Comments Add Comment

निःशुल्क टि्वटर प्रकरण : एनसेल भन्छ- सञ्चालन अनुमति लिनुपर्दैन, प्राधिकरण भन्छ- लिनैपर्छ

नविन अर्याल

८ असोज, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकलाई निःशुल्क सेवा प्रदान गर्न नियामक निकायको अनुमति नचाहिने बताएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले ‘एनसेल निःशुल्क टि्वटर’ सेवा बन्द गर्न निर्देशन दिएपछि एनसेलले सो धारणा व्यक्त गरेको हो ।

‘निःशुल्क उपलब्ध गराउने सेवामा नियामकबाट अनुमती लिइरहनुपर्दैन, सेवाको बारेमा जानकारी गराए पुग्छ’ एनसेलकी कर्पोरेेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन्- ‘हामीले निःशुल्क सेवाको समयावधी थप गरेपछि प्राधिकरणमा जानकारी गराएका थियाैं, सञ्चालन अनुमति दिनुभएन ।’

एनसेNcell-Towerलले तीन महिना प्राधिकरणबाट प्रमिशन नलिई निःशुल्क टि्वटर सेवा सञ्चालन गरेको थियो । भदौ १० गते सेवा अवधि सकिएपछि कम्पनीले थप तीन महिनासम्म निःशुल्क टि्वटर सेवालाई निरन्तरता दिएपछि प्राधिकरणले भदौ ३० गते उक्त सेवा बन्द गर्न पत्राचार गरेको हो ।

‘एनसेलले निःशुल्क टि्वटर सेवालाई थप तीन महिना निरन्तरता दिएको जानकारी प्राधिकरणलाई गराएको थियो, सेवा बन्द गर्न निर्देशन दिनुभयो’ कोइरालाले अनलाइन पत्रकारहरुसँग कुरा गर्दै भनिन्- ‘पहिलो चरणमा अनुमति नलिई सेवा सञ्चालन गर्न दिने, दोस्रो चरणका लागि समयावधि थप गर्न जानकारी गराउँदा किन अनुमति प्रदान गर्नुभएन ?’

प्राधिकरणका प्रवक्ता कैलाश न्यौपाने दूरसञ्चार सेवा प्रदायकले कुनै पनि सेवा प्रमिशन नलिई तीन महिनामात्र सञ्चालन गर्न पाउने बताउँछन् । त्यसभन्दा बढी समय चलाउनु परेमा प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने उनको भनाई छ । ‘एनसेलले अनुमतीबीना सेवा पुनः सुचारु गरेपछि नियामक निकायले रोक्न खोजेको मात्र हो’ उनले अनलाइनखबरसँग भने ।

‘सेवा प्रदायकले चाडपर्व तथा विशेष अवसरमा नयाँ सेवा सञ्चालन गर्न खोज्लान्, त्यो बेला प्राधिकरणमा बैठक बसेर निर्णय गर्न ढिलाई हुनसक्छ, जसले गर्दा सेवा सुरु गर्न कठिनाई होला भनेर हामीले तीन महिनासम्मको लागी अनुमति नलिई सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेका हौं’ प्रवक्ता न्यौपानेले भने- ‘तीन महिना सेवा सञ्चालन गरिसकेपछि निरन्तरताका लागि अनुमति लिनुपर्छ ।’

तीन महिना अनुमतिबीना सेवा सञ्चालन गरेपनि प्राधिकरणलाई सेवाको पूर्ण जानकारी भने गराउनुपर्ने हुन्छ । एनसेलले पनि दुबै पटक निःशुल्क टि्वटर सेवा सञ्चालन गरेको प्राधिकरणलाई जानकारी गराएको एनसेलका कर्पोरेट कम्यूनिकेशन एक्स्पर्ट मिलनमणि शर्माले बताए ।

एनसेलले नियामक प्राधिकरणसँग वार्ता गरेर सेवा सुचारु गर्ने सञ्जु कोइराला बताउँछिन् । ‘एनसेलले व्यवसायीक सामाजिक उत्तरदायीत्व अन्तर्गत निःशुल्क सेवा उपलब्ध गराएको हो, सित्तैमा दिइने सेवालाई नियमन गरिरहनुपर्दैन’ उनले भनिन- ‘सित्तैमा दिने सेवालाई नियामक निकायले हेरिदिनुपर्छ ।’

प्राधिकरणले बन्द गर्न निर्देशन दिएपनि निःशुल्क टि्वटर सेवा भने आजको मितिसम्म सुचारु रहेको छ । ‘सेवालाई निरन्तरता दिनका लागि प्रकृयागत रुपमा जानुपरे पनि जान्छौं’ शर्माले भने- ‘जुन सेवा सञ्चालन गर्दा अनुमति लिनुपर्दैन, त्यो सेवा सञ्चालन गर्न लाग्दा किन प्रमिशन लिइरहनुपर्‍यो ।’

twitter_ncell

सेवा प्रदायकले कुनै पनि सेवा प्रदान गर्दा दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार ग्राहकलाई लगाउने शुल्क, महशुल के कति हो, कसरी सञ्चालन हुन्छ सम्पूर्ण कुरा जानकारी गराई प्राधीकरणबाट स्वीकृत गराएरमात्र सेवा लागु गर्न पाइन्छ ।

एनसेलले निःशुल्क टि्वटरका बारेमा केही जानकारी नदिई सेवा सुचारु गरेको जानकारी मात्र गराएको प्रवक्ता न्यौपानेले भने । उता एनसेलकी कोइरालाले भने पहिलो पटक सेवाको सम्पूर्ण डिटेल प्राधिकरणलाई उपलब्ध गराएको हुँदा दोस्रो पटक सेवा सुचारु गरेको जानकारी मात्र गराएको बताइन् ।

‘एनसेलले निःशुल्क सेवा उपलब्ध गराउने भनेर मात्र हुँदैन, उसले उक्त सेवा सञ्चालन गर्न कति खर्च लाग्छ, विदेशी कम्पनीलाई कति तिर्नुपर्छ, निःशुल्क सेवा सञ्चालन गर्दा खर्च लाग्ने भए कति लाग्छ, उक्त रकम कहाँबाट परिपूर्ति गर्छ, कम्पनीले उक्त सेवा कहिलेसम्म धान्न सक्छ, कम्पनीको निःशुल्क सेवा उपलब्ध गराउने नियत के हो, यस्ता कुराहरुको पूर्ण जानकारी गराएर प्राधिकरणको विश्वास जित्नुपर्छ’ प्रवक्ता न्यौपानले स्पष्ट पारे ।

प्राधिकरणले सेवा प्रदायकलाई निःशुल्क सेवा सञ्चालन गर्ने स्वीकृति प्रदान गर्दा प्रतिस्पर्धीलाई कम्पनीहरुलाई त्यसले कस्तो प्रभाव पार्छ भनेर पनि अध्ययन गर्ने गरेको न्यौपानेले बताए ।

सेवा प्रदायकले सञ्चालन खर्च भन्दा कम शुल्क लिएर बजार कब्जा गर्न खोजेमा, सञ्चाल खर्चभन्दा ज्यादै बढि शुल्क लिएर उपभोक्ता ठग्न खोजेमा पनि त्यस्तो कार्यलाई रोक्ने न्यौपानेको भनाई छ । विभिन्न तरिकाबाट मार्केटलाई धक्का पार्ने खालका सेवाहरु कुनै पनि मुलुकमा सञ्चालन गर्न नपाईने उनले ठोकुवा गरे ।

यस्तो छ निःशुल्क टि्वटर सेवा

यस योजनाअन्तर्गत एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले मोवाइल सेटबाट टि्वटर साइट मार्फत तथा कनेक्ट प्रयोगकर्ताले कम्प्युटरबाटै निःशुल्क टि्वट गर्न, अरुको टि्वट पढ्न, अरुलाई फ्लो गर्न तथा आफ्ना फलोवरहरुलाई सन्देश पठाउन सक्छन् ।

ओपेरा मिनी ब्राउजर भर्सन ४.४ वा सो भन्दा माथिल्लो भर्सन चलाउने ग्राहकले ग्राहकले पनि निःशुल्क टि्वटर चलाउन पाउँछन् ।

यो सेवाले टि्वटरमा रहेको वाह्य लिंकलाई भने समेट्दैन । अर्थात, टि्वटरमा रहेको वाह्य लिंक क्लिक गरि अन्य साईट हेर्दा नियमित शुल्क लाग्छ । मोवाइल प्रयोगकर्ताले यस्ता लिंकमा क्लिक गरेमा नियमित शुल्क लाग्ने सूचना प्राप्त गर्ने र त्यसलाई स्विकार गरेमा मात्र ति साईटहरु खुल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment