Comments Add Comment

आठ अर्ब लगानीमा बन्ने भयाे पाँचतारे ‘शेराटन होटल’

२४ असोज, काठमाडौं । झण्डै चार वर्षको तयारीपछि काठमाडौंमा पाँचतारे ‘शेराटन काठमाडौं होटल’को निर्माण कार्य सुरु हुने भएको छ । एमआईटी ग्रुप होल्डिङसको लगानीमा निर्माण हुन लागेको होटलको शनिबार प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गर्ने भएका छन् ।

करिव ८ अर्ब रुपैयाँको लगानीमा निर्माण हुने होटलमा शत् प्रतिशत वैदेशिक (अष्ट्रेलियन) लगानी रहने कम्पनीका सिइओ शेष घलेले जानकारी दिए । होटलको प्रर्वद्धक अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङस रहेको छ भने व्यवस्थापन तथा सञ्चालन सिंगापुरको स्टारवुड ग्रुपले गर्ने छ ।

होटल काठमाडौंको मुख्य केन्द्र कान्तिपथस्थित केशरमहलसँगै रहेको करिव १४ रोपनी क्षेत्रफलमा निर्माण हुने छ । कम्पनीका अुनसार १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम रहनेछन् ।

SHERATON-KATHMANDU_FRONT-FACE-Final

‘होटलको डिजाइन र नक्सा पास भइसकेको छ, अहिले सिंगापुरमा डकुमेन्टेसन गर्ने काम भइरहेको छ, अबको २/३ महिनाभित्रमा निर्माण कार्य सुरु हुनेछ’ सिइओ घलेले भने- ‘सन् २०१७ को अन्त्यसम्ममा होटलको निर्माण कार्य सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल संचालन गर्ने लक्ष्य लिएका छौं ।’

होटलको मूख्य लक्ष्य गुणस्तरीय पर्यटक नेपाल भित्राउनु रहेको छ । होटल म्यानेजमेन्टमा विश्वभर प्रख्याती कमाएको स्टारवुड होटल एण्ड रिसोर्ट वल्डवाइड इंकले गुणस्तरीय पर्यटक भित्राउन अन्तर्राष्ट्रिय सञ्जालमार्फत विश्वभर मार्केटिङ गर्ने छ ।

शेराटन छिमेकी मुलुक भारत र चीनमा विस्तार हुँदै गइरहेकाे जानकारी दिँदै घलेले नेपालमा गुणस्तरिय पर्यटक भित्राएर अर्थतन्त्रमा सहयाेग पुराउने उद्देश्यसहित शेराटन हाेटल निर्माण गर्न लागेकाे बताए । कम्तिमा ६० प्रतिशत अकुपेन्सी भएमा हाेटलले सञ्चालनमा अाएकाे १५ वर्षभित्रमा लगानी उठाउने अपेक्षा राखेकाे उनकाे भनार्इ थियाे ।

अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित शेराटन होटल नेपाल आउनु मुलुकको पर्यटन उद्योग र समग्र आर्थिक विकाशमा समेत महत्वपूर्ण उपलब्धी मानिएको छ । मुलुकको सेवा क्षेत्रमा आएको सवैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएकाले नेपालको पर्यटन उद्योगको विकाशमा दूरगामी प्रभाव पार्ने सिइओ घलेले विश्वास व्यक्त गरे ।

यसले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा ठूला परियोजना सुरु गर्न प्रोत्साहन मिल्ने दाबी गर्दै कम्पनीले शेराटनजस्तै अन्तराष्ट्रिय चेन होटललाई नेपाल आउन हौसला मिल्ने अपेक्षा व्यक्त गरेको छ ।

करिव एक सय मुलुकमा रहेका सेराटन होटल र यसको सञ्जालमार्फत नेपालको पर्यटन उद्योगको प्रर्वद्धन हुने र नेपालमा स्तरीय पर्यटकको आगमन वृद्धि हुने छ ।

Shesh-Ghale-Hotel-Sheratan-Press-Meet
पत्रकार सम्मेलनमा ‘शेराटन हाेटल’काे बारेमा जानकारी गराउँदै एमअाइटी ग्रुपका सिइअाे शेष घले र निर्देशक जमुना गुरूङ ।

विशेषताहरू

पाँचतारे लक्जरी होटल शेराटन काठमाडौंमा २१८ वटा गेष्टरुम तथा सुइट रुम रहने छन् । हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा यस होटलमा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुबिधा हुने छ भने स्थानीय र अन्तर्राष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ ।

विवाह तथा सभा समारोहका लागि करिव एक हजार सिट क्षमताको सभाकक्ष रहने छ । जुन सभाकक्ष काठमाडौंमा हालसम्म उपलब्धमध्ये सबैभन्दा ठूलो हुने दाबी गरिएको छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् ।

भवनको निर्माण आधुनिक ‘पोष्ट टेन्सन्ड कंक्रिट’ बिधिमार्फत् गरिने छ, जुन काठमाडौंमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसले भवनलाई बलियो र सुरक्षित बनाउने छ ।

होटल निर्माणका क्रममा करिव ५० हजारले प्रत्यक्ष रोजगारी पाउने छन् भने होटल संचालनपछि ४५० जना दक्ष जनशक्तिले रोजगारी पाउने छन् ।

शेराटन होटलबारे

बिश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल र एण्ड रिसोर्ट वल्डवाइड इंक’ले संचालन गर्ने विभिन्न होटल ब्राण्डमध्ये शेराटन पनि एक हो । शेराटन ब्राण्डमा बिश्वका करिव ७० मुलुकमा ४ सय होटल संचालन भइरहेका छन् ।

SHERATON-KATHMANDU_FRONT-FACE-Final-2-jpg

स्टारवुडले शेराटनबाहेक St. Regis®, The Luxury Collection®, W®, Westin®, Le Méridien®, Sheraton®, “our Points® by Sheraton, Aloft®, and Element® ब्राण्डमा बिश्वका झण्डै एक सय मुलुकमा होटल सञ्चालन गरिरहेको छ जहाँ करिव १ लाख ८१ हजार ४ सय कर्मचारी कार्यरत छन् ।

एमआईटी ग्रुप होल्डिङबारे

गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा प्रर्बद्धित अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको ‘एमआईटी ग्रुप होल्डिङ्स’ले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ । एमआईटीको लगानीमा मेलवर्न र सिड्नीमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज संचालन गरिरहेको छ जहाँ करिव ३ हजारभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् ।

एमआईटी ग्रुपले पोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ । एमआईटीसँग मेलवर्न र सिड्नीका मुख्य स्थानमा रहेका बिभिन्न व्यवसायिक भवनहरुको स्वामित्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment