वार्षिकोत्सव समारोहमा बोर्डका दुई कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । साथै, स्टोरी बोर्डबाट छनोट भएको चलचित्र ‘सुरिलो रुख’ लाई निर्माण सहायतास्वरूप रु. ४ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

सो अवसरमा बोर्ड स्थापना यता २६ वर्षको अवधिमा ७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली कथानक फिल्मको नामावली सार्वजनिक गरिएको थियो ।

बोर्डका अनुसार यस्तो सूचीले नेपाली चलचित्र उद्योगको व्यावसायिक विकास, बजारको विस्तार तथा दर्शकसँगको सम्बन्धलाई अभिलेखीकरण गर्ने काम गर्नेछ । सार्वजनिक सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘जारी’, ‘छक्का पन्जा’ श्रृंखला, ‘महाजात्रा’, ‘प्रेमगीत ३’, ‘पुजार सार्की’, ‘महापुरुष’ सहितका छन् ।

सो अवसरमा सगरमाथा आरोहण गर्ने कलाकार निशा अधिकारी, अर्जुन कार्की, कविता नेपाली, रोजिता बुद्धाचार्य, निलम पौडेललाई सम्मान प्रदान गरियो । समारोहमा विशिष्ट, विशेष तथा चलचित्रकर्मी श्रेणीका परिचयपत्र पनि वितरण गरेको थियो ।

समारोहमा बोल्दै बोर्ड अध्यक्ष दिनेश डीसीले चलचित्र क्षेत्रलाई नीतिगत, संस्थागत र व्यावसायिक रूपमा सुदृढ बनाउन बोर्ड प्रतिबद्ध रहेको बताए । उनले डिजिटल रूपान्तरण, चलचित्रकर्मीको सम्मान, नेपाली चलचित्रको अभिलेखीकरण, सफल चलचित्रको तथ्यांक संकलन र सिर्जनात्मक परियोजनाको प्रवद्र्धनलाई आगामी प्राथमिकताका रूपमा अघि बढाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?