२० बैशाख, पोखरा । काठमाडौंमा नेकपा एमाले र राप्रपाले जस्तै पोखरा महानगरपालिकामा कांग्रेस र माओवादीले चुनावी तालमेल गर्ने चर्चा चले पनि अब त्यो सम्भावना निकै कम देखिएको छ । तालमेल गरेर जाने तयारी गरेका दलहरु उम्मेदवारी दर्तासँगै एक्लाएक्लै चुनाव लड्ने तयारीमा जुटेका छन् ।
पोखरा लेखनाथ महानगरमा कांग्रेस र माओवादीबीच तालमेलको सम्भावना लगभग गर्दा एमाले र माओवादीबीच तालमेलको सम्भावना पनि देखिएको छैन ।
उम्मेदवारी दर्ता अघिसम्म दलहरुबीच तालमेलका लागि तिव्र वार्ता हुन्थ्यो । दैनिक ३/४ पटक बसेर कसरी जाने भन्ने छलफल हुन्थ्यो । तर, उम्मेद्वारी दर्तासँगै वार्ता र छलफल ठप्प भएको छ । सबै आ-आफ्नै चुनावी रणनीति बनाउन ब्यस्त छन् । उम्मेदवारी दर्ता भइसकेको अवस्थामा तालमेल गर्न र आफ्नो उम्मेदवारलाई ब्याक गर्न दलहरुलाई अप्ठ्यारो देखिएको छ ।
भत्कियो कांग्रेस माओवादी तालमेल
सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा माओवादीले पोखरामा तालमेल गरेर चुनाव लड्ने तयारी गरेका थिए । दुबै पार्टीको केन्द्रले स्थानीस्तरमा तालमेल गरेर चुनाव लड्न सुझाव दिएपनि अन्तिमसम्म आईपुग्दा कसरत विफल भएको श्रोतले बतायो ।
कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिने दुई दलबीच लगभग सहमति भएपनि अन्तिममा बिथोलिएको श्रोतको दाबी छ ।
सहमति अनुसार कांग्रेसले मेयरको मात्र उम्मेद्वार उठाउनेमा माओवादी केन्द्र विश्वस्त थियो । जस अनुसार माओवादी केन्द्रले उम्मेद्वारी दर्ता गर्ने अघिल्लो दिन सर्वसम्मत उम्मेद्वार हुँदा हुँदैपनि घोषणा गरेन ।
यसको एउटै कारण थियो, कांग्रेसको निर्णयको पखाई । तर, कांग्रेसले मध्यरातमा मेयर र उपमेयरको नाम फेरेर घोषणा गरेपछि माओवादी चकित पर्यो । जबकी कांग्रेसले दुबै पदमा उम्मेद्वारी घोषणा गर्नु आधा घण्टा अघिसम्म पनि कांग्रेसका जिल्ला नेताहरुले तालमेल गर्ने बचन दिइरहेकै थिए ।
दुबै पदमा उम्मेद्वारी घोषणा भएपछि भने तालमेल गर्ने बचन दिने नेताहरुले माओवादी नेताहरुलाई फोन गरेर भने, अब सम्भव रहेन, हाम्रो हातबाट फुत्कियो ।’
कांग्रेसलाई आफ्नैभित्र विद्रोहको डर
कांग्रेस कास्कीका सभापति कृष्ण केसी अब तालमेलको सम्भावना नरहेको बताउँछन् । दुबै पदमा उम्मेद्वारी दर्ता भइसकेकाले उम्मेद्वारलाई फिर्ता गर्न लगाउन सम्भव नरहेको उनले बताए ।
मिलेर जाउँ भन्ने मनसाय रहेपनि माओवादीले गाउँपालिका र वडामा समेत धेरै भाग खोजेपछि तालमेल बिथोलिएको केसीको दाबी छ । तालमेलका नाममा गाउँपालिकाको प्रमुख र महानगरकै कतिपय वडाध्यक्ष न माओवादीलाई दिँदा कांग्रेसबाटै विद्रोहको सम्भावना देखिएको केसी बताउँछन् ।
केन्द्रले स्थानिय मनोभावना र सांगठनिक धरातल नबुझी तालमेल गर्न निर्देशन दिँदा त्यसको पालना गर्न कठिनाई भएको उनले टिप्पणी गरे । पार्टीले स्थानिय तहमा सत्ता साझेदार दलसँग तालमेल गर्न दिएको निर्देशनप्रति उनको टिप्पणी हो यो ।
एमाले, राप्रपा र माओवादी आशावादी
नेकपा एमाले भने अझैपनि तालमेल गर्न सकिने झिनो आशमा छ । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले माओवादी केन्द्र वा राप्रपा दुई मध्ये एकसँग अझैपनि तालमेको झिनो सम्भावना भएको बताए ।
उनका अनुसार उम्मेद्वारी दर्ता अघिसम्म दुबै पार्टीसँग कुरा भएपनि बिचमा अहिले कुराकानी पातलिँदै गएको छ । तर, बिहीबारसम्ममा सहमतिको सम्भावना रहेको उनले बताए ।
नेकपा माओवादी केन्द्रका कास्की ईञ्चार्ज राजकाजी गुरुङ (करण) अझैपनि तालमेलको सम्भावना रहेको बताउछन् । कांग्रेस वा एमाले जोसँग पनि माओवादी केन्द्रले तालमेलको ढोका खुल्ला राखेको उनले बताए ।
तर, तालमेल नहुने स्थितिमा आफूहरु दृढतापूर्वक चुनावको डटेर सामना गर्न तयार रहेको उनले बताए ।
राप्रपाका कास्की अध्यक्ष जयलाल पुन भने एमालेसँग तालमेल हुने सम्भावना रहेको बताए । कांग्रेससँग एक चरण कुरा भएपनि नमिलेपछि एमालेसँग सहमतिको नजिक पुगेको तर निर्णय भइनसकेको बताए । उनले भने, अब तालमेल हुने/नहुने बल एमालेको कोर्टमा छ ।’
एमाले र राप्रपाले काठमाडौं र ललितपुरमा चुनावी तालमेल भइसकेको छ । दुबै महानगरमा एमालेले मेयर लिएर उपमेयर राप्रपालाई दिएको छ र दुबै दलले आ आफ्नो भागमा परेको पदमा मात्र उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया 4