Comments Add Comment

अयोग्य घोषणा भई बहिर्गमित लोकमानले २५ लाख रुपैयाँ पचाउँछन् कि फिर्ता गर्नुपर्छ ?

सम्पत्ति शुद्धीकरण र अख्तियारको कारवाहीमा परी जेल जान सक्ने

lokman_out-2

२५ पुस, काठमाडौं । सर्वोच्च अदालतबाट अयोग्य घोषणा भई बहिर्गमनमा परेका निवर्तमान अख्तियार प्रमुख लोकमानसिंह कार्कीले पदमा रहँदा बुझेको तलबभत्ता फिर्ता गर्नुपर्छ कि पर्दैन ? सर्वोच्च अदालतले यसबारेमा बोलेको छैन । तर, सामाजिक सञ्जालमा लोकमानले थापेको तलबसमेत राज्यकोषमा फिर्ता गरिनुपर्ने माग हुन थालेको छ ।

अहिलेसम्म लोकमानसिंह कार्कीले ४४ महिनाको तलब थापेको बुझिएको छ । मासिक ५८ हजारका दरले उनले तलववापत लिएको रकम २५ लाख ५२ हजार पर्न आउँछ । तर, यसबाहेक उनले लिएको अन्य सुविधा जोड्ने हो भने तलबभन्दा पनि बढी रकम हुन जाने अख्तियार स्रोत बताउँछ ।

लोकमानसिंह कार्की पटक-पटक सरकारी खर्चमा विदेश भ्रमणमा गएका छन् । त्यसवापत उनले सरकारी रकम खर्च त गरेका छन् नै, थप विदेश भ्रमणबाट बचेको दैनिक भत्तासमेत उनले सुशील कोइरालाले जसरी राज्यकोषमा बुझाएको कुनै रेकर्ड छैन । यो सबै जोड्ने हो भने कार्कीले ४४ महिनामा करोडको हाराहारीमा सरकारी घन उपभोग गरेको देखिन्छ ।

सर्वोच्च अदालतले भनिसकेको छ कि लोकमानको नियुक्ति नै संविधान विपरीत थियो । यसरी अयोग्य व्यक्तिले उपभोग गरेको सरकारी सम्पत्ति दामासाहीले उनीबाट असुल उपर गराउनुपर्छ कि पर्दैन ? यसबारेमा अदालतले केही पनि बोलेको छैन । यद्यपि फैसलाको पूर्णपाठ आउन अझै बाँकी नै छ ।

तर, जनमानसमा चाँहि अयोग्य व्यक्तिले अख्तियारमा बस्दा उपभोग गरेको तलब भत्ता पनि फिर्ता हुनुपर्ने आवाज उठ्न थालेको छ ।

अयोग्य व्यक्तिले अख्तियारमा रहँदा गरेका निर्णयहरु को स्थिति के हुन्छ भन्ने विषयमा पनि अदालत मौन छ । व्यक्तिको नियुक्ति चाँहि सुरुदेखि नै बदर हुने तर उसले गरेका काम र खाएको तलब चाँहि सदर हुने हो कि ? यो प्रश्नको जवाफ सर्वोच्चको फैसलाको पूर्ण पाठ आएपछि नै थाहा लाग्ला ।

नक्कली प्रमाणपत्रवालाको नजिर

लोकमानले तलब फिर्ता गर्नुपर्छ कि पचाउँछन् भन्ने प्रश्नमा अख्तियार स्रोतले नक्कली शैशिक प्रमाणपत्रवालाको नजिरको स्मरण गरायो ।

स्रोतले भन्यो- ‘नक्कली शैक्षिक प्रमाणपत्रमा कारवाही परेका शिक्षक वा कर्मचारीहरुलाई कारवाही गरे पनि उनीहरुले खाएको तलव फिर्ता गराउने गरिएको छैन । त्यसबेलासम्म उसले गरेको कामको पारिश्रमिकका रुपमा त्यसलाई हेर्ने गरिएको छ ।’

लोकमानसिंह कार्कीको हकमा अब अदालतले जस्तो आदेश दिन्छ, सोही अनुसार हुने स्रोतको भनाइ छ ।

लोकमानलाई अख्तियारले समाउन सक्छ

अब लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्न सक्ने आयोगका एक अधिकारीले अनलाइनखबरलाई बताए । उनले भने- ‘अब लोकमानमाथि अख्तियारले कारवाही चलाउन सक्छ ।’

विभिन्न मन्त्रालयमा सचिवका रुपमा काम गर्दादेखि नै अकूत सम्पत्ति कमाएको आरोप खेप्दै आएका लोकमानको सम्पत्तिमाथि अब सम्पत्ति शुद्धीरकण आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न सक्ने र दोषी पाइएमा जेल जानुपर्नेसमेत हुन सक्ने स्रोतले बतायो ।

सर्वोच्च अदालतले लोकमान सिंह कार्की पदमुक्त भएको फैसला आइतबार  सुनाएको छ ।

यो पनि पढ्नुहोस्  

लोकमानलाई बहिर्गमन गराउने वकिल भन्छन्- अब दलका नेताले सार्वजनिक माफी माग्नुपर्छ

लोकमानले सर्वोच्चमा पुनरावलोकनको निवेदन दिन नपाउने

लोकमानका ज्वाइँ दोषी ठहर, १ हजार जरिवानाको फैसला

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment