Comments Add Comment

मधेस अशान्त भए भारतीय हस्तक्षेप झन् बढ्छः डा. बराल

२ जेठ, काठमाडौं । प्रा.डा. लोकराज बरालले मधेस अशान्त भए भारतीय हस्तक्षेप झनै बढ्ने बताएका छन् । भारतका लागि नेपाली पूर्वराजदूत समेत रहेका डा. बरालले नेपालको आन्तरिक मामिलामा कुनै न कुनै रुपमा सधैंजस्तो भारतको हस्तक्षेप हुने गरेको बताए ।

Lokraj-Baralरिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘मधेस डिस्टर्व हुँदा भारत समेत प्रभावित हुने भएकाले भारतको चासो हुनु स्वाभाविक हो । मधेस झनै डिस्टर्व हुँदै गए त्यसले झनै बढी हस्तक्षेप निम्त्याउन सक्छ ।’

साक्षात्कारमा बरालले भारतसँगको सम्बन्धमा देखिएको चिसोपन हल्ला, भाषण र राष्ट्रियताको कुरा गरेर अन्त्य हुन नसक्ने प्रष्ट्याए । नेपालले शान्त कुटनीतिमार्फत यसलाई समाधान गर्नुपर्नेमा उनले जोड दिए । नेपालले आन्तरिक मामिला आफै समाधान गरे यस्तो कुनै समस्या नआउने उनको भनाइ छ ।

भारतकालागि नेपाली राजदुत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउनु नेपालको अस्थिर राजनीतिको उपज भएको उनले टिप्पणी गरे ।

नेपालमा चीनको चासो तिब्बतमा समस्या उत्पन्न नहोस् भन्ने र भारतको यहाँ चीन र अरुको गतिविधि नबढोस् भन्ने नै रहेको तर्क गर्दै बरालले नेपालमा चीनको प्रभाव बढ्दा भारतसहित अमेरिका र यूरोपेली यूनियनको गतिविधी बढ्ने भएकाले त्यो नेपालकोलागि झनै हितकर नभएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment