हिमाली जिल्लाका दूरदराजका बस्तीहरूमा व्यावसायिक कामको सिलसिलामा हामी तैनाथ थियौँ। ठूलै टिम सो प्राविधिक कार्यका लागि क्रियाशील थियो, जसमा एक जना महिला सहकर्मी पनि हुनुहुन्थ्यो।
योजनामुताबिक हामी खटिएको जिल्लाका सबै स्थानीय तहमा पुग्नुपर्ने थियो। तर, यो पटकको एक स्थानीय तहको यात्रामा अन्य सदस्यहरू जिल्लाकै काममा व्यस्त हुने भएकाले सहभागी हुन नसक्ने भए। फलस्वरूप, त्यो यात्रामा हामी दुई जना- ती महिला सहकर्मी र म मात्र यात्रा गर्ने भयौँ।
हुन त हिमाली जिल्लामा प्रायः सधैँ नै चिसो हुन्छ, तर त्यो पुस–माघको महिना भएकाले हिउँदको कठ्याङ्ग्रिने जाडो थियो। तत्कालीन गाउँपालिका सदरमुकाममा बसाइ व्यवस्थापन गरेर हामी वरिपरिका संरचनाहरूको अन–साइट प्राविधिक सहजीकरण र अनुगमनका लागि निस्कने गर्थ्यौँ।
हिमाली त्यो कठोर, विशाल र निस्तब्ध भूगोलमा काम गर्दा मानिस आफ्नो सामाजिक आवरणभन्दा धेरै पर पुगेर नितान्त प्राकृतिक र आन्तरिक बन्दो रहेछ। त्यही हिमाली शून्यताबीच एक दिन एउटा संरचनाबाट कार्य सकेर पालिका सदरमुकाम फर्कने क्रममा साथीबाट सोधिएको एउटा प्रश्नले मेरो चेतनालाई यसरी हल्लाइदियो, जसको कम्पन आज वर्षौँ बितिसकेर पनि मेरो मानसपटलमा उत्तिकै ताजा छ।
त्यो प्रश्न एक्कासि र बिनाप्रसङ्ग आएको थिएन। त्यसको पृष्ठभूमिमा एउटा गहिरो मानवीय पीडा, पारिवारिक जिम्मेवारी र संवेग लुकेको थियो। त्यसबखत उनका श्रीमान् अस्पतालमा जटिल स्वास्थ्य समस्याको उपचार गराइरहेका थिए। हामी भूगोलको यस्तो जटिल र विकट बिन्दुमा थियौँ, जहाँबाट चाहेर पनि उनी श्रीमान्को सङ्कटको घडीमा भौतिक रूपमा उपस्थित हुन सक्ने अवस्था थिएन। कर्तव्यको डोरीले बाँधिएर विकट हिमालको चिसोमा सेवा गरिरहँदा उनको मनको एउटा कुना श्रीमान्को स्वास्थ्य र दाम्पत्य सम्बन्धको आत्मिक गहिराइतिर डुलिरहेको थियो।
सोही क्रममा हाम्राबीच जीवनसाथीप्रतिको दायित्व, आपसी विश्वास र पति–पत्नीको सम्बन्धको पवित्रतामाथि विमर्श सुरु भयो। हामी दुई सहकर्मीबीचको त्यो संवाद नितान्त प्राज्ञिक, बौद्धिक र विशुद्ध मानवीय थियो। तर, यही विचार–विमर्शका बीच उनले पूर्ण आत्मविश्वास र दृढताका साथ मतिर एउटा प्रश्न तेर्स्याइन्।
समयको अन्तरालले ठ्याक्कै शब्दहरू केही विस्मृत भए तापनि उनको प्रश्नको अन्तर्य स्पष्ट, गम्भीर र प्रहारक थियो। उनले मलाई सोधेकी थिइन्, ‘तपाईं आफ्नो जीवनसाथीप्रति कतिसम्म निष्ठावान् हुनुहुन्छ ? के तपाईंले आफ्नो दाम्पत्य जीवनको यात्रामा मन, वचन र कर्मले आफ्नी पत्नीबाहेक अरू कसैलाई कुनै पनि रूपमा आफ्नो हृदयमा स्थान दिनुभएको छ ? के तपाईं आफ्नो पारिवारिक सम्बन्धमा निष्ठावान् हुनुहुन्छ ?’
पूर्वीय दर्शनको भाषामा भन्नुपर्दा, उनले मलाई ‘त्रिकरण शुद्धि’ (मनसा, वाचा, कर्मणा) को उच्चतम कसीमा उभ्याइदिएकी थिइन्, जहाँ विचार, अभिव्यक्ति र व्यवहारमा शतप्रतिशत पवित्रताको माग गरिन्छ। हिमाली क्षेत्रको त्यो चिसो हावाबीच यो प्रश्न सुन्नासाथ मेरो अन्तस्करण स्तब्ध भयो। विवेक किंकर्तव्यविमूढ भयो।
सामान्य सामाजिक व्यवहारमा यस्ता प्रश्नको एउटा बनिबनाउ वा सतही उत्तर दिने प्रवृत्ति अधिक हुन्छ- ‘होइन, म त पूर्ण रूपमा निष्ठावान् छु।’ तर, त्यो हिमाली शून्यता र उनको आँखाको गम्भीरताका अगाडि कृत्रिम उत्तर दिनु आफ्नै आत्माको अवमूल्यन गर्नुसरह हुन्थ्यो।
यदि मैले ‘छैन’ भनेको भए, त्यो मेरा विगतका केही मानवीय कमजोरीहरूप्रतिको अन्याय हुने थियो। त्यो मेरो इन्टिग्रिटीमाथि एउटा ठूलो अन्याय हुने थियो। अर्कोतर्फ, ‘हो, म कतै न कतै चुकेको छु’ भनेर सहर्ष स्वीकार गर्न मेरो सामाजिक अहम् र आत्मसम्मानले दिइरहेको थिएन।
त्यो दुविधाको घडीमा मसँग एउटै मात्र विकल्प बाँकी थियो- मौनता।
पूर्वीय दर्शनमा मौनतालाई कहिलेकाहीँ गहिरो सत्यको संवाहक मानिन्छ। उपनिषद्हरूमा सत्यको व्याख्या गर्दा शब्दहरू थाकेर फर्कन्छन् र मौनता सुरु हुन्छ भनिएको छ। तर, मेरो त्यो मौनता आध्यात्मिकभन्दा पनि एउटा नैतिक असमञ्जसताको मौनता थियो।
मेरो अस्वीकारोक्ति वा मौनताबाट उनले पक्कै पनि यो निष्कर्ष निकालिन् होला कि— यो पुरुष पनि समाजका अन्य आम मानिसजस्तै कतै न कतै मानसिक स्तरमा चुकेको हुन सक्छ।
त्यो घडीमा मलाई कतै सुनेको पूर्वीय मनोविज्ञान र दर्शनसँग जोडिएको एउटा गहन रूपकात्मक प्रसङ्ग सम्झना आयो। महाभारतका पात्र युधिष्ठिर र उनकी माता कुन्ती (जसलाई सधैँ सोह्रवर्षे तरुणवयकी जस्तै रूपवान् रहने वरदान थियो) सँग जोडेर एउटा मनोवैज्ञानिक प्रश्न उठाइएको प्रसङ्ग प्रवचनहरूमा सुनिने गर्छ।
कसैले युधिष्ठिरलाई ‘यति लावण्यमयी आमा कुन्तीलाई देख्दा मनमा जैविक वा प्राकृतिक रूपमा यौनिकताको भाव उत्पन्न हुन्छ कि हुँदैन ?’ भनेर एउटा क्रान्तिकारी र जटिल प्रश्न सोधेको चर्चा प्रवचनमा चल्ने गर्छ। त्यहाँ युधिष्ठिरले कुनै कृत्रिम आदर्श वा झूटो ओठे जवाफ नदिई बडो इमानदारीका साथ स्वीकार गरेका छन्— ‘हो, प्राकृतिक रूपमा मन र शरीरको स्तरमा त्यस्ता आवेग वा भाव आउँछन्; तर म मेरो ‘धर्म’ र विवेकले त्यसलाई नियन्त्रण गर्छु र उहाँमा मातृत्वको उच्चतम भाव मात्र झल्काउने प्रयत्न गर्छु। म ती प्राकृतिक आवेगहरूलाई कर्ममा उतार्नका लागि अगाडि बढ्दिनँ।’
कथा काल्पनिक वा प्रतीकात्मक जे भए पनि यसले पूर्वीय दर्शनको एउटा अकाट्य सत्यलाई उजागर गर्छ। मानिसभित्र प्राकृतिक वा जैविक आकर्षण आउनु अपराध होइन, तर धर्म र विवेकको बलले त्यसलाई संयमित र रूपान्तरण गर्नु नै साँचो मानवता हो।
युधिष्ठिरले त आफ्नो भित्री प्राकृतिक आवेगलाई धर्मको बलले सहजै स्वीकार र नियन्त्रण गर्न सकेको दृष्टान्त थियो, त्यो हिमाली कठ्याङ्ग्रिने हिउँदमा म भने आफ्नो सामाजिक अहम् र आन्तरिक सत्यको चेपुवामा परेर निःशब्द भएँ। ममा त्यो अकाट्य सत्यलाई युधिष्ठिरले जस्तै सहज रूपमा स्वीकार्ने वा संवाद गर्ने सामर्थ्य आइसकेको थिएन।
मलाई त्यति नै बेला प्रतिप्रश्न गर्न मन नलागेको होइन- ‘तपाईंले मलाई यति ठूलो प्रश्न सोध्नुभयो, तर तपाईंको आफ्नो निष्ठाको धरातल के हो ?’
तर, उनको अनुहारमा झल्किएको अद्भुत आत्मविश्वास र दृढता देखेर म रोकिएँ। मलाई लाग्यो, उनले जति सक्षमताका साथ प्रश्न गरेकी छिन्, उनको आफ्नो आन्तरिक धरातल पनि त्यत्तिकै अडिग होला। र, मैले आफ्नो कमजोरी लुकाउनका लागि प्रतिप्रश्न गर्नु कायरता हुने ठानेँ।
झन्डै एक दशकअघि घटेको त्यो घटनापछि वर्षौँसम्म पनि यो प्रश्न मेरो भित्री मनमा मडारिइरहन्छ। के यो मानव समाजमा यति गम्भीर र निष्ठाको प्रश्न सामना गर्दा मजस्तै अन्योल र द्वन्द्वमा अरू मानिस पनि पर्छन् होला ? कि म मात्र यस्तो कमजोरी र संशय बोकेर बाँचिरहेको छु ? गफैगफको सिलसिलामा हाल सँगै काम गर्ने एक सहकर्मी मित्रले व्यक्त गर्नुभएको एउटा विचारणीय वाक्य यहाँ सान्दर्भिक देखिन्छ- ‘अवसर नपाउन्जेल मात्र मानिस परपुरुष तथा परस्त्री गमन, अवैध धनार्जन (भ्रष्टाचार) र आत्मरतिमा रमाउने वा प्रशंसा सुन्ने प्रवृत्तिबाट टाढा रहन्छ। जब सहज अवसर मिल्छ, मानिस स्वभावैले यी तीन कुरामा स्वतः प्रवृत्त हुने गर्दछ।’
वास्तवमा, यी तीनै कुराहरूमा मानवीय लोभ, मोह र वासना नै प्रधान कारक हुन्। पूर्वीय दर्शन र मनोविज्ञानको कसीमा घोटेर हेर्ने हो भने मेरा मित्रको यो भनाइले मानव चेतनाको एउटा कटु सत्यलाई उजागर गर्छ।
सनातन चिन्तनले मानिसलाई जन्मजात रूपमा ‘पूर्ण’ वा ‘अपराधी’ मान्दैन, बरु उसभित्र ‘सत्त्व’, ‘रज’ र ‘तम’ गुणहरूको निरन्तर द्वन्द्व चलिरहन्छ भन्ने स्वीकार गर्छ। हामी बाहिर जतिसुकै आदर्शको खोल ओढेर बाँचौँ, हाम्रो अन्तस्करणको गहिराइमा अनेकौँ जन्मका ‘सुप्त वासनाहरू’ र संस्कारहरू बिउका रूपमा सुतिरहेका हुन्छन्।
हिमाली भेगको चिसोमा मेरी सहकर्मीले सोधेको प्रश्न र मेरा मित्रले औँल्याएको अवसरको सिद्धान्त वास्तवमा पूर्वीय दर्शनमा चर्चा हुने ‘षड्रिपु’ (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य) कै प्रकटीकरण हो। जबसम्म मानिसले बाहिरी अनुकूलता वा सहज अवसर पाउँदैन, तबसम्म उसका यी विकारहरू सुषुप्त अवस्थामा रहन्छन्। तर, अनुकूल वातावरण र गोपनीयताको अभयदान मिल्नासाथ ती सुप्त वासनाहरू जागृत हुन्छन् र विवेकको सिंहासनलाई हल्लाइदिन्छन्।
श्रीमद्भगवद्गीतामा श्रीकृष्णले भन्नुभएको छ- ‘ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते’ अर्थात् विषयहरूको निरन्तर चिन्तन गर्नाले मानिसमा पहिले आसक्ति, त्यसपछि काम (वासना) र अन्ततः लोभ पैदा हुन्छ, जसले विवेकको नाश गराउँछ। परपुरुष तथा परस्त्री गमनमा ‘काम’ र ‘मोह’ प्रधान छ भने भ्रष्टाचारमा ‘लोभ’ र ‘मद’ को साम्राज्य छ।
आत्मरति र प्रशंसाको भोक भने अहङ्कारको निकृष्ट रूप हो। यी तीनै कुरामा मानिस स्वतः प्रवृत्त हुनु भनेको उसको ‘चेतना’ प्रकृतिको तमस र रजस गुणको अधीनमा हुनु हो। हिमाली क्षेत्रको त्यो संवादले मलाई यही दार्शनिक सङ्कटको ऐना देखाएको थियो।
के म साँच्चिकै निष्ठावान् छु, या मैले केवल आफ्ना वासनाहरूलाई बाहिर आउने ‘सहज अवसर’ मात्र नपाएको हो ? यो आत्म–अन्वेषणले मलाई आत्मरतिको भ्रमबाट उठाएर कठोर सत्यको धरातलमा उभ्याइदियो।
पूर्वीय चिन्तनमा ऋत र सत्य (कस्मिक एन्ड मोरल अर्डर) लाई जीवनको आधार मानिन्छ। मानिस जतिसुकै आदर्शवादी बन्न खोजे पनि उसको भित्री चेतना र बाहिरी व्यवहारको बीचमा कतै न कतै सानो खाडल रहिरहँदो रहेछ।
मेरो द्वन्द्व पनि त्यही मानवीय सीमितता र आदर्शबीचको शाश्वत लडाइँ थियो। हिमाली क्षेत्रको त्यो बाहिरी जाडोभन्दा मेरो मनभित्र सल्किएको यो द्वन्द्वको शीताग्नि धेरै चिसो र आँत नै कमाउने खालको थियो।
केही दिनअघि कार्यकक्षमा ‘जीवनमा कतिपय प्रश्नहरू अनुत्तरित नै रहन्छन्’ भन्ने विषयमा चर्चा चल्दै गर्दा मैले यो प्रसङ्ग सम्झिएँ। तर, त्यहाँ पनि मैले प्रश्नको संवेदनशीलता र यसको प्राज्ञिक गहिराइलाई पूर्ण रूपमा उजागर गर्न सकिनँ। त्यस समय थाती राखिएको र ‘कुनै न कुनै समयमा उजागर गर्नेछु’ भनी वाचा गरिएको भावनाकै उपज हो, यो स्मरणात्मक लेख। हिमाली जिल्लाको त्यो भूगोलजस्तै त्यो प्रश्न आज पनि मभन्दा अगाडि एउटा अग्लो हिमाल बनेर उभिएको छ— निष्फिक्री, अडिग र उत्तरहीन।
प्रतिक्रिया 4