३२ साउन, काठमाडौं । नागरिकको सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने पहिलो निकाय हो नेपाल प्रहरी । प्रहरीलाई राजनीतिक दबावले थिचिरहन्छ । प्रहरीभित्र बर्दी लगाएर बस्दासम्म हरेक प्रहरी अधिकृतहरु प्रहरीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्छ भन्छन् । तर, पछिल्लो समयमा प्रहरीका कतिपय उच्च अधिकृतहरु अवकाशपछि राजनीतिमा लाग्ने क्रम बढेको छ ।
को-को छन् राजनीतिमा ?
नेपाल प्रहरीमा ३० वर्ष सेवा गरेर अवकाश पाएपछि राजनीतिमा लाग्नेहरुको सूची लामै छ । यसमा तल्लो दर्जाका भन्दा उच्च तहमा पुगेकाहरुको संख्या धेरै छ ।
तत्कालीन प्रहरी महानिरीक्षक मोतिलाल बोहोराले २०५३ सालमा सेवाबाट अवकाश पाएका थिए । २०५५ सालमा उनी नेपाली कांग्रेसमा प्रवेश गरे ।
बोहोरा भन्छन्, ‘अवकाश पाएपछि नेपाली कांग्रेसमा प्रवेश गरें, तर आफनो अनुभव र क्षमता प्रयोग गर्ने कुनै अवसर र ठाउँ नपाएपछि सक्रिय हुन छाडिदिएँ ।’
बोहोराको बुझाइमा नेपालमा राष्ट्रसेवक कर्मचारी दुईपटक मर्छन् । प्राकृतिक मृत्यु त छँदैछ, त्योभन्दा पहिले ऊ आफ्नो सेवाबाट रिटायर्ड भएपछि । उनी भन्छन्, ‘वर्षौंसम्म देशका लागि योगदान गरेर अवकाश पाएकाहरुको अनुभव र दक्षतालाई सदुपयोग गर्न राज्यले कहिल्यै जानेन ।’ उनले थपे, ‘त्यसमा पनि सुरक्षा निकायबाट अवकाश पाएकाहरुको अनुभवलाई सदुपयोग गर्न सके सुरक्षा व्यवस्था बलियो बनाउन सकिन्छ, उसलाई दिने पेन्सन पनि जोगिन्छ । तर यसमा कसैले ध्यान दिँदैनन् ।’
तर, बोहोराले यस्तो गुनासो गरे पनि प्रहरीबाट अवकाश पाएकाहरु अधिकांश भ्रष्टाचारमा मुछिएको तीतो यथार्थ पनि हामीसँग छ ।
नेपाल प्रहरीबाट २०५३ सालमा आइजीपी भएर अवकाश पाएका ध्रुवबहादुर प्रधान राप्रपाको केन्द्रीय सदस्य एवं कार्य सम्पादन समितिमा छन् । २०५५ सालबाट राप्रपामा प्रवेश गरेका पूर्वआइजीपी प्रधान आफूले प्रहरी संगठनमा हुँदा राजनीतिक दलका बारेमा बनाएको दृष्टिकोणभन्दा राजनीतिमै लागेपछि त्यो भन्दा फरक अनुभव पाएको बताउँछन् ।
उनी भन्छन्, ‘संगठनमा हुँदा राजनीतिमा लाग्ने सोचै थिएन । तर, पछि राजनीतिबारेमा विभिन्न जानकारीहरु लिएपछि यतातिर लागियो । तर, राजनीति हामीले सोचेभन्दा फरक रहेछ, राजनीतिक दलहरु कसरी प्रभावित हुँदोरहेछ ।’
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट सांसदसमेत बनेका छन् पूर्वआइजीपी रवीन्द्रप्रताप शाह । २०६९ सालमा नेपाल प्रहरीको आइजीपीबाट अवकाश पाएका शाह माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, तत्कालीन वरिष्ठ नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पटक-पटक आग्रह गरेपछि आफू सांसद बनेको बताउँछन् ।
उनी भन्छन्- ‘उहाँहरुले विभिन्न क्षेत्रका मान्छेलाई संविधानसभामा लैजान खोज्नुभएको रहेछ, त्यसैमा मलाई सुरक्षा निकायबाट छनोट गरेर प्रस्ताव ल्याउनुभयो, मैले पनि नकार्न सकिँन र आज सांसद भइयो ।’
अर्का पूर्वआइजीपी प्रदीपसमशेर जबरा, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टीबाट गत संविधानसभा निर्वाचनमा उठेका थिए । जबरा रौतहट क्षेत्र नम्बर ४ बाट पराजित भए ।

त्यसो त केही महिनाअघि मात्रै अवकाश पाएका पूर्वएआइजी गणेशराज राई पनि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा छन् । प्रहरीबाट अवकाश पाएपछि राजनीतिमा लागे पनि रविन्द्रप्रताप शाह बाहेक कसैले पनि गतिलो अवसर पाउन सकेका छैनन् ।
पूर्वप्रहरीको बेग्लै पार्टी
नेपाल प्रहरीमा एआइजीको विशिष्ट श्रेणीबाट दुई वर्ष अगाडि अवकाश पाएका थिए विनोद सिंहले । यसअघिका आइजीपी कुवेरसिंह रानाका ब्याजी पूर्वएआइजी सिंह अहिले विभिन्न गैरसरकारी संस्थाहरुमा आवद्ध छन् ।

अवकाशपछि एनजीओहरुमा काम गर्दै गर्दा सिंहलाई आफूजस्तै अवकाशप्राप्त केही अधिकृतहरुले एउटा प्रस्ताव राखे- नयाँ पार्टी खोल्ने ।
यस्तो प्रस्ताव आएपछि विनोद सिंह एउटा टोली लिएर पूर्वराष्ट्रसेवक कर्मचारीहरुको अवस्था बुझ्न ४६ जिल्लामा पुगे । ‘हामी विभिन्न जिल्लामा पुग्यौं, जहाँ सबै पूर्वराष्ट्रसेवकहरुको उस्तै गुनासो सुनियो, कसैले पेन्सन लिन पनि काठमाडौं जानुपरेको गुनासो गरे, कतिपयले वर्षौंसम्म देशको सेवामा लागे पनि त्यो अनुभव कतै प्रयोग गर्न नपाएको दुखेसो पोखे,’ सिंह भन्छन्, ‘त्यसपछि नयाँ पार्टी खोल्ने सोच बन्यो ।’
‘नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी’ हालै निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीको अध्यक्ष छन् पूर्वडीएसपी चूर्णदेवसिंह लामा ।
करिब १० वर्ष अगाडि नेपाल प्रहरीको डीएसपीबाट अवकाश पाएका लामा यसबीचमा विभिन्न राजनीतिक पार्टीमा डुलिसकेका व्यक्ति हुन् ।
लामासँगै शेरबहादुर सुब्बा उपाध्यक्ष, अर्का पूर्वडीएसपी नारायण गिरी महासचिव र पूर्वइन्सपेक्टर राजेन्द्र दर्लामी कोषाध्यक्ष छन् । त्यस्तै केन्द्रीय सदस्यमा पूर्वहबल्दार रामबहादुर भण्डारीसहित ११ जना छन् ।
पार्टी प्रवक्ताको जिम्मेवारी पाएका पूर्वएआइजी सिंह भन्छन्, ‘हामी यो देशमा प्रहरीको उच्चपदमा ३० वर्ष सेवा गरेका मान्छे कुनै मन्त्रालयमा गयो भने कसैले वास्ता गर्दैन, तर कुनै दलको नेता पुग्यो भने सम्मानसहित राख्छन् । त्यसैले राष्ट्रसेवक पूर्वकर्मचारीहरुका लागि यो पार्टी स्थापना भएको हो ।’
पूर्वएआइजी सिंहले थपे, ‘यो पार्टी प्रहरीको मात्रै होइन, यसमा राष्ट्रसेवाबाट अवकाश पाएका हरेक निकायका मान्छेहरु समावेश हुनेछन् र त्योभन्दा बाहिरका मान्छेहरु पनि पार्टीमा आउन सक्छन् ।’