Comments Add Comment

छाउपडीसँग मान्छे रिसाए, देउता रिसाएनन् !

लोग्शरी कुँवर
अछामको छाउपडीका बारेमा थुप्रै सुनेकी पत्रकार उन्नती चौधरी रिपोटिङका क्रममा मसँगै असारको पहिलो साता अछाम पुगिन् । छाउपडी प्रथा बिरुद्धमात्र दर्जन संघ संस्थाले काम गरिरहेको सदरमुकाम मंगलसेनमा संयोगवस विभिन्न धर्मका धर्म गुरुहरुको भेला थियो ।

लोग्शरी कुँवर
लोग्शरी कुँवर

छाउ (महिनावारी) भएका बेला घरमा बस्दा र दूध दही खाँदा देउता रिसाउने, घरमा बाघ प्रवेश गरी घरपालुवा जनावरसँगै मान्छेमाथि आक्रमण गर्ने, घरका सदस्य बिरामी पर्ने र स्वयं यो प्रथा नमान्ने महिलालाई शारिरीक, मानसिक र सामाजिक रुपमै राम्रो हुँदैन भन्ने सुनेकी उन्नतीलाई छाउपडी प्रथाका बारेमा धर्मगुरुहरुको बुझाइ सुन्न मन लाग्यो । कार्यक्रममा सहभागी भइन् ।

कार्यक्रममा सहभागी हिन्दु, बौद्ध, क्रिश्चियन लगायत धर्म गुरुहरुका भनाइ सुनिन् । साथै कार्यक्रममा धामी (भूत, पिचास लाग्दा कापेर निको पार्ने व्यक्ति) को उपस्थिती थियो । छाउपडी प्रथा मान्दा के हुन्छ ? नमान्दा के हुन्छ ? भन्ने छलफल भइरहँदा धामीले चाँही चार दिनसम्म महिनावारी भएकी महिलालाई छुन नसकिने बताए ।

तपाईहरु जे गर्नुस्, म चाँही छाउपडीलाई छुन सक्दैन । देउता रिसाउँछन् । भन्न पायो, बोल्न पायो भन्दैमा जे पनि गर्न र बोल्न पाइन्छ ? “छाउ भ्याकी बैकिनीलाई कसरी छुन्या ?” (महिनावारी भएकी महिलालाई कसरी छुने ?) आफ्नै भाषामा धामीले प्रश्न गरे । बरु छाउ भएका बेला भगवानले नै महिलाको शरीरबाट रगत बगाउँछ भन्दै भगवानको नियमलाई मान्छेले परिवर्तन गर्न नसकिने तर्क उनले गरे ।

धामीको कुरा सुनेपछि उन्नतीले धामीलाई छुने कोसिस् गरिन् । छाउ भएकी महिलाले देउता आउने धामीलाई छुँदा देउता रिसाउँछन् भन्ने सुनेकी उनलाई धामीलाई छुने ईच्छा जाग्यो । उनलाई महिनावारी भएको २ दिनमात्रै भएको थियो ।

तर, म महिनावारी भएकी छु, तपाईलाई छुन चाहान्छु भन्ने वातावरण पनि थिएनँ । त्यसैले उनले धामीले नबुझ्ने गरी उनको नजिक गइन् । उनीसँग बसेर फोटो खिचिन् । धामी हाँसिरहे । उन्नतीको रणनीति मलाई थाहा थियो । त्यसैले मैले पनि उनीहरुको फोटो लगातार खिचिरहेँ । उन्नती म नजिक आएर खुसुक्क मलाई भनिन्, “दिदी धामीलाई त केही भएन त ?”

उन्नतीको प्रश्नको उत्तर मसँग रेडिमेट थियो । मैले पनि भनें, तपाईले म महिनावारी भएकी छु भनेर जानकारी दिएको भए हुन्थ्यो । जानकारी नदिएको भएर केही भएन । मेरो उत्तर र धामीलाई केही पनि नभाको अवस्थाले उन्नतीलाई पनि प्रष्ट बनायो ।

आफ्नो घरमा महिनावारी कहिल्यै नमान्ने थारु समुदायकी उन्नतीले अछाम लगायतका जिल्लाका धामी लगायत धर्म गुरुहरुलाई छुनु हुँदैन भन्ने सुनेकी थिइन् । छोयो भने के हुँदो रहेछ भन्ने कुराको भुक्तभोगी समेत बनेपछि प्रष्ट भइन् । अनि भनिन्, – केही हुँदोरहेनछ, खाली भ्रम मात्र हो ।

अछामको बदनामी

सुदूरपश्चिमको पहाडी जिल्ला अछाम छाउपडीका कारण बदनाम छ । छाउपडी प्रथाबाट देशभरिका अधिकांश महिलाहरु प्रभावित भए पनि छाउ (महिनावारी) हुँदा गोठमै बस्नुपर्ने बाध्यताका कारण अछाम जिल्लाले बढी बदनामी कमाएको हो ।

अछाम लगायत सुदूर र मध्य पश्चिमका जिल्लाहरुमा छाउ हुँदा गोठमा बस्न बाध्य महिलाहरुले शहरमा त हाम्रो जस्तो पीडा छैन भन्ने बुझिरहेका छन् । जुन कुरा गलत हो

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, दार्चुलासँगै तराईका जिल्ला कैलाली र कञ्चनपुर समेत छाउपडी गोठ मुक्त छैनन् । तर, पनि संख्यात्मक रुपमा अछाममा छाउपडी गोठहरु बढी भएका कारण सबैभन्दा बढी छाउपडी प्रथाको प्रभाव अछाममा देखिएको हो ।

हुन त राजधानी काठमाडौंमा पनि छाउ मान्ने मानिसहरुको संख्या अछामीको भन्दा कम छैन । काठमाडौंमा आलिसान महल हुनेहरुदेखि लिएर एउटामात्र कोठा भाडामा लिएर बस्ने (प्राय सबै क्षेत्री बाहुनहरु) समेत महिनावारी बार्छन् । तर, पनि हरेक महिना महिनावारी हुँदा अछामी महिलाहरुलाई गोठमै बस्नुपर्ने बाध्यात्मक परिस्थितीका अगाडि त्यो कुरा सामान्य नै लागिरहेको छ ।

अछामका छाउपडी गोठहरुले शहरमा एउटा कोठामा बस्नुपर्दा समेत चूलो, पूजाको क्षेत्रलगायत अरु सुत्ने ओछ्यानहरु छुन नपाउँदा कच्याकूचूक तरिकाले सानो ठाउँभित्रै गुम्सिन बाध्य  महिलाहरुको पीडालाई ओझेलमा पारिरहेको छ ।

रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायत सभा, समारोह र परिवर्तनका लागि गरिने कार्यक्रमहरुमा दिग्गजहरुका भनाइहरु सुन्नेले त राजधानी लगायतका शहरमा महिनावारी बारिँदैन भन्ने ठान्दा होलान् । अझ भन्नु पर्दा अछाम लगायत सुदूर र मध्य पश्चिमका जिल्लाहरुमा छाउ हुँदा गोठमा बस्न बाध्य महिलाहरुले शहरमा त हाम्रो जस्तो पीडा छैन भन्ने बुझिरहेका छन् । जुन कुरा गलत हो ।

भत्केका छाउपडी गोठ धमाधम बन्न थालेछन्

एउटा एनजीओको सहयोगमा सुदूरपश्चिमको पहिलो छाउपडी गोठ मुक्त भएको भागेश्वर गाविस अछामको विकसित गाविसको रुपमा पनि चिनिन्छ । दुई वर्ष अगाडी छाउपडीको रिपोटिङका क्रममा भागेश्वर पुग्दा भागेश्वर छाउपडी गोठ मुक्त भएको फिचर लेखेकी थिएँ । तर, त्यसको केही समय पछाडि पुनः अछाम पुग्दा त्यही गाउँमा गोठहरु बनाइएको खबरले मन अमिलो बनायो ।

छाउपडी गोठ मुक्त बनाउने सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुले सयौंको संख्यामा रहेका गोठहरु मध्ये ८०/८५ प्रतिशत गोठमात्रै भत्किँदा १०० प्रतिशत गोठ नै भत्किए भनेर रिपोर्ट बनाउनु मूर्खता हो

यस्तोे किन भो भन्दा त साना घरमा परिवारका सबै सदस्यले एकै छानामुनि एकै ठाउँमा सुत्नुपर्दा ‘अच्छल’ हुन थाल्यो रे ! (घरमा विभिन्न बाधा व्यवधान भए, राम्रो भएन) भन्दै गोठ भत्काएका केही परिवारले फेरि छाउपडी गोठ बनाएछन् ।
यस्तै पायल, बैजनाथ, चण्डिका, मष्टामाण्डौं लगायतका गाविसहरु पनि धमाधम छाउपडी गोठ मुक्त गरिए । कुरीतिका रुपमा विद्यमान छाउपडी प्रथालाई मलजल गर्न भौतिक संरचना नै रहिरहनु हामी विज्ञानको युगमा छौं भनेर गर्व गर्नेहरुका लागि लज्जाको विषय हो ।

यस्तो अवस्थामा सिङ्गो गाविस नै छाउपडी गोठ मुक्त हुनु सिङ्गो नेपालीहरुका लागि नै सुखद समाचार मान्न सकिन्छ । तर, दुखद पक्षचाँहि के हो भने छाउपडी गोठ मुक्त भए भनिएका गाविसमा समेत थुपै्र छाउपडी गोठ भेटिए, जुन राम्रो होइन ।

रिपोर्टका लागि रिपोर्ट बनाउन गाविसलाई छाउपडी गोठ मुक्त बनाउने सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुले सयौंको संख्यामा रहेका गोठहरु मध्ये ८०/८५ प्रतिशत गोठमात्रै भत्किँदा १०० प्रतिशत गोठ नै भत्किए भनेर रिपोर्ट बनाउनु अर्को मूर्खता हो ।

महिनावारीबारे किशोरीहरुको बुझाइ

यसपालि अछाम बसाईका क्रममा स्थानीय महिला, महिनावारी सुरु भएका किशोरी, तिनका केटासाथीहरु, पत्रकार, स्थानीय बुद्धिजीवी, एनजीओकर्मी लगायत धेरै व्यक्तिहरुसँग छाउपडीका विषयमा कुराकानी गर्ने अवसर मिल्यो । छाउपडी प्रथा कूप्रथा हो भन्ने बारेमा लगभग सबै मान्छेहरु सहमत छन् । तर, समस्या कहाँनिर छ भन्दा ………विद्यालयमा पढ्ने किशोरी बहिनीहरुको जवाफ साह्रै चित्तबुझ्दो लाग्यो ।

विवाह नभएकी युवती हरेक महिना गोठ नगए उसले अवैध पेट बोकेको अड्कल काटिन्छ र प्रश्न गरिन्छ । आफ्नो चरित्रलाई राम्रो देखाउने बहानामा अछामी महिलाहरु छाउपडी प्रथालाई शिरोपण गर्न विवश छन्

बिसाकोट घर भएकी एकजना किशोरी बहिनीलाई यो प्रथा पटक्कै पन पर्दैन । छाउ हुनु प्राकृतिक नियम हो । यो अवस्थामा अरु बेलामा भन्दा पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । आराम गर्नुपर्छ । योनीबाट रगत बगिरहने भएका कारण पटक-पटक सफा पानीले सफा गरिरहनु पर्छ । रगत बाहिर नबगोस् भन्नका लागि प्रयोग गरिने सफा कपडाको प्याड अथवा सेनेटरी प्याड फेरिरहनुपर्छ भन्ने कुरा थाहा छ । यति थाहा हुँदाहुँदै पनि महिनावारी हुन सुरु नभएकी उनलाई महिनावारी भएकै दिन गोठ जानुपर्ने बाध्यता छ । किनभने उनी सँगैका सबै साथीहरु महिनावारी हुन थालिसकेका छन् । र, उनीहरु छाउ हुँदा सबै गोठ बस्छन् ।

तपाईले महिनावारी भएँ भनेर नभन्दा के हुन्छ त ? भन्ने जिज्ञासामा उनले भनिन्,-“लाग्न त मलाई पनि त्यस्तै लाग्छ । तर, एकपटक नभनौंला । दुईपटक नभनौंला । वर्षौंसम्म नभन्दा त उल्टै सबैले यो केटी अहिलेसम्म महिनावारी किन भइन भनेर मेरो शारीरिक क्षमताप्रति नै प्रश्न उठाउँछन् ।” त्यसकारण पनि महिनावारी भयो भने गोठ जानैपर्छ ।

छाउपडी प्रथा मान्नुहुन्न भनेर अरुलाई सिकाउनेहरुकै कथा व्यथा पनि सुनिनसक्नुका छन् । अधिकारकर्मी महिला, अधिकारकर्मी पुरुष, पत्रकारका श्रीमती, आमा, दिदी बहिनीसमेत छाउपडी प्रथाको शिकार भइरहेका छन् । महिला भएकै कारण थुपै्र सुख र सुविधाबाट बञ्चित महिलाहरुका अधिकारका लागि वकालत गर्ने अछामका अधिकांश अधिकारकर्मी महिलाहरु स्वयं छाउको समयमा गोठ बस्न विवश छन् ।

गोठ नबस्नेहरु पनि ४/५ दिनसम्म छाउपडी मान्न बाध्य छन् । किनभने एउटा विवाहित महिलाले हरेक महिना छाउ भएँ भनेर परिवारमा प्रचार नगर्ने हो भने ऊ गर्भवती भएको बुझिन्छ । त्यस्तै विवाह नभएकी युवती पनि हरेक महिना गोठ नजाने हो उसले अवैध पेट बोकेको अड्कल काटिन्छ र प्रश्न गरिन्छ । सोधीखोजी हुन्छ । त्यसकारण पनि आफ्नो चरित्रलाई राम्रो देखाउने बहानामा अछामी महिलाहरु छाउपडी प्रथालाई शिरोपण गर्न विवश छन् ।

राजेन्द्रले गरेको क्रान्ति

आफु दुःख भोगेर अरुका अगाडि कथित राम्रो बन्नका लागिमात्रै महिलाहरु किन छाउपडी प्रथालाई मलजल गरिरहेका छन् त ? के यसमा पुरुषको भूमिका केही छैन र ? भन्नेहरुका लागि गतिलो उदाहरण हुन सक्छन्, अछामका सिनियर पत्रकार राजेन्द्र कुँवर ।

पायल घर भएका उनले विवाह गरेदेखि नै श्रीमतीलाई गोठ पठाएनन् । छिमेकीका श्रीमती, आफ्नी आमालगायत सबै महिलाहरु महिनावारीमा गोठ बस्थे । तर, छाउ हुनु भनेको महिला प्रजनन् क्षमताका लागि योग्य भएको प्रमाण हो भन्ने बुझेका उनले श्रीमतीले गोठ जान्छु भन्दा अनुमति दिएनन् । जसले जे भन्छ, मलाई भन्छ भन्दै श्रीमतीलाई आफू महिनावारी भएको कुरा कसैलाई नभनेर गोप्य राख्न भने ।

छाउँ हुँदा गोठमा बसेका बेला जंगली जनावरमात्र होइन, जनावर भन्दा पनि हिंस्रक स्वभाव भएका मान्छेहरुबाट जोखिम मोल्नुपर्ने समस्याबाट छुटकारा पाउन मानसिक रुपमा महिला आफै तयार हुनुपर्दछ

विवाहको ३-४ महिनासम्म पनि श्रीमती महिनावारी नभएपछि सबैले गर्भ रहेको भन्दै बधाइ दिए । तर, परिवारनियोजनका अस्थाई साधन प्रयोग गरेको दम्पत्तीबाट २ वर्ष बितिसक्दा पनि बच्चा नजन्मिएको देखेपछि कसैले श्रीमती महिनावारी नै नहुने गरेको अड्कल काटे ।

कसैले भने महिनावारी लुकाएका कारण देउता रिसाएपछि बच्चा नजन्मिएको भन्दै उनीहरुको उछितो काढे । त्यतिमात्र होइन, कतिपयले त उनको घरमा पस्न र खाना खान पनि छोडेछन् । तर, उनीहरु भने काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ भनेझैँ कसैको कुरा सुन्नतिर लागेनन् ।

शिक्षिका समेत रहेकी श्रीमतीले पनि पछि त अरुका कुरा सुन्न छोडिन् । विवाहको दुई वर्षपछि उनीहरुको पहिलो छोरा जन्मियो । आमाको दूध नआएपछि गाई भैंसीको दुध खुवाउनु पर्ने बाध्यता भो । तर, राजेन्द्रका बुढाबुढी छाउ मान्दैनन् भनेर गाउँमा कसैले गाई भैंसीको दूध दिएनन् ।

अन्तमा उनले छिमेकी दलित महिलाको घरबाट भैंसीको दूध किनेर ल्याए । तर, गाउँलेहरुले छाउ नमान्नेलाई भैंसीको दूध दिइस्, अब तेरो भैसी मर्छ भन्दै कुरा लगाएपछि ती दलित महिला रुदैँ राजेन्द्रको घर पुगिन् । यदी मेरो घरबाट दूध ल्याएका कारण तपाईको भैंसी मरेछ भने म दूध दिने नयाँ भैंसी किनिदिन्छु, तर दूध नपाएर मेरो छोरालाई मर्न नदिनुस् भनी राजेन्द्रले आग्रह गरेपछिमात्रै दलितले महिलाले दूध दिन थालिन् । आखिर भैंसीलाई के हुन्थ्यो र ? केही भएन ।

अहिले राजेन्द्र दम्पतीका  दुई भाइ छोरा छन् । चार जनाको सुखी परिवार छ उनीहरुको ।

हो, बास्तवमै सामाजिक परिवर्तन गर्ने नै हो भने परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ । हिजोका दिनमा छाउपडी मान्दैन भन्दै आफ्नो नवजात शिशुलाई दूध समेत दिन नमानेका आफ्ना छिमेकीहरुमा यतिबेला भएको परिवर्तन देख्दा राजेन्द्र खुसी छन् ।

छाउपडीजस्तो कुरीतिलाई उनीहरुले एक दिन त्याग्नेछन् भन्ने विशवास उनमा थियो । अहिले भयो पनि त्यस्तै । श्रीमतीलाई १४ वर्ष अगाडि नै छाउ भएका बेला गोठ बस्न नदिई घरमै राखेका राजेन्द्रजस्तै अहिले धेरै छिमेकीका श्रीमतीहरु छाउ हुँदा गोठ जाँदैनन् । आफै खाना पकाउँछन् । घरको सबै काम गर्छन् । त्यसकारण, परिवर्तन चाहाने, तर त्यसका लागि अरुलाई पर्खेर बस्ने बानीको अन्त्य नभएसम्म छाउपडी प्रथाको अन्त्य हुन सम्भव छैन ।

छाउँ हुँदा गोठमा बसेका बेला जंगली जनावरमात्र होइन, जनावर भन्दा पनि हिंस्रक स्वभाव भएका मान्छेहरुबाट जोखिम मोल्नुपर्ने समस्याबाट छुटकारा पाउन मानसिक रुपमा महिला आफै तयार हुनुपर्दछ ।

संघ संस्थाहरुले पनि छाउपडी प्रथा मान्नुहुँदैन भनिरहँदा किन मान्नु हुँदैन, यसले महिलाको गतिशीलता, आत्मसम्मान र समग्र समाजको विकासमा पारेको असरका बारेमा प्रष्टसँग बुझाउन जरुरी छ ।

त्यसका लागि अब स्वयं महिलाहरुमात्र होइन, घरका दाजुभाइ र श्रीमानहरुले नै उनीहरुलाई साथ दिनुपर्ने जरुरी छ ।

(लेखिका कुँवर पत्रकार हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment